लोकसंवाद संवाददाता | अन्तर्मन्थन | असार १०, २०७६
दोर्जे ग्यालजेन शेर्पा
दोर्जे ग्यालजेन शेर्पा २०१९ को वसन्तकालीन मौसमका रोप फिक्सिङ (डोरी टाँग्नु) गरेर पहिलो पटक सगरमाथाकाे चुचुराेमा पुग्ने व्यक्ति हुनुहुन्छ । विगत दश वर्षमा १८ पटक सगरमाथाको चुचुरोमा पुगी सक्नु भएको छ शेर्पा । कहिले रोप फिक्सिङ त कहिले आरोहीको सहयोगी शेर्पाको रूपमा सगरमाथाको चुचुरोमा जाने गर्नुहुन्छ । रोप फिक्सिङको अनुभव, सहयोगी शेर्पा हुँदाको अनुभव र हिमालमा कसरी दुर्घटना भएर मानिसको मृत्यु हुन्छ भन्ने विषयमा केन्द्रित रहेर लोकसंवाद डटकमले दोर्जे ग्यालजेन शेर्पासँगअन्तर्ममन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूल अंशः
रोप फिक्सिङ (डोरी टाँग्नु) सुरु हुनुअघि तपाईंलाई कसले र कसरी सम्पर्क गर्छ ?
एजेन्सीसँग सम्पर्क हुन्छ । सिजन भएपछि भेटघाटबाटै सम्पर्क हुने गर्छ ।
यो रोप फिक्सिङमा काम गर्ने कति मान्छे छन् नेपालमा ?
अहिले त हामीसँग दक्ष–तालिमप्राप्त १० जना छन् । त्यसमध्ये म पनि एक हुँ ।
एजेन्सीले ती १० जनामध्ये सबैलाई नै खोज्छ कि केहीलाई मात्र ?
बढिजसो खोज्ने त १० जना, तर त्यो बीचमा डोरी ओसारपसार गर्ने १/२ चाहेको खण्डमा थप्न सकिन्छ ।
यसपटक कति जनालाई नियुक्ति गरिएको थियो ?
मुख्य त यसपाली हामी ८ जना थियौं । त्यसबीचमा २/३ जना शेर्पाले डोरी टाँग्न सहयोग गरेका थिए ।
सम्झौतापश्चात तपाईंहरू पूर्व तयारीका लागि के–के गर्नु हुन्छ ?
सुरुमा त जति हामी बाटो बनाउने सबै टिम छौं । सबै बसेर छलफल गर्छौं । यसरी डोरी टाँग्ने, कहिलेबाट सुरु गर्ने सबै कुरा छलफलमा गर्छौं । र, सुरु गर्नुअघि एकचोटी मौसमको पूर्वानुमान पनि हेर्छौं । त्यो सुरु गर्ने दिनको मौसम कस्तो छ । हावा छ कि छैन यो सबै हेरेर अलिकति राम्रो दिनको साइत हेरेर काम सुरु गर्छौं ।
त्यसमा साइत पनि हेर्नु हुन्छ ?
हाम्रो शेर्पा परम्परा अनुसार साइत पनि हेरिन्छ । हामीसँग काम गर्ने बढीजसो शेर्पाहरू नै हुन्छन् । शेर्पाहरूको परिवारको तर्फबाट पनि आफ्नो घरमा अथवा गाउँघरको गुम्बामा पनि पूजा हुन्छ । समग्रमा हाम्रो टिमको पनि माथी बेस क्याम्पमा लामालाई बोलाएर विदेशी हामी सबै सँगसँगै बसेर पूजा गर्छौं ।
त्यहाँ केको पूजा हुन्छ ?
माथि सबै काम राम्रो होस्, कुनै दुर्घटना नहोस र कूल देवताहरू खुसी हुन् भनेर हामीले यो पूजा गर्ने गर्छौं ।
जुन दिन तपाईंहरू काम सुरु गर्नु हुन्छ त्यो दिन हामी सुरक्षित छैनौं भनेर डर लाग्दैन ?
