'दुर्घटना भयाे वा हुन्छ भन्दैमा आरोहण-ट्रेकिङ व्यवसायलाई बन्द गर्नु जायज  हुँदैन'

'दुर्घटना भयाे वा हुन्छ भन्दैमा आरोहण-ट्रेकिङ व्यवसायलाई बन्द गर्नु जायज  हुँदैन'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  असार ०८, २०७६

नवराज दहाल

नवराज दहाल ट्रेकिङ्ग एजेन्सी एशोशियशन अफ नेपाल (टान)को अध्यक्ष हुनुहुन्छ । 

विगत वर्षहरुमा जस्तै यस सिजनको हिमाल आरोहणको काम  सकिएको छ । खासगरि सगरमाथा, लोत्से लगायतका हिमाल चढ्ने क्रममा यो सिजनमा १७ जना पर्वोतारोहीको ज्यान गएको छ । जसमा १४ जनाको शव ल्याइएको छ भने बाँकी ३ जनाको शव भने खराब मौसमका कारण ल्याउन नसकिएको जानकारी पर्यटन विभागले गरिसकेको छ । 

विगत भन्दा यसपटक सगरमाथामा फोहोर भएको, सगरमाथामा ट्राफिक जाम भएको र आरोहीले ज्यान गुमाएको घटनाले अन्तराष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चा र स्थान पायो । यसलाई मध्यनजर गर्दै नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा एक छनविन कार्यदल समेत बनाएको छ ।

उक्त कार्यदलको सदस्य तथा स्टोनीयको तर्फबाट नेपालको वाणिज्यदूत तथा (टान)को अध्यक्ष नवराज दहालसँग यस सिजनको सगरमाथामा भएको दुर्घटना, ट्राफिक जाम र सगरमाथा आरोहण बन्द गर्न लागिएका लगायतका विषयमा लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूल अंशः  

टान अहिले के गरिरहेको छ ?

ट्रेकिङ व्यवसायीहरुको एउटै मात्र छाता संगठन टानले ट्रेकिङ व्यवसायीहरुलाई परेका समस्याको समाधान तथा नेपालमा धेरै भन्दा धेरै पर्यटकलाई कसरी ट्रेकिङमा र आरोहणमा आवद्ध गराउन सकिन्छ र धेरै भन्दा धेरै पर्यटक नेपालमा भित्र्याउने भन्ने कुरामा केन्द्रित भएर टानले काम गरिरहेको छ । टानले विगतमा जे जति राम्रो कामको सुरुवात गर्दै आएको थियो त्यसलाई निरन्तरता दिने ।  देश संघीयतामा गएको छ । हामीसंग स्थायी सरकार छ । नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने घोषणा गरि सकेको छ । २० लाखभन्दा बढी पर्यटकहरु ल्याउने लक्ष्य छ । यो परिस्थितिमा सबैलाई सहयोग पुग्ने गरि टानले आफ्नो गतिविधि अगाडि बढाई रहेको छ ।

अहिले त भर्खरै यो सिजनको पर्वतारोहणको काम सकिएको छ, यसका टानको भूमिका कस्तो रह्यो ?

टान ट्रेकिङ व्यवसायीहरुको छाता संगठन हो । ट्रेकिङ व्यवसायीहरुले नै ट्रेकिङ र आरोहणको व्यवस्थापन गर्ने हो । आफ्नो सदस्य संस्थाहरुले गर्ने व्यवसायमा टानको भूमिका त सँधै सकरात्मक त हुने नै भयो । हामी आफैले अनुमति दिने होइन् । हामीले भनेको सहजकर्ताको भूमिका निर्वाह गर्ने हो, नियमन गर्ने होइन् । राज्य र व्यवसायीको बीचमा केहि दूरी छन भने त्यसलाई घटाउने, अस्पष्ट छन भने स्पष्ट पारि दिने, नीतिगत कुरामा लविङ गर्ने इत्यादी कुराहरु गर्ने भएको हुनाले हामीले त्यस्तै खालको भूमिका निर्वाह गर्दै आएका छौं र अहिले गएको सिजनमा पनि टानले त्यहि खालको भूमिका निर्वाह गरेको थियो ।

