लोकसंवाद संवाददाता | अन्तर्मन्थन | असार २५, २०७६
प्रा.डा. रामप्रसाद पोखरेल,
प्रा.डा. रामप्रसाद पोखरेल,नेपालको प्रथम नेत्र रोग विशेषज्ञ हुनुहुन्छ । नेपालमा टिबी रोग बाहेक शरीरको अङ्गहरूको अलग्गै अस्पताल ‘नेपाल आँखा अस्पताल’ खोल्ने कुराको अगुवाइ गरेकाे जसपनि पोखरेललाई नै जान्छ । नेपालमा नेत्ररोगका विशेषज्ञहरूको उत्पादन र उपचार विस्तारमा प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । नेपालमा रहेका आँखा रोग, नेपाल आँखा अस्पताल र उपचारको पहुँचमा केन्द्रित रहेर काठमाडौँ मेडिकल कलेजका वरिष्ठ प्राध्यापक पदमा कार्यरत प्रा.डा. रामप्रसाद पोखरेलसँग लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंशः
नेपालमा आँखा अस्पताल आवश्यकताको महसुस कसरी भयो ?
१९७१ जुलाईको दोस्रो हप्ता बेलायतबाट फर्किएपछि वीर अस्पतालमा काम गर्न थालेँ । अस्पतालमा काम गर्दा नेपालीको आँखा बिरामीको अवस्था दयनीय देखियो । हप्तामा १ दिन एक घण्टाको समय हुन्थ्यो, अप्रेसन गर्न । तर, त्यहाँ बिरामी प्र्रशस्त आएका हुन्थे । कति त दुइटै आँखा नदेख्ने पनि हुन्थे । बिरामीको प्रतीक्षा सूची लामो हुन्थ्यो । कतिपय त १ वर्षभन्दा बढी समयदेखि अप्रेसनका लागि पालो कुर्नेहरू पनि हुन्थे । यसलाई घटाउन स्वास्थ्य शिविर चलाउँथ्यौं । शिविरमा मैले १ सयदेखि ३ सयसम्म अप्रेसन गर्नुपर्ने अवस्था थियो । देश घुम्दा र यहाँको परिस्थिति बुझ्दा मोतियाविन्दु अर्थात् अन्धोपनाको समस्या धेरै देखियो । यो समस्याको समाधान सरकारले मात्र गरेर सम्भव नहुने लाग्यो । र, अस्पताल खोल्ने प्रयास थालेँ । यसको आवश्यकताबारे पत्रपत्रिकामा लेख पनि लेखेँ, सहयोग गर्न सक्ने सम्भावित व्यक्ति पनि खोजेँ ।
अस्पताल सञ्चालनबारे मेरै पहलमा काठमाडौं महानगरपालिकामा बैठक आयोजना पनि गरेँ । बैठकमा मैले स्वास्थ्य सचिवलाई पनि बोलाएको थिएँ । बैठक बोलाएको थाहा पाउनासाथ प्रशासनले कसको अनुमतिमा ‘तपाईंले बैठक बोलाउनुभएको हो, तपाईंलाई थुनामा राखेर किन कार्वाही नगर्ने ?’ भनेर चिठ्ठी पठायो । त्यसबेला मैले चिठ्ठी कसैलाई देखाइनँ । यदि पत्र देखाएको भए त्यो बैठक रोकिन्थ्यो र अस्पताल खोल्ने निर्णय नै हुँदैनथ्यो । त्यो बैठकबाट आँखाको अस्पताल खोल्ने र त्यसको लागि ११ जना समिति सदस्य छानियौँ । त्यसको मुख्य उद्देश्य नेपालमा आँखा अस्पताल खोल्नुपर्छ भन्ने थियो ।
तपाईंले आँखा अस्पताल अलग्गै खोल्छु भन्ने परिकल्पना गर्दा नेपालमा अर्को कुनै अलग्गै अंगको उपचार गर्ने कुनै अस्पताल थियो कि थिएन ?