फिक्सिङ गर्नुभन्दा दुई/तनि दिनअगाडि नै हामी सबै बसेर राम्रोसँग एक–आपसमा छलफल गर्छौं । कसरी डोरी टाँग्ने, कति मिटर डोरी भयो भने ठिक्क माथि पुग्छ, यो सबै मोटामोटी हिसाब गरेर अगाडि बढेका हुन्छौं ।
जहाँ डोरी टाँग्नुहुन्छ, डोरी टाँगिरहँदा एकदिन निश्चित टाँगेर तपाईंहरू फर्किनु हुन्छ कि त्यही बस्नुहुन्छ ?
‘क्याम्प टु’देखि माथि त्यसपछि हामी लगभग ‘क्याम्प थ्री’ टाँग्छौं । क्याम्प टुदेखि क्याम्प थ्री अनि फेरि क्याम्प टु मा आएर हामी बस्छौं । क्याम्प थ्रीदेखि माथि मौसम राम्रो भयो भने त्यसलाई निरन्तर टाँग्छौं । तर, त्यो बीचमा मौसम बिग्रियो भयो भने बेस क्याम्पमा बसेर जुन दिन मौसम खुल्छ, त्यहाँदेखि माथि सुरु गर्छौं ।
हामीले यसपाली कति दिन लगायौं ?
क्याम्प टुदेखि क्याम्प थ्रीचाहिँ हामी लगभग ८ जनाले एक दिनमा टाँग्यौं । त्यहाँ फेरि लोर क्याम्प थ्री र अपर क्याम्प थ्री भन्ने छ । तल्लो ३ नं क्याम्प र माथिको ३ भन्दा त्यहाँ हामीले ६ हजार ४ सय मिटरबाट सुरु गरेर ६ हजार ४ सय मिटर दोस्रो क्याम्प ल क्याम्प टु, क्याम्प थ्रीचाहिँ अनुमानित ७ हजार ३ सय जति हुन्छ । त्यहाँसम्म मौसमले साथ दियो भने हामीले एकै दिनमा टाँगेर बुलुकातिर क्याम्प टुमा फर्किन्छौं । धेरै माथि गयाैं भने फर्किन भ्याइँदैन ।
क्याम्प टुदेखि माथि चुचुरोसम्म पुग्न यसपाली तपाईंहरूलाई कति दिन लाग्यो ?
क्याम्प टुदेखि त लगभग १ हप्ता नै लाग्यो । सात दिनमा चाहिँ टाँगिसकेका थियौं ।
तपाईंको टिम त सँगै थियो । तर, तपाईं पहिला पुग्नुभयो । पहिला चुचुरोमा पुग्दा तपाईंलाई कस्तो महसुस भयो ?
एकदमै खुसी महसुस भयो । आफूले गरेको काम सफल भयो वा पारिश्रमिक पाउँछ भन्नुभन्दा पनि हामीले टाँगेको डोरीमा सयाै मानिसले हिमाल चढ्ने भए भनेर खुसी लाग्यो । डोरी टाँग्नु भनेको ठूलो जिम्मेवारीको काम हो । भोलि हजारौं मान्छे त्यही डोरीको विश्वासले जाने हुन् । त्यही भएर पनि धेरै खुसी लाग्छ ।
डोरी टाँग्न जाँदा तपाईंहरू के–के प्र्रयोग गर्नु हुन्छ ?
अक्सिजन हामी अलिकति कमै प्रयोग गर्छौं । साथमा अलिकति पानी, खाजा बोकेका हुन्छौं । तर, बढीजसोे हामीले त्यहाँ चाहिने सामान नै बोकेको हुन्छ । धेरै त डोरी नै बोकेका हुन्छौं । डोरी मात्रै बोकेर भएन, एकस्ट्रा किला पनि हामीले साथमा बोकेका हुन्छौं । लगभग २०/२२ केजीको भारी बोकेर त्यहाँ काम गछौं ।
डोरी टाँग्दा हिमालमा अथवा पत्थरमा गाड्नु हुन्छ नि जो त्यो सजिलै गाडिन्छ त ? त्यो कति लामो किला हुन्छ ?
हजुर अडिन्छ, कतिपय आइस भएको ठाउँमा अडिन अलिकति गाह्रो हुन्छ । त्यहाँ हाम्रो आफ्नै खालको टेक्निक हुन्छ त्यो प्रयोग गरेर बिस्तारै त्यहाँबाट सेटिङ हुन्छ । त्यति लामो हुँदैन आइसमा ११÷१२ इन्चको किला हुन्छ । तर, हिँउमाचाहिँ २ फिट आधा हुन्छ, त्यसलाई हामी स्नो एङकर भन्छौं ।
कुन ठाउँमा के राख्ने भन्ने त्यहाँ हेरेर राख्नु हुन्छ ? पहिले तयारी हुन्छ ?