टानको मुल्याङ्कनमा ट्रेकिङ र आरोहण कत्तिको सुरक्षित छ?
पदयात्रा गर्नु, आरोहण गर्नु अथवा ट्रेकिङ गर्नु जे भन्नुस यो आफैंमा चुनौतीपूर्ण कार्य हो । त्यसमा पनि एडभान्चर टुरिजमको अत्यधिक सम्भावना भएको मुलुक हो नेपाल । नेपालको पर्यटनको आधार पनि यहि एडभान्चर टुरिजम नै हो । त्यो भनेको ट्रेकिङ आरोहण नै हो । यहाँ प्राकृतिक खालका दुर्घटनाहरु पनि हुन्छन् । यस्ता दुर्घटनाहरु  हुने भएको हुनाले ट्रेकिङ र आरोहण स्वभाविक रुपले चुनौतीपूर्ण नै छ । जहाँ चुनौती छ त्यहाँ नै सम्भावना बढी हुने हो ? चुनौती छ भनेर एउटा स्थापित व्यवसाय नगर्ने अनि यसबाट पलायन हुने भन्ने कुरा त भएन नि ? जहाँ चुनौती छ सम्भावना पनि त्यहीँ बढी हुने हो । चुनौतीलाई व्यवस्थापन गर्दै, त्यसलाई न्यूनिकरण गर्दे व्यवसायलाई अझ बढी मजबुत बनाउने पो हो ।

टान र सरकारले जोखिम न्यूनिकरण गर्नका लागि के गर्नुपथ्र्यो र हाल के भइरहेको छ ?

हामीले टानको तर्फबाट सुझावहरु त पेश गरिरहेका छौं । पहिलो भनेको मौसमको सहि अनुमानका लागि सरकारले प्रविधिमा व्यापक सुधार गर्नुुपर्छ । त्यो हामी कहाँ अझै भएको छैन् । अर्को आरोहण तथा ट्रेकिङसँग आवद्ध तालिमको व्यवस्था हुनुपर्‍यो । गाइड र पाटीहरुे रुपमा उहाँहरुको तालिम अझ बढी एडभान्समा हुनु पर्ने हो । उहाँहरुलाई त्यो तालिम पनि अपुग भएको छ । हामीले ठूलाठूला समूह बनाउँछौं, एउटै गाइडलाई बढी जिम्मेवारी दिन्छाैं, जसले गर्दा ठूला दुर्घटनाहरु हुने गर्छन् । अर्को कुरा इक्युमेन्ट, जुनखालको इक्युमेन्टहरु क्लाइम्बिङमा अथवा ट्रेकिङमा चाहिने हो त्यो इक्युमेन्टहरु क्वालिटीको नहुनु अथवा अपुग भएका कारणले पनि हामीले धेरै चुनौतीहरु, दुर्घटनाहरु व्यहोर्नु परिरहेको छ । यस्को बारेमा पनि इजाजत दिने बेलामा पनि अलिकति ख्याल गरिनु पर्छ । मानिलिउँ सगरमाथा चढ्नु छ । सगरमाथा चढ्नु भन्दा अगाडीको पुर्वशर्त के हो त ? उसलाई सामान्यतया हिमालको ज्ञान त हुनु पर्‍यो नि ! त्यो भन्दा तल्लोस्तरको हिमाल चढेको अनुभव हुनुपर्छ कि पर्दैन ? अनुमति दिंदा यस्ता कुराहरुको पनि हामीले ख्याल गरेका छैनौं । अर्को ड्यूरेशन, कति समयमा एउटा हिमाल चढ्ने त ? रेकर्ड राख्ने नाममा जस्तो खालको पनि गरिदिने काम भइरहेको छ । दुर्घटना निम्त्याउन यस्ता कामहरु पनि जिम्मेवार छन । यतातिर सबैले दिनुपर्छ । जस्तो विगतलाई पनि हेर्नु पर्‍यो । कुन कम्पनीले यसको व्यवस्थापन गरी रहेको छ । कति जिम्मेवार कम्पनी हो ? आदि कुराहरुमा ख्याल नगरिएको हो कि ? भन्ने हामीलाई लागि रहेको  छ । यसको आधारमा हामीले  सकारकालाई सुझावहरु पेश गरिरहेका छौं । 

यस पटक पनि हिमालमा दुर्घटना भयो, करिब डेढ दर्जन मान्छेको मृत्यु भयो यसको कारण चाँही के हो ? 

