के सूर्यलाई जीवन दिन सकिन्छ ?

के सूर्यलाई जीवन दिन सकिन्छ ?

विजय सिंह ठकुराय  |  ज्ञानविज्ञान  |  असार २६, २०७६

प्रसिद्ध हलिबुड फिल्म ‘सनसाइन’मा भविष्यको यस्तो कल्पना देखाइएको छ, जुन बेला सूर्य आफ्नो अन्तिम अवस्थामा मृत्योमुखी हुँदै गइरहेको छ । सूर्य निरन्तर शक्तिहीन अथवा तापहीन तथा रापहीन हुँदै गएका कारण सम्पूर्ण पृथ्वी हिउँले ढाकिसकेको छ । पृथ्वीमा कृषि-पशुपालन र अन्य सबै किसिमका अर्थव्यवस्था धराशायी भइसकेका छन् । यस्तो अवस्थामा पृथ्वीमा रहेका ‘सुपरहिरो’को एउटा समूह ‘एटमिक’ बमको ठूलो परिमाणका साथ सूर्यतिर प्रस्थान गर्छन् । उनीहरूको लक्ष्य हुन्छ, ‘सूर्यको केन्द्रमा परमाणु विस्फोट गरेर सूर्यलाई संजीवनी प्रदान गर्नु ।’ यो फिल्म र यसमा देखाइएको सूर्यलाई पुनर्जीवन प्रदान गर्ने उपाय जति हावादारी भए पनि एउटा कुरामा सबैले विश्वास गरे हुन्छ, ‘यो धु्रव सत्य हो, सूर्य साच्चै नै विस्तारै मृत्युतिर लम्किरहेको छ ।’ ‘सूर्यको मृत्यु शनैः शनैः नजिक आउँदै गइरहेको छ ।’ आज भन्दा ५ अर्ब वर्षपश्चात् सूर्यले आफ्नो समस्त इन्धन उपयोग गरिसकेपछि, आफ्नो बाहिरी भाग अन्तरिक्षमा छरिदिन्छ र स्वयं श्वेत वामन तारा (White dwarf) मा रूपान्तरित भएर सदा–सदाका लागि निस्तेज र निष्प्राण हुनेछ । 

त के यस्तो कुनै उपाय छ, जसले भविष्यको मानव सभ्यताले सूर्यलाई पुनर्जीवन दिने सम्भावना हुन सक्छ ? 

यस समस्याको समाधान नभएको होइन । तर, समाधान निक्र्यौल गर्नुपूर्व हामीले समस्याबारे राम्ररी नबुझेसम्म समाधानका उपाय निष्प्रभावी हुन सक्छन् । आउनुस्, पहिला समस्या के हो बुझ्ने प्रयास गरौं । सूर्यको सबैभन्दा भित्री भाग, जसलाई ‘कोर’ भनिन्छ । यसै ‘कोर’मा रहेको ‘हाइड्रोजनका न्युक्लियस’ एकापसमा ठक्कर खाएर ‘हिलियम’मा परिवर्तित हुन्छन् । यसै प्रक्रियामा अपार इनर्जी उत्पन्न हुन्छ । सूर्यमा हुने यस प्रक्रियालाई ‘न्युक्लियर फ्युजन’ भनिन्छ । पृथ्वीमा बनाइने हाइड्रोजन बम यसै प्रक्रियाले बनाइन्छन् । सूर्यमा अनवरत ‘न्युक्लियर फ्युजन’ प्रक्रिया चलिरहन्छ । सूर्यसँग एउटा समस्या छ, यसको ‘कोर’मा हाइड्रोजनको मौज्दात सूर्यमा रहेको कुल ‘हाइड्रोजन’ मौज्दातको जम्मा ३४ प्रतिशत मात्रै छ । बाँकीको ६६ प्रतिशत ‘हाइड्रोजन’ ‘कोर’भन्दा बाहिर पौडिरहेको छ । थप रमाइलो समस्या के हो भने, सूर्यको ‘कोर’मा उत्पन्न हुने इनर्जीको ‘प्रेसर’ यति शक्तिशाली हुन्छ कि यसले ‘कोर’भन्दा बाहिर भएको हाइड्रोजनलाई झन-झन टाडा ठेलिरहन्छ । सामान्य भाषामा भन्न सकिन्छ- सूर्यको टोटल द्रव्यमानमा रहेको जे-जति हाइड्रोजनको मात्रा छ, त्यसको ६६ प्रतिशत भाग ‘कोर’मा प्रवेश गर्न पाउँदैन । यस ठूलो मात्राको हाइड्रोजनले ‘फ्युजन’ प्रक्रियामा हिस्सेदारी गर्न पाउँदैन । सूर्यले यदि ६६ प्रतिशत हाइड्रोजनरूपी इन्धनको उपयोग गर्न पाउने हो भने निश्चय पनि सूर्यको जीवनलाई लम्ब्याउन सकिन्छ । के यसमा हामी सूर्यलाई कुनै सहयोग पुर्याउन सक्छौं ? 

