लोकसंवाद संवाददाता | समाचार | असार १२, २०७६
काठमाडौं, एजेन्सी । भारतको राजस्थानस्थित कृष्ण कन्हैया केयर अस्पतालमा कार्यरत ४४ वर्षीय मानसिंह बघेल नाम गरेका एक नक्कली डाक्टरलाई राजस्थान पुलिसले पक्राउ गरेको छ ।
उनले दिनभरमा अस्पतालमा करीब २५ बिरामी जाँच्ने काम गर्थे भने मासिक एक लाख रुपए तलव पनि लिने गरेका थिए ।
उनले जाँच गरेका एक जना बिरामीको अवस्था नाजुक भएपछि उनको झुठको पर्दाफास भएको हो ।
केवल १२ क्लास पास गरेका मानसिंहले कृष्ण कन्हैया केयर अस्पतालमा काम शुरु गरेको पाँच महिना भएको थियो । त्यसअघि उनी आगरामा एक क्लिनीक चलाउँथे । दुबै ठाउँमा गरेर उनले करीब ९० हजार बिरामी जाँच गरेका थिए ।
उनका अनुसार पाँच वर्ष अघि रेलमा मथुराको यात्रा गर्दा उनले डॉक्टर मनोज कुमार नाम गरेको डाक्टरी डिग्री फेला पारेका थिए । त्यसपछि उनले आफैं अन्य फर्जी परिचय पत्र बनाएका थिए ।
उनले कृष्ण कन्हैया केयर अस्पतालमा प्रायः सबै बिरामीलाई पारासिटामोल जस्तो सामान्य प्रकारको औषधी दिने गर्थे र घरेलु उपचारमा बढी जोड दिन्थे ।
तर जुन महिनाको दोस्रो सातामा एकजना मुटुको बिरामी महिला जब उपचारका लागि कन्हैया अस्पताल पुगिन तब यी नक्कली डाक्टरले उनलाई स्लाइन चढाई दिए । अवस्था गम्भिर भएपछि महिलालाई अर्को अस्पतालमा सारियो ।
अस्पताल प्रशासनले शंका लागेर यी नक्कली डाक्टरकाे भोटिंग कार्डको जाँच गर्यो । जाँच गर्दा उनको परिचय अर्कै भएको पत्ता लाग्यो । त्यसपछि उनको यो काण्ड पर्दाफास भएको हो ।
यस घटनाको बारेमा जानकारी पाएपछि हरियाणाको पलवल जिल्लामा सहारा अस्पताल सञ्चालन गरिरहेका असली डाक्टर मनोज कुमार कन्हैया अस्पताल पुगेका थिए । मनोजको पत्नी प्रियंका पनि डाक्टर हुन् ।
डाक्टर मनोजका अनुसार, सन् २००५ मा उनको झोला चोरी भएको थियो । यसका बारेमा उनले पुलिसमा रिर्पोट पनि लेखाएका थिए ।
यदि डाक्टर मनोजको ब्याग सन् २००५ मा मात्र हराएको हो भने मानसिंहले पाँच वर्ष अघि रेलमा यो डिग्री कसरी भेट्टाए, पुलिस भने यो विषयको अनुसन्धानमा केन्द्रित छ ।