भारतको चन्द्रयात्रा: ‘चन्द्रयान–२’ चन्द्रमामा ओर्लिने

भारतको चन्द्रयात्रा: ‘चन्द्रयान–२’ चन्द्रमामा ओर्लिने

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  असार २७, २०७६

‘चन्द्रयान–२’ भारतको दोस्रो चन्द्र मिसन हो । भारतको यो दोस्रो चन्द्र अभियान भए पनि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ गर्ने यो पहिलो भारतीय अभियान हो । यस अभियानअन्तर्गत भारतीय स्पेस एजेन्सी इसरोले ‘ल्याण्डर विक्रम’ र यससँग राखिएको ‘रोभर प्रज्ञान’लाई चन्द्र धरातलमा ओराल्ने उद्देश्य राखेको छ । 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो ‘चन्द्रयान–२’ अभियानको प्रक्षेपणका लागि तदारुकताका साथ लागेको छ । भारतका लागि निश्चय पनि यो राष्ट्रिय गौरवको कुरा हो । यसै जुलाईमा संसारले चन्द्र अवतरणको स्वर्णजयन्ती मनाइरहेको छ । २१ जुलाई १९६९ का दिन तीन अमेरिकी अन्तरिक्ष यात्रीलाई लिएर चन्द्रयान ‘इगल’ले चन्द्र अवतरण गरेको थियो । 

चन्द्र अवतरण भएको पचासौं वार्षिकीमा भारतले त्यस दिशामा पाइला चालेर निसन्देह महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । महत्वपूर्ण यस अर्थमा पनि भारत यो उपलब्धि हासिल गर्ने चौथो राष्ट्र बन्न गइरहेको छ । यसअघि अमेरिकाका अतिरिक्त रुस र चीनले मात्रै चन्द्र धरातलमा आफ्ना यान ओराल्ने सफलता पाएका छन् ।

पृथ्वीदेखि ३ लाख ८४ हजार ४ सय किमि टाढा रहेको चन्द्रमामा पृथ्वीबाट पठाइएका यान सकुशल अवतरण गराउनु चानचुने कुरा होइन । यो अत्यन्त उन्नत एवम् जटिल प्रविधिको कुरा हो । यस्तो प्रविधि विकसित मानिने तमाम शक्तिशाली राष्ट्र (इग्ल्याण्ड, फ्रान्स, जर्मन, जापान आदि)सँग पनि छैन । 

चन्द्रमाको कक्षसम्म यान पठाउने श्रेय भने ‘युरोपियन स्पेस एजेन्सी’ जापान र भारत (अहिलेसम्म) लाई प्राप्त छ । भारतले सन् २००८ मा पठाएको ‘चन्द्रयान–१’ ले चन्द्रमाको १०० किमि माथिको कक्षमा रहेर चन्द्र अध्ययन, अवलोकन र अनुसन्धान गरेको थियो । 

चन्द्र आरोहण वा अवतरणको क्रममा चीनले विशेष रेकर्ड राखेको छ । उसले पृथ्वीबाट कहिल्यै नदेखिने चन्द्रमाको ‘डार्क साइड अफ मुन’ भनिने भूभागमा आफ्नो ‘रोभर’ अवतरण गराएर यो रेकर्ड राखेको हो । चन्द्रमाको ५९ प्रतिशत भूभाग मात्रै पृथ्वीबाट देखिन्छ, शेष ४१ प्रतिशत भाग पृथ्वीबाट देखिँदैन । 

यस क्रममा इजरायलको चर्चा गर्नु पनि आवश्यक हुन्छ । इजरायलले यसै वर्ष चन्द्र अवतरणका लागि यान पठाएको थियो । तर, चन्द्र सतहदेखि केही किमि माथिबाट यो अनियन्त्रित भई चन्द्र धरातलमा ठोक्कियो । यसलाई सफल अवतरण मानिएन । 

चन्द्र विजय वा अवतरणबारे यति चर्चा भइरहदा यो उल्लेख गर्नु आवश्यक हुन्छ कि अमेरिकाबाहेक अन्य कुनै राष्ट्रले चन्द्रमा सम्मको ‘अप–डाउन’ यात्रा गरेको छैनन् । यसको सोझो अर्थ यो बुझ्नुपर्छ– अमेरिकाबाहेक अन्य कुनै राष्ट्रले चन्द्रयात्रामा मानिस पठाएका छैनन् । भनौ, चन्द्रमा पुगेर फर्किने प्रविधि अमेरिकाबाहेक अन्य कुनै देशसँग छैन । 