५० मिटर डोरी टाँग्नलाई कति वटा राख्नु पर्छ भन्ने ठ्याक्कै हामीलाई अन्दाज हुन्छ ।
अन्दाज त्यही गएर हुन्छ कि पहिल्यै गरिएको हुन्छ ?
पहिले नै गरिएको हुन्छ । बढीजसो त विगतको अनुभवले नै गर्छौं ।
त्यसमा ठ्याक्कै हुन्छ कि केही अलि फरक पर्छ ?
ठ्याक्कै हुन्छ । हामीले जुन अनुमानमा पहिला टिम बसेर सल्लाह गरेका हुन्छौं । त्यो अनुसारले त्यही सामान ठिक्कै माथि पुग्छ । डोरी पनि अनुभवको हिसाबले मगाएका हुन्छौं त्यति नै डोरीले पुग्छ । डोरी नपुग्ने अथवा अरु कुनै सामान नपुगेर फर्किनु पर्ने त्यस्तो केही समस्या हुँदैन । पुग्नेभन्दा अलि बढी सामान लिएर गएका हुन्छौं । अहिलेसम्म सामान नपुगेर फर्किनुपरेको छैन । कुनै–कुनै ट्राफिक जाम हुने ठाउँमा कहिलेकाहीँ हामीले दुई वटा डोरी पनि पनि टाँग्छौं । ताकि मान्छेलाई आवतजावतमा सजिलो होस् ।
यो वर्ष पहिलो पटक चुचुरोमा जाँदाखेरि ज्यान जान पनि सक्छ भन्ने अथवा डर महसुस हुन्छ हुँदैन ?
खासै डर त हुँदैन । हामी शेर्पा मात्र जादाँखेरि त्यस्तो डर हुँदैन ।
अरु जाँदाचाहिँ किन डर हुन्छ ?
अरु जाँदा उनीहरूको मानसिक र शारीरिक रूपमा हामीलाई थाहा हुँदैन । त्यहाँ पुगेर उनीहरूको जे पनि समस्या आउन सक्छ । तर, शेर्पाको टिम मात्रै जाँदा खास त्यस्तो भएकोचाहिँ मलाई लाग्दैन ।
तपाईंहरूलाई पनि त लेक लाग्न सक्छ नि ? यदि लेक लागि हाल्यो भने के उपाय अपनाउनु हुन्छ ?
लाग्न सक्छ । कहिलेकाहीँ, लागिहाल्यो भने विदेशीको जस्तो हामीले धेरै औषधी त बोकेको हुँदैन । आफ्नै खालको उपचार गर्छौं, जस्तै ः पानी पिएर हुन्छ कि, तातो सुप खाएर हुन्छ कि आफ्नै तरिका अपनाउँछौं । त्यसले भएन भने मात्रै हामी औषधी खान्छौं ।
औषधीचाहिँ के–के बोक्नु हुन्छ ?
हामीसँग मेडिकल किट हुन्छ ।
मेडिकल किटबाहेक अरु केही बोक्नु हुन्छ ?
त्योबाहेक हामीसँग घरेलु औषधी हुन्छ । त्यसमा पनि खुर्सानी हुन्छ, सुपहरू हुन्छ, पहिला हामी यो सबैलाई प्रयोग गर्छौं । त्यसले भएन भने मात्रै औषधी प्रयोग गर्छौं । तर, विदेशीको केसमाचाहिँ उनीहरू अलिकति केही हुनेबित्तिकै त्यो प्रयोग गरिहाल्छ । तर, हामी शेर्पाहरूचाहिँ के खाएर हुन्छ आफ्नै घरेलु उपचार गर्छौं ।
सगरमाथामा फोहोरको कुरा त खुबै आयो नि यसपाली ?
फोहोर त जहिले जाँदा पनि देखिन्छ ।
फोहोर भनेको कस्तो चिज हो ?
