लोकसंवाद संवाददाता | समाचार | असार २२, २०७६
काठमाडौँ । काठमाडौँ महानगरभित्र रहेको रानीबारी सामुदायिक वन ‘मर्निङ वाक’ को उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको छ ।
टोखा नगरपालिका–९ गोँगबु बस्ने रामकृष्ण अधिकारी सधै बिहानै रानीबारीको सामुदायिक वनमा पुग्नुहुन्छ । 'वनभित्र हिँड्न र शारीरिक व्यायम गर्न सहज हुन्छ, स्वच्छ हावा र हरियालीले प्रातकालीन समय आनन्दले बित्छ', उहाँ भन्नुहुन्छ ।
काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने भीम गुरुङपनि सधैँ मर्निङ वाकका लागि रानीबारी आउनुहुन्छ । 'शरीरको मोटोपन घटाउन र तन्दुरुस्त राख्नको लागि हिँड्नुपर्छ, त्यसको लागि स्वच्छ वातावरणको जङ्गल निकै उपयुक्त छ', गुरुङ भन्नुहुन्छ । अधिकारी र गुरुङजस्ता सयौँ मानिस हिँड्न, शारीरिक अभ्यास र दौडनसमेत दैनिक रानीबारी वनमा आउने गर्छन् । रानीबारी सामुदायिक उपभोक्ता समितिका कोषाध्यक्ष अरुण शाक्य दैनिक २५० देखि ३०० व्यक्ति मर्निङ वाकका लागि रानीवारी वन आउने गरेको बताउनुहुन्छ ।
पहिले चक्रपथभित्र म्हैपी र रानीवारी सामुदायिक गरी दुई वन भए पनि म्हैपीलाई धार्मिक वनका रुपमा रुपान्तरण गरेपछि रानीबारी एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १५० को हाराहारीमा सामुदायिक वन रहेपनि चक्रपथ र काठमाडौँ महानगरपालिकाभित्रको रानीबारी एक्लो सामुदायिक वन बन्न पुगेको छ । उक्त वन काठमाडौँ महानगरपालिका–३ मा पर्दछ । लाजिम्पाट र सामाखुशी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
परम्परादेखि नै राजाको दिवाली हुने वनका रुपमा रहेको रानीबारी वन विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको हो । उक्त वनलाई नेवारी भाषामा ‘पोर्पा अजिमा’ पनि भन्ने गरिन्छ । काठमाडौँको बढ्दो जनसङ्ख्यासँगै वन क्षेत्र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन नमूना वनका रुपमा विकास हुँदै गएको छ । रानीबारीका ४१ घरधुरीले उक्त वनको संरक्षण गर्दै आएका छन् ।
सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोषविक्रम शाह राजधानीको मध्यभागमा रहेको वनलाई संरक्षण गरी नमूना वनका रुपमा विकास गर्न विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताउनुहुन्छ । 'यो वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवन बनाएकाले उनीहरुको वासस्थानका लागि कपुर, जामुन, बर्रोलगायतका बोटबिरुवा रोपेका छौँ,उहाँ भन्नुहुन्छ । स्वच्छ हावापानी र खुला स्थान भएकाले सो वन हिँड्ने, दौडने र शारीरिक व्यायम गर्नेहरुका लागि महत्वपूर्ण स्थानका रुपमा समेत विकास हुँदै गएको उहाँको भनाइ छ ।
वनकोबीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिस देवीको दर्शनका लागि जाने गर्छन् । बिहान पाँच बजे खुल्ने वनमा ८.३० बजेसम्म निःशुल्क प्रवेश तथा त्यसपछि रु १० तिर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त वनमा उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण सङ्घको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापनासँगै स्वदेशी तथा विदेशी चरा अध्ययन गर्न सजिलो भएको पक्षी सङ्घका शैक्षिक कार्यक्रम संयोजक आनन्दकुमार श्रेष्ठ बताउनुहुन्छ ।
रानीबारी वनमा हाल झण्डै १०० प्रजातिका चरा भेटिएको तथ्याङ्क छ । वन विभागका अनुसार हाल देशभर २० हजार हाराहारीमा सामुदायिक वन रहेका छन् । उक्त सामुदायिक वनबाट २७ लाखको हाराहारीमा घरपरिवार लाभान्वित भएका छन् । नेपालमा सामुदायिक वनको अवधारणा विस २०३० साउन २५ देखि शुरु भएको हो । सिन्धुपाल्चोकको ठोकर्पा वनमा तत्कालीन जिल्ला वन अधिकृत तेजबहादुरसिंह महतको सहयोग तथा ठोकर्पा गाविसका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा नेपालमा सामुदायिक वन संरक्षण अभियान शुरु गरिएको बताइएको समाचार राससको लागि अच्युत रेग्मीले लेख्नु भएकाे छ ।