भारतीय अभियान ‘चन्द्रयान– २’ बारे

भारतीय वैज्ञानिकको ११ वर्षे कडा परिश्रमको प्रतिफल हो– ‘चन्द्रयान २’ अभियान । सन् २००८ मा प्रक्ष्ोपित गरिएको ‘चन्द्रयान १’ को सफलतापछि इसरोले ‘चन्द्रयान २’ मार्फत् चन्द्रमामा ‘रोभर’ अवतरण गराउने लक्ष्य लिएको थियो । इसरोको यस प्रोजेक्टमा अनुमानित एक हजार करोड भारतीय रुपैयाँ व्यय भएको छ । सबै कुरा ठीककाठ सम्पन्न भएमा १५ जुलाई २०१९ को एकबिहान २ः५१ मिनेटमा आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाबाट भारत निर्मित ‘जीएसएलभी एमके ३’ रकेट ‘चन्द्रयान– २’ लाई लिएर अन्तरिक्षगामी हुनेछ । 

इसरोले विकसित गरेको ‘जिएसएलभी एमके ३’ शक्तिशाली रकेटको श्रेणीमा आउँछ । झण्डै ६ लाख ४० हजार किलोग्राम तौल भएको यस रकेटले पृथ्वीको तल्लो कक्षसम्म १० टन वजन र ३६ हजार किमि माथिको कक्षसम्म ४ टन वजन बोकेर जान सक्छ । इसरोले यस्तो रकेट बनाउन ४ सय करोड रुपैयाँ खर्च गर्छ । 

वास्तवमा चन्द्रमासम्म पुग्ने कुनै पनि अभियानका विभिन्न चरण हुन्छन् । चन्द्रयात्राका लागि पठाउने जुन चन्द्र्रयान हुन्छ, त्यो सोझै पृथ्वीबाट अन्तरिक्षमा पुग्न सक्दैन । स्मरण गर्नुस्– कुनै पनि हवाईजहाज पृथ्वीको गुरुत्वाकर्षण पार गरेर अन्तरिक्षमा पुग्न सक्दैन । भनौ, हवाई जहाज आफै पृथ्वी सतह देखि १०० किमि माथि पुग्न सक्दैन । 

(तर, इतिहासमा एक पटक यस्तो घटना भएको छ, त्यसमा अर्कै उपाय प्रयोग गरिएको थियो– लेखक)

चन्द्रमासम्म पुग्ने डिजाइन गरिएको चन्द्रयानलाई अन्तरिक्षसम्म पुर्‍याउन रकेटको आवश्यकता हुन्छ । ‘जिएसएलभी एमके ३’ रकेटको उपयोगिता भने ‘चन्द्रयान– २’लाई अन्तरिक्षसम्म पु¥याउने मात्रै हुन्छ । १५ जुलाई बिहान २ः५१ मा श्री हरिकोटाबाट प्रक्षेपित गरिएको ‘जिएसएलभी एमके ३’ रकेट ‘चन्द्रयान– २’लाई पृथ्वीको ‘लोअर आर्विट’सम्म पुर्‍याउँछ । त्यहाँ पुगेपछि ‘चन्द्रयान– २’ रकेटबाट विच्छेदित हुन्छ । रकेटको काम सकिन्छ र यो अन्तरिक्षमै नष्ट हुन्छ । 

चन्द्रयान पनि कुनै एक इकाईको यान हुन्न । यसका तीन चरण हुन्छन् । पहिलो मुख्य भाग, जुन मुख्य यान हो, यसलाई ‘आर्बिटर’ भनिन्छ । यसको काम आफूसँग रहेको अन्य दुई भागलाई लिएर चन्द्रमाको कक्षसम्म पुग्ने रहेको हुन्छ । भारतीय ‘आर्बिटर’ ‘चन्द्रयान– २’को लम्बाई २.५ मिटर र वजन ३५ सय किलो रहेको छ । यसको काम चन्द्रमाको कक्षमा स्थापित भएर चन्द्र्र परिक्रमा गर्नुसम्ममै सीमित रहन्छ । 

रकेटबाट विच्छेदित भएपछि ‘आर्बिटर’को आफ्नो स्वतन्त्र यात्रा सुरु हुन्छ । पृथ्वीस्थित नियन्त्रण कक्षले यसको सञ्चालन गर्छ । कुन बेला यसको इञ्जिन प्रज्वलित गर्ने र कुन बेला बन्द गर्ने सबै कार्य पृथ्वीबाट नै नियन्त्रित हुन्छन् । 