फोहोर भन्नाले तलबाट खाने कुरा लगिन्छ । मोजा, लगाउने लुगा माथि गइसकेपछि माथीबाट उठाउन सकिन्न । पूरै थकित भइन्छ । अनि त्यसलाई त्यही छोडिदिने चलन छ । आफूलाई अति आवश्यक हुने सामान त लिएर जान्छ । तर, जुन सामान लिएर पनि काम छैन भन्ने हुन्छ त्यो सामान त्यही छोडेर हिँड्ने चलन छ । केही सामान हावाले उडाए पनि सानतिना कुरा बरफमा अल्झिरहन्छ ।
जस्तो अहिले विभिन्न संचार माध्यममा खबर आयो– विगतका लास यस पटक पनि ल्याइए । तपाईंहरू चढ्दाखेरि ती लास देख्नुभएको थियो कि थिएन ?
धेरै पुराना लासहरू छन् त्यहाँ १/२ वटा त्यो ल्याए कि ल्याएन, त्यो त मलाई खासै याद भएन । नयाँ लासहरू ल्याए, पुराना पनि १÷२ वटा ल्याएको होला । अहिले पनि हामीहरू जाँदा पुराना लासहरू लडिरहेकै हुन्छन् । हामी त्यसको छेउ–छेउ भएर जान्छौं ।
धेरै वर्ष पुरानो लासहरू केही सढेको हुन्न ?
सडेको भन्नाले त्यस्तो कुहिने समस्या त हुँदैन । त्यो लास सुरुमा त जिउभित्रको रगत सुक्दै जान्छ र खाली करङ मात्रै बचेर पूरै हरियो भएर बसेको देखिन्छ ।
कति जति संख्यामा त्यहाँ लास होलान् ?
योभन्दा २/३ वर्षपहिले रेस्क्यु टिमले पुराना लास धेरै निकालेको हो । अस्ति पनि २/३ वटा त निकाल्यो, अब पहिलेको तुलनामा धेरै लास छैनन् । अहिलेको नयाँ गरेर त्यहीँ २÷३ वटा लाससम्म होला । कुनै–कुनैको आफ्नो परिवार बलियो भएर उनीहरूले खर्च गर्न नसक्नेहरूको लास त्यहाँ रहने हो ।
मौसमका कारण ल्याउन सकिँदैन भन्ने कुरा छ नि ? त्यहाँबाट लास पैसा भयो भने कसरी ल्याउन सकिन्छ ?
मौसम त हेर्नु पर्छ । त्यसमा त झन् मौसम चाहिन्छ । किनभने आफ्नो सुरक्षा हुनुपर्यो त्यसमा पनि लास ल्याउनु पर्नेछ ।
परिवार पहुँचवाला छ भने शेर्पालाई उसले आफ्नो आफन्तको लास ल्याइदिनको लागि सम्पर्क गर्यो भने त्यहाँको मौसम हेरेर तपाईंहरू लास ल्याउन सक्नुहुन्छ ?
पर्वतारोहण गरिरहेको समय अवधिभरि त ल्याउन सकिन्छ । तर, अरु बेला ल्याउन सकिन्न ।
अहिले डोरी टाँग्नुभएको छ नि त्यो डोरी त्यही छोडिन्छ हो ?
त्यो त हामीले डोरी त्यही छोडिदिन्छौं । त्यो आफै भित्र–भित्र पस्छ त्यो कहाँ गयो थाहै हुँदैन । त्यो डोरी जे टाग्यो त्यो त्यही नै हुन्छ ।
अर्को वर्ष त्यो फोहोरका रूपमा डोरी बस्छ हो ?
त्यो अर्को सिजनमा देखिँदैन । कुनै ठाउँमा हामीले देख्छौं । त्यसको आधारमा काम गर्न सजिलो हुन्छ । कुनै ठाउँमा त एकदमै बाटो पत्ता लगाउन गाह्रो भइरहेको हुन्छ । त्यो पुरानो डोरी कहाँ छ, त्यसको आधारमा बाटो बनाउँछौं । पूरै यसपाली टाँगेजस्तो त हुँदैन, कुनै–कुनै ठाउँमा हल्का त्यो देखिन्छ । लास छेरेको डोरी त्यहाँ रहेछ भनेर त्यसको आधारमा डोरी टाँग्छौं । केही गरी त्यो डोरी बाटोको सिधा केही भासिएको छ भने हामी फेरि अन्तै बाटाबाटै लैजान्छौं ।
हिमालमा यसपटक ट्राफिक जाम कसरी भयो ?