टिबी अस्पताल थियो । भिन्नै डिपाटमेन्ट नै थियो । तर, टिबी बाहेकको अन्य अंगको कुनै पनि अस्पाताल थिएन । पहिलो पटक एउटा अंगको उपचार गर्ने छुट्ट्रै अस्पताल बनाउने सोचलाई हामीले अगाडि बढाएका थियौं । हामीसँग आर्थिक अवस्था थिएन, बडो समस्या भयो । त्यही समयमा एक व्यक्तिले क्लिनिकमै आएर सुझाव दिए– त्रिपुरेश्वरको गुठीको धर्मशाला खाली छ, त्यो धर्मशाला किन नलिने प्रस्ताव राख्नुभयो ?
पछि बुझ्दा त्यो धर्मशाला गुठीअन्तर्गत रहेको जानकारी प्राप्त भयो । त्यसबेला गुठीको प्र्रमुख अच्यूतराज पाण्डे हुनुहुन्थ्यो । उहाँसँग गएर कुराकानी गर्यौं । उहाँले यसका लागि राजालाई जाहेर गर्नुपर्ने र त्यो आफू गर्न नसक्ने बताउनुभयो । त्यसपछि म र बद्रिविक्रम थापाले तत्कालीन प्रधानमन्त्रीलाई यसबारे बतायौं । प्रधानमन्त्रीले पनि ‘मैले मात्रै गरेर हुँदैन राजालाई जाहेर गर्नुपर्छ’ भन्नुभयो । राजालाई जाहेर गर्ने वचन पनि दिनुभयो । राजाले ‘त्यस्तो सामाजिक राम्रो काम गर्छ भने मेरो कुनै विरोध हुँदैन र गुठीले दिन्छ भने मेरो कुनै आपत्ति छैन’ भन्नुभयो ।
त्यसपछि गुठीकै जग्गामा रहेको धर्मशालाको सानो कोठा लिएर आँखाको जाँच गर्न थालेँ । बिहान ९ बजेदेखि २ बजेसम्म वीर अस्पतालमा जान्थे । २ बजेदेखि साँझ ५ बजेसम्म गुठीमा आँखा जाँच
गर्थें ।
त्यतिखेर प्रशासनले कुनै अवरोध गरेन ?
गरेन, बरु पहिला हामीले एउटा कोठा मात्रै लिएर काम गरिरहेका थियौं, पछि पूरा घर लिनको लागि कुरा ग¥यौं । गुठीलाई चाहिएको बेला फिर्ता गर्ने गरी उपयोगका लागि आधा जग्गा दिने सहमति भयो ।
त्यसबेला स्रोतचाहिँ के थियो ?
त्यसबेला पैसा थिएन । एएमसिसी भन्ने एउटा संस्था थियो, त्यसको अध्यक्ष मेरो साथी हुनुहुन्थ्यो । उहाँले एएमसिसीबाट धेरै सहयोग गर्नुभयो । अनि तुलाराम बोगटीले १२ बेड र बिस्तारा सहयोग गर्नुभयो । त्यसैगरी स्थानीय मानिसले पनि कसैले बेड दिए, एक जना मारवाडीले जाँच गर्ने ठाउँ बनाइदिए, कसैले रिपिएर गरिदिए, अनि छिरिङ तेन्जीङ लामाले रंगरोगन गरिदिनुभयो । निजी स्रोतबाट सबै स्रोत जुटाइयो, अनि शुरु गर्यौं ।
अस्पताल सुरु गरिसकेपछि हामीले ओपिडी र ओटी बनायौं । ओटी बनाएपछि हामीलाई नर्स पनि आवश्यक पर्यो । नर्सका निमित्त हामीले लेप्रुसीमा पढेका र लेप्रुसीबाट अलग गरिएका अथवा बढी भएका विद्यार्थीलाई कतै पढाइ दिने भनेर ल्यायौं । मैले त्यहाँबाट ८ विद्यार्थी लिएको थिएँ । ती विद्यार्थीलाई महिनामा खान–बस्नसहित महिनामा २ सय रूपैयाँ दिएर पद्यमकन्या क्याम्पसमा पढाउने व्यवस्था मिलाएको थिएँ । ती ८ जनालाई पछि नर्स बनाउँला भनेर ट्रेनिङमा राखेको थिएँ ।
पहिलो पटक अस्पतालमा नियमित काम गर्ने तपाईंबाहेक ८ विद्यार्थी थिए, हो ?