एउटा उपाय छ- त्यसका लागि हामीले पृथ्वीदेखि सूर्यसम्म पुग्ने लामो, अभेद्य र अविनाशी चम्चा बनाउनु पर्छ । चम्चालाई सूर्यभित्र पसाएर ‘कोर’भन्दा बाहिर रहेको हाइड्रोजनलाई मिक्स गर्दै ‘कोर’मा हाली राख्ने । ठ्याक्क त्यसरी नै जसरी चिनीको बट्टाबाट चम्चाको प्रयोग गरेर हामी चियाको कपमा चिनी हाल्छौं र घोल्छौं । 

एउटा अर्को उपाय पनि छ- सूर्यलाई तीन टुक्रामा विभाजित गरेर तीन स्वतन्त्र ताराको निर्माण गर्ने । यस प्रक्रियामा नयाँ बन्ने तीनवटै ताराको द्रव्यमान भने सूर्यको अहिले भएको द्रव्यमानको ३५ प्रतिशतभन्दा कम हुनुपर्छ । यसरी बनेका नयाँ तीन शिशु-तारा लाल वामन तारा (Red dwarf) को कोटिमा पर्ने छन् । कम द्रव्यमान हुनाले नयाँ बनेका तीनवटै शिशु-तारामा ‘रेडिएटिभ लेयर’ हुन्न । र, यिनीहरु आफूसँग भएको सम्पूर्ण हाइड्रोजनको खपत अति न्युन गरेर आउने खर्बौ वर्षसम्म जीवित रहन सक्छन् । यसरी बनेका नयाँ लाल वामन ताराले उत्पन्न गर्ने इनर्जी भने अत्यन्त न्यून हुन्छ । भनौं वर्तमानको सूर्यले उत्पन्न गर्ने इनर्जीको १ प्रतिशत मात्रै हुन्छ । तर, यो १ प्रतिशत पनि हामी पृथ्वीवासीको सम्पूर्ण आवश्यकतालाई पूरा गर्न पर्याप्त हुन्छ । 

त के सूर्यलाई तीन टुक्रामा टुक्र्याउनु सम्भव छ ?

यसको जवाफ हो- यो सम्भव छ । यसका लागि ‘लेजर’ प्रविधि कारगर हुन्छ । यदि शक्तिशाली ‘लेजर वेभ्स’लाई सूर्यको सतहमा प्रहार गर्ने हो भने यसबाट उच्च इनर्जी निष्कासित हुन्छ । यसरी निस्किएको इनर्जीको कारण उत्पन्न हुने ‘सोलर विन्ड’ (सौर्य हावा)मा ‘इजेक्ट’ हुन आएको पदार्थलाई कुनै भाडोमा संकलित गर्नुपर्छ । र, यसरी संकलित भएको पदार्थलाई अन्तरिक्षको कुनै स्थानमा (जहाँ नयाँ शिशु-तारालाई स्थापित गर्नु छ) कच्चा पदार्थका रूपमा एकत्रित गर्दै जाने । यो प्रक्रियालाई सहज रूपमा यसरी बुझ्नुस्- तपाईंले कुनै तलाउमा ढुंगा फ्याक्नु हुन्छ, तलाउबाट केही मात्रामा पानीका बाछिटा माथि उठ्छन्, यसरी माथि उठेको पानीलाई एकत्रित गर्नुसरह नै हो । माथि उल्लेखित सूर्यलाई टुक्राएर नयाँ ‘रेड ड्राफ’ बनाउने प्रक्रिया । प्रक्रिया अत्यन्त धीमा भए पनि असम्भव भने होइन । 

निसन्देह अहिले म जे चर्चा गरिरहेको छु, त्यो तपाईंलाई फगत मनोरञ्जक विज्ञान गल्प लाग्न सक्छ । तर, विश्वास गर्नुस्- भविष्यको मानव सभ्यताका लागि यो बायाँ हातको खेल हुनेछ । भविष्यका मानव सभ्यताको सामथ्र्यबारे मैले आफ्नो प्रकाशित हुन गइरहेको नयाँ पुस्तक ‘महामानव’ (जसको अंग्रेजी संस्करणको नाम ‘द इमोर्टल्स अफ अर्थ’) मा विस्तारपूर्वक चर्चा गरेको छु । 
तर, अहिले मेरो मस्तिष्कमा भने अर्कै प्रश्न चलिरहेको छ । के भविष्यका मानव सभ्यताका लागि सूर्यलाई बचाउनु आवश्यक अथवा अपरिहार्य हुन्छ ? जस्तो कि तपाईंलाई थाहा छ होला- ब्रह्माण्डमा सूर्यजस्ता खर्बौ तारा छन् । मेरो मतानुसार भविष्यमा सूर्य मृत्योन्मुखी हुने अवस्था आएको बेला पृथ्वीका मानिस दुई खेमामा विभाजित हुने छन् । एक थरि मानिसले सूर्यलाई बचाउन श्रम गर्नु सट्टा कुनै अन्य ताराको दिशामा पलायन गर्ने विकल्प रोज्छन् । तर, यो सम्भावनालाई पनि नकार्न सकिँदैन, केही दुस्साहसी मानिसले सूर्यलाई जीवनदान दिने विकल्प मन पराउँछन् । उनीहरू यही पृथ्वीमा बस्न रुचाउँछन्, पृथ्वीसँग र सूर्यसँग रहेको भावनात्मक सम्बन्धले उनीहरू पलायनको बाटो रुचाउँदैनन् । ल भन्नुस् त, तपाईंसामु यस्तो स्थिति आयो भने कुन बाटो रोज्नु हुन्छ ? सूर्य र पृथ्वीलाई त्यागेर अन्तरिक्षको अनन्त सम्भावनामा नयाँ आश्रय लिने बाटो रोज्नुहुन्छ कि सूर्यलाई बचाउने उपाय गर्न लाग्नुहुन्छ ? 

लेख विषयक कुनै प्रश्न वा जिज्ञासा भएमा कमेन्ट बक्समा लेखी पठाउनुहोला– लेखक ।