घनेन्द्र ओझा | दृष्टिकोण | असार २९, २०७६
केही दिनअघि नव समायोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो ‘लक्ष्य’बाट ‘साम्यवाद’ हटाइने बताएको समाचार आए सञ्चार माध्यममा । त्यसअघि तत्कालीन एमालेका महासचिव स्वर्गीय मदनकुमार भण्डारीको २७औँ स्मृति दिवसका अवसरमा गत जेठ ३ गते आफ्नो ‘मार्गदर्शन’ बहुदलीय जनवाद नभएर अब ‘जनताको जनवाद’ हुने बताउनुभयो । तर, जनताको जनवादको अन्तर्वस्तु भने ‘जबज’कै रहने प्रचण्डले प्रष्टीकरण थियो । सवाल यहाँ रह्यो कि दुनियाँका कुन कम्युनिस्टले साम्यवादलाई चटक्कै बिर्सन सक्छन् ? अनि कुन कम्युनिस्टले ‘लिच्चड पुँजीवाद’लाई आफ्नो लक्ष्य बनाएर त्यहीअनुरुपको मार्गदर्शन बनाएर ‘कम्युनिस्ट’कै खोल ओढिरहन सक्छन् ? तर नेपालको सन्दर्भमा यो सम्भव भएको देखिन्छ वर्तमानमा ।
२७ वर्षअघि नै तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीले तयार पारेको तत्कालीन एमालेको मार्गदर्शन ‘जनताको बहुदलीय जनवाद’लाई आदर्श मान्दै आएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र ‘आमूल परिवर्तन’को लक्ष्यसहित सशस्त्र क्रान्ति गरेर आएको नेकपा माओवादी (केन्द्र)बिच पार्टी एकता भइसकेपछि अबको नेकपाको बाटो कुन ? मार्गदर्शन के ? लक्ष्य के ? भन्ने सवाल झनै टड्कारो बन्दै आएको छ । उसो त उस बेलै मदन भण्डारीले नेपालमा कम्युनिज्म सम्भव नभएको पूर्वानुमानसहित ‘जबज’को अवधारणा अघि सार्नु भएको थियो । यस अर्थमा उहाँ दूरदर्शी देखिनुहुन्छ । सम्भव नहुने बाटोमा हिँड्नु बेकार हो भन्ने कम्तीमा उहाँले बुझ्नु भएको छ रहेछ भन्ने अहिले आएर प्रस्ट भएको छ, जबकि आमूल परिवर्तनका लागि, जनवाद स्थापनार्थ दश वर्ष ‘सशस्त्र जनयुद्ध’ गरेको माओवादीसमेत मदन भण्डारीकै मार्गमा आयो र त्यसैमा हिँड्न तयार भयो ।
जबजको बुँदा नं. ३.८ मा भन्नुभएको छ (भण्डारीकै अवधारणा भएकाले)–‘जनताको बहुदलीय जनवादी व्यवस्थाको स्थापना गरिनेछ ।’ अनि त्यही बुँदामा भनिएको – ‘नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गरिनेछ ।’
माथितिर ‘जनताको बहुदलीय जनवादी व्यवस्था स्थापना गरिने’ र तलतिर ‘नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गरिने’ उल्लेख गरेर कति अन्योल सिर्जना गरिदिनु भएको छ ? तर आम जन भने त्यसैलाई गायत्री मन्त्र बनाएर जप्दै हिँड्न तयार देखिन्छन् र हिँडिरहेका छन् । कम्तीमा शब्दबाटै सोझै अर्थ प्रस्ट हुने यस्ता कुराहरू, जो मूल मार्गदर्शक मानेको छ पार्टीले, त्यसमा त सचेत हुनुपर्ने थियो– जबज निर्माताले । त्यसो हुन सकेन । र, सँगसँगै त्यसको खुलेर आलोचना गर्ने हैसियत (हिम्मत ?)सम्म कुनै नेताले देखाएनन् धेरै समयसम्म ।
‘जबज हाम्रो आदर्श’ भनिरहे यसका नेतृत्वले, जबजमा के छ ? के हो जबज ? जबजको अन्तर्वस्तु के छ ? के यो कम्युनिस्टका निम्ति उपयुक्त मार्गदर्शन हो ? के यसबाट साम्यवादको लक्ष्य चुम्न सकिन्छ ? भन्नेतिर कमैको ध्यान खिचियो । यसको प्रमुख कारण सत्ता स्वाद थियो । सत्तापक्षमा रहे पनि वा प्रतिपक्षमा रहे पनि सत्ताको मह चाट्ने बानी परेपछि आफ्नो मार्गदर्शन के थियो ? सिद्धान्त के थियो ? आचारसंहिता के थियो ? आदर्श के थियो ? ती सबै भुलिँदै गए ।