ट्राफिक जाम कसरी हुन्छ भन्दा एक–दुई जना अगाडि ढिलो हिँड्ने भइदियो भने ट्राफिक जाम हुन्छ । गाडीजस्तै हो, एउटा बसले अगाडि रोकिदियो भने पछाडि पूरै जाम हुन्छ नि माथि पनि त्यस्तै हो । कसैलाई लेक लाग्यो अथवा लेक लागेको महसुस भयो भने त्यहाँ जाम हुन्छ । सबैको जाने बाटो एउटै हुन्छ, त्यहाँ अन्त कुनै बाटो नहुने हुँदा अगाडि एउटाले ढिलो गरिदियो भने त्यहाँ जाम भइदिन्छ ।
विगतमा हुन्थ्यो/भयो, अहिले पनि भयो खासमा यो समस्याचाहिँ किन आउँछ ?
ट्राफिक जाममा के छभन्दा क्याम्प ४ सम्म त जसोतसो जन्छ । मौसमको पनि त्यति ख्याल गरिँदैन । तर, त्योभन्दा माथि चुचुरोमा जानचाहिँ धेरैजसो मौसम रिपोर्ट नै हेर्नुपर्छ । भोलि मौसम रिपोर्ट राम्रो छ भने सबै भोलि नै जाने भनेपछि सबैसँगै हिँड्दा मुख्य ट्राफिक जामचाहिँ त्यो बेला हुन्छ ।
त्यहाँ मान्छे किन मरिरहेका छन् त ? जस्तैः उनीहरू मानसिक रूपमा तयार नभएर/आत्तिएर अथवा उनीहरूलाई यो मौसममा यो व्यवहार गर्नु पर्छ भन्ने थाहा नभएर हो ?
एक कारण त मौसमको ख्यालै नगरेर पनि हो । अर्को धेरै मानिस एक किसिमको आफ्नो जिद्धिले पनि मरिरहेका छन् ।
जिद्धि भन्नाले कस्तो ?
प्रत्येक विदेशीसँग शेर्पा गाइड हुन्छ । शेर्पाहरूले भनेको चाहिँ नटेर्ने, अनि आफ्नै किसिमले म जानेको छु उनीहरूले जानै नसक्ने भए पनि म जान्छु, म गर्छु भन्ने मान्छेको मूर्खताले पनि धेरैको ज्यान गइरहेको छ ।मुख्य समस्याचाहिँ यही हो ।
उनीहरूले त्यहाँको मौसम अनुसारको तालिम कतिको लिने गरेका छन् ?
बेसिक त सबैले लिइरहेकै हुन्छन् । तर, माथि गइसकेपछि उनीहरूले लिएको तालिम केही काम लाग्दैन । ऊ त्यो गाइडकै भरमा हुन्छ । मानसिकरूपमा कमजोर भएकाहरू त्यहाँ गएर आत्तिने, लेक पनि लाग्ने कारणले अथवा मुख्य कुराचाहिँ उनीहरूले शेर्पाको भनेको नमानेर धेरै दुर्घटना हुन्छ । तर, त्यसमा लड्ने दुर्घटना भएको भए त त्यसमा आफ्नै गल्ती पनि हुन्छ ।
लड्ने कतिको सम्भावना हुन्छ ?
लड्ने त धेरै सम्भावना हुँदैन । किनभने डोरी समातेकै हुन्छ, त्यसमा पनि ध्यान दिएन भने त दुर्घटना हुन्छ ।
तपाईंहरू लड्ने सम्भावना कतिको हुन्छ अथवा अहिलेसम्म त्यस्तो भएको छ कि छैन ?
त्यसरी लडेको त अहिलेसम्म छैन । खतरा त त्यहाँ धेरै हुन्छ किनभने त्यहाँ हामीले टाँगेको डोरीमा सबै चढ्नुपर्ने छ । खतरा त त्यसैपछि छ, हामीले आफ्नो टे«निङको हिसाबले र आफ्नो टेक्निकले हामीले त्यो खतरा मोल्छौं । यसमा एकदमै विधि र विचार पुर्याएर गर्छौं ।
अहिलेसम्म जति दुर्घटनामा परेका छन्, तीचाहिँ आरोही जो रोयल्टी बुझाएर चढ्न जानेहरू नै परेका छन्, जस्तैः उनीहरूसँग जाने सहयोगी गाइड दुर्घटनामा परेको कुनै घटना छ कि छैन ?