हो, त्योसँग एक जना हरिप्रसाद सुवेदी भन्ने पनि थिए । वीर अस्पतालमा उहाँले पनि स्वयमसेवी भएर काम गर्नुभएको थियो । त्यसरी १२ बेडको अस्पताल चल्यो । राजाको हातबाट उद्घाटन भयो । अहिलेको जुन त्रिपुरेश्वरको आँखा अस्पताल छ त्यो बनिसकेको थिएन, त्यो पर्खाल लागेको थियो । पछि बिहारीलाल खेतानले गुठीको जग्गा कब्जा गरिराखेका थिए । त्यो जग्गा मलाई उपयुक्त लाग्यो । अब कसरी लिने भनेर मैले एक जना वकिलसँग सल्लाह गरेँ । उहाँले त्यहाँ पर्खाल रहेको पर्खाल भत्काउन पाए नक्सामा एउटै देखिने र त्यसपछि जग्गा लिन सहज हुने बताउनुभयो । त्यसपछि त्यो पर्खाल भत्काउन लगायौं । त्यो जग्गा गुठीअन्र्तगत पर्छ, त्यो हाम्रो हो भनेर सर्वोच्चमा मुद्दा गर्यौं । विश्वनाथ उपाध्यायको पालामा त्यो मुद्दा सकियो । सर्वोच्चले जग्गा धर्मशालाको रहेको निर्णय गर्यो । सामाजिक काम गरेर जनताको सेवा गर्नुभएको हुनाले कदरस्वरूप यो तपाईंलाई फिर्ता गरिएको छ भन्ने सर्वाेच्चले फैसला सुनायो । अब त्यो जग्गा खरिद गर्नुपर्ने भयो । अब त्यो ८ रोपनी जग्गाको पैसा कसरी ल्याउने भन्ने कुरा भयो । त्यो जग्गाको मूल्य तोकिदिन काठमाडौं नगरपञ्चायतमा अनुरोध गर्यौं । नगरपञ्चायतले प्रतिरोपनी २२ हजारका दरले गुठीमा रकम जम्मा गर्न भन्यो । त्यसपछि हामीले तोकेकै मूल्य चुक्ता गरेर जग्गाको रजिस्टेसन पास गर्यौं । त्योभन्दा बाहिरको जग्गा हामीले लिएको होइन, त्योभित्रको लिएको हो, जुन अहिले पनि आँखा अस्पतालको नाममा छ । जग्गा त लियौं । त्यसपछि घर बनाउनुपर्ने भयो । तर, घर बनाउन हामीसँग पैसा थिएन । तर, राम्रो काम गर्दा सहयोग आफै आउँदो रहेछ ।
मैले एउटा क्यानेडियन बिरामीका आँखाको उपचार गरिराखेको थिएँ । उसको आँखामा डेननेटिक अल्सर भन्ने घाउ थियो । उपचारपछि त्यसको घाउ निको भयो । त्यसपछि सेकेण्ड ओपिनिएन सानो डार्क थियो । लन्डनमा भएको मुर्कुला आँखा अस्पताललाई चिठ्ठी लेखिदिए, जुन संसारकै ठुलो आँखा अस्पताल पनि हो । उसले त्यहाँ गएर ट्रिटमेन्ट गरेछ । त्यहाँको डाक्टरले भनेछ– हु वाज अ सेम डाक्टर द्याट इज अ नो बेटर ट्रिटमेन्ट । त्यो भनेपछि उसले मसँग आएर हि वान्ट टु पे सम मनी भन्यो । मैले भने– म तिमीबाट केही पैसा पनि लिन चाहान्न । सक्छौं भने क्यानेडियन सरकारलाई अनुरोध गरेर अस्पताल बनाउन सहयोग गर । त्यसबेला पुरानै भवनबाट सबै काम भइरहेको थियो, यतातिरको भवन बनेको थिएन । लक्कीले के भयो भने जो मकहाँ उपचार गर्न आएका बिरामी थिए । उसको दिदी भारतमा क्यानेडिएन राजदूत रहेछन् । उनको सिफारिस र पहलमा क्यानेडियन सरकारबाट ४० लाख रुपैयाँ प्राप्त भयो । त्यही रकमबाट दुई तलाको भवन बन्यो । बाँकी भवनचाहिँ जापनिज सरकारको सहयोगबाट बनेको हो । यो सबै बनाउँदा उतिबेला करिब ८० लाख रूपैयाँ जति लागेको थियो ।
यी सबै सहज पाटा भए, अस्पताल खोल्छु भन्दा नै प्रशासनले स्पष्टीकरण सोध्ने समयमा त्योबाहेक के–के अवरोध आए ?