यही बुँदामा भनिएको छ– ‘संविधानअनुरुप बहुलवादी समाज कायम गरिनेछ ।’, ‘संविधानको सर्वोच्चताको आधारमा लोककल्याणकारी संवैधानिक राज्य व्यवस्थाको स्थापना गरिनेछ ।’
अघिल्ला लेखहरूमा पनि यो उल्लेख गरिएको छ ( बहसमा ‘जनताको बहुदलीय जनवाद’ : पूँजीवादी कम्युनिष्टको गीता–१, पुँजीवादी कम्युनिस्टको गीता २: ‘बहुदलीय भनेपछि पनि कम्युनिस्ट बाँकी रहन्छ ?’) कि ऊबेलाको संविधान अर्थात् नेपाल अधिराज्यको संविधान, २०४७ लाई ‘पुँजीवादी संविधान’ भनेर आरोप लगाउँदै अन्ततः त्यही संविधानअनुरुप नै बहुलवादी खुला समाज कायम गरिने लक्ष्य राख्नु कति हास्यास्पद होला ? सँगसँगै त्यही संविधानको सर्वोच्चता स्वीकार गर्दै लोककल्याणकारी संवैधानिक राज्य व्यवस्था स्थापना गरिने लक्ष्यप्रति कुन कम्युनिस्ट सहमत होला ? तर तत्कालीन एमालेले यही कुरालाई आफ्नो मार्गदर्शन बनायो र सोही लक्ष्यप्राप्तका लागि बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिमा होमियो ।
अरू केही नगरे पनि २०५१ यता पटक पटक एकल र संयुक्त सत्ता सम्हालेको तत्कालीन नेकपा एमालेले यिनै कुराहरू बेच्दै जनमत बटुल्दै आयो ।
बुँदा ३.९ मा भनिएको छ– ‘जनताको बहुदलीय जनवादी व्यवस्थालाई योजनाबद्ध रूपमा क्रमशः विकसित, समृद्ध र सुदृढ पारिनेछ ।’
कस्तो गज्जब छ लक्ष्य– ‘जनताको जनवाद’ स्थापनार्थ ‘जनताको बहुदलीय जनवादी’ व्यवस्थालाई योजनाबद्ध रूपमा विकसित, समृद्ध र सुदृढ पारिनेछ ।
लक्ष्य एकातिर, कामकुरा अर्कैतिर बनाएर संसदीय प्रतिष्पर्धात्मक राजनीतिको लामो अभ्यास गरेको तत्कालीन नेकपा (एमाले) आफ्नो लक्ष्य, मार्गदर्शन र उद्देश्यमै धेरै लामो समय प्रस्ट नभएको उदाहरण हुन् यी । मुखले ‘जबज हाम्रो आदर्श’ भनिरहे यसका नेतृत्वले, जबजमा के छ ? के हो जबज ? जबजको अन्तर्वस्तु के छ ? के यो कम्युनिस्टका निम्ति उपयुक्त मार्गदर्शन हो ? के यसबाट साम्यवादको लक्ष्य चुम्न सकिन्छ ? भन्नेतिर कमैको ध्यान खिचियो । यसको प्रमुख कारण सत्ता स्वाद थियो । सत्तापक्षमा रहे पनि वा प्रतिपक्षमा रहे पनि सत्ताको मह चाट्ने बानी परेपछि आफ्नो मार्गदर्शन के थियो ? सिद्धान्त के थियो ? आचारसंहिता के थियो ? आदर्श के थियो ? ती सबै भुलिँदै गए । हात्ती छाप चप्पल र साइकलबाट ब्राण्डेड बुट र आलिसान महल अनि करोडौँका कारमा परिणत भयो नेतृत्वको सोख र जीवनशैली ।
वास्तवमा ‘कम्युनिज्म’ एक दलीय तानासाही व्यवस्था हो । कम्युनिज्मले दोस्रो शक्ति वा प्रतिस्पर्धीको अस्तित्व स्वीकार गर्दैन । जहाँ प्रतिस्पर्धा हुन्छ, जहाँ एकभन्दा दोस्रो राजनीतिक शक्तिको अस्तित्व रहन्छ, त्यहाँ कम्युनिज्म कसरी सम्भव छ ? यो कुरा लामो राजनीतिक सङ्घर्ष गरेर आएका, विश्व राजनीतिक आन्दोलन र सन्दर्भबाट राम्ररी परिचित तत्कालीन कम्युनिस्ट नेताहरूलाई पक्कै थाहा हुनुपर्ने हो ।
लाग्छ, विश्वमा अस्ताउँदो कम्युनिज्मप्रति भण्डारी निकै सजग हुनुहुन्थ्यो । ३ वर्षअघि मात्र विघटन भएको सोभियत सङ्घ र सुधारवादतर्फ उन्मुख छिमेकी कम्युनिस्ट मुलुक चीनको राजनीतिक विकास क्रम र यथार्थबारे भण्डारीले नजिकबाट राम्रोसँग अवलोकन गरेका सहज अनुमान गर्न सकिन्छ । ७२ वर्षसम्म निरन्तर कायम सोभियत कम्युनिज्म अचानक ढल्नु, चार दशकदेखिको माओले खडा गरेको चिनियाँ कम्युनिज्म पनि अवसान (सुधार ?)को बाटोमा हिँड्न थाल्नुले नेपाल जस्तो मुलुकमा अब कम्युनिज्म सम्भव हुन नसक्ने पूर्वानुमान थियो सायद भण्डारीको ।
