अनधिकृत  एटीएम प्रयोगबाट बिस लाख निकाल्ने पाण्डे सार्वजनिक

अनधिकृत  एटीएम प्रयोगबाट बिस लाख निकाल्ने पाण्डे सार्वजनिक

लोकसंवाद संवाददाता  |  अपराध  |  असार ०७, २०७६

काठमाडाै ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले फ्रड प्लाष्टिक म्यागनेटिक कार्डको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको विभिन्न एटीएम शाखाबाट रु २० लाखभन्दा बढी रकम निकाल्ने बाराका ३३ वर्षीय राजुकुमार पाण्डेलाई बिहीबार पक्राउ गरी २०७६ असार ६ गते शुक्रबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले विभिन्न कार्डको प्रयोग गरेर गैरकानुनी रुपमा रकम निकालेको सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 'पाण्डेले विदेशी नागरिकसँग मिलेर उक्त पेशा गर्दै आएको र विदेशी नागरिक अहिले नेपाल बाहिर रहेको अनुसन्धानमा खुलेको छ', रेग्मीले भन्नुभयो ।

पक्राउ पाण्डेसँग प्रहरीले सादा कार्ड दुई थान, मोबाइल एक थान, मोटरसाइकल एक थान, ल्यापटप एक थान र रकम बरामद गरेको छ । पाण्डेलाई उच्च अदालत पाटनबाट सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताउनुभएकाे समाचार राससमा उल्लेख छ।