एकैचोटी धेरै मान्छेहरुले चढ्ने अनुमति पाए । चाइनापट्टीबाट सगरमाथा चढ्नेको संख्या सीमित गरी दिएपछि नेपालबाट चढ्नेको संख्या बढ्यो र हामीले पनि धेरैलाई चढ्ने इजाजत दियौं । अनुभव भएको नभएको सबैलाई एकै चोटी हिमाल चढ्ने अनुमति दिनु मुख्य कारण हो । अर्को अक्सिजन लगायत इक्युमेन्टहरुको बारेमा पनि त्यहाँ प्रश्न उठेका छन् त्यसको बारेमा पनि अनुसन्धान हुँदैछ ।  

सगरमाथा चढ्नका लागि जति अनुभव हुनु पथ्र्यो अथवा पर्वतारोहीहरुलाई जे कुराको ज्ञान हुनुपथ्र्यो त्यो भएन भन्दा सहि हुन्छ कि गलत ?
त्यो पनि हो । जसको आधारमा क्लाइमिङ गर्नु पर्थ्याे विदेशीहरुले क्लाइमिङ गाइडको पनि प्रश्न उठ्न सक्छ । लियाजो अफिसरले ठूलो भुमिका निर्वाह गर्नु पर्ने हुन्छ । जोइन गराएर एउटै लियाजो अफिसरले थुप्रै मानिसहरुको लियाजो गर्नुपर्ने अवस्था छ । लियाजो अफिसर आफैंमा पनि कति अनुभवि हो ? त्यसमा पनि भरपर्ने कुरा हो ।

लियाजो अफिसर त उहाँ पुग्दैनन्, काठमाडौंमै बसेका कारणले पनि धेरै समस्या हुन्छ भन्छन नि?

हो यो कुरा पनि आएको छ । हामीले यसको विषयमा पनि कुराकानी गरिरहेका छौं । तर, यहि दुर्घटनाको बेला यस्तो भयो भनेर त म भन्न सक्दिन । त्यहाँ गएको हुन सक्छ । ठूलो समूह बनाउने, एकभन्दा बढी समूहलाई आरोहण मिलाई दिने, सस्तोमा पर्वतारोहण सञ्चालन गर्ने, सस्तोमा पर्वतारोहण सञ्चालन गरेपछि धेरै मान्छेलाई एकै ठाउँमा ज्वाइन गराउनु पर्ने नै भयो ।  अनि तालिम प्राप्त नभएका गाइडहरुले पनि पर्वतारोहण सञ्चालन अगुवाई गरिरहेका हुन्छन् । अर्को आरोहणमा जाने मान्छेलाई कम्तिमा पनि एउटा क्राइटेरिया त निश्चित गर्नु पर्‍यो नि ! ८ हजार ८ सय अठ्चालिस मिटर हिमाल चढ्नेले कम्तीमा पनि ६ हजारको हिमाल चढ्यो कि चढेन पहिला ? त्यो चढेको नाममा प्रमाणपत्र मात्रै लिएको हो कि ? साँच्चिकै चढेको हो कि होइन यी सबै कुराहरुको पनि त अलिकति ख्याल गरिनु पथ्र्यो । अर्को ड्यूरेशनको कुरा, कति ड्यूरेशनमा चढ्ने र कतिजनालाई एक चोटिमा इजाजत दिने यी सबै कुराहरुको ख्याल गरिनु पथ्र्यो, तर त्यो हालसम्म गरिएन् । यो सबै कुरा नगर्दा त्यो भद्रगोल भएको हो । त्यो भद्रगोललाई सच्याउनको लागि सरकारले अतिकति प्रयास गरिरहेको मैले सुनेको छु ।

यसपटकको दुर्घटना पछि सरकारले छानबिनको लागि एउटा समिति बनएको छ जसमा तपाईँ पनि हुनुुहुन्छ, छनविन कसरी गर्दै हुनुुहुन्छ ? 