कुनै कुनै परेको छ । किनभने त्यहाँ विदेशीको लागि जान्छन् उनीहरूलाई प्रोटेक्ट गर्न जान्छन् । उनीहरूको सुरक्षा त गर्नु पर्यो । त्यो सुरक्षा गर्दागर्दै विदेशी नै जिद्धि परिदियो भने त्यसको साथसाथै शेर्पाको पनि ज्यान जाने सम्भावना हुन्छ । किनभने उसलाई त्यहाँ छोडिदिनु भएन । उसलाई त्यहाँ छोडिदियो भने भोलि अर्को समस्या आउँछ । त्यही भएर जसोतसो विदेशीलाई बचाउने कोशिस गर्दा त्यसबेला आफ्नो पनि ज्यान जाने एकदमै सम्भावना हुन्छ । कस्तो स्वभावको मान्छे हो छ अथवा उनीहरूबीच कतिको समझदार छ भन्ने कुरामा पनि धेरै भर पर्छ । समझदार छ भने काम गर्न धेरै सजिलो भइदिन्छ । तर, एकदमै जिद्धि खालको अनि भनेकै नमान्ने खालको छ भने त्यसले एकदमै समस्या उत्पन्न गराउँछ ।
अहिले सगरमाथा चढ्दा फोहोर भयो, दुर्घटना भयो, ट्राफिक जाम भयो यसलाई बन्द गर्नु पर्छ भन्ने चर्चा गर्न थालिएको छ त्यसमा तपाई के भन्नु हुन्छ ?
यसलाई बन्दै गर्नु पर्छ भन्दा पनि अब विगतका दिनमा यसलाई एउटा लिमिट बनाउनु पर्छ, जस्तैः कतिलाई चढ्न दिने, त्यहाँको फोहोरमैलाको व्यवस्थापन गर्न सक्यो भने केही सहज हुन्छ । त्यहाँको फोहोरमैला राम्रो तरिकाले गर्ने हो भने धेरै वर्ष त लाग्ने त होइन । फोहोरले गर्दा अथवा ट्राफिक जामले पूरै सगरमाथा आरोहणमा बन्देज लगाउनु हुँदैन । किनभने सगरमाथा रोक्नेबित्तिकै सरकारदेखि भरिया सम्म धेरैलाई असर पर्छ । धेरै नै बेरोजगार हुन्छन् ।
यो काम गरेर तपाईंहरूको जीवननिर्वाह गर्न पुगिरहेको छ ?
पुगिरहेको छ, हामी हिमालबाहेक अरु काम पनि गर्छौं । यो त सिजनमा मात्रै गर्छौं । हाम्रो लागि हिमालै चढ्नु पर्ने भन्ने छैन । सबै थरिको काम गर्छौं । सिजनमा यो काम गर्दा खासै घाटा छैन ।
यो काम गरेर गर्व महसुस हुन्छ कि हुँदैन ?
हुन्छ, एकदमै । पहिलेचाहिँ यो केही पैसा कमाउन रहेछ भन्ने लाग्थ्यो । चढ्दै जाँदा अहिलेचाहिँ केही पैसा पाउँछु भन्ने आश भन्दा पनि गर्व महसुश हुन्छ ।
तपाईंहरू ‘पर्दा पछाडिको हिरो’ भन्यो भन्दा तपाईंलाई कस्तो महसुस हुन्छ ?
आफ्नो ठाउँमा आफूलाई गर्व लाग्छ ।
तपाईंहरूले जुन काम गर्नु हुन्छ, त्यसको मूल्यांकन राज्यले कसरी गरिदिएको भए हुन्थ्योझैं लाग्छ ?
अहिले तिब्बततर्फ पनि हिसाबमा हेर्ने हो भने त्यहाँ पनि हामीजस्तै हिमाल चढ्नेहरू छ । उनीहरूलाई अहिले चढेर पछि सरकारले केही नकेही हेरिरहेको हुन्छ । उनीहरूलाई केही न केही थप गरेकै हुन्छ । तर, हाम्रोचाहिँ जति एजेन्सीले दियो त्योभन्दा पछि अरु केही पनि पाउँदैनाै । सरकारले हेरिदिए हुने भन्ने लाग्छ ।