त्यही भएर उहाँ राजनीतिक अस्तित्वको नयाँ मार्गको खोजीमा हुनुहुन्थयो, जसलाई ‘जनताको बहुदलीय जनवाद’का नाममा टेकाइदिनु भयो । नेपालको भू बनोट, सामाजिक, आर्थिक र शैक्षिक यथार्थ, विदेशी शक्तिको प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव (हस्तक्षेप)लाई मिहिन विश्लेषण पक्कै गर्नुभएको हुनुपर्छ उक्त दस्ताबेज निर्माणका क्रममा भण्डारीले । त्यही भएर त उहाँ १८० डिग्रीमा ढल्किन बाध्य हुनुभयो– ‘कम्युनिज्मबाट क्यापिटलिज्मतिर’ ।
हो, जबज पुँजीवाद निकट मार्ग हो । यसका ‘अन्तर्वस्तु’, यसले अपनाएको राजनीतिक दिशा र लक्ष्य हेर्दा नै जबज पुँजीवादकेन्द्री देखिन्छ । तर तत्कालीन एमालेले आमजनमा यसरी भ्रम छर्न सफल भयो कि जबजबाटै आमूल परिवर्तन सम्भव छ, जनताको जनवाद, साम्यवादको मार्ग यही हो भन्नेमा ढुक्क बनायो आमजनलाई ।
बिचमा माओवादी जन्मियो र त्यसले जबजलाई 'गद्दार मार्ग' बतायो । १० वर्ष ‘सशस्त्र जनयुद्ध’ गरेर अन्ततः माओवादी पनि त्यही जबजकै मार्गमा समाहित हुन आइपुग्यो । यस कारण माओवादी र उसका आदर्शबारे यहाँ अब उल्लेख र चर्चा गरिरहनुपरेन ।
आज दुई ठुला ‘कम्युनिस्ट’ पार्टी विगतका एमाले र विगतको माओवादी केन्द्र एक भएका छन्– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा । तर दुर्भाग्य, उनीहरूले कम्युनिस्टकै अपमान गरेका छन् । ‘कम्युनिस्ट’ भन्नु ‘साम्यवादी’ हो र साम्यवादीको एक मात्र लक्ष्य ‘साम्यवाद’ हो । बन्दुकबाट होस् वा अन्य कुनै माध्यमबाट, साम्यवाद स्थापना नै हरकम्युनिस्टको लक्ष्य हो । तर नेपाली कम्युनिस्ट (नेकपा)ने साम्यवादलाई आफ्नो लक्ष्यबाट हटाउने कुरा जो बहसमा ल्याइरहेको छ, यसले उसको पार्टीको नाममा झुण्डिएको ‘कम्युनिस्ट’ शब्दको खिल्ली मात्रै उडाएको छैन नेपाली कम्युनिस्ट आन्दोलनलाई कहिल्यै नछोपिने ‘दाग’ लगाउँदै छ ।
एकातिर आफूलाई कम्युनिस्ट बताइरहने र अर्कातिर कम्युनिस्टकै मूल आदर्श र लक्ष्य बिर्सिँदै जाने प्रवृत्तिले नेपाली कम्युनिस्टमा निकै ठुलो विचलन ल्याइदिएको छ । यो विचलनले अन्ततः नेपाली कम्युनिस्टलाई ‘लिच्चड पुँजीवादी’ बाटोमा त हिँडाउँदै छ नै, त्यसभन्दा बढी नेपाली कम्युनिस्ट आन्दोलनका विरासतहरूलाई समेत ध्वस्त पार्दै छ । सत्ता स्वादे भइसकेका नेपाली कम्युनिस्ट पार्टीहरूलाई अब साम्यवाद, जनजीविका, आमूल परिवर्तन, जनताको जनवाद, क्रान्तिकारी परिवर्तन जस्ता शब्द ‘पोलिटिकल जार्गन’ मात्र बन्दै गएका छन् ।
जुन आफ्नो मूल मार्ग हो, त्यो भुलेर, जुन आफ्नो लक्ष्य हो, त्यसलाई त्यागेर, जुन नहिँड्नु पर्ने बाटो हो, त्यसमा घस्रिएर, जहाँ पुग्नुपर्ने थिएन, त्यतै लम्किएर नेपाली कम्युनिस्ट आखिर कहाँ पुग्ला ? अहिलेको नेकपा अर्थात् नव समायोजित नेपाल कम्युनिस्ट पार्टी कतै मणि हराएको सर्प त बन्दै छैन ?
याे पनि
बहसमा ‘जनताको बहुदलीय जनवाद’ : पूँजीवादी कम्युनिष्टको गीता–१
पुँजीवादी कम्युनिस्टको गीता २: ‘बहुदलीय भनेपछि पनि कम्युनिस्ट बाँकी रहन्छ ?’