लोकसंवाद संवाददाता | समाज | माघ ०७, २०७५
रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको लु१ज ३३३२ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा त्यसमा सवार दुईको ज्यान गयो ।
केही दिनअघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको ग१ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा पनि दुईले ज्यान गुमाए भने २६ घाइते भए ।
यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, सडक दुर्घटनामा परी पुसमा मात्रै सातले ज्यान गुमाए भने २६ घाइते भए ।
रोल्पामा पछिल्ला दिनमा सवारी दुर्घटनामा परी घाइते हुने तथा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १२ ले ज्यान गुमाइसकेका छन् । यो अवधिमा एक दर्जन बढी गम्भीर घाइते भए भने चार दर्जन बढी सामान्य घाइते भए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको संख्या बढिरहेको छ । आव ०७३/०७४ मा रोल्पामा भएको सवारी दुर्घटनामा परी पाँचले ज्यान गुमाएका थिए ।
आव ०७४/०७५ मा सवारी दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेको संख्या ह्वात्तै बढेको ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा देखिन्छ । सो वर्ष १८ को मृत्यु भयो भने २८ घाइते भए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अम्मर थापाले ट्राफिक नियम पालना नगरेर सवारी चलाउने तथा सडकमा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढिरहेको बताउनुभयो । ‘समितिको अनुमति बिना नै यात्रुले जबर्जस्ती सवारी सञ्चालन गर्न दबाब दिने गरेका कारण पनि दुर्घटना बढेको छ,’ उहाँले भन्नुभयो ।
सडक मापदण्डविपरित हचुवाको भरमा निर्माण गरिनु र ती सडकमा १८ वर्ष नपुगेका किशोरले गाडी चलाउँदा दुर्घटना बढिरहेको जिल्लावासीको गुनासो छ । ग्रामीण सडक क्षेत्रमा ट्राफिक प्रहरीको पहुँच नहुँदासमेत दुर्घटना बढेको बताइन्छ ।
रोल्पामा बनेका सडकमध्ये करीब ४८ किलोमिटर मात्र पक्की छ । पक्की सडकबाहेक अन्य सबै सडक बाह्रै महीना सञ्चालन गर्न सकिँदैन । जिल्लामा रहेका राष्ट्रिय र रणनीतिक सडक मात्र बाह्रै महिना चल्ने गरेको समाचार राससमा छ ।