लोकसंवाद संवाददाता | समाज | असार २६, २०७६
आमा खोइ ?
मरिन् बा खोइ ?
थाहा छैन यत्ति भनेर छ वर्षीय किस्मत परियार बगैँचातिर दौडे ।
फेरि नजिक आए । एकछिन लुटपुटिए । क्यामेरामा कैद आफ्नै तस्वीर हेरे, मुस्कुराए । किस्मत हँसिला, फुर्तिला छन् । चाल र हाउभाउ हेर्दा दुनियाँकै खुशी बच्चाझैँ लाग्छन् तर, किस्मत ‘अभागी’ छन् । कलिलैमा उनी दुःखको घेराभित्र छन् । किस्मतको घर छैन, न त ठेगान नै छैन । ‘आमा’ परलोक, ‘बा’ सडकपेटी । आमाको काख गुमेको तीन महीना भयो । ‘बा’ को साथ छोडेको तीन साता पुग्यो । किस्मत अहिले मानवसेवा आश्रमको शरणमा छन् ।
आश्रमको बागलुङ शाखा परिसरमा किस्मत यताउता दगुर्दै थिए । साथीसँग खेल्दै थिए । अकस्मात् बाबा रमेश आश्रममा आएको देखे बा ...भन्दै नजिक पुगे । काखमा बसे । ३३ वर्षीय रमेशले छोरा किस्मतको गालामा चुम्बन गरे । एकछिन छोरासँग बसेर रमेश आश्रमबाट बाहिरिए । हात हल्लाउँदै किस्मतले भोलि पनि आउनु है भने । आश्रम आउनुअघि उनी बाबासँगै सडकपेटीमा सुत्थे । न खाने न लाउनेको टुङ्गो । बाबा जता उतै पछि लाग्थे किस्मत ।
मजदूरी गरेर खाने रमेशको अस्वभाविक बानी, व्यवहार र अस्तव्यस्त दैनिकीले कलिला किस्मतलाई असर पुर्यो । आमा बितेपछि उनी सहाराविहीनझैँ बनेका थिए । बाबासँगै बस्दा झन बर्बाद हुने देखेर उनलाई आश्रममा ल्याइयो । स्थानीयवासी र सामाजिक अभियन्ताको सहयोगमा उनी आश्रमसम्म आइपुगे । अहिले उनी विद्यालय जान्छन् । आश्रमको पारिवारिक वातावरणमा हुर्किरहेका छन् । आश्रममा खाना, आवासलगायतका आधारभूत सेवाको कुनै कमी छैन । आश्रमले सदरमुकामस्थित सिद्धार्थ शिक्षा सदनमा भर्ना गरिदिएको छ ।
'वर्षभरिको अग्रिम शुल्क तिरेर उनलाई भर्ना गरेका छौँ', आश्रमकी संयोजक सुमिरा लामाले भन्नुभयो, 'किस्मतले पहिलोपटक कलम समातेका छन् ।' पढाइमा बानी पार्न शुरुका दिनमा कठिनाइ भइरहेको उहाँको भनाइ छ । किस्मतसँग अशिष्ट शब्द बोल्ने, अटेर गर्ने, केटाकेटीसँग झगडा गर्ने स्वभाव छ । कहिल्यै ज्ञान र शिक्षाको वातावरण नपाएका उनी त्यही रुपमा हुर्कदै आएका थिए । 'दिसा पनि हामीले नै गराउनुपर्छ', संयोजक लामाले भन्नुभयो, 'पहिले बानी, व्यवहार सुधार्न कोसिस गरिरहेका छौँ ।'
पढाइ र अनुशासनमा कडाइ हुने भएकाले उनलाई केही समय निजी विद्यालयमा भर्ना गरिएको छ । किस्मतजस्तै छ जना बालबालिका आश्रमबाटै विद्यालय जान्छन् । अन्य दुई बालबालिकालाई सिद्धार्थ शिक्षा सदन र तीन जनालाई गरिमा माविले निःशुल्क पढाउने जिम्मा लिएको छ । किस्मतलाई पनि निःशुल्क पढाउने सहयोगीको खोजी भइरहेको छ । 'दिनभरि काममा जानुपर्छ, छोरालाई सँगै राख्न सक्दिन', रमेशले भन्नुभयो, 'छोराको भविष्य मेरोजस्तो नहोस् भनेर यहाँ ल्याएको हो ।' ठूलो भएपछि छोरालाई आश्रमबाट लैजाने सोच रमेशसँग छ । छोराले भारी बोकेर खान नपरोस् भन्ने उहाँको सदीक्षा छ । रमेश र उहाँका साथीहरु बागलुङ बजारमा श्रमिकको काम गर्छन् । ट्रक, ट्र्याक्टरबाट सामान ‘लोड–अनलोड’ गर्ने मुख्य काम हो ।
