लोकसंवाद संवाददाता | समाज | असार १८, २०७६
बाँके । हिन्दू धर्मावलम्बीको दाहसंस्कारका लागि घाट व्यवस्थित गर्न सरोकारवालाले ध्यान नदिइरहेका बेला बाँकेमा ‘अन्तिम घर’ प्रस्ताव गरिएको छ ।
दाहसंस्कारका लागि लगिने अगैयाघाट अस्तव्यस्त भएपछि ‘अन्तिम घर’ प्रस्ताव गरिएको हो ।
‘दाहसंस्कारका लागि अगैयाघाट जोखिमपूर्ण बन्दै गएको छ,’ नेपालगञ्जका युवा व्यवसायी अर्जुन खड्काको दाहसंस्कारका लागि अगैया पुगेका अधिकांशले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूसँग भने । गाउँपालिका प्रमुख थारू घाट पुग्दा खड्काका मलामीले त्यहाँ रहेको फोहर, अव्यवस्थित घाट र जोखिम देखाउँदै उहाँको ध्यानाकर्षण गराउनुभएको थियो ।
अध्यक्ष थारूले सरसफाइका लागि तत्काल व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे पनि घाटका लागि बजेट व्यवस्था गरी नसकेको बताउनुभयो । ‘स्थायीरूपमा घाट नै कहाँ बनाउने भन्ने कुरा छलफलमा छ,’ सिक्टा सञ्चालन भएपछि अगैयामा दाहसंस्कारका लागि घाट सम्भव नहुने देखिएको सम्भावना औँल्याउँदै अध्यक्ष थारूले भन्नुभयो, ‘जहाँ टुंगो लाग्छ, त्यही व्यवस्थित गरिनेछ ।’
हाल राप्तीसोनारी–२ मा रहेको अगैयाघाट राप्तीनदीको सिक्टा सिँचाइ आयोजनाको मुख्य बाँधस्थल हो । ‘यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने हाम्रो प्रस्ताव हो,’ राप्तीसोनारी–८ का अध्यक्ष खुमबहादुर बस्नेतले भन्नुभयो, ‘सिक्टा सञ्चालन भएपछि यहाँ (अगैया) दाहसंस्कार सम्भव छैन ।’ उहाँका अनुसार कोहलपुर पूर्वका अधिकांशले हाल प्रयोग गर्दै आएको शम्शेरगञ्ज–८ गौशाला नजिक घाट प्रस्ताव गरेका छन् ।
‘विद्युतको पहुँच भइसकेकाले विद्युतीय शव दाहगृह निर्माण गर्न सकिन्छ,’ वडाअध्यक्ष बस्नेतले सामुदायिक वनबाट दाउराको समेत व्यवस्थापन सम्भव भएको जानकारी दिँदै भन्नुभयो, ‘अगैयाघाट प्रयोग गर्ने अधिकांश कोहलपुर पश्चिमका भएकाले उनीहरूका लागि आवागमनमा ५० किलोमिटर दूरी कम हुने र खर्च आधा जोगिन्छ ।’ दुई वर्षदेखि नयाँ घाटको प्रस्ताव हुँदै आए पनि अगैयाका स्थानीय व्यवसायीको दबाबमा काम अघि बढ्न सकेको छैन ।
बजार तथा व्यापार सुक्ने डरले अगैयावासी त्यसको विरुद्धमा रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । वडाध्यक्ष बस्नेतले घाट निर्माणको कुरा राप्तीसोनारीको मात्र सवाल नभएकाले जिल्लाबाट नै योजना आउनुपर्ने बताउनुभयो । ‘खासगरी राप्तीसोनारी र कोहलपुर नगरपालिकाले यसमा बढी चासो लिनुपर्छ,’ बस्नेतले भन्नुभयो, ‘अरु सबै स्थानीय तहले सहयोग गर्नुपर्छ ।’
घाट निर्माणका लागि योजना अघि सारे सर्वसाधारण समेतले हातेमालो गर्ने विकासका लागि नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । ‘अन्तिम गन्तव्य नै यही भएकाले यसमा सबैले हातेमालो गरेर व्यवस्थित दाहसंस्कारस्थल, मलामी घर, किरीयापुत्री निवास, खानेपानीदेखि शौचालयसम्म सुनिश्चितता गर्न सकिन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘अन्तिम घरका लागि प्रत्येक घरबाट सहयोग जुट्छ ।’ यो समाचार राससबाट साभार गरिएको हो ।