लोकसंवाद संवाददाता | कारोबार | असार १३, २०७६
रामपुर/ रामपुर नगरपालिका–४ का अगुवा कृषक दिलबहादुर थापाले घरेलु जैविक विषादीको प्रयोग गरेर तरकारीखेती शुरु गर्नुभएको छ ।
कृषि पाठशालामा घरेलु प्रविधिबाट जैविक मल बनाउने ज्ञान सीप सिकेपछि उहाँले तरकारी बालीमा विषादीको प्रयोग गर्नुहुन्न । तीतेपाती, असुरो, गहुँतजस्ता घरायसीरुपमा पाइने वनस्पतिलाई मिसाएर झोल मल तयार पारी बोट बिरुवामा राख्नुुहुन्छ । कृषि शाखा रामपुरले १६ हप्तासम्म सञ्चालन गरेको एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा जैविक विषादी बनाउनेदेखि लिएर प्रयोग गर्ने प्रविधि सिकेपछि तरकारीमा विषादी प्रयाेग छर्न छाडेको थापाले बताउनुभयो ।
'पाठशालामा सहभागी भएपछि मात्र थाहा भयो जैविक विषादी बनाउने तरिका, आफ्नै गाउँघरमा खेर गएका वनस्पतिलाई सदुपयोग गरेर झोलमल तयार पार्ने गरेको छु, यसबाट बाली बिरुवा पनि राम्रो भएको छ भने अर्कोतर्फ स्वस्थ बाली उत्पादन गरिरहेको छु' थापाले भन्नुभयो । थापाले करीब १५ रोपनी जग्गामा अहिले तरकारी खेती गर्नुभएको छ । उहाँले विषादीरहित तरकारी उत्पादन गर्न थालेपछि घरमा तरकारी खरीद गर्ने ग्राहकको भीड हुन्छ ।
त्यस्तै रामपुर नगरपालिका–३ कीर्तिपुरका यमबहादुर सारुले तरकारी बालीमा विषादी प्रयोग गर्न छाड्दै जानुभएको छ । पहिला अन्धाधुन्धरुपमा विषादी प्रयोग गरेर तरकारी लगाउने गर्नुभएका सारुले आइपिएम कृषक पाठशालामा सहभागी भएपछि विषादी प्रयोग गर्न छाडेको बताउनुहुन्छ । 'पहिला तरकारी धेरै फलाउन भनेर दुई÷तीन दिनको अन्तरालमा बजारबाट किनेर लगेको विषादी राखिन्थ्यो, अहिले त विषादी नै किन्न छाडेर झोल मल बनाएर प्रयोग गर्दै आइरहेको छु', उहाँले भन्नुभयो । जैविक विषादीको प्रयोगबाट उत्पादित तरकारी स्वास्थ्यका लागि राम्रो र अर्कोतर्फ खेतबारीको माटो बिग्रेला भन्ने पिरलो नभएको सारुको भनाइ थियो ।
उपभोक्ताले पनि सकेसम्म विषादीरहित तरकारी खरीद गर्ने हुँदा बिक्रीका लागि सहज भएको शारु बताउनुहुन्छ । घरेलु प्रविधिबाट विषादी बन्छ भन्ने कुरा सुने पनि प्रविधि नजान्दा कृषकले जानीजानी विषादी प्रयोग गर्न बाध्य हुन्थे । अहिले गाउँगाउँमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेपछि जैविक विषादी बनाउने प्रविधि सिक्ने अवसर मिलेको कृषक बताउँछन् । रामपुर नगरपालिका–५ दधान बस्ने तुलसी रेग्मीले घर वरिपरि रहेका विभिन्न वनस्पति खोजेर जैविक विषादी बनाउनुहुन्छ । 'जैविक विषादीको प्रयोग गर्न थालेपछि बोटबिरुवालाई मात्र नभई माटो पनि उर्वर र राम्रो हँुदै गएकाले उत्पादन भने बढ्दो छ', रेग्मीलेभन्नुभयो ।
तरकारी, खाद्यान्न बालीमा रोग तथा कीरा लाग्नासाथ विषादीको प्रयोग गर्ने कृषक यतिखेर रोग तथा किरा लाग्नासाथ विषादीको प्रयोग नगरौँ, विभिन्न रोगलाई ननिम्त्याउँ भन्ने अभियानमा लागेका छन् । कृषकले प्राविधिकको सहयोग तथा सुझावविना अन्धाधुन्ध विषादीको प्रयोग गरी मानवीय स्वास्थ्य र वातावरणीय क्षेत्रमा यसको प्रभाव नराम्रो पर्न लागेपछि नेपाल सरकारको बाली संरक्षण निर्देशनालयद्वारा विसं २०५५ देखि जिल्लामा एकीकृत शत्रुजीव व्यवस्थापन तालीम (कृषक पाठशाला) सञ्चालन भएपछि धेरै कृषक यस अभियानमा लागेका हुन् ।
कृषक पाठशालामा तरकारी, खाद्यान्न, कफी खेतीमा विषादीको प्रयोग नै नगरी बाली स्याहार्न सकिने रहेछ भन्ने राम्रो सिकाइ भएको अगुवा कृषक तुलसी गैरे बताउनुहुन्छ । कृषकले बालीमा किरा लाग्नासाथ विषादीको प्रयोग गर्नु हुँदोरहेनछ भन्ने जानकारी कृषक पाठशालाबाट सिकेको गैरेको अनुभव छ । 'बालीमा लाग्ने सबै किरा शत्रु हुँदो रहेनछ, मित्रु पनि हुँदोरहेछ, विषादीको प्रयोग गर्दा मित्रु किरा पनि मर्छन्', उहाँले भन्नुभयो ।
पहिचानविना विषादीको प्रयोग गर्नु हुँदैन । मित्रु कीराले शत्रु किरालाई खाएर समाप्त पार्ने, निःसन्तान बनाउने गर्दोरहेछ भन्ने कुरा आइपिएम कृषक पाठशाला तालीमबाट सिक्न पाएको कृषकले बताएका छन् । साविक जिल्ला कृषि विकास कार्यालय पाल्पामार्फत र हालको स्थानीय तहबाट करीब १०० भन्दाबढी कृषक पाठशाला सञ्चालन भएका छन् । तरकारीखेतीमध्ये गोलभेँडा, काउली, बन्दागोभी, आलु, काँक्रो र खाद्यान्नमा धान बालीमा बढी पाठशाला सञ्चालन हुने गरेको पाइएको छ ।
१६ देखि १९ हप्तासम्म बालीअनुसार सञ्चालन हुने तालीम तथा पाठशालामा कृषक पाठशालामा पुरुषभन्दा महिलाको सहभागिता बढी रहेको छ । कृषकले जथाभावी विषादीको प्रयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने, स्वस्थ खाद्यान्न तथा तरकारी बालीको उत्पादन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको र यो कार्यक्रम निकै प्रभावकारी भएको रामपुर नगरपालिकाका कृषि शाखाप्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । कृषक पाठशाला सञ्चालन भएपछि कृषकमा व्यावसायिक खेतीसँगसँगै नियमितरुपमा खेत तथा बारीको अनुगमन तथा निरीक्षण गर्ने, कीरा लाग्नासाथ विषादीको प्रयोग नगर्ने, विषादी प्रयोग गर्दा पहिलो पटक घरेलु विषादीको प्रयोग गर्ने, दोस्रोपटक प्रयोग गर्नुपरे कीरा नियन्त्रणका लागि जाल तथा पासोको प्रयोग गर्ने प्रविधि सिकेका कारण कृषकले विषादीको प्रयोगलाई निरुत्साहित गरेको छ ।
निम, टिमुर, बोझो, तीतेपाती, ज्वानु, तोरीको तेल प्रयोग गरी अन्न भण्डारणमा रोग कीरा नियन्त्रण गरिन्छ भने काठको धुलो, गहुँत, साबुनपानी, सुर्तीको झोल प्रयोग गरी तरकारी बालीको कीरा नियन्त्रण गर्न सकिन्छ । सुन्तला जात फलफूल र लहरे तरकारीको औँशा कीरा नियन्त्रणका लागि फेरोमेन ट्र्याप, खेतबारीको सरसफाइ, स्थानीय वनस्पतिबाट तयार गरिने झोलमल, गाईको गहुँत, मोही आदि मिसाएर जैविक विषादी बनाएर बाली बिरुवामा प्रयोग गरियो भने स्वस्थ्य बाली उत्पादन लिन सकिन्छ ।
केही मात्रामा विभिन्न पासोको प्रयोग, ढुसीजन्य, ब्याक्टेरिया, भाइरस तथा ‘निमाटोड’जन्य जैविक विषादीको प्रयोग गर्न सकिने विधि रहेका छन् । एकीकृत शत्रु जीव व्यवस्थापन बाली बिरुवाका शत्रु (रोग, कीरा, झारपात, चरा, मुसा आदि) लाई आर्थिकरुपले न्यायोचित, पर्यावरणीय दृष्टिकोणले दिगो तथा सामाजिकरुपमा स्वीकार्य बाली संरक्षण गर्ने एक विधि हो । यसमा एकभन्दा बढी व्यवस्थापनका विधिको एकीकृतरुपमा प्रयोग गरिन्छ जसले गर्दा रासायनिक विषादीको प्रयोगमा कमी हुन आउने समाचार राससकाे लागि सुशील रेग्मीले लेख्नु भएकाे छ ।