सहि हो । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा सुझावहरु पेश गर्नको लागि ५ जनाको कार्यदल बनाइएको छ । हामीले त्यसका लागि सुझाव संकलन थालेका छौं  । अब आउने दिनहरुमा हिमाल चढ्ने कुरा अझ व्यवस्थित होस, अझ मर्यादित होस, सकेसम्म दुर्घटना हुँदै नहोस भए पनि न्यूनिकरण गर्न सकियोस भन्ने हिसाबले नै हामीले सुझावहरु राख्ने तयारी गरिराखेका छौं । कमिटिलाई एक महिनाको समय दिइएको छ ।  यो दुर्घटना हुँदा र कमिटि बनाउँदा म बाहिर थिएँ । तर यसको पहिलो बैठक हामीले भर्खरै गरेका छाैं । अब त्यो समितिले सुझावको लागि गृहकार्य गर्दैछ  । 

यो समिति मार्फत अहिले खासगरि पर्यटन मन्त्रालयको कर्मचारीतन्त्र आरोहणलाई केहि समयको लागि स्थगित गर्ने अथवा बन्द गर्ने पक्षमा छ भन्ने खालको टिका टिप्पणीहरु आइरहेका छन् । त्यसको बारेमायहाँहरुलाई कुनै जानकारी छ ?

सरकारको तर्फबाट त्यस्तो खालको आधिकारिक कुरा आएको  मैले सुनेको छैन । विभिन्न कार्यक्रमबाट विभिन्न व्यक्तिहरुले यस्ता कुराहरु बाहिर ल्याएको सुनिन्छ । दुर्घटना हुन्छ, दुर्घटना भयो भन्दैमा नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने आरोहण, ट्रेकिङ व्यवसायलाई बन्दै गरिदिने ? जसले रोजगारीमा ठूलो भूमिका खेलेको छ त्यसलाई बन्द गरिदिने ? दुर्घटना कसरी न्यूनिकरण गर्ने ? अथवा दुर्घटना कसरी हुन नदिने, कसरी व्यवस्थित गर्ने कुरा तिर हामीले जानु पर्छ । १८ सय भन्दा बढी ट्रेकिङ एजेन्सीहरु सदस्य भएको तथा हाल मैले नेतृत्व सम्हालिरहेको संस्था ट्रेकिङ व्यवसाय एजेन्सी (टान) आरोहण स्थगन गर्ने पक्षमा छैन् । त्यो खालको लविङ नै भएको छ भने त्यतातिर जानु हुँदैन बरु हामीले मिलेर यसलाई व्यवस्थित गर्नुपर्छ ।  

संख्या तोक्नु पर्छ जस्तो यहाँहरुलाई लाग्छ कि लाग्दैन?

हो । बरु व्यवस्थित गर्नको लागि संख्या तोक्न सकिन्छ । यो सिजनमा, यो अवधिमा यति संख्यालाई हामीले आरोहणको लागि इजाजत दिने भनेर भन्न सक्छाै‌ं । क्राइटेरियाहरु हामीले फेबदल गर्न सक्छाैं । क्राइटेरियाहरु पुनरावलोकन गर्नु पर्ने हुन्छ ।  हिजो जे थियो त्यसलाई अलिकति फेरबदल गर्नुपर्ने हुन्छ । इक्युपमेन्टको बारेमा हामीलाई राज्यले पनि अलिकति कस्तो मेनेजमेन्ट गर्दैछ भनेर ध्यान दिनु पर्ने हुन्छ । क्लाइमिङको लागि आवद्ध भएका कर्मचारीहरु, मजदुरहरुको बारेमा पनि अलिकति ख्याल गर्नु पर्ने हुन्छ । मुख्य छ अक्सिजन, हामीले बिगतमा ख्याल गरिरहेका थिएनाैं अब चाहि ख्याल गर्नु पर्छ भन्ने मलाई लाग्छ । हिमाल चढ्न जाने आरोहीहरु जो हुनुहुन्छ उहाँहरुको फिजिकलदेखि लिएर स्वास्थ्य, उहाँहरुको अनुभवहरुलाई पनि ध्यान दिनु पर्ने हुन्छ । सगरमाथा भन्दा ठूलो अरु हिमाल त छँदैछैन । सगरमाथा चढने कुरालाई पनि सामान्य हिमाल चढ्ने जस्तो गरेर सजिलै इजाजत दिन थालियोे भने समस्या त हुन्छ । संसारकै अग्लो हिमाल चढ्नको लागि अरु हिमाल चढेको अनुभव त चाहियो नि ? कम्तीमा हामीसंँग त्यस्ता सम्भावना भएका अरु थुप्र्रै हिमालहरु छन् । ६ हजार, ७ हजार, ५ हजारका हिमालहरु पश्चिमतिर छन नि ? त्यहाँ पनि हिमाल चढ्न गयो भने कम्तीमा पनि त्यहाँको मान्छेले रोजगारी पाउँछन् ।
त्यसलाई सर्तका रुपमा राखियो भने अहिले जुन दुर्घटनाहरुको सामाना गर्नु परेको छ, त्यो गर्न पर्दैन हो ?

