लोकसंवाद टिप्पणीः गेरुवा रंगले काठमाडौँमा ल्याएको तरंग

लोकसंवाद टिप्पणीः गेरुवा रंगले काठमाडौँमा ल्याएको तरंग

आशिष पौडेल  |  समाचार  |  असार ०९, २०७६

लखनउस्थित मुख्यमन्त्री कार्यालय अर्थात लोक भवनमा नेपाली पत्रकारहरुको एक टोलीसँग  छलफल गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दू राष्ट्रका लागि ढिलोचाँडो तयार हुने विश्वास व्यक्त गरेका छन् । यसले नेपाली राजनीतिमा ल्याउने तरंग हेर्न बाँकी नै छ । उनले त तलाउमा केवल एउटा सानो ढुंगो फ्याँकेका छन् । देश भित्र देखिने यसको लहर त केही दिन पछि देखिँदै जाला तर सरकारको रवैया कस्तो हुने भन्ने विषय भने हिमालपारी र सात समुन्द्रपारी हुने यसको असरले नै निर्धारण गर्नेछ । 

धर्म, संस्कृति र परम्परा नास गर्नका लागि गुठी विधेयक ल्याइएको र सरकारले पत्रकार सम्मेलन मार्फत विधेयक फिर्ता लिएको जानकारी गराई सकेको अवस्थामा पनि विधेयकको खारेजीको माग गर्दै राजधानीको माइतिघर मण्डलामा उपत्यकाका नेवारहरुले गरेको विशाल प्रदर्शनलाई सरकार वा अन्य पक्षले योगीको यो कथनसँग जोडेर हेरेमा कुनै आश्चर्य नमान्दा ह्न्छ । स्मरण रहोस, धमिलो पानीमा माछा मार्ने राजनीतिका पोख्त खेलाडीहरु रहेको देश हो नेपाल ।  

दोस्रो संविधानसभाबाट संविधान जारी हुँदै गर्दा हिन्दुराज्य नरहेको कुरा चाल पाएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विशेष दूतका रुपमा विदेश सचिव एस जयशंकरलाई काठमाण्डौ उतारे । काठमाण्डौ उत्रिएपछि उनले कुन कुन नेता र अन्य सम्बन्धितको कसरी हुर्मत लिए भन्ने कुरा जगजाहेर भैसकेको विषय हो । आफ्ना कुरा नमानेको इगोको रुपमा तत्कालको नाकाबन्दी नेपालीले बिर्सेका छैनन् । 
यहि मेसोमा  हालै सम्पन्न लोकसभा निर्वाचन पछि गठन गरिएको मन्त्रीमण्डलमा उनै जयशंकरलाई विदेश मन्त्री जस्तो महत्वपूर्ण कार्यभार प्रदान गरिनुमा उनले अमेरीका तथा चीनसँग प्रदर्शन गरेको कुटनीतिक क्षमताको पाटो बढी हावी भएपनि उनको नियुक्तिमा नेपाल अगुल्टोले हानेको कुकुरझैं तर्सिनु स्वभाविक हो । अर्को कुरा मोदीको दोस्रो इनिङमा नेपाल लगायत पाकिस्तान तथा अन्य छिमेकी प्रति मोदीले अझ कठोर रवैया अपनाउन सक्ने आँकलन गरिरहेका बेला मोदीको विश्वास पात्रका रुपमा उत्तर प्रदेशको शासन सत्ता सम्हालेका तथा कठोर हिन्दुत्वको छवि बनाएका योगीले नेपाल हिन्दू राष्ट्रका लागि ढिलोचाँडो तयार हुने विश्वास व्यक्त गर्नुले पनि वातावरण भित्र भित्रै गर्माएको बुझ्न सकिन्छ । 

मोदीको दोस्रो कार्यकाल कस्तो हुने भन्ने एक प्रकारको अन्यौल र अनुमानकाबीच पनि उनको यो कार्यकाल पहिले जस्तो सामान्य नभई आक्रामक हुनसक्ने अनुमानलाई योगीको यो कथनले झन बल मिलेको छ । कतै यो हिन्दू राष्ट्र निर्माण गर्ने प्रक्रियाको थालनीको प्रारम्भिक चरण त होइन भन्ने प्रश्न पनि उब्जिएको छ । 

