लोकसंवाद संवाददाता | समाचार | असार ११, २०७६
काठमाडौं, एजेन्सी । साउदी अरबमा सेल्सम्यानको रुपमा काम गर्ने मज्द आफ्नो बिहे तयारीमा रहेका बेला उनकी हुनेवाला दुलहीले एउटा शर्त राखिन । उनको माग थियो कि उनका श्रीमान मज्दले बिहेपछि उनलाई गाडी चलाउने तथा काम गर्ने अनुमति दिनुपर्छ ।
उनका श्रीमान राजी भए । तर, यदि बिहेपछि श्रीमानले शर्त नमानेका खण्डमा के गर्ने त्यसका लागि उनले श्रीमानलाई करारपत्रमा हस्ताक्षर समेत गराइन् । बिहे पछि हुने विवादबाट बच्नका लागि अचेल साउदी अरबमा महिलाहरुले करार सहितकाे बिहे गर्ने प्रचलन देखिएको छ ।
दशकौंको प्रतिबन्ध पछि सन् २०१८ मा साउदी राजकुमारले महिलालाई ड्राइभिंगको अनुमति दिएका थिए । प्रतिबन्ध हटेपछि धेरै संख्यामा साउदी महिलाले ड्राइभिंग लाइसेंसका लागि निवेदन दिएका थिए । यसपछि सडकमा सवारी चालकका रुपमा महिलाहरु धेरै देखिन थालेका छन् । त्यसपछि साउदी अरबमा महिलाले बिहेपछि ड्राइभिंग अनुमति सहितकाे ‘करार’ बिहेको प्रचलन शुरु भएको हो ।
मौलवी अब्दुलमोहसन अल– अजेमीले भने, ‘महिलाहरु ड्राइभिंग तथा नोकरीको मागलाई लिएर करारनामा गरेर मात्र बिहे गर्दैछन् यसले श्रीमान तथा घरपक्षका मानिसहरु उनका कुरालाई नजरअन्दाज गर्न नसकुन । यदि बिहेपछि आफ्नो शर्तबाट श्रीमान तथा घरपरिवार पछि हटेका खण्डमा करारनामालाई आधार बनाएर पारपाचुके गर्न पनि सकियोस ।’
सूत्रका अनुसार इस्लामिक देशमा विवाहपछि महिलाको आवाज दबाउने भएका कारण पनि महिलाहरुले बिहे अघि शर्त राख्न शुरु गरेका हुन । करारनामाका कारण उनीहरुको अवाज दबाउन नसकियोस भन्ने उनीहरुको उद्देश्य हो ।