लोकसंवाद संवाददाता | कारोबार | असार २९, २०७६
काठमाडाै । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख राजश्व संकलन गरेकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बृद्धि भएकाे हो ।
सन् २०१७ मा ५८ अर्ब ५२ करोड, ६९ लाख आम्दानी भएको थियो । उक्त आम्दानी सन् २०१५/२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो । उक्त वर्ष ४१ अर्ब ७६ करोड पाँच लाख आम्दानी भएको थियो । सन् २०१८ मा पर्यटकको बसाइँ अवधि औसत १२.४ दिन रहेको थियो ।
पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेका छन् । अघिल्लो वर्ष पर्यटकको बसाइँ अवधि १२।६ दिन थियो । सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए जुन अघिल्लो वर्षको तुलनामा २४।७७ प्रतिशतले बढी हो । सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विगत वर्षझै सन् २०१८ मा पनि छिमेकीमूलुक भारत र चीनबाट धेरै पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छ । भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र चीनबाट एक लाख ५३ हजार ६३३ र पर्यटक नेपाल आएका थिए । बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रोमा छ । अमेरिकाबाट ९१ हजार ८९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए । नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन् । सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएको सो स्टाटिसटिक्समा उल्लेख छ । त्यस्तै साहसिक पर्यटनमा रुचि राख्नेहरुको रोजाइँमा पनि नेपाल पर्ने गरेको छ ।