एक चोटी एक जना मारवाडी समुदायका मानिसले तत्कालीन प्रधानमन्त्री तुलसी गिरीलाई के कुरा भने कुन्नी ! त्यसपछि तत्कालीन प्रधानमन्त्रीले अस्पतालका लागि अन्यत्र जग्गा खोजी सार्नु र त्यहाँ मारवाडी समुदायका मानिसलाई बस्न दिनु भनि परिपत्र नै गर्नुभयो । तर, तत्कालीन मन्त्री हर्क गुरुङले त्यसबेला अड्डी नै लिनुभयो । एक संस्थालाई एक चोटी दिइसकेको हुनाले उहाँले त्यसविरुद्ध नजाने जवाफ दिनुभयो । त्यही भएर त्यो अस्पताल त्यहाँ रह्यो । यदि त्यसबेला मन्त्रीले अडान नलिएको भए त्यहाँबाट हट्नुपर्ने अवस्था आइसकेको थियो ।
आँखा अस्पताल बनाउन सफल हुँदा केही योगदान गरेजस्तो अनुभूति भएको छ ?
बेलायतमा अध्ययनका क्रममा आफूले पढेको वा जानेको सीप र ज्ञानले आफ्नो देशमा केही न केही गनुपर्छ भन्ने लागेको थियो । त्यही कारण ब्रिटिस सरकारले ‘सिटिजन अफ ब्रिटियन’ दिँदा पनि मैले अस्वीकार गरेँ । मैले बेलायतबाट अमेरिका जानको निमित्त ईएसडी पनि पास गरेको थिएँ । मलाई अमेरिकाबाट पनि प्रोफेसरका लागि अफर आएकै थियो । तर, ती सबै लत्याएँ । आफ्नै देशमा केही गर्नुपर्छ भनेर नै ती सबै ‘अफर’ लत्याएको थिएँ । म बेलायतमै बसेको भए धेरै धनी हुन्थेँ । मसँग प्रशस्त पैसा हुन्थ्यो । हरेक वर्षमा कार बदल्न सक्ने थिएँ । सबै कुरा हुन्थ्यो । तर, म जहिले पनि त्यहाँ दोस्रो दर्जाको नागरिक भएर बस्नुपथ्र्याे । मेरो इज्जत त त्यति हुँदैनथ्यो । मैले आफ्नै देशमा संघर्ष गर्नुपर्छ भन्ने लागेर नै म आएको थिएँ । त्यो गर्न सके जस्तो लाग्छ ।
आँखा अस्पताल स्थापनादेखि सञ्चालनसम्म निकै संघर्ष गर्नुभयो । तर, पछि अस्पतालबाटै बाहिरिनुभयो, यो अवस्था कसरी आयो ?
