लोकसंवाद संवाददाता | समाचार | असार ०५, २०७६
काठमाडौँ — विश्वको सबैभन्दा शान्तिपूर्ण मुलुकमा यो वर्ष नेपाल ७६ औं स्थानमा रहेको छ ।
विश्वका सबैभन्दा बढी र कम शान्तिपूर्ण मुलुकबारे सूचकांक (जीपीआई) जारी गर्ने संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (आईईपी) को पछिल्लो रिपोर्टले नेपाललाई उक्त स्थानमा सूचीकृत गरेको हो ।
हालै प्रकाशित पछिल्लो ग्लोबल पिस इन्डेक्स (जीपीआई) का अनुसार नेपाल १२ स्थानमाथि उक्लेको छ ।
सूचकांकले सिरियाको स्थानमा अफगानिस्तान अब विश्वकै सबैभन्दा कम शान्तिपूर्ण देश बनेको देखाएको छ ।
आइसल्यान्ड २००८ यता सबैभन्दा बढी शान्तिपूर्ण देशका रूपमा आफ्नो स्थान लगातार कायमै राखेको छ ।
आईईपीको सूचकांकले पाँच वर्षयता पहिलो पटक विश्वभर शान्तिमा केही सुधार भएको पनि देखाएको छ ।
१६३ देशलाई समेटेर तयार पारिएको यो १३ औं संस्करणमा औसत रूपमा मुलुकहरूको स्कोरमा ०.०९ प्रतिशतले सुधार भएको उल्लेख छ ।
८६ मुलुकहरूमा बढी शान्तिपूर्ण अवस्था रहेको र ७६ मुलुकमा गिरावट देखिएको छ ।
जीपीआईमा आइसल्यान्ड शीर्ष स्थानमा रहेको छ । त्यसपछि न्युजिल्यान्ड, पोर्चुगल, अस्ट्रिया, डेनमार्क र क्यानाडाको रहेका छन्
।
क्षेत्रगत आधारमा युरोप सबैभन्दा बढी शान्तिपूर्ण रहेको छ । मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकहरू अझै पनि सबैभन्दा कम शान्तिपूर्ण रहेका छन् ।
सोमालिया, इराक, यमन, दक्षिण सुडान र सिरिया सूचकांकमा सबैभन्दा तल अफगानिस्तानसँगै नजिक रहेको छ ।
रिपोर्टअनुसार यमनलाई पहिलो पटक पाँच सबैभन्दा कम शान्तिपूर्ण मुलुकमा सूचीबद्ध गरिएको छ ।
पर्यवेक्षकहरूका अनुसार १३ डिसेम्बरमा त्यहाँ युद्धरत दलहरूद्वारा हस्ताक्षरित ‘स्टकहोम सम्झौता’ निष्क्रिय भएर यो अवस्था आएको हुन सक्ने विश्लेषण गरिएको छ ।
मध्य पूर्व र उत्तरी अफ्रिकाको जीपीआई यो वर्ष पनि खराबै रहेको छ ।
एसिया प्रशान्त र युरोपमा अघिल्लो वर्षको तुलनामा बढी शान्तिपूर्ण रहेको देखिएको छ । तर, अमेरिका खस्किएको छ ।
मध्य अमेरिका र क्यारेबियनमा सबैभन्दा बढी गिरावट देखिएको छ । त्यस्तै, दक्षिण अमेरिकापछि उत्तरी अमेरिकाको अवस्था छ ।
निकारागुवा र भेनेजुएलामा राजनीतिक अस्थिरतालाई शान्तिका लागि प्रमुख बाधक मानिएको छ । यसैगरि, अमेरिका र ब्राजिलमा राजनीतिक ध्रुवीकरणले पनि जीपीआई सूचकांक प्रभावित भएको छ ।
विश्वका सबैभन्दा बढी शान्तिपूर्ण १० मुलुकहरूमा आइस्ल्यान्ड, न्युजिल्यान्ड, पोर्चुगल, अस्ट्रिया, डेनमार्क, क्यानाडा, सिंगापुर, स्लोभेनिया, जापान र चेक रिपब्लिक रहेका छन् ।
यीमध्ये आइसल्यान्ड, न्युजिल्यान्ड र क्यानाडा आफ्नो स्थानमा पहिलेझैं कायम रहेका छन् ।
पोचुर्गल, सिंगापुर र स्लोभानिया दुईदुई स्थान माथि उक्लेका छन् ।
अस्ट्रिया, डेनमार्क र जापान भने एकएक स्थान र चेक गणतन्त्र तीन स्थान तल झरेको छ ।
विश्वका सबैभन्दा कम शान्तिपूर्ण १० मुलुकहरूमा अफगानिस्तान (१६३औं), सिरिया, दक्षिण सुडान, यमन, इराक, सोमालिया, मध्य अफ्रिकी रिपब्लिक, लिबिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो र रूस रहेका छन् ।
यी दस मुलुकपछि पाकिस्तान (१५३ औं) को स्थान छ । यो सूचीमा सिरया, इराक, सोमालिया र लिबिया एकएक स्थान माथि उक्लेका छन भने अफगानिस्तान, मध्य अफ्रिकी रिपब्लिक र रूस एकएक स्थान तल झरेको छ ।
सूचीमा दक्षिण सुडान र डीआर कंगोले आफ्नो स्थितिमा कुनै परिवर्तन गर्न सकेको छैन भने यमन दुई स्थान तल ओर्लेको छ ।
सार्क मुलुकहरूको अवस्था
सार्क मुलुकहरूमा भुटान (१५औं) दुई स्थान माथि उक्लिँदै यो क्षेत्रकै सबैभन्दा शान्तिपूर्ण मुलुकका रूपमा सूचीबद्ध छ । त्यसपछि श्रीलंका (७२औं) दुई स्थान तल झरेको छ । सार्क मलुकहरूमै नेपाल (७६औं) १२ स्थान माथि उक्लिएको छ । सार्क क्षेत्रको शान्तिपूर्ण मुलुकमा चौथो स्थानमा रहेको बंगलादेश ९ स्थान तल झर्दै १०१औं स्थानमा छ । पाँचौंमा भारत (४ स्थान तल खस्कँदै समग्र सूचीमा १४१औं ) र पाकिस्तान छैटौं (समग्र सूचीमा दुई स्थान तल झर्दै १५३औं) स्थानमा रहेका छन् । माल्दिभ्सलाई सूचीमा समावेश छैन ।
चीन र अमेरिकाको स्थान
ग्लोबल पिस इन्डेक्समा चीन दुई स्थानमाथि उक्लिँदै ११०औं स्थानमा रहेको छ । विश्वव्यापी ध्रुवीकरणका कारण अमेरिका जीपीआईमा १२८औं स्थानमा परेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । अमेरिकाको यो स्थान अघिल्लो वर्षको तुलनामा ४ स्थान तल झरेको हो । इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसले १६३ मुलुक र क्षेत्रहरूलाई र्याकिङ गरेको छ । यी देशहरूको जनसंख्या विश्वको कुल जनसंख्याको ९९.७ प्रतिशत प्रतिनिधित्व गर्छ ।
शान्तिपूर्ण’ देश बन्ने आधारहरू