बाबुहरि ज्ञवाली | जीवनदर्शन | असार १६, २०७६
जन्मेपछि मृत्यु पनि हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । ‘जातस्य हि धुवो मृत्यु धुवं जन्म मृतस्य च’ अर्थात् जुन प्राणीले जन्म लिन्छ समय आएपछि उसले मर्नुपर्दछ । जुन मर्दछ उसले जन्म लिनु पनि पर्दछ । पुनर्जन्मको यो सिद्धान्त सनातन धर्मको आफ्नो विशेषता पनि हो ।
परमात्माले हामीलाई मनुष्य जीवनको यो सुन्दर उपहार दिएर यसको यसको सदुपयोग गर्न यस सुन्दर संसारमा पठाउनु भएको हो । मृत्युपछि जीवनको परिसमाप्ति हुन्छ भन्ने कुरा सबैले बुझेका छन् । यसलाई कसैले अन्यथा गर्न सकको अवस्था छैन ।
नौषध न तपो दान न माता न च बान्धवा ।
शुक्नुवन्ति परित्रातुं नरं कालेन पीडितम् ।।
(पद्मपुराण)
अर्थात् कालले डोरी लगाएपछि त्यसको बन्धनबाट छुटाउन औषधि, तप, दान, आमाबाबु, इष्टमित्र यी कसैको पनि जोर चल्दैन ।
जबसम्म यस मानव देहमा जीवात्माको बास रहन्छ तबसम्म मानिसले म मेरो भन्ने अहङ्कार गर्दछ । यही अहङ्कार यस भौतिक देहभित्र रहने वासनाको जड हो । जब जीवात्मा यस भौतिक देहबाट निस्केर जान्छ अनि त यो पञ्चतत्वले बनेको शरीर आफ्ना आफ्ना तत्वमा विलीन हुन जान्छ । यो जीवात्मा अत्यन्त सूक्ष्म हुन्छ कसरी आउँछ कसरी जान्छ यसको रहस्य कसैले थाहा पाउन सकेको छैन । देहबाट छुटेपछि आफ्ना कर्महरूको भोग गर्न उसले तुरुन्त आतिवाहिक (अतिन्द्रिय) सूक्ष्म शरीर धारण गर्दछ ।
तत्क्षणात् सोऽथ गृह्णाति शरीर चातिवाहिकम ।
(स्कन्दपुराण)
यो शरीर भौतिक शरीरभन्दा भिन्नै हुन्छ । यसै शरीरद्धारा जीवात्माले आफूले पहिले गरेका सुकर्म तथा कुकर्महरूका परिणामहरूको भोग गर्दछ । मृत्युपछि मनुष्यले मात्र यो सूक्ष्म शरीर धारण गर्दछ । अरू प्राणीले धारण गर्न पाउँदैनन् । तिनीहरू तत्काल मृत्युपछि वायु रूपमा विचरण गर्दै फेरि कुनै अन्य योनिविशेषमा त्यस योनिको गर्भमा जन्म दिन पुग्दछन् ।
परन्तु आफूलाई बुद्धिमान ठान्ने मानिसले आफ्ना वादका विरोधीलाई सफाया गर्नतिर लाग्नु उसको भूल हो, अज्ञानता हो ।
केवल मनुष्यले मात्र आफ्ना शुभ तथा अशुभ कर्महरूको परिणाम यस लोकमा र परलोकमा भोग्नुपर्दछ । परलोकमा गरिने सुख दुःखको भोग सूक्ष्म शरीरले गर्दछ । तर, भोग नगरिकन कर्मको क्षय हुँदैन । ‘थुनामुक्त क्षीयते कर्म’ भनिएको छ । त्यपछिमात्र उसले पुनर्जन्म या मोक्ष प्राप्ति गर्दछ । अन्य जीवहरूले यातनारुपी अनेकौँ योनिहरूमा जन्म नलिई मनुष्य जन्म प्राप्त गर्न सक्दिनन् ।
अभक्वा यातना जन्तुर्मानुष्यं लभते न हि ।
