लोकसंवाद संवाददाता | समाचार | असार ११, २०७६
काठमाडौँ – भ्वाइस अफ नेपाल सिजन टू को घोषणासँगै नयाँ कोचको पनि निक्र्यौंल भएको छ । पहिलो सिजनमा कोचका रुपमा रहेका सनुप पौडेल र अभया सुब्बालाई सिजन टू मा भने कोचबाट हटाइएको छ ।
कोच परिवर्तनको यही विषय अहिले बजारमा मुख्य चर्चाको रुपमा रहेको छ ।
खासगरी सिजन वानको कोचको रुपमा रहेकी अभया सुब्बाले आफूलाई कोचबाट हटाएपछि त्यसको चर्को विरोध गरेकी छन् ।
आफूलाई जानकारी नै नदिई कोचबाट हटाइएपछि अभया आक्रोशित भएकी हुन् । उनले मूर्ख खालका तर्क र कारणहरु पेश गरेर आफूलाई कोचबाट हटाइएको भन्दै दुःख व्यक्त गरेकी छन् ।
तर, भ्वाईस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले भने ग्रान्ड फिनालेमा सहभागी नहुँदा हेडक्वार्टरले नै असन्तुष्टि जनाएपछि अभयाको विकल्प खोजिएको बताएका छन् ।
पौडेलको यो भनाईको अभयाले आफ्नो ब्यान्डको युट्युब अकाउन्टमार्फत खण्डन गरेकी छन् ।
उनीहरुको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई राखिएको छ । गायक प्रमोद खरेल र दीप श्रेष्ठ भने यथावत छन् ।
१३ मिनेट लामो भिडियोमा अभयाले फिनालेमा उपस्थित नहुने कुरा आफूले तीन महिना अघि नै व्यवस्थापनलाई जानकारी गराएको र व्यवस्थापनको अनुमति लिएर मात्रै आफू मेलवर्नमा कन्सर्टका लागि गएको बताएकी छन् ।
उनले मूर्ख कारणहरु देखाएर आफूलाई हटाएको आरोप लगाएकी छन् ।