त्यसो होइन । सधैंभरि म नै त्यहाँ बसिरहे भने मैले नयाँ पुस्तालाई पनि त पालो दिनुपर्यो नि । संस्थालाई निरन्तरता उनीहरूले नै गर्ने हुन् । म मात्रै त्यहाँ बसिरहे भने त्यहाँ उनीहरूले विकास गर्न पाउँदैनन् । त्यही भएर मैले त्यहाँ बस्दाबस्दै दिल्लीमा सम्बन्ध राखेर जनशक्ति विकासको पहल गरेँ । वर्षमा २ जना आँखाको लागि पढ्न पठाउने व्यवस्था मिलाएको थिएँ । त्यसबेला नेपालमा युनिभर्सिटी पनि थिएन र आँखाको पढाइ पनि हुँदैनथ्यो । त्यही भएर वर्षको २ जना गरेर २२ जना मान्छेलाई मैले पढ्न पठाएँ । त्यसैगरी ८ जना चण्डिगढमा, ८ जना मनिपालमा र १० जना बेलायतमा पठाएँ ।
डब्लुएचओको मैले जब सर्बे गरे । सर्बेको पनि आफ्नै कथा छ । त्यो भइरहेको बेलामा दिल्लीमा एउटा कन्फ्रेन्स भयो । त्यसमा म छानिएर दिल्लीमा गएको थिएँ । त्यहाँ गएपछि मैले नेपालको अवस्था कति दयनीय छ, सहयोग केही पनि छैन, सरकारबाट यो सबै कुरा मैले त्यहाँ राखेँ । यो सुनेर धेरै अन्तर्राष्ट्रिय क्षेत्रका मानिस नेपालमा सहयोग गर्न तयार भए । त्यसमा पनि एक जना निकुएल भेराफेट भन्ने महिला थिइन् । उनी भारत र नेपालको विषयमा काम गरिरहेकी थिइन् । त्यो छोडेर रिटायर्ड भएर बसेकी थिइन् । उनले भनिन्– क्यान आइ कम अन हेल्प ?
मैले एस भने ।
उनले नेदरल्यान्ड, जर्मनी र फ्रान्सबाट नेपालको लागि पैसा संकलन गरिन् । पैसा डब्लुएचओमार्फत् नेपालमा आयो । सरकारको आँखाको प्रमुखमै थिए । म नै त्यसको प्रमुख भएँ । नेसनल पार्टमा म भएँ र इन्टरनेसनल पार्टमा उनी भइन् । नेपालमा अब कसरी काम सुरु गर्ने मान्छे पनि छैन, कोही पनि छैन, दयनीय अवस्था छ । आँखा अस्पतालबाट सुरु भएको थियो त्यही पुरानो बिल्डिङमा, नयाँ बिल्डिङ पनि छैन । कसरी सुरु गर्ने भन्दा हामीले ‘लेटेन टु द सर्बे’बाट काम सुरु गर्यौं । सर्बेबाट आँखा रोगको वास्तविक तस्बिर थाहा हुन्छ । पहाडमा, तराईमा र मिडिलमा कति छन्, त्यो सबै थाहा हुन्छ । कुन–कुन जातमा के–के छन्, त्यो पनि थाहा हुन्छ । त्यही भएर देशव्यापी सर्बे गर्यौं । सर्बे गर्दा केहीले इन्टरनेसनल विज्ञापन पनि गर्यौं । विज्ञापन गर्दाखेरि अमेरिकाबाट परामर्शदाता आए सर्बेका लागि, क्यानडाबाट हेलिकप्टर आयो । त्यो सबै भएपछि हामीले सर्बे गर्यौं । सर्बे गर्दा हामीलाई के लाग्यो भने हिमाल क्षेत्रमा माउन्टेन र हिउँको पहाडमा सूर्यको रिफ्लेक्ट भएर आँखामा पर्छ र आँखामा चाँडै मोतियाविन्दु हुन्छ भन्ने लागेको थियो । तर, हाम्रो रिपोर्टले के देखायो भने सूर्य त चाडै उदाउने तर पहाडले गर्दा छेकिने र अस्ताउने गर्दो रहेछ । त्यही भएर शेर्पाहरूको मोतियाविन्दु ७५ वर्षमा आउँदो रहेछ, क्षेत्री तथा बाहुनको मोतियाविन्दु ६० वर्षमा हुँदो रहेछ र थारूहरूको मोतियाविन्दु ४५ वर्षमा हुँदोरहेछ । न्युट्रिसियनका कारणले, सूर्यको कारणले अनि अरु पनि धेरै कुराले