ट्रम्प–मोदी भेटको आधार बनाउँदै अमेरिकी विदेश मन्त्री

ट्रम्प–मोदी भेटको आधार बनाउँदै अमेरिकी विदेश मन्त्री

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ११, २०७६

काठमाडौं । अमेरिकाका विदेश मन्त्री माइक पोम्पिओ अहिले भारत भ्रमणमा रहेका छन्  । उनी साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको भ्रमण गरेर भारत पुगेका हुन् । इरानविरुद्ध गठबन्धन बनाउने प्रयासमा उनी भारत भ्रमणमा आएका हुन् । 

पछिल्लो समय व्यापारिक सम्बन्धमा आएको टकरावका कारण भारत–अमेरिका सम्बन्धमा चिसो पसेको छ ।यसै मेसोमा अमेरिकी विदेश मन्त्री पोम्पिओको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतका रहेका अमेरिकी विदेश मन्त्री पोम्पिओले बुधबार भारतीय प्रधानमन्त्री मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्दै छन् । भेटमा एस–४०० डिल, रुस, व्यापार र आतंकवादसहितका विषयमा छलफल हुने बताइएको छ । 

जयशंकर र पोम्पिओको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वार्ताका लागि सौहार्दपूर्ण वातावरण तयार गर्ने विषयमा छलफल हुनेछ ।

जापानमा हुने जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र मोदीबिच साइडलाइन वार्ताको वातावरण बनाउने प्रयास भइरहेको छ । ट्रम्प र मोदीको भेटमा दुबै देशका विदेशमन्त्रीको पनि  उपस्थित हुने सम्भावना छ ।