हो । त्यो गर्नुु हुँदैन । पहिला अरु हिमाल चढेर अनुभव भएकालाई मात्र सगरमाथा चढ्ने अनुमति दिनुपर्छ । हिमालको पनि एउटा खालको गरिमा हुन्छ जुन सगरमाथा चढ्नेको र त्यसको जुन महत्व हो । त्यो स्वतः महत्व माथी उठ्छ । 

यसको अर्थ हामीले जस्लाई पनि चढ्न दिँदा सगरमाथा चढ्ने कुराको महत्व कम हुँदै गएको छ भन्न खोज्नुभएको हो ? 

यो सहि हो । अहिले सगरमाथा चढ्ने कुरा एउटा सामान्य हिमाल चढ्नु जस्तो भइसकेको छ । जो कसैले पनि दुस्साहस गर्न थालिसकेको अवस्था छ ।  चढ्नु नचढनु आफ्नो ठाउँमा छ, दुर्घटना होस या नहोस त्यो पनि आफ्नो ठाउँमा छ तर, जो सगरमाथाको महत्व छ नि त्यो घट्दै गइरहेको जस्तो हामीलाई लागि रहेको छ । संसारको सबैभन्दा अग्लो हिमाल, सगरमाथाको इज्जत आफ्नै ठाउँमा छ । त्यो चढ्ने कुरामा एउटा क्राइटेरिया चाहियो । त्यो बनाउनु पर्‍यो । 

भनेपछि त्यो क्राइटेरिया कमजोर छ ?

हो कमजोर छ । एउटा क्राइटेरियाक निर्धारण नगरेका कारण पनि यस्ता दुर्घटनाहरु हामीले निम्त्याइ रहेका छाै‌ं । 

यहाँहरुको कमिटिले यी क्राइटेरियाहरुमा पुर्नविचार पनि गर्छ कि ? यो दुर्घटना किन भयो भन्ने कुरामा मात्रै प्रतिवेदन दिन्छ ?

सबै कुराहरुको बारेमा छलफल गरेर हामीले सुझाव पेश गर्छौ । अब आउने दिनमा सगरमाथा चढ्ने कुरा साँच्चै सगरमाथा चढ्ने जस्तो खालको सन्देश जाने तथा आरोहणको अनुभव भएकालाई मात्र चढ्ने अनुमति दिने खालको क्र्राइट एरियाको बारेमा साथै दुर्घटनालाई कसरी न्यूनिकरण गर्ने आदी सबैको बारेमा सुझाव पेश गर्नेछाैं । 

हामी सगरमाथा चढ्ने कुरालाई आय आर्जनसंग मात्रै  जोडेर हेर्छौं, एजेन्सीले पनि पैसासंग मात्रै जोड्ने र सरकारी निकायहरुले पनि हामीसंग राजस्व यति आउछ त्यस कारणले जतिले अनुमति माग्छन तिनलाई अनुमति दिएका कारण समस्या भएको हो भन्यो भने सहि हुन्छ कि गलत?

त्यो पनि एउटा तर्क हो । हामीलाई पनि त्यो महसुश भइरहेको छ । व्यवसायीले पनि व्यवसाय गर्ने कुरा त होे, राज्यको पनि हामीलाई त रोयल्टी आइहाल्छ भन्ने सोचका कारणले पनि हामीले जस्तोलाई पनि अनुमति दिइराखेका छौ । अहिले हुँदाहुँदै नचढेका मान्छेले पनि चढेको जस्तो गरेर ‘फेक’ खालको गतिविधि भएको कुरा पनि आइरहेको छ । यसले सगरमाथाको गरिमालाई हामीले कहाँ पुर्‍याइ रहेका छौं त ? कुनै पनि हिमाल चढ्ने कुरा बन्द गर्नु हुँदैन किन भने हाम्रो अर्थतन्त्रको बलियो आधार त्यहि हो । अर्को कुरा नेपालको पर्यटनको ठूलो संभावना ट्रेकिङ र आरोहण नै हो । यसलाई आम्दानीको हिसाबले हेर्नुस अथवा रोजगारीको हिसाबले हेर्नुस हरेक हिसाबले हेर्दा यस्तो चिजलाई बन्द गर्ने होइन बरु त्यसलाई व्यवस्थित गर्नुपर्छ । 

व्यवस्थित गर्नलाई १,२,३  गरेर शुरु गर्नु पर्‍यो भने कहाँबाट शुरु गर्नु पर्ला ?

सगरमाथा चढ्ने व्यक्तिको स्वास्थ्यको कुरालाई पनि ख्याल गरिनु पर्छ । उसले पहिला कुन हिमाल चढेको हो त्यो पनि नेपालमै कम्तीमा पनि ६÷७ हजार मिटरको हिमालहरु चढेको हुनु पर्ने पूर्वसर्त राखिनु पर्छ । खाली त्यो चढेको प्र्रमाणपत्र पेश गरेर मात्रै हुँदैन वास्तविक हुनु पर्‍यो ।

अर्को कुरा सम्बन्धित कम्पनी जसले यसको व्यवस्थापन गरिरहेको छ त्यो कम्पनीको बारेमा पनि ख्याल गरिनुपर्छ । कम्पनीको नाममा इजाजतै नलिएकाहरुले पनि के के गरेर आरोहण ट्रेकिङ गर्ने गरेका छन् । एनजिओ आइएनजिओहरुले पनि यसको व्यवस्थापन गर्ने गरि राखेको छ । प्रयोग गरिने इक्युमेन्टहरुको बारेमा पनि जाँच गरिनु पर्छ । किन भन्दा हामीले ब्रिफिङ त गर्छौ क्लाइमिङ गर्ने क्लाइमर छ गाइडहरुलाई ब्रिफिङ गर्ने हुन्छ । तर त्यो औपचारिकतामा सीमित छ । अक्सिजन कस्तो खालको लिने भन्ने कुरा अक्सिजनको सिलिन्डर देखि हरेक कुराहरुको बारेमा ख्याल गरिनुपर्छ । गाइडको तालिम अहिले जे जति छ त्यो अपुग छ । त्यसलाई अझै एडभान्स तालिम गराउनु पर्छ । त्यो सम्बन्धित गाइड तालिम प्र्राप्त गाइड हो कि सिकारु हो त्यो पनि ख्याल गरिनु पर्छ । यस भन्दा पहिले उसले कति वटा हिमालहरु सफलता पूर्वक सम्पन्न गर्‍यो त्यो पनि ख्याल गरिनु पर्छ । लियाजो अफिसरहरु जो जानु हुन्छ उहाँहरुको पनि स्वास्थ्यको ख्याल गरिनुपर्छ । उहाँहरुलाई पनि तालिमको आवश्यकता पर्छ । उहाँहरुले त्यो भूमिका निर्वाह गर्नु पर्ने भएकाले उहाँहरु जहासम्म जानु पर्ने हो त्यहासम्म जानुपर्छ । त्यहाँसम्म जानको लागि आवश्यक इक्युमेन्टहरु व्यवस्थापन गर्ने र उपलब्धता गरिनुपर्छ । जाने भनेको ठाउँसम्म जानै पर्छ र उहाँहरुले त्यो भूमिका खेल्नै पर्छ ।

अहिले उहाँहरुले त्यो भूमिका नखेलेका कारणले नचढेको मान्छेले पनि चढेको भन्ने र त्यहाँसम्म नपुगेको मान्छेलाई पुगेको हो भन्ने गरेको हो ?

हो । त्यस्तो भनेको सुनिँदै आएको छ । पैसाकै लागि होडबाजी गरेर लियाजो अफिसर जाने चलन छ । लियाजो अफिसर जानको लागि तालिम आवश्यक छ । स्वास्थ्यले साथ दिइरहेको छ कि छैन ? अनि इक्युमेन्टहरु पनि त्यस्तो भरपर्दो खालको पाइरहेक छन कि छैनन ? त्यहाँसम्म नपुग्ने किन भन्दा स्वास्थ्यले साथै नदिए कसरी जाने ? कुनै पनि नियम कानुन फलो गर्न नपर्ने, कार्वाही नहुने भनेपछि किन गैरहनु पर्‍यो, पैसा आइहाल्छ ।  नियुक्ती लिएर जता बसिदिए पनि भयो भन्ने जस्ता कुरा सुनिएको छ  । त्यस्तो हुनुहुदैन् ।

तपाईहरुको कमिटिले लियाजो अफिसरको बारेमा  अध्ययन गर्छ कि गर्दैन ?

होइन, हामीले बोल्छौ । हामी समग्र विषयमा बोल्छौं । किन भने हामीलाई नेपालको पर्यटनको अत्यन्तै चिन्ता छ । नेपालको पर्यटनको हालसम्मको गतिविधिहरु अहिलेसम्म निजी क्षेत्रकै प्रयासले भइरहेका हुन् । हाम्रो सरकारले बल्ल अहिले पर्यटनको बारेमा अलिकति बोल्न थालेको छ । अहिले अलिकति महत्व दिएको हो कि जस्तो भएको छ । तर, विगतमा त राज्यले पर्यटनलाई महत्व दिएको होइन् नि ? २० वर्ष २५ वर्ष अगाडी पर्यटनले राज्यलाई जुनखालको योगदान गरेको थियो । त्यसवेला राज्यले ध्यान र महत्व दिएको भए त्यत्रो सम्भावना बोकेको पर्यटन कहाँ पुगि सक्थ्यो । हामीलाई अत्यन्तै चिन्ता लागेको छ । हामीले समग्र विषयहरु नछुटाइकन सुझावको रुपमा राख्छाैं । यो सुझाव कार्यन्वयनमा कसरी आउँछ त्यो हेर्नु पर्छ ?

पर्यटन मन्त्रालयको कर्मचारीतन्त्रले खासगरि आरोहण बन्द गर्ने निस्कर्षमा पुगेर यो समिति निर्माण भएको भन्ने कुरा आइरहेको छ त ?

त्यो होइन, बन्द गर्ने हिसाबले यो समिति बनाइएको चाहिँ होइन् । मलाई त्यस्तो खालको ब्रिफिङ कतैबाट पनि भएको छैन । मैले राज्यको तर्फबाट पर्यटन मन्त्रालयका कुनै पनि व्यक्तिले भनेको कुरा मैले सुनेको पनि छैन् । मसंग पनि त्यो कुरा भनिएको छैन् । बरु एक दुईवटा कार्यक्रमबाट कसै कसैले अब केहि ठूला हिमालहरु विशेष गरि सगरमाथामा केही वर्ष रेस्ट लिनुपर्छ कि भनेर कसै कसैले कुरा लिएर आएको सुनेको छु । त्यो बहसको रुपमा आउने होला त्यो अत्यन्तै झिनो भनाई हो । किन भन्दा हिमाललाई रेस्ट दिने नाममा फेरि हामीहरु पर्यटकबाट जुन खालको आय आर्जन छ त्यसलाई पनि गुमाउने हो । उसै त यहाँ बेरोजगारीको स्थिति छ । अहिले जसले रोजगारी पाएको छ तिनीहरुलाई कहाँ लैजाने ? त्यस्तो गर्नु हुँदैन त्यो निर्णय चाहिँ गलत हुन्छ । हामी निजी क्षेत्रका व्यवसायीलाई त्यो मान्य हुँदैन् ।