मोतियाविन्दु हुँदो रहेछ, त्यो सबै कुरा पत्ता लाग्यो । दोस्रो कारण ट्रकोमा देखियो । ट्रकोमा भनेको एउटाबाट किटाणुले हुने गर्छ, त्योचाहिँ ९९ प्रतिशत थारू जातिमा हुन्छ । खासगरी पश्चिम तराईका बाँके र बर्दियामा भएका थारू जातिमा यो बढी समस्या देखियो । भिटामिन ‘ए’ को कमी भएर कुपोषणले पनि त्यस्तो हुने गरेको देखियो । यी तीन मोतियाविन्दु हुनुका प्रमुख कारण देखिए । त्यो स्वास्थ्य मन्त्रालयले गर्न सक्ने थिएन । त्यसबेला भर्खर खोलेको थियो, आँखा अस्पताल र नेत्रज्योति संघ जसको म पनि सचिव थिए । मैले नै त्यसको जिम्मेवारी लिएको थिए । ट्रकोमाको निमित्त एउटा नेसनल ट्रकोमा प्रोग्राम बनायौं । त्यसका लागि चाहिएको औषधी हामीले अमेरिकाबाट अनुदानबाट पायौं । अनि जिरोपनियाको हामीले सर्लाहीमा २०/२५ वर्ष रिसर्च गर्यौं । त्यो रिसर्चमा के कुरा पत्ता लाग्यो भने भिटामिन ‘ए’ वर्षमा २ पटक ६ महिनादेखि ८ वर्षसम्मका बच्चालाई खुवाउने ग¥यौं भने त्यसले जिरोपनियाको नियन्त्रण हुन्छ । त्यसको आधारमा भिटामिन ‘ए’ नेपालमा मात्रै होइन, संसारभरि खुवाइँदै आएको छ । हामीले जापानिज सरकारको सहयोगमा तराईका ठाउँ–ठाउँमा ट्यावेल ट्युबेल राखिदिएका छौं, शिक्षा दिएका छौं, औषधी बाँडिदिएका छौं । अहिले २ वर्षजति भयो, ट्रकोमा र जिरोपनिया नियन्त्रण भएको छ । क्याटेकचाहिँ पहिलेभन्दा अलि कम भएको छ । तर, अहिले नम्बर १ मा क्याटेक नै हो । पहिले पनि अहिले पनि, नम्बर २ डायबिटिज भएको छ । डायबिटिजले पनि आँखामा असर गर्छ ।
हिजो गरेका रिसर्चमा भन्दा आज के–के कुरामा फरक परेको छ ?
धेरै कुरामा फरक परेको छ । एउटा बूढापाखा मानिसलाई मोतियाविन्दु भएर घरमा बसेका हुन्थे । तर, अहिले हामीले ती सबैलाई मोतियाविन्दुको अप्रेसन देशप्यापी नै गर्दा सहज भएको छ । दुर्गम ठाउँमा पनि गएर आँखा शिविर गरिदिन्छौं, पैसा नभएर आँखाको उपचार गर्न नसकेकालाई निःशुल्क उपचार पनि गरिदिन्छौं । तर, अलि–अलि पैसा लागे पनि सामान्य ७/८ हजार रूपैयाँमा मोतियाविन्दुको अप्रेसन हुन्छ । ट्रकोमा जुन दोस्रो समस्याकै रूपमा थियो, त्यो पनि कम भयो । त्यसका निमित्त औषधी बाँड्ने काम भयो । जे होस् त्यसमा पनि सुधार आएको छ । जिरोपनिया तेस्रो थियो, त्यो पनि अहिले नियन्त्रणमा छ । हुँदै गर्दा म्यानपावर पनि भयो । जनशक्ति चाहिँदो रहेछ । जब एकैचोटी गएर त्यो समस्या देखियो मैले त्यसको लागि गुरुयोजना नै बनाए । एउटा अञ्चल एउटा एनजिओलाई दिने । त्यहाँका डाक्टर पनि आएर डेभ्लप गरुन्, अस्पताल पनि डेभ्लप गरुन्, त्यहाँको म्यानपावर पनि डेभ्लप होस् । नेपालको जनशक्ति पनि यसबाट जान पर्छ भनेर मैले नियम बनाएँ । त्यो नियम स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गर्यो । अर्थ मन्त्रालयले पनि मानिदियो अनि त्यसैको आधारमा हामी काम गर्दै गयौं । लहानमा पहिले