दिनभर काम गरेपछि साँझ मदिरा सेवन गर्ने र अव्यवस्थित तरिकाले सुत्ने गर्छन् । दिउँसै पनि मदिरा सेवन गरेको अवस्थामा उनीहरु भेटिन्छन् । रमेशले साथीहरु मीनबहादुर र प्रेम सार्कीसँग जीपपार्क पछाडिको झुप्रोमा सुत्ने गरेको बताउनुभयो । 'काम राम्रो हात लाग्दा दिनकै दुई/ तीन हजारसम्म पनि हुन्छ', उहाँले भन्नुभयो, 'कहिलेकाहीँ एक रुपैयाँ पनि हुँदैन ।' रमेश र उहाँका साथीहरुको खानाको पनि कुनै टुङ्गो छैन । कतै पाइहाले खाना खाने नत्र मदिराको नशामा भोकै सुत्छन् । आश्रमका संयोजक लामाले उनीहरु दिनभर पनि मदिरा सेवन गरेर हिँड्ने गरेको बताउनुभयो । 'जतिखेर पनि मदिराको नशामा हिँड्ने रात परेपछि यत्तिकै सडकपेटीमा सुत्ने गर्नुहुन्छ', उहाँले भन्नुभयो, 'छोरा आश्रममा आएपछि बेलाबेला भेट्न आउनुहुन्छ ।'
केही वर्षअघि रमेशजस्तै मदिराको दुव्र्यसनमा फेसका युवालाई ‘सेफ द युथ’ नामक संस्थाले पुनःस्थापना गृहमा पठाएको थियो । बागलुङ नगरपालिका–८ सिगानाका रमेशले दश वर्षअघि पर्वत नाङ्लीवाङबाट लक्ष्मीलाई बिहे गर्नुभएको थियो । लक्ष्मीले किस्मतलाई तनहुँको दमौलीमा जन्म दिनुभएको थियो । जतिबेला रमेश दमौलीमा रिक्सा चलाउनुहुन्थ्यो । 'दश वर्ष दिल्लीमा सिलाइको काम गरेँ', रमेशले भन्नुभयो, 'नेपाल आएपछि मजदूरी शुरु गरेको हुँ ।' रमेशकी श्रीमती लक्ष्मी पनि लामो समयसम्म मदिराको लतमा पर्नुभएको थियो ।
कमलपित्त रोगले गालेपछि उपचारकै क्रममा गत चैत १६ गते धौलागिरि अञ्चल अस्पतालमा उहाँको मृत्यु भएको थियो । 'पहिलेदेखि नै रक्सी खाने बानी रहेछ', रमेशले भन्नुभयो, 'त्यसैले उसलाई लग्यो ।' उहाँले आफू मदिराको लतमा फसेको कुरा भने संवेदनशील रुपमा लिनु भएन । 'दिनभर भारी बोक्यो, बेलुका खायो, नखाए निद्रै लाग्दैन', उहाँले भन्नुभयो ।
सडकमा साह्रै दर्दनाक अवस्था देखेर किस्मतलाई आश्रममा ल्याइएको संयोजक लामाको भनाइ छ । 'कहिले चिसै सिँढीमा बाबासँग नाङ्गै सुतेको अवस्थामा भेटिन्थे', उहाँले भन्नुभयो, 'शरीरमा राम्रो लुगा थिएन, खुट्टामा चप्पल हुन्थेन ।' रमेशका दाजु ९ वर्षीय दीपक पनि अहिले पोखराको बालगृहमा छन् । चार वर्षअघि उनीसँगै बागलुङका पाँच सडक बालबालिकालाई उद्धार गरिएको थियो ।
आश्रममा किस्मतजस्तै २५ जना असहायले आश्रय पाइरहेका छन् । कोही मानसिक सन्तुलन गुमाएका छन्, कोही परिवार र आफन्त गुमाएका । मनोरोग, अपाङ्गता, गरीबीजस्ता कारणले साहराविहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको अभियन्ता मनिष रायमाझीले बताउनुभयो । रायमाझीलगायतका युवा मिलेर तीन वर्षअघि बागलुङमा आश्रमको शाखा खोलेका थिए । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि उपलब्ध गराइएको छ ।
आश्रम सञ्चालनका लागि देश विदेशमा रहेका नेपालीले आर्थिक सहायता प्रदान गरेका छन् । यस्तै सरकारी, गैरसरकारी सङ्घसंस्था, निकायले पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । गोविन्द टण्डन संस्थापक संरक्षक रहनुभएको आश्रमको मुख्य कार्यालय मकवानपुरको हेटौँडामा छ । विभिन्न जिल्लामा आश्रमका शाखा सञ्चालनमा रहेकाे समाचार राससमा छ ।