जीव मात्रको मनुष्य योनिमा जन्म उसको कल्याणका लागि भएको हो । मनुष्य कुनै पनि वाद, मत, धर्म, सिद्धान्त मान्ने किन नहोस् जुनसुकै अवस्थामा पनि उसको कल्याण हुनु पर्दछ र ऊ परमात्मा प्राप्तिबाट वञ्चित हुनुहुँदैन । तर, मनुष्य भएपछि जस्तोसुकै अवस्थामा पनि आफ्नो जीवनको सदुपयोग गर्नुपर्दछ । दुःखका क्षणहरू आइपर्दा उसले आफ्ना सुखका क्षणहरू सम्झेर आफूलाई अरू दुःखी बनाउँछ भने सुखको अवस्थामा सदैव यही स्थिति रहिरहोस् भन्ने इच्छा राख्दछ । यी अतृप्त इच्छालाई सक्रिय गर्ने शक्ति नै मनुष्यको अज्ञानताको जड हो । यसलाई आफ्नो स्वार्थसिद्ध गर्नतिर नलगाएर परमार्थ सिद्धिमा लगाउनुमा नै उसको कल्याण छ ।
कुनै एक वर्गको हितका लागि अर्को वर्गको अहित गरेर ल्याउने समता वास्तविक समता हुँदैन । सबैको जीवन सुखमय होस्, सबै निरोगी बनुन्, सबैको हित होस भन्ने भावना हुनु नै समता हो ।
कतिपय मानिसहरू जाति, धर्म, भाषा, सम्प्रदाय जस्ता कुराहरूलाई आधार बनाएर समानताको नाममा ईश्वरले संरचना गरेको सुन्दर समाजलाई विखण्डन गर्ने प्रयासमा लागि परेका हुन्छन् । ईश्वरको संरचनामा कुनै भेदभाव छैन । समता भनेको कुनै खेल तमासा होइन । यो परमात्माको साक्षात् स्वरूप हो । जसको मन समतामा स्थित छ उसका लागि कुनै भेदभाव रहँदैन । यसका लागि अरूको दुःख आफ्नो दुःख, अरूको सुख आफ्नो सुख हुन्छ । जबसम्म मानिसमा स्वार्थी प्रवृत्ति रहिरहन्छ तबसस्म जति प्रगति गरे पनि समता आउन सक्दैन । हृदयमा अरूको कल्याण र सुखको भावना विद्यमान छ भने समता स्वतः आउँछ ।
वास्तविक समता भनेको कुनै प्रकारको भेदभाव नराखी अरूलाई दुःख कष्टबाट मुक्त गर्नु हो । आफ्नो आस्थाको विपरीत धारणा राख्ने मानिसलाई दुःख पर्दा सहयोग गर्ने भावना रहँदैन भने त्यहाँ समता हुन सक्दैन । कुनै एक वर्गको हितका लागि अर्को वर्गको अहित गरेर ल्याउने समता वास्तविक समता हुँदैन । सबैको जीवन सुखमय होस्, सबै निरोगी बनुन्, सबैको हित होस भन्ने भावना हुनु नै समता हो ।
हामी कुनै जाति, वर्ण, सम्प्रदाय तथा वादलाई आफ्नो मानेर जीवनलाई तदनुरुपमा ढाल्ने प्रयत्न गर्दछौ । यो मान्यता कर्तव्यपालनको निमित्त मात्र हो । यसमा कुनै यसमा कुनै स्थायित्व हुँदैन । परन्तु आफूलाई बुद्धिमान ठान्ने मानिसले आफ्ना वादका विरोधीलाई सफाया गर्नतिर लाग्नु उसको भूल हो, अज्ञानता हो । ऊ आफ्नो मान, बुद्धि, इन्द्रियहरूको वशीभूत भएर जसलाई ऊ आफ्नो ठानिरहेको हुन्छ । तिनीहरूले उसलाई कहिन्यै पनि तँ मेरो होस् भन्दैनन् । आपत्ति विपत्ति परेका बेला सुरक्षा दिन सक्ने केवल ईश्वर मात्र हो । समयलाई आफ्नो अनुकूलको बनाएर आफ्ना आकाङ्क्षाहरूलाई पूरा गर्ने कल्पना गर्नु मानिसको ठुलो भूल हो । जसले ईश्वरको ज्ञानअनुसार आफ्नो कर्तव्यको पालना गर्दछ उसलाई हरतरहबाट ईश्वरले सहयोग गरिरहेका हुन्छन् र कर्तव्यबाट च्युत हुन थाल्यो भने विपत्तिहरूमा धकेलेर प्रायश्चित रुवरुप सचेत पनि गराइरहेको हुन्छ र अरू पाप कर्म गर्नबाट बचाउँछ, यसलाई बुझ्न सक्नुपर्दछ ।
अतः हामी सबैले आफ्ना कर्मेन्द्रीय तथा ज्ञानेन्द्रीयहरुलाई संसारको सेवामा लगाएर मनलाई ईश्वरमा समर्पित गरौँ, यसैमा सबैको कल्याण छ ।