लोकसंवाद संवाददाता | समाज | असार १९, २०७६
वाराणसी । अघिल्लो वर्ष नोभेम्बर महिनाको एक दिन म वाराणसीस्थित मुमुक्षु भवनको आँगनमा एउटा ठूलो निमको रुखमुनि उभिएकी थिएँ । नजिकैको कोठाबाट भजन गाइरहेको सुमधुर आवाज आइरहेको थियो । होचो कदकी एक महिला मेरोसामु आएर उभिइन् । र, मलाई नमस्ते गरिन् । उनको हाथमा निम्कीको एउटा ठूलो प्याकेट थियो । उनको उमेर अन्दाजी ८० वर्ष थियो । उनले मलाई निम्की दिन खोजिन् । तर, मैले आफूलाई निम्की खाने इच्छा नभएको बताए । उनले बडो प्रेमले मुस्कुराउँदै भनिन्, ‘म तिमीलाई नखाइकन जान दिन्न ।’
उनको त्यो प्रेमिल अनुरोधलाई मैले नकार्न सकिनँ । र, मैले उनका सामु हात फिजाएँ । उनले मेरो हातमा निम्की राखिदिइन् । म खान थालेँ । मलाई खाएको देखेर उनले मातृवत स्नेहले भनिन्, ‘बेला–बेलामा थोरै–थोरै केही खाइराख्नुपर्छ ।’ मलाई यति भनेर उनी आफ्नो बाटो लागिन् ।
मभित्र उनीसँग चर्चा गर्ने इच्छा जागृत भएको थियो । अरु केही नभए पनि नजिकको कोठामा चलिरहेको भजनबारे म उनीसँग कुरा गर्न चाहान्थे । तर, मेरो अन्तरमनको भाव शब्दमा व्यक्त गर्न नपाउँदै उनी त्यहाँबाट अलप भइसकेकी थिइन् ।
पछि लजका म्यानेजर मनिषकुमार पाण्डेले मलाई भने, ‘तपाईंलाई निम्की खुवाउने महिला सरस्वती अग्रवाल हुन् । उनी एकल महिला हुन्, केही वर्षपहिला नै उनको श्रीमान्को निधन भएको थियो । अनि उनका कोही सन्तान पनि छैनन् । उनी ४ वर्षपहिले यहाँ आएकी हुन् । उनीसँगै बस्ने अर्की महिला राजस्थानकी गायत्रीदेवी हुन् । गायत्रीदेवी ६ वर्षदेखि यहाँ बसिरहेकी छन् । गायत्रीदेवीका एक छोरा र दुई छोरी छन्, तर, उनीहरू देशको अर्कै प्रान्तमा बस्छन् । र उनीहरूलाई आफ्नी वृद्ध आमासँग भेट गर्ने कि त फुर्सद छैन कि रहर वा इच्छा छैन । म्यानेजर पाण्डेका अनुसार उनी यहाँ आएपछि आजसम्म पनि उनका कोही आफन्त उनलाई भेट्न आएका छैनन् ।
मृत्युको पर्खाइ
मलाई यस मुमक्षु भवनमा बसोबास गरिरहेका यी महिलाहरूसँग वार्तालाप गर्ने रुचि लाग्यो । एक साँझ म त्यहाँ बसिरहने वृद्ध आमाहरूसँग घर–परिवार, जीवन–दर्शन र महिला अधिकारबारे चर्चा गर्ने मौका पाएँ ।
मसँग कुरा गर्दा सबै आमाहरूको मुख ऊज्यालो थियो । र, उनीहरूको मुहारमा मैले स्पष्ट मुस्कान देख्न पाएँ । उनीहरू मसँग उत्साहित भएर कुरा गरिरहेका थिए । तर, उनीहरूलाई कुनै गुनासो थिएन । सबैको प्रायः एउटै आशय थियो– ‘छोराछोरीको बिहे भइसकेपछि परिस्थिति त बदलिन्छ नै, उनीहरूसमेत बदलिन्छन् ।’ गायत्रीदेवीले भने आफ्ना सन्तान भेट्न नआएकोमा मुटुभित्र जेसुकै भाव भए पनि मुखले भने छोराछोरीप्रति कुनै दुखेसो व्यक्त गरिनन् ।
मेरोे नजिकैको बेन्चमा बसिरहेकी अर्की एक जना वृद्ध आमा सीतादेवीले टाउको हल्लाउँदै गायत्रीदेवीको समर्थन गरिन् । सीतादेवी पनि यहाँ विगत पाँच वर्षदेखि यसै वृद्धाआश्रममा जीवनयापन गरिरहेकी छन् ।
गायत्रीदेवीले आकाशको शून्यतामा नियाल्दै भनिन्, ‘मलाई कुनै गुनासो छैन । तर, मलाई विश्वास छ, जब मेरो मृत्यु हुन्छ, त्यसबेला छोराछोरीहरू मेरो चितासम्म आइपुग्नेछन् ।’ यी तीन जना वृद्ध आमा ती हजारौं आमाबुबाका प्रतिनिधि पात्र मात्र हुन्, जुन आफ्नो घर–परिवार, छोराछोरी, नातिनातिनाबाट टाढा रहेर वाराणसीको मुमक्ष भवनमा आफ्नो मृत्युको पर्खाइमा छन् ।
मोक्षको खोजी
वाराणसी सनातन हिन्दू परम्पराको मोक्ष नगरी, किंवदन्तीमा भारतवर्षको सबैभन्दा पुरानो सहर, भगवान सदाशिव काशी विश्वनाथको नगरी काशी । हिन्दू धर्मावलम्बीका लागि भारतवर्षका ७ पवित्र सहरमध्येको एक वाराणसी, जहाँका बारेमा मान्यता छ- यहाँ मृत्यु हुनेहरूको अन्तिम गन्तव्य ‘मोक्ष’ हुन्छ ।
महाभारत युद्ध जितेपश्चात पाण्डव पनि पाप-मुक्तिका लागि काशी आएका थिए । सहस्राब्दीदेखि हिन्दू धर्मावलम्बीहरू मोक्ष पाउन जीवनको ‘अन्तिम समय’मा काशी प्रवासका लागि आउने गर्छन् ।
सनातन हिन्दू परम्पराका धर्मग्रन्थ उद्घोष गर्छन् । काशीमा मृत्युवरण गर्नु र गंगा किनारको घाटमा दाह संस्कार हुनुले जन्म–मरणरूपी चक्रविलिन हुन्छ । यहाँका मणिकर्णिका र हरिश्चन्द्र घाटमा सतत् चिता जलिरहेका हुन्छन् ।
तर, बढ्दाे औद्योगिकीकरणका कारण र जनसंख्याका कारण मानवीय फोहोरले गंगाको पानी दूषित बनेको छ । पानीको रंग नै हरिद्वार र ऋषिकेषजस्तो छैन । उद्योगबाट निस्केको रासायनिक फोहोर र बढ्दो बस्तीका कारण बढेको मानवीय फोहोरले वाराणसीका गंगाको पानी कालो नै भइसकेको छ । तर, पनि आस्थाको अगाडि कसको के लाग्छ । अझै पनि काशी पुगेका जो कोही हिन्दूका लागि गंगा पवित्र नै हुन् । मोक्षदायिनी नै हुन् । अझै विश्वास कायमै छ– कि उनीहरूका सारा पाप गंगाले पखालिदिन्छन् ।
बडो अद्भूत वातावरण हुन्छ वाराणसीका घाटहरूमा । एकतिर पर्यटक र तीर्थयात्री डुंगामा बसेर गंगा विचरण गर्छन् भने अर्काेतिर घाटमा जल्दै गरेको चिताबाट उगिरहेको धुवाँ अनि मृतकको आत्मशान्तिका लागि मन्त्रोच्चार गरिरहेका पुजारी र पण्डा ! यसरी मुक्तिका लागि काशी प्रवाशमा जाने महिला–पुरुषलाई काशीवासी भनिन्छ । तिनका लागि यहाँ विशेष किसिमका आश्रम बनेका छन्, जसलाई च्यारेटी संगठन र व्यापारिक समुदायबाट प्रशस्त दान पाइन्छ । यो आलेख बिबिसी हिन्दीका रोमिता सलुजाले लेखेकी हुन् ।