रासस | समाचार | असार ०४, २०७६
चितवन l राप्ती र नारायणी नदीमा सङ्कलन गरिएका घडियाल गोहीको अण्डाबाट १५१ बच्चा कोरलिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले दुई नदीमा रहेका २४ मध्ये १० गुँडबाट २८४ अण्डा सङ्कलन गरेको थियो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार राप्ती नदीका १६ गुँडमध्ये १० लाई छाडेर छ अण्डा सङ्कलन गरिएको थियो । नारायणी नदीमा भेटिएका आठ गुँडमध्ये चारको अण्डा सङ्कलन गरिएको थियो । राप्ती नदीबाट सङ्कलन गरिएका १७१ अण्डामध्येबाट ९० बच्चा कोरलिएको हो । नारायणीका चार गुँडमध्ये एउटामा भाले नलागेको अण्डा भेटिएको र बाँकी तीन गुँडका ११३ अण्डाबाट ६१ बच्चा कोरलिएको खड्काले जानकारी दिनुभयो ।
गोहीले चैत महीनामा अण्डा पार्न शुरु गर्ने गर्दछ । खड्काका अनुसार ७० देखि ७५ दिनमा अण्डाबाट बच्चा कोरलिन्छ । निकुञ्जले नदीमा सङ्कलन गरेको अण्डा कसरामा रहेको प्रजनन केन्द्र परिसरमा बालुवामा राख्ने गर्दछ । राप्ती र नारायणी नदीमा भालेको अभाव देखिएको छ ।
दुई वर्षअघि नदीको भाले गोही मरेपछि बर्दियाबाट एक भाले गोही ल्याइएको थियो । हाल नदीमा तीन भाले मात्र रहेको खड्काले जानकारी दिनुभयो । गत वर्ष राप्ती नदीबाट सात र नारायणीबाट दुई गुँडका गरी ३१७ अण्डा सङ्कलन गरिएको थियो । जसबाट १६४ बच्चा कोरलिएको थियो ।
प्रजनन केन्द्रमा हाल साना ठूला गरी ४७० गोही रहेका छन् । यसै वर्ष त्यहाँ हुर्किएका १०० गोहीलाई राप्तीमा छाडिएको छ । प्रजनन केन्द्रमा माउले बच्चा कोरल्ने भएकाले तथ्याङ्क सङ्लकन भइनसकेको खड्काले बताउनुभयो । प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा एक हजार ४६५ गोही छाडिसकिएको छ । जसमध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ ।
निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । नदिहरुमा गोही छोड्दै गए पनि संख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।
नदी प्रदुषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ ।