काठमाडौंका ‘पथ प्रदर्शक’ गुरु !

काठमाडौंका ‘पथ प्रदर्शक’ गुरु !

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  असार २०, २०७६

सम्झना आउँछ कुसुम पगलीको । कुसुम उनको नाम थियो भने पगली उनलाई उनको आम मानवीय व्यवहारभन्दा पृथक व्यवहार भएकाले हामी जस्ताले प्रदान गरेको पृथक पहिचान थियो । पहिलो पटक उनलाई पाइलट बाबाको नैनीताल आश्रममा देखेको थिएँ । पातली, अग्ली, आफ्नो सामानको पोको सधैं आफूसँग राख्ने, कोही उनको वा उनको सामानको छेउमा पुग्यो भने झस्किँदै चिच्याउने, ‘तँ मेरो सामान चोर्न आएको होस् ?’ आश्रमवासी वा आगन्तुक सबै पाइलट बाबाप्रति अति सम्मान, आदरभाव, गुरुभाव राख्ने तर कुसुम भने बेग्लै, उनले कहिल्यै बाबाप्रति आदर दर्शाइनन् । हामी बाबासँगै बसेर चर्चा गरिरहेका हुन्थ्यौं । त्यो बेलासम्म नैनिताल आश्रममा प्रशस्त खुला ठाउँ थियो, जुुन अहिले हेर्न पाइँदैन । बाबालाई भवन निर्माणको औधी शौख छ । हामी आश्रमको कुनै पनि खुला ठाउँमा एउटा कुर्सी राखेर भुुइँमा केही ओछ्याएर पर्खेर  बस्थ्यौ । बाबा त्यही कुुर्सीमा आएर हामीसँग वार्तालाप गर्नुु हुुन्थ्यो, घन्टाैं वार्तालाप हुुन्थ्यो । त्यो बेलासम्म उहाँ अहिलेको जस्तो व्यस्त हुनुहुन्थेन, अहिलेको जस्तो कुशल व्यावहारिक, मर्यादित वक्ता र शास्त्रीय पनि हुनुहुन्थेन । एकदिन त्यसै गरी हामी बाबासँग बसेर आफ्ना कौतुहलको निदानमा रमेका थियौं । कुसुम आइपुगिन् र कड्किँदै भनिन्, ‘मेरो लागि कुर्सी खोइ ?’

बाबाले हास्दै एकजनालाई कुर्सी ल्याउन पठाउनु भयो । कुसुम बाबासँगै कुुर्सीमा बसिन् ।

अर्को कुनै दिन बाबाले कुसुमको बारेमा हामीलाई जानकारी दिनुुभयो । यी महिला कोलकताको एउटा करोडपति परिवारको सदस्य थिइन् । राम्रै पढे–लेखेकी छन् । युुवावस्थामा नै यिनलाई आध्यात्मिक हुुन मन लाग्यो । नारायणदत्त श्रीमालीका पुस्तक पढेर यिनी मन्त्रमुुग्ध भइन् । र, युवाजोशमा यिनी घरवार छाडेर गुरुकहाँ पुुगिन् । गुरुले कहिले यो त कहिले त्यो साधना गराउँदै यिनको शोषण गरे । कहिले कपोलकल्पित महामानव पात्रको खोजीमा हिमालय यात्रा गर्ने निर्देश त कहिले यो अनुष्ठान गर कहिले त्यो अनुष्ठान । यिनको सारा सम्पति गुरुले लुटे, अध्यात्मको नाममा शोषणबाहेक यिनले केही पाइनन् । सम्पत्ति सकिएपछि गुरु आश्रमको द्वार पनि यिनका लागि बन्द भयो । यिनलाई बौलाहा बनाउनमा तिनै गुरुको हात छ ।

पाइलट बाबाको मुुखबाट कुसुमको कथा सुुनेपछि उनीप्रति दया लाग्नु स्वभाविक नै थियो । मैले बाबासँग सोधे, ‘गुुरुले पनि यस्तो गर्न सक्छ ? यस्तालाई पनि गुुरु भन्ने ?’ उहाँले प्रत्युत्तरमा भन्नुुभयो, ‘बेटा यो संसार हो, यहाँ सबै कुुरा छ, धर्म–धर्म मात्रै सर्वत्र व्याप्त छ भने तपाईं धार्मिक भएको के नै मूूल्य ? र, यदि तपाईंसँग अंगुुलिमाल हुुने सुुविधा नै छैन भने । भ्रष्ट हुुने सबै सम्भावना प्रचूर मात्रामा विद्यमान हुँदा पनि यदि तपाईं नैतिकवान हुनुभयो भने नैतिकताको मूल्य हुँदैन । 

म मार्ग देखाउन सक्छुु, म ‘पथ प्रदर्शक’ हो, यात्रा तिमीले आफै गर्नुु पर्छ, गुुरु कृपाले होइन, तिम्रो साधनाले, लगन–निष्ठाले, तिमी आफ्नो अभीष्ट पाउन सक्छौ । गुुरुप्रतिको माया, प्रेम, सद्भाव, सम्मान र परम्पराका कारण शिष्यले भन्छ, ‘गुुरुकृपाले मैले पाएँ ।’

बाबा अध्यात्ममा पनि यस्तो धोका हुन्छ भने साधकले सच्चा गुरु कसरी भेटाउने ? उहाँ भन्दै जानु भो, अध्यात्ममा त संसारभन्दा पनि बढी धोका छ र हुनु पनि पर्छ । उद्देश्य जति ठूलो, बाधा व्यवधान पनि त्यति नै मात्रामा बढी हुनु स्वभाविक नै होइन र ? कुसुम मात्रै होइन अध्यात्म यात्रामा ठगिएकाको नामावली लामै छ । साधक अन्धविश्वासी भएर हिँड्यौं भने ‘गुुरु सच्चा छ’ भने त मुुक्ति नै पाउँछ । तर, गुुरु यदि नकाबधारी छ भने कुुसुुमकै नियति भोग्न नपर्ला भन्न सकिन्न । उपाय एउटा मात्र छ– जबसम्म यो निक्र्यौल हुुन्न, गुुुरु सच्चा छ कि छैन साधकले खुुला आँखाले, खुुला मस्तिष्कले जाँच्नु पर्छ । गुरुलाई भगवान मान्ने होइन, गुरु भगवान हुुँदा पनि होइन, यो आधुुनिक फेसन त रजनीशजीले चलाएका हुुन्, उनको देखासिकीमा अन्यले पनि आफूलाई भगवान घोषित गरेका हुन् । गुरु–शिष्य संवाद दोहोरो हुन्छ, उपनिषद्लाई हेर, गीतालाई हेर, त्यहाँ शिष्यले गुरुसँग कस्ता–कस्ता प्रश्न गरेका छन्, प्रतिप्रश्न गरेका छन्, प्रश्नैप्रश्नले समाधान प्राप्त गरेका छन् । आफ्नो सबै शंका समाधान नगरेसम्म कसैलाई पनि गुुरु नमान । 

पाठकलाई जिज्ञासा होला– मैले बेमौसममा कुसुम एवम् पाइलट बाबाको प्रसंग किन स्मृतिबाट तानेर उनीहरूमाथि थोपरिरहेको छु । विश्वास गर्नुस्, यो  अकारण होइन, जब मैले काठमाडौंमा युुवा कुसुमझैं एक पात्र भेटे, उनको भोगाइ सुनें । अनि लाग्यो– अध्यात्मको नाममा हुुने यस प्रकारका ठगी, शोषण, र सम्मोहनबारे लेख्नुपर्छ, कुसुमदेखि गंगासम्म । गंगा काठमाडौंको एउटा धनी घरानाको युुवती हुुन्, बाउआमा, दाजुभाइ सबै अमेरिकामा बस्छन् । काठमाडौंको सारा सम्पत्तिको भोक्ता उनी मात्रै हुुन् । अहिले पनि युुुवा छन्, सुन्दर र आर्कषक छन् । केही वर्षपहिला उनको बिहे भयो । तर, बिस्तारै त्यो नयाँ सम्बन्धसँग उनको मानसिक तारतम्य मिलेन । उनी अशान्त रहन थालिन् । उनको कुनै साथीले काठमाडौंको एक जना गुरुकहाँ जाने परामर्श दिए । केही वर्षपहिला काठमाडौंमा ती गुरुको बडो जगजगी थियो । गुरु प्रखर वक्ता थिए ।

हुुनत ती गुरुलाई मैले २०४५ सालमै चिनेको थिएँ, जुन बेला म आशीष ध्यान केन्द्र जाने गर्थे । उनी रजनीशका ‘फ्यान’हरूलाई निम्तो दिइ बोलाउँथे, चिया खुवाउँथे । त्यसपछि दुई–तीन वर्ष ती कतै घुम्न गए र फर्केर आउँदा उनी ‘स्वयम्भू मास्टर’ भइसकेका थिए । गंगाले सुुनाइन्, ‘म आफ्नो घरायसी क्लेश र मानसिक अशान्तिको निवारणार्थ ती गुरुकहाँ जान थाले । उनका कुराले मलाई राहत महसुस भयो, मसँग पैसाको कुनै कमी थिएन । मैले धेरै पटक ५० हजार रूपैयाँको चेक काटेर गुरुलाई अर्पित गरेँ । तर, बिस्तारै मलाई लाग्न थाल्यो– म ठगिँदै छु । अनि मैले ती गुुरुबाट आफूलाई पृथक राख्ने निर्णय गरेँ । त्यसपछि मैले श्रीमानसँग पारपाचुके गरे । 

तर, अरु कुराको ‘एडिक्सन’जस्तै मुुक्त, स्वछन्द जीवन, ध्यान, निष्फिक्रिता, समाधि, ‘एनलाइटेन्डको’ नशा मभित्र बसिसकेको थियो । म युवा–युवतीमा ‘पपुुलर’ अर्को आश्रमतिर लागे । त्यो आश्रमको वातावरण र क्रियाकलाप मेरो प्रकृतिको अनुकूल थियो । नृत्य गर्दै ध्यान गराइन्थ्यो, गुरुका प्रवचन सुुनाइन्थ्यो र त्यहाँ आउने–जाने सबैको व्यवहार बडो खुलस्त हुुन्थ्यो । कामलाई पनि त्यहाँ अन्यत्र जस्तै बन्देज थिएन । र, मलाई अनुभव थियो– त्यहाँको गुरुलाई मेरो आर्थिक हैसियत संग कुुनै सरोकार थिएन । आश्रमको निश्चित शुल्क तिरेपछि अन्य कुनै रूपमा पैसाको कुुरा हुुन्नथ्यो । म त्यो आश्रममा रम्दै गए, एक दिन गुरुले मलाई आफ्नो कक्षमा डाक्नुभयो । अध्यात्मिक वार्तालाप भयो, ध्यानका बाधाबारे बताउनु भयो र ममा ध्यानमा जाने विपुल सम्भावना रहेको उजागर गर्नुभयो । त्यो आश्रमको ध्यान कक्ष र आश्रमभरी नै युवायुवतीले आलिंगन गर्नु सहज र स्वाभाविक रूपमा लिइन्थ्यो । यसलाई गुरुले ‘एनर्जीको ट्रान्सफार्मेसन’ प्रक्रिया भन्नु हुन्थ्यो र त्यहाँ ‘अनकण्डिसनल लभ’को लम्बेतान चर्चा गरिन्थ्यो । गुरुले वार्तालापपश्चात मलाई आलिंगन गर्ने प्रस्ताव राख्नुभयो । मैले अहो भाग्य ठानें । म प्रमुदताका साथ आलिंगनबद्ध भए । त्यसैक्रममा गुुरुको हात अन्य अंगमा पुुग्यो । र, म भागे । अहिले पनि त्यही आश्रम, तिनै गुुरुकोमा जान्छुु । तर, मलाई थाहा छ– त्यहाँबाट मैले केही पाउँदिन, न समाधि, न ‘एनलाइटमेन्ट’ । जीवनमा दुुइटा गुुरुको संगत गरियो– एउटा, द्रव्य पिशाच निस्कियो । अर्को, काम पिशाच । कहिलेकाहीँ मलाई आफैसँग वैराग्य लाग्छ । उनको मसँग प्रश्न थियो, ‘म कसरी अध्यात्मपथमा आफूसँग केही नभए पनि, केही चाहना नराखेर पनि हिँडिरहेको छु?’ उनको शब्द र आशयमा खुसी र सन्तुष्ट पनि छु ।

मैले उनलाई जवाफ दिनुुको सट्टा सोधें– तिमीसँग यस्तो हुँदाहुँदै पनि तिमी तिनै गुरुको सम्पर्कमा छौं यो कसरी सम्भव भयो ? कि त तिमीले केही लुुकाइरहेकी छौं, आफ्नो अस्मिता जोगाएर बोलिरहेकी छौं । ध्यान, समाधि, उच्चतम चेतनाबारे त तिमीले दुुई–दुई जना गुुरुको लीला हेरिसक्यौ । के अब तिमी आफू पनि यही ‘गुुरुडम क्यारिअर’ बनाउन प्रयत्नशील छाैं ?

मलाई कुुनै ‘क्यारिअर’ बनाउन आवश्यक छैन । मसँग आफ्नो जीवन सुविधाले बिताउने यथेष्ट सम्पत्ति छ । भर्खरै मैले अर्को बिहे पनि गरेकी छु । म ‘एनलाइटमेन्ट’ चाहन्छु त्यसका लागि लागिपरेकी छु ।  

‘एनलाइटमेन्ट’ कुुनै यस्तो वस्तु त होइन, जुन गुरुले तिमीलाई दियोस् र बदलामा तिमीले आफ्नो पैसा वा शरीरले गुरुलाई मूल्य चुकाइदेउ ।’ मलाई भन्न करै लाग्यो । र, भने, ‘हेर जबसम्म तिमीमा यस्तो चाहना रहन्छ तिमी जुनसुकै गुरुकहाँ गए पनि ठगिने क्रम जारी रहन्छ । मेरो खुसी र सन्तुष्टीको ‘किमिया’ सोध्छौं भने म अध्यात्म मार्गमा केही पाउने वा हुने न चाहना राख्छु, न त आशा नै गर्छु ।

मैले कुसुम र गंगाको परिस्थिति केलाएँ । कुसुमका गुुरु तन्त्र मन्त्र मर्मज्ञ, ज्योतिषविद् श्री साधनादेखि शमशान साधनाका व्याख्याता, सम्मोहन, अन्धविश्वासका पुुरोधा थिए । कुुसुुम उनको वाग्जाल, मायाजालबाट समय रहँदै उम्किन सकिनन् । गंगाको हकमा उनका दुवै गुरु आधुुनिक थिए, उनीहरूलाई वास्तवमै कुनै कुराको ज्ञान थिएन । फगत आधुनिक गुरु अरविन्दो, रमण महर्षि, जे. कृष्णमूर्ति, रजनीश लगायत अन्य चिन्तक विचारक र केही मार्डन साइन्स एवम् मनोविज्ञानसम्बन्धी पुुस्तक पढेर स्थापित भएका हुुन् । कुुरा यिनीहरू मनको गर्छन् । यिनीहरूको आफ्नै मन भने दाममा, काममा निमग्न रहेको हुुन्छ । पहिलो गुरुबाट बेलैमा सजग नभएको भए आज गंगा पनि कुसुमझैं हुन पुग्थिन कि ?

अर्को एउटा घटनाको स्मरण, बौद्धमा व्यवसाय गर्ने एक जना मेरा साथी काठमाडौंकै एक जना बुद्ध पुरुषको कुचक्रमा परेर मारिए । सानो उमेरमै उनले धेरै उन्नति गरेका थिए । निकै पैसा कमाएका थिए, कुनै साथीले गुरुकहाँ पुर्याएछन् । कुरा त कुन गुरुले पो नराम्रो गर्छ ! उनी गुुरुको मायाजालमा फस्दै गए । अविवाहित रहेका उनी आफ्ना अन्य दुई भाइसँग व्यवसायमा एक पछि अर्को खुड्किलो चढ्दै गएका थिए । एउटा सामान्य पसलबाट ‘डिपार्टमेन्टल स्टोर’ बनाउन सफल भएका थिए । उनै गुरुले आफ्नै एउटी शिष्यासँग उनको बिहे गराइदिए । पछि पतिको हत्या भयो, सम्पत्ति कब्जा भयो । अन्य दुई भाइ पुनः सानो पसलमा झरे । उनका भाइले मलाई सारा वृतान्त भने, अहिले ती बौद्धमै एउटा व्यवसाय गरेर वसेका छन् ।

अध्यात्म यात्रामा हिँड्ने इच्छुक कसैलाई हतोत्साहित गर्ने आशय होइन यो पंक्तिकारको, मात्र यस पवित्र संसारमा हुुनसक्ने सम्भावित दुर्घटनाबाट सचेत गराउने उद्देश्य हो । पथिकले त्यसै हौसिएर बुुद्धत्वको खोजीमा, अथवा कुण्डिलनी जागरणमा, वा शक्तिपातका पछाडि दौडिने कार्यमा नलागे सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ । इन्टरनेट र प्रिन्ट मिडियाको यस उन्नत युुगमा अध्यात्मका सबै मार्ग, उपमार्ग, शाखा, प्रशाखाबारे घरमै बसीबसी नै जानकारी पाउन सकिन्छ । आफूलाई कसले आकर्षण गर्छ त्यससम्बन्धी अझ गहिरो अध्ययन गर्न सकिन्छ । त्यो विधाबारे आफंले यावत जानकारी आर्जन गरेपछि ‘यदि लाग्छ गुरु चाहिन्छ’ भने त्यो बेला गुरु खोज्दै जानुुस् । सेयर बजारको केही जानकारी नलिई त कोही पस्दैन त्यहाँ, विज्ञसँग जानकारी लिने गर्छ अनि मात्र सेयर कारोवारमा ओर्लिन्छ । गुरु खोजीमा पनि यो पद्दति अनुकरण गरे हुन्न र ?

कुुनै पनि सद्गुरुले मात्र होइन, सबै खाले गुरुले मञ्चबाट कहिल्यै पनि भन्दैन, ‘म बुद्धत्व दिन सक्छु ।’ मञ्चबाट स्पष्ट भनिन्छ– म मार्ग देखाउन सक्छु, म ‘पथ प्रदर्शक’ हो, यात्रा तिमीले आफै गर्नुु पर्छ, गुरु कृपाले होइन, तिम्रो साधनाले, लगन–निष्ठाले, तिमी आफ्नो अभीष्ट पाउन सक्छौ । गुरुप्रतिको माया, प्रेम, सद्भाव, सम्मान र परम्पराका कारण शिष्यले भन्छ, ‘गुरुकृपाले मैले पाएँ ।’ तर, सद्गुरु बाहेकका गुरुले तपाईंलाई आफ्नो कक्षमा बोलाई शक्तिपात गर्ने, साक्षात्कार गराइदिने, चालीस दिनमै कुण्डलिनी जगाइदिने प्रलोभन दिन्छ र तपाईं सदाको लोभी, यहाँ पनि आफ्नो यही चरित्रले फस्नुहुन्छ । न्यायको आँखाले हेर्ने हो भने दोषी तपाईं पनि उत्तिकै हो ।

अध्यात्म पथिक एकजना अन्य मित्रको उद्गारबाट यो लेखको पूर्णतातिर लागौं । कुनै जमानामा गोरखापत्र संस्थानका कर्मचारी, पछी ‘बैंकर’ भएका एकजना मित्र काठमाडौंकै एकजना स्थापित गुुरुको शिष्य हुनुभयो । अहिले उहाँ पनि गुुरु बन्नुभएको छ र बीस वर्षपछि भेट हुँदा भन्नुभयो, ‘अध्यात्मको खोजीमा मेरो काठमाडौमा रहेका दुइटा घर बिके, गुरुका आश्रम बने । अब यही व्यवसायले नै मैले आफ्नो घर र आश्रम बनाउनु छ । मैले दुई–चार जनाको घर बिकाउँछु, जसरी मेरा गुरुले मेरो घर बिकाए र आफ्नो बनाए । म पनि उनकै चेलो हुँ, उनकै पथ अनुशरण गर्छु ।’ होस गर्नुहोला ! कतै तपाई यिनै गुरुको फेला पर्न त पुगिराख्नु भएको त छैन ?