सिरहा र सप्तरीमा पाँच प्रतिशत रोपाइँ

सिरहा र सप्तरीमा पाँच प्रतिशत रोपाइँ
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १९, २०७६

सप्तरी । सिरहा र सप्तरीमा करिब पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ ।

लामो समयदेखि वर्षा नभएका कारण ती दुवै जिल्लाका ९५ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन । 

लामो समयदेखि वर्षा नभएको तथा सिँंचाइको सुविधासमेत नभएका कारण हालसम्म करिब पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र पछि पर्याप्त वर्षा पनि नभएका कारण अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको केन्द्रका प्रमुख भगिरथ यादवले जानकारी दिनुभयो । 

असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म पाँच प्रतिशत मात्र धान रोपाइ भएको उहाँले बताउनुभयो । वर्षा नभएपछि अहिले किसान पानी तान्ने मोटर तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन् भन्ने अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । 

यस्तै, कृषि मजदूरको आभावमा पनि वर्षेनी धानखेती प्रभावित हुने गरेको छ । एकातिर सिँचाइ अभाव अर्कोतिर आवश्यकताअनुसार कृषि मजदूर नपाइने गरेकाले धान रोपाइँमा समस्या हुने गरेको किसानको गुनासो छ । सिरहा र सप्तरीमा भदैया, चैते र वर्षे गरी तीन किसिमका धान उत्पादन हुँदै आएको छ । 

सिरहामा कूल कृषियोग्य क्षेत्रफल ७३ हजार ९१३ हेक्टरमध्ये ६० हजार ७५७ हेक्टरमा धान खेती हुन्छ । सप्तरीमा भने कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको समाचार राससमा छ ।