लेखनाथ ढकाल | दृष्टिकोण | असार १२, २०७६
सभ्यताको विकाससँगै मानिसले असल सामाजिक संस्कार र परिपाटीको विकास गर्दै आयो । राम्रा कुराको अभ्यास गर्दै आयो । उपयोगी परिपाटी निरन्तररूपमा परिमार्जित हुँदै आए । आर्थिक गतिविधि र प्रविधिको विकासले मानिसको सामाजिक चरित्र पनि विकास हुँदै आयो । सामाजिक संस्कृति पनि आर्थिक गतिविधिको परिणाम हुने गरेको मानवशास्त्रको अध्ययनले बताउँछ ।
मानिसको सभ्यताको विकास हुने क्रममा फिरन्ते जंगली युग, पशुपालन तथा कृषि युग, औद्योगिक युग हुँदै आजको विश्वव्यापीकरणको समयसम्म सभ्यताको विकास हुँदै आएको छ । सञ्चार र यातायातको विकासले आज विश्व नै एउटै गाउँजस्तो भएको छ । हवाइजहाजको भाडा सामान्य श्रमिकका लागि पनि सहज रहेको कारणले आज संसार धेरैको पहुँचमा छ । अधिकांश मानिसका लागि एउटा गोलार्धदेखि अर्को गोलार्धसम्म जान कठिन छैन । विश्वव्यापीकरण बजार प्रणाली तथा आधुनिक औद्योगिक उत्पादन प्रणालीको विकासले विश्वका सबै धनी–गरिब, आधुनिक प्रविधि उपयोग गर्ने समाज होस् वा परम्परागत प्रचलनमा चलेका समाज होस् सबैलाई प्रभावित पारेको छ । विश्वको मानव समुदायलाई विश्वव्यापीकरणले पारेको प्रभावलाई जिम्मेवारीपूर्ण रूपले व्यवस्थापन तथा उपयोग गर्न नेपाल जस्ता आर्थिक रूपमा तेस्रो विश्वका मुलुकका लागि नयाँ अवसरहरू पनि सिर्जना भएका छन् भने डरलाग्दा चुनौतीहरू पनि सँगसँगै छन् । होसियारीपूर्वक आफ्ना नीति कार्यक्रम बनाएर आफ्नै बाटोमा हिँड्ने प्रयत्नमा सफल राष्ट्रका लागि आधुनिक युग वरदानसरह पनि बनेको छ ।
प्राचीन सभ्यता, लामो इतिहास र समृद्ध परम्परा भएका नेपाल, भारत लगायत अन्य भू–भागमा विकास भएका मानव कल्याणकारी प्रचलन स्थापित भई अभ्यासमा आए । गुठी परम्परा पनि समुदायको सामाजिक आर्थिक र सांस्कृतिक आवश्यकताको परिपूर्तिका लागि उपयोगमा आएको सामाजिक कल्याणकारी अभियानका रूपमा विकास भई प्रचलनमा आयो र यो अहिलेसम्म कायम छ । कालान्तरमा राज्यले कानुनी रूपमा पनि गुठी प्रथालाई व्यवस्थित गरेको छ । आजका दिनमा आउँदा समुदायका मानिसले आप्mनो स्रोत साधनको उपयोग गरी समुदायका मानिसको आवश्यकता पूरा गर्ने अभ्यास स्थापित रहेको पाइन्छ । हाम्रो देशमा जाति, भाषा र संस्कृतिको विविधता उहिलेदेखि नै रहेको पृष्ठभूमिमा आ–आप्mना प्रकारका कल्याणकारी सामाजिक सांस्कृतिक परम्परा स्थापित हुँदै आएका छन् । सामान्यतः गुठी परम्परा नेवार वा यसैसँग मिल्ने खालका सबै समुदायमा चल्दै आएको पुरानो परम्परा हो । काठमाडौं उपत्यका र नेवार समुदायको बसोवास रहेका ठाउँमा मात्र होइन, अन्य समुदायमा पनि गुठी परम्परा राम्ररी विकास भयो र यसको उपयोग हँुदै आयो । सबै धार्मिक सम्प्रदायमा समूहको कल्याणका लागि राम्रा परम्परा स्थापित भएका छन् । गुठी, पर्म, बेठी, धर्मभकारी, मुठ्ठी दान, पैचो आदि हाम्रो परम्परागत रूपमा चल्दै आएका मानव कल्याणकारी प्रचलन हुन् ।
सबै सहकार्य सहकारी होइनन् । हाम्रा गुठी, पर्म र अन्य परम्परागत संस्कारहरु असल सहकार्यका नमुना नै हुन् । तर, सहकारी होइनन् । सहकारीको मूल स्पिरिट र हाम्रा परम्परागत संस्कार/ अभ्यासहरुका मूल स्पिरिट उस्तै छन् । तथापि सहभागिता, समानता र सामाजिक न्यायका आधारमा वितरण प्रक्रिया सहकारीका सिद्धान्त हुन् ।