केही पनि थिएन । केही पनि नभएको ठाउँँमा ३२ वर्ष जति त्यहाँ जर्मन डाक्टर हेरिङ बसेर काम गरे । सेवा–सुविधाको हिसाबले अहिले लहान विश्वको दोस्रोमा पर्छ । त्यति सबै काम त्यहाँ हुन्छ । त्यहाँ भारत लगायतका ठाउँबाट उपचारका लागि बिरामी आउने गर्छन् । पहिले, त्यो अस्पताल बनाउन निमित्त त्यहाँ मारवाडीसँग मिलेर गरेका थियौं । त्यो अस्पतालको लागि ती मारवाडी परिवारले ६ बिघा जग्गा उपलब्ध गराएको हुनाले त्यो अस्पताल पनि उनकै परिवारको नामले सगरमाथा चौधरी आँखा अस्पताल राखियो । भैरहवामा पनि अस्पताल छ । भैरहवाको अस्पताल फत्तेजंग शाह र नेपालगञ्जमा पनि आफ्नी श्रीमतीको नाममा जग्गा दिएका हुन्, जसको नाम फत्तेबाल आँखा अस्पताल थियो । त्यस्तै, भैरहवामा रणबहादुरले जग्गा दिएका हुन् । आफ्नी श्रीमती अम्बिकाको नाममा जसको नाम अम्बिका आँखा अस्पताल थियो । राम्रो काम गर्दै जाँदा धेरै ठाउँमा जनताले साथ दिएका छन् । बिल्डिङ पनि बनाइदिएका छन् । आँखाको अस्पताल र आँखाको उपचारमा जनताको राम्र्रो सहभागिता र राम्र्रो साथ रह्यो यति भन्न सकिन्छ ।
हिजो मानिसलाई वीर अस्पतालमा उपचारका लागि एक वर्ष दिनसम्म कुर्नु पर्ने बाध्यताको अन्त्य भएको छ कि छैन ?
त्यसको अन्त्य भएको छ । अहिले अस्पताल आएकै दिन भइहाल्छ नभए भोलिपल्ट त हुन्छ हुन्छ । यो राम्ररो सफलता हो ।
हिजो यसको अगुवाइ गर्नु भएकोमा आज यहाँलाई कतिको गर्व महसुस हुन्छ ?
मलाई खुसी पनि लाग्छ र त्यो कुरा जनताले पनि बुझुन् भन्ने लाग्छ । यसमा जनसहभागिता पनि छ । जनसहभागितामा सबै जाँदाखेरि अहिले देशव्यापी आँखा उपचारका लागि जनशक्ति, अस्पताल र प्रविधि पुर्याइएको छ । अहिले हरेक अस्पतालमा हरेक इक्युपमेन्ट उपलब्ध छ ।
अहिले आँखा औषधी उपचारका लागि हामीसँग कति जनशक्ति छ ?
आँखाका डाक्टर सय जनाभन्दा बढी छन् । पारामेडिकल हामीले सँगसँगै तयार गर्यौं । मेट्रिक पास गरेर ३ वर्ष ट्रेनिङ दियौं । तिनीहरूलाई ३ वर्ष ट्रेनिङ दिएर नेत्र सहायक बनायौं । उनीहरूले आँखाको उपचार गर्न पाउँछन्, ओपिडी हेर्न पाउँछन्, अप्रेसन गर्दा सहयोग त्यो सबै कुराहरू उनीहरू गर्छन् । उनीहरूलाई १ वर्ष आँखाको तालिम, १ वर्ष जनरल मेडिसिनको तालिम र १ वर्ष चस्मा जाँच गर्ने तालिम दिन्छौं । यसमा यदि हामीले तालिम नदिएर नेत्र सहायक बनायौं भने ४/५ वर्षसम्म पनि तिनीहरूले स्वीकृति पाएका थिएनन् ।
अहिले नेपाली जनताले आफ्नो पैसाले आँखा उपचार गर्न सक्ने अवस्थामा पुगेका छन् ?
हो, पुगेका छन् । त्यो गर्वका साथ भन्न सकिन्छ ।
विश्वमा हामी आँखा उपचारको हिसाबले कुन अवस्थामा छौं ?
एउटा अस्पताललाई मात्र हेर्ने हो भने हामीभन्दा धेरै राम्रा अस्पताल छन् । इन्डियामा पनि छन् । तर, राष्ट्रका हिसावमा हेर्नुपर्दा हामी विश्वसामु बराबर छौं । आँखा उपचारको हिसाबले इन्डियाभन्दा हामी राम्रो अवस्थामा छौं ।