चन्द्रमाको कक्षमा स्थापित भएपछि योसँग रहेको ‘ल्याण्डर’ यसबाट विच्छेदित हुन्छ । ‘आर्बिटर’ले चन्द्र अवतरण गर्दैन, यसको काम चन्द्रमाको कक्षमा रहेर परिक्रमा गर्नुसम्म मात्रै निर्धारित रहेको छ । 

इसरोले आफ्नो ‘ल्याण्डर’को नाम ‘विक्रम’ राखेको छ । ३.५ मिटर अग्लो र १४ सय किलो तौल भएको ‘ल्याण्डर’, ‘विक्रम’, ‘आर्बिटर’बाट बेग्लै भएपछि स्वतन्त्र यात्रा गर्छ । यसको काम आफूभित्र राखिएको ‘रोभर’लाई लिएर चन्द्र्रमामा अवतरण गर्नु रहेको हुन्छ । कुनै पनि चन्द्रयान अभियानको सबैभन्दा जटिल कार्य ‘ल्याण्डर’लाई सकुशल चन्द्र धरातलमा अवतरण गराउनु नै हो । ओर्लिने बेलामा ‘ल्याण्डर’को वेग नियन्त्रित हुन सकेन भने अत्यधिक वेगले चन्द्र धरातलमा ठोक्किँदा सम्पूर्ण मिसन नै असफल हुन पुग्छ ।

 

‘चन्द्रयान– २’ अभियानको ‘ल्याण्डर विक्रमलाई’ ‘आर्बिटर’बाट बेग्लै भएपछि चन्द्र अवतरण गर्न लाग्ने समयका अन्तिम १५ मिनेट नै यस सम्पूर्ण अभियानको सबैभन्दा जटिल पक्ष हो । ‘ल्याण्डर विक्रम’ले चन्द्र अवतरण गरेपछि यसभित्र राखिएको ‘रोभर प्रज्ञान’ विक्रमबाट निस्केर चन्द्र धरातलमा भ्रमण गर्छ । इसरोले डिजाइन गरेको यस ‘रोभर’ प्रज्ञानको लम्बाई १ मिटर रहेको छ र यसको तौल २७ किलो छ । 

प्रज्ञानमा ६ चक्का जडान रहेका छन् । यी चक्काको मद्दतले प्रज्ञान १ सेन्टिमिटर प्रतिसेकेण्डको गतिले चन्द्रधरातलमा भ्रमण गर्नेछ । ‘रोभर प्रज्ञान’ ‘सोलर इनर्जी’बाट सञ्चालित हुन्छ । यसले चन्द्र धरातलमा डुलेर माटो र चट्टानको अध्ययन गर्नेछ । साथै यसले त्यहाँको सतहको वातावरण, विकिरण र तापक्रमको अध्ययन गर्छ । 

यस भारतीय अभियानको पनि आफ्नै खाले विशेष महत्व छ । यस अभियानको ‘ल्याण्डर’ चन्द्रमाको दक्षिणी भागमा ओर्लिनेछ । योभन्दा पहिला कुनै पनि देशका यानले दक्षिणी भागमा अवतरण गरेका छैनन् । ‘रोभर’ले चन्द्र धरातल टेकेको १५ मिनेटपछि सन्देश प्रशारित गर्न थाल्छ । यस अभियानको ‘रोभर’ प्रज्ञानले पृथ्वीस्थित नियन्त्रण कक्षलाई सोझै सन्देश पठाउँदैन । प्रज्ञानले चन्द्र आकाशमा परिक्रमारत ‘आर्बिटर’लाई सन्देश पठाउँछ । ‘आर्बिटर’ले प्रज्ञानबाट पाएको सन्देश पृथ्वीसम्म पुर्‍याउने काम गर्छ । 

५० वर्षपहिला नासाले पठाएको ‘अपोलो ११’ को प्रविधि पनि यस्तै खाले रहेको थियो । त्यसबेला रकेटको नाम थियो, ‘सैटर्न भी एसए ५०६ ।’  र ‘आर्बिटर’को नाम रहेको थियो, ‘मुख्य नियन्त्रण यान कोलम्बिया ।’ र, चन्द्र धरातलमा अवतरण गर्ने ‘ल्याण्डर’ थियो, ‘चन्द्रयान इगल’ । ‘इगल’भित्र ‘रोभर’को स्थानमा थिए, निल आर्मस्ट्रङ र एल्ड्रिन बज । माइकल कोलिन्सले भने ‘आर्बिटर’ कोलम्बियामा रहेर चन्द्रमाको परिक्रमा गरिरहे । 

इसरोलाई यस अभूतपूर्व अभियानका लागि बधाई ।