दर्शन र मानिस

दर्शन र मानिस

पर्वत भट्टराई  |  जीवनदर्शन  |  माघ १४, २०७५

मानिस अस्तित्वमा आएदेखि नै आफ्नो जीवन धान्ने सोचमा मात्र सिमित भएन । उसलाई प्रकृतिले आधुनिक जमानाको 'गुगल सर्च इन्जिन' जस्तै एउटा दिमाग दिएको थियो । छ।जीवन निर्वाह गर्ने पाटोलाई छाडेर भन्ने हो, 'भने मानिस अनन्त खोजमा निस्केको एउटा अनवरत यात्री' जस्तै हो।धेरै कुराको खोजका साथै दर्शनको खोज उसको प्रमुख र महत्वपूर्ण बन्यो।

जीवनका अफनो, रहस्य र विश्वास गर्न नसकिएका आश्चर्यहरुका विषयमा मानिसले जुन विचार र चिन्तनको सिर्जना गर्दै यहाँसम्म आइपुगेको छ त्यही नै दर्शन हो। सम्पूर्ण शास्त्रहरुको अध्ययन गर्ने शास्त्रलाई दर्शनशास्त्र भनिन्छ।जीवन, जगत्, घटना, कारण र तिनीहरुको परिणामको सामान्य र विशेष नियमहरुको अध्ययन गर्ने शास्त्र नै दर्शनशास्त्र हो।पूर्वीय दर्शनशास्त्रले जीवनका समस्या, दुःखका कारणहरु र परम् ज्ञानको खोजीमा महत्व दिन्छ भने पश्चिमी दर्शनशास्त्रले जीवन र जगतका रहस्य, वास्तविकता र ज्ञानको रुचिका कारणहरु खोज्ने प्रयास गर्दछ।

मानिसले अफनो विवेकशीलतालाई विभिन्न चिन्तन, विचार र क्रियाकलापद्वारा ब्यक्त गरिरहेको हुन्छ।दर्शनशास्त्र पनि मानिसको त्यही प्रक्रियाको एउटा बौद्धिक उपलब्धि हो।दर्शनशास्त्रमा खास गरेर जीवन र जगतलाई ब्याख्या र विश्लेषण गर्न तत्व,  ज्ञान,  विश्व, ईश्वर, नीति, समाज, तर्क, सौन्दर्य, अर्थ र मूल्यको समग्र अध्ययन गरिन्छ।यस्तै अध्ययन गर्ने क्रममा पूर्वीय र पश्चिमा जगतमा कैयौ दार्शनिकहरु देखा परेका थिए र आज पनि त्यो क्रम चलिरहेको छ।तर पनि  मानिसले दर्शन, ज्ञान, विश्व, जगत, तत्व, ईश्वर, धर्म, समाज, तर्क, सौन्दर्य, प्रेम, मूल्य र अर्थ भनेको के हो भनेर एउटै परिभाषामा ब्यक्त गर्न सक्ने अवस्था छैन।सबै मानिसका आ-आफ्ना सोचाइ र परिभाषाहरु छन्।आम रुपमा मानिसका अनेक सोच र चिन्तनको श्रृङ्खलाबाट निस्त भएका विचार यथार्थ रुपमा  उत्कृष्ट र परिस्कृत भएपछि त्यो एउटा दर्शनको रुपमा स्थापित हुन्छ ।सबै दर्शनहरु यसरी नै आएका छन्।संसारलाई हेर्ने, बुझ्ने, बुझाउने र परिवर्तन गर्ने दिशामा संगठित सिद्धान्तहरुको एकमुष्ट पद्धति नै दर्शन हो। दर्शनबाट नै मूल्य, मान्यता, नीति, संस्कार, नैतिकता, धर्म, ईश्वर, विज्ञान, प्रविधि र समाज सन्चालनका आयामहरु बन्दछन्। अम मानिसहरु ठान्दछन् कि आजको विश्वमा भएको प्रगति केवल विज्ञान र प्रविधिको चमत्कार हो।तर यो कुