लोकसंवाद संवाददाता | समाचार | असार ०८, २०७६
काठमाडौं । पर्यटन विभागले बेस क्याम्प नपुगी बाटैबाटै फर्कने सम्पर्क अधिकारी (लियोजन अफिसर) माथि छानबिन सुरु गरेको छ।
विभागका महानिर्देशक डण्डुराज घिमिरेले बेस क्याम्प पुगेका या बाटैबाटै फर्केका कर्मचारीका बारेमा जानकारी लिने काम भइरहेको बताए। ‘उहाँहरुमध्ये कुनकुन कर्मचारी बेस क्याम्प पुग्नुभयो, कुुनकुन पुग्नु भएन। बेस क्याम्प नपुग्नु भएका कर्मचारीको हकमा के कती कारणले बेस क्याम्प जानु भएन सो सबै बुझिसकेपछि हामीले कारबाहीको प्रक्रिया अघि बढाउछौं,’ उनले भने।
बाटोमै बिरामी भएका र हेलिकोप्टरबाट उद्धार गरिएका कर्मचारीको हकमा पनि विभागले कारबाही नगर्ने भएको छ। घिमिरे भन्छन्, ‘हामीले यथार्थ बुझ्छौ। साच्चिकै बाटोमा बिरामी भएका कर्मचारीलाई किन बेस क्याम्प पुगेनौं भनेर कसरी कारबाही गर्ने रु मानवीय रूपबाट पनि कारबाही गर्न मिल्दैन।’ लियाजन अफिसर बेस क्याम्प पुग्नुअगावै बाटोमा बिरामी भए भने बाटोबाटै फर्कन पाउने व्यवस्था छ। सो व्यवस्थालाई दुरुपयोग गर्दै अधिकांश लियाजन अफिसर बिरामी भएको भन्दै बाटोबाटै फर्कन्छन्।
हिमाल आरोहण असुरक्षित बन्दै गएको समाचार आउन थालेपछि सरकारले हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनी अध्ययन गरी प्रतिवेदन दिन पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययको संयोजकत्वमा एउटा समिति गठन गरिएको छ। समितिका संयोजक उपाध्ययले हिमाल आरोहणलाई सुरक्षित बनाउन लियाजन अफिसरको भूमिकालगायतका सबै विषयमा अध्ययन हुने जनाए।
६ हजार ५ सय मिटरभन्दा माथिका हिमाल आरोहरण समूहमा एक जना सरकारी कर्मचारी सम्पर्क अधिकारी (लियोजन अफिसर)को रूपमा जानुपर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार यो मौसममा ९८ कर्मचारी लियाजन अफिसर भई आरोहण दलमा पुगे तर ती मध्ये २२ जना कर्मचारी मात्रै बेस क्पाम्प पुगे। बाँकी बिरामी भए भन्दै बेस क्पाम्पबाटै फर्के।
लियाजन अफिसर बेस क्याम्प नपुगे पनि लियाजन अफिसरले हिमाल आरोहणमा जाने समूह तथा व्यक्तिलाई हिमाल आरोहण पूरा गरेको प्रमाणित गर्नुपर्ने हुन्छ। लियाजन अफिसरले प्रमाणित गरेपछि मात्रै सम्बन्धित व्यक्तिले हिमाल आरोहण गरेको कानुनी मान्यता पाउँछ। हिमाल आरोहण समूहबाट एक जना लियाजन अफिसरले २ हजारदेखि ३ हजारसम्म डलर सुविधा पाउँछन्। यसबाहेक हिमाल आरोहण गर्ने समूहले उनीहरूलाई थप सुविधा दिनेगर्छ। त्यसैले लियाजन अफिसर भई आरोहण दलमा जान सरकारी कर्मचारीहरूमा सोर्सफोर्स र पहुचँ लाग्ने गर्छ।
अघिल्ला वर्षहरूमाझैं यस मौसममा पनि लियाजन अफिसरमा अवसर पाउने कर्मचारीहरूमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, अख्यियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयजस्ता पहुचँवाला कार्यालयका कर्मचारी हावी छन्। यसैगरी आधिकारिक ट्रेड युनियनका अध्यक्ष, महासचिव, सदस्य, सत्तारूढ कर्मचारी संगठनका अध्यक्षलगायतका पहुँचवाला कर्मचारी नेताहरू पनि लियाजन अफिसर भई हिमाल आरोहणमा पुगेका छन्। याे समाचार आजकाे नागिरक दैनिकमा प्रकाशित छ ।