गौतम बुद्धले सबै मानिसलाई शान्ति र अमनचयनमा जीवन बिताउन संघमा आबद्ध हुने शिक्षा दिनुभएको थियो । ‘संघम् शरणम् गच्छामी, बुद्धम् शरणम् गच्छामी’ भन्ने बुद्धको पालामा स्थापित भएको परम्परा हालसम्म चलेको छ । संघमा बस्ने भिक्षुहरू समुदायमा गृहस्त जीवन बिताउनेका लागि शिक्षक, डाक्टर र ज्ञान सिकउने मानिसका रूपमा काम गर्थे । गृहस्त जीवनमा रहेकाहरूले उनीहरूलाई अन्न, फलफूल, मासु लगायत अन्य वस्तु उपलब्ध गराउँथे । यो राम्रो र असल समाज बनाउने बुद्धको ज्ञानमा आधारित परम्परा हो । यो परम्परा आजसम्म पनि निरन्तर छ, बरु केही अपभ्रम्स भएको भन्ने कुरा विभिन्न प्रकाशनमा उल्लेख भएको पाइन्छ ।
समय बित्दै जाँदा मानिसले ज्ञान, सीप, कार्यकुशलता आदि क्षेत्रमा अपार विकास गर्यो । आजका दिनमा आइपुग्दा कम्युटरको विकास र इलेक्ट्रोनिक प्रविधिको विकासले मानिसले आर्टिफिसियल इन्टेलिजेन्ससम्मको विकास गर्यो । विश्व ब्रह्माण्ड र प्रकृतिलाई आप्mनो बोधगम्यतामा ल्यायो । मानिसको चेतनाको विकास र मानिसले जीवन यापनको प्रक्रियालाई सरल बनाउने क्रममा आर्थिक गतिविधिमा पनि व्यापक परिवर्तन र विकास ह्ँदै आयो । आजको समयमा आइपुग्दा श्रम, पुँजी, प्रविधिमा पहिले कल्पना नगरिएको विकास भएको छ । प्राकृतिक स्रोतको उपयोगमा अपार सफलता मिलेको छ । वितरण प्रणाली, बजार प्रणाली र बैंकिङ प्रणालीमा यस्तै उचाइ पाएको छ । लेखा प्रणाली र अभिलेख राख्ने प्रणाली सामान्य मानिसको कल्पनाभन्दा माथि छ । सूचना प्रविधिको व्यापक उपयोग छ । सामान्य एउटा चिप्स (इलेक्ट्रोनिक उपकरण)को विकासले मानिसको जीवनमा नै अकल्पिनीय उपयोगिता थपेको छ । अर्को तरिकाले भन्दा मानिसको आर्थिक क्रियाकलाप र प्रविधिको उपयोगले हरेक व्यक्तिको जीवन पद्धतिमा सोे अनुसारको संस्कार हुने गर्छ । मानिसको संस्कार र संस्कृति कुनै विश्वासका आधारमा चलेको परम्परामा आधारित हुने विश्वास गर्ने कुरालाई विकासक्रममा आएको नयाँपनसँग तादम्यता मिल्न छोडेपछि परम्परा र आधुनिकताको नाममा ठूलो अन्तरविरोध रहेको सहजै बुझिन्छ । यस्तो अन्तरविरोधपूर्ण वातावरणमा कुनै पनि मानिसले आफूलाई सफल बनाउन कठिन पर्छ, ज्ञान र आविश्कारको बाधकका रूपमा यस्तो अन्तरविरोध रहने गर्छ ।
पूर्वीय सभ्यता आफ्नै इतिहास र परम्परामा हुर्कदै आउँदा युरोप अमेरिकी भू–भागमा आर्थिक विकासको नयाँ चरण देखा परे । खासगरी युरोपमा औद्योगिक क्रान्ति भयो । औद्योगिक क्रान्तिले त्यहाँको परम्परागत कृषि र पशुपालन युग समाप्त भयो र नयाँ पूँजीवादी युगमा समाजको विकास भयो । औद्योगिक क्रान्तिले ल्याएको समाजमा हुने आर्थिक शोषण, असमानता, श्रम शोषण आदि डरलाग्दा विकृतिबाट मुक्त भएको समाज निर्माणका विचार विकसित हुन थाले । असल, न्यायपूर्ण र सबै मानवको समान अस्थित्व हुने न्यायपूर्ण समाजको लागि नयाँ विचारहरू अभ्युदय हुन थाले । सम्पत्ति हुने र नहुने बीचमा समाज विभाजित भयो । स्रोत साधनमाथिको हैकम हुने वर्ग र सर्वहारा श्रमिक वर्गमा समाज विभाजित भयो । समाज अन्याय, अत्याचार, शोषण, असमानता आदिले भरिपूर्ण रहन थाल्यो । यसै क्रममा उन्नाइसौं सताब्दीमा स्कटल्याण्डका रोबर्ट ओवेनले ‘सामूहिक उत्पादन र आवश्यकताका आधारमा उपभोग’ भन्ने विचार अघि सारे । उनलाई विश्वमा समाजवादी विचारका पिता मानिन्छ । औद्योगिक क्षेत्रमा संगठित श्रमिकहरूले