मुखमा समाजवाद र व्यवहारमा पूँजीवादी चिन्तन हावी भएको हाम्रो मस्तिष्कले हामीलाई कुन दिशामा पुर्‍याउँछ हामी स्वयं नै अलमलमा छौं । सोच ढुलमुले भएका कारण गन्तव्यमा अलमल भएको हो ।

हालै राजस्थानका मुख्यमन्त्री अशोक गेलोटले ७० वर्ष नाघेका आफ्ना नागरिकलाई पशुपति आउने जाने तथा अन्य खर्च सरकारले व्यहोर्ने घोषणा गरेका छन् । उनी कांग्रेसका मुख्यमन्त्री हुन र हिन्दुत्वसँग उनको प्रत्यक्ष बसउठ नभएपनि एकाथरिले भने ऊ ल हेर त राजस्थान सरकार पनि हिन्दुवादी देखियो भनेर कुरा गर्ने अवसर प्राप्त गरेका छन् । 

३ करोड जनसंख्या भएको नेपाल विश्वका हिन्दुका लागि एउटा नमूना हुनसक्छ, पहिचानको एउटा बेग्लै आधार हुनसक्छ र विश्वका सय करोड हिन्दुको आस्थाको केन्द्र हुनसक्छ भने यसलाई अर्थतन्त्रको पाटोमा जोडेर किन नहेर्ने भन्ने एक प्रकारको अभिमत हुनसक्छ । तर यस प्रकारको अभिमतलाई पनि गेरुवा र भारतीय राजनीतको चश्माबाट हेर्दाभने यसमा अवश्य पनि हिन्दुत्व बसाउँछ । 

संविधानमा धार्मिक निरपेक्ष भनिए पनि धर्ममा आस्था राख्ने नागरिकलाई थामथुम पार्न र ओमकार परिवारका झण्डै ८२ प्रतिशत नागरिकलाई नबिच्क्याउन संविधानमा धार्मिक निरपेक्षताको व्याख्याका लागि थुप्रै शब्द खर्चिनु परेको हो भन्ने आम बुझाई छ । यसको अर्थ यसमा कतै कैफियत छ भन्ने संविधान निर्माता निरपेक्ष ‘नेता’लाई लागेका कारण नै छिमेकमा छिसिक्क गेरुवा रंग हल्लने बित्तिकै यहाँ हिन्दुराष्ट्र आउन लाग्यो भन्ने एक प्रकारको डर र कुण्ठा यहाँ देखा पर्ने गर्छ । योगीको भनाई माथिको प्रतिक्रिया यो पनि हुनसक्ने अनुमान गरिन्छ । नत्र एउटा योगीले स्वभाविक  रुपमा उसको आस्था र धर्मका बारेमा बोल्दा तरंग उत्पन्न हुनुलाई स्वभाविक मान्न किन सकिएन ?

धर्मनिरपेक्ष भनिएका अमेरिका, बेलायत लगायत अन्य पश्चिमा राष्ट्रमा बाइबल छोएर शपथ खानुपर्ने वाध्यात्मक व्यवस्थामा भने धर्मको रंग नदेख्ने तर जहाँ धर्म तथा जातका नाममा कुनै हिंसा भएको छैन र अल्पसंख्यक धार्मिक सम्प्रदायप्रति जहिले पनि सद्भाव प्रकट गरिएको छ त्यो देशमा भने संविधानमै धर्म निरपेक्षता किन आवश्यकता पर्‍यो  भनि प्रश्न गनेको संख्या पनि कम छैन ? 

यसले यहाँ धर्मका नाममा फुट ल्याइँदैछ भन्ने सामान्य मानिसले पनि आँकलन गर्न सक्ने कुरा हो । यसकारण पनि धर्मनिरपेक्षता ‘लेखाउने’ शक्तिलाई योगी जस्ता हिन्दुवादीले केही बोल्ने बित्तिकै यो ‘तिलको पहाड’  बनएइको रुपमा लिने गरिएको छ । 

हिन्दुराष्ट्र र राजतन्त्र कसरी संविधानबाट हटाइए र यसका बारेमा जनमत संग्रह गरिनुपर्छ भन्ने आम धारणा नेपालमा छँदैछ । दोस्रो संविधान सभाको सुझाव संकलनका बेला सबैभन्दा हिन्दुराष्ट्रका कायम गरिनुपर्छ भन्ने विषयमा सबैभन्दा धेरै सुझाव प्राप्त भएको थियो भनिन्छ  । तर, त्यसलाई लत्याएर हतार हतारमा ‘बाइबल’को साइज र शैलीमा नेपालको ‘उत्कृष्ट’ संविधान छापिनुले पनि ‘गेरुवा रंग’को सानो छिटाले पनि यहाँका थुप्रै धार्मिक दिवारहरु धर्मराउने गरेका छन् । 

हाम्रो सोच, विचार र मान्यताहरु नै धर्मराएका छन् । हामीसँग स्पष्ट दृष्टिकोण छैन वा हाम्रा मान्यतालाई पूँजीवादी सोचले रुग्ण बनाएका छन् । मुखमा समाजवाद र व्यवहारमा पूँजीवादी चिन्तन हावी भएको हाम्रो मस्तिष्कले हामीलाई कुन दिशामा पुर्‍याउँछ हामी स्वयं नै अलमलमा छौं । सोच ढुलमुले भएका कारण गन्तव्यमा अलमल भएको हो । आफ्ना विचार र स्वाभिमानमा अडिन नसकेका कारण हरेक साना झोकाहरुले हामीलाई हल्लाई दिन्छ । हामी दोष झोकालाई दिन्छौं, आफूले दर्‍होसँग खुट्टा टेक्न नसकेको कुरामा ख्याल गर्दैनौं ।

नेपाल हिन्दु राज्य भएको हेर्ने आफ्नो चाह भएको बताएर योगीले नेपालले यसबारेमा पुर्नविचार गनुपर्ने संकेत दिएका छन् । दोस्रो प्रधानमन्त्रीत्वकालमा मोदी झनै शक्तिशाली भएर उदाएकोमा उनको शपथको केही समय पछि मोदीका विश्वासपात्र योगीले हिन्दु राज्यको कुरा उठाउनुले भविष्यमा भारतको नेपाल हेर्ने एउटा दृष्किोण यो पनि एक हो भन्ने सोझो संकेत यसले गर्छ । 

अन्य राज्यका मुख्य मन्त्रीले यस विषयमा कुरा गरेको भए यो विषयले यत्तिको चर्चा र महत्व पाउँदैनथ्यो । तर, नेपालको छिमेकी राज्य उत्तर प्रदेशका मुख्य मन्त्री, त्यसमाथि नेपालको नाथ सम्प्रदायको गोरखनाथका शीष्य योगीले हिन्दु राज्यका विषयमा बोलेपछि माहौल तात्नु स्वभाविक नै हो । 

अझ यसमा पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बन्ध र मुख्य मन्त्री हुनु पूर्व विश्व हिन्दु महासँघको सम्मेलनमा सहभागी हुन काठमाण्डौं आउजाउका क्रममा हुने बसिबियाँलोलाई पनि जोडेर हेर्ने हो भने हिन्दु धर्म इतरका मानिसहरुमा यसले चिन्ता, चासो र एक प्रकारको डर पैदा गर्नु स्वभाविक नै हो । 

संविधानबाट हिन्दुराष्ट्र र राजतन्त्र अस्वभाविक रुपमा हटाइयो भन्ने जुन क्षेत्रको झिनो आवाज छ त्यसको उचित सम्बोधन गर्ने प्रयास नभएका कारण छिमेकी मूख्य मन्त्रीको हरेक गेरुवा सवाललाई हामीले स्वभाविक रुपमा लिन नसकिरहेका त होइनौं रु भन्ने आजको आम प्रश्न हो ।