श्रम शोषण, समानता र न्यायपूर्ण सामाजिक सुधारका लागि आन्दोलन गर्न थाले । कार्ल माक्र्स र फेड्रिक एङ्गेल्सले श्रमिक वर्गाले आप्mनो हातमा राज्यसत्ता लिएपछि मात्र समाजवादी समाज आउने भन्ने सिद्धान्त अघि सारे । रोबर्ट ओवेनको विचारको प्रकाशमा प्रजातान्त्रिक र श्रमसुधार आन्दोलनमा लागेका अगुवा श्रमिकले बेलायतमा सहकारी सिद्धान्तको विकास गरे र आप्mनै जीवनकालमा सहकारीमार्फत् सम्पत्तिको नाममा पाखुरा मात्र रहेका र चरम आर्थिक शोषणमा बाँच्नुपरेका श्रमिक तथा उपभोक्ताको जीवनमा सुधार ल्याए । सन् १८४४ मा बेलायतमा स्थापना भएको सहकारीको विश्यव्यापीकरण हुँदै गयो र आज विश्वको सबैभन्दा जेठो र सबैभन्दा ठूलो गैरसरकारी क्षेत्रका रूपमा सहकारीको संगठन स्थापित भएको छ ।
सहभागीहरू सबै समान हैसियतका हुने, आर्थिक प्रावधान सहितको व्यवसायिक संगठनका रूपमा आधुनिक सहकारीको विकास भयो । आर्थिक गतिविधिका हरेक क्षेत्रमा सहकारीको उपयोग हुन थाल्यो । सहकारीलाई सामाजिक व्यवसाय गर्ने संस्थाका रूपमा लिन थालियो । समुदायका मानिसले आफ्ना सामाजिक, आर्थिक र सांस्कृतिक आवश्यकता पूरा गर्नका लागि संगठित भएर व्यवसाय गर्ने, आधुनिक सहकारी पद्धतिले जुनसुकै राष्ट्रको आर्थिक विकासमा उल्लेखनीय योगदान भयो । केही देशमा धार्मिक समूहहरूले आफ्लाई साच्चैको सहकारी स्पिरिटअनुसारको काम गर्ने दावा गरी नै रहे । तर, विश्वव्यापीकरण र आधुनिक अर्थतन्त्रको विकास हुँदै जाँदा आर्थिक प्रावधान, व्यावसायिक चरित्र र सहभागितामूलक क्रियाकलापको अभावमा धार्मिक समूहका लोककल्याणकारी कार्य सीमित हुँदै गए । सहकारीको विकास तीव्र हुँदै आयो । आजका दिनमा आइपुग्दा सहकारी प्रकृतिको व्यवसायिक मोडलको अभावमा विश्वबाट गरिबी र अशिक्षा निर्मूल गर्न नसकिने संयुक्त राष्ट्र संघको किटानी अडान रहेको छ ।
सबै सहकार्य सहकारी होइनन् । हाम्रा गुठी, पर्म र अन्य परम्परागत संस्कारहरु असल सहकार्यका नमुना नै हुन् । तर, सहकारी होइनन् । सहकारीको मूल स्पिरिट र हाम्रा परम्परागत संस्कार÷अभ्यासहरुका मूल स्पिरिट उस्तै छन् । तथापि सहभागिता, समानता र सामाजिक न्यायका आधारमा वितरण प्रक्रिया सहकारीका सिद्धान्त हुन् । गुठी र अन्य परम्परामा यस्ता सिद्धान्त अपनाइँदैन । बरु कहीकतै कुनै अगुवा वा ठालुका हैकमबाट धार्मिक परम्परा चल्ने गरेका छन् । हुनत हाम्रै देश र कतिपय अन्य देशमा पनि सहकारी यसका मर्म, भावना र सिद्धान्त अनुसार नचलेका पनि हुन सक्छन् ।
सहकारीलाई सहकारी आन्दोलन भनिन्छ, यसबाट सहकारीको व्यापकताको बोध गर्न सकिन्छ । विश्वमा कम्तिमा पनि १२ प्रतिशत मानिस सहकारीमा प्रत्यक्ष संलग्न छन् । विश्वभरमा ३० लाख जति सहकारी संघ/ संस्था रहेका छन् । विश्वभरका रोजगार मानिसमध्ये १० प्रतिशत रोजगारी विश्वका ठूला ३०० सहकारीले दिएका छन् । यी ३०० विश्वका ठूला सहकारीको वार्षिक कारोवार २.१ ट्रिलियन अमेरिकी डलर बराबर हुने गर्छ । सहकारीले मानव, वातावरण र समुदाय केन्द्रित व्यवसाय गर्छ । समुदायका लागि समुदायकै मानिसले नेतृत्व र स्वामित्व दिने सहकारी व्यवसाय समुदायमैत्री हुनु स्वभाविक हो । सहकारीले मूनाफाका लागि मात्र व्यवसाय गर्ने होइन कि सदस्य र समुदायका सामाजिक र सांस्कृतिक आवश्यकता पूरा गर्छ ।
(तथ्यांक स्रोत: आई सी ए, ग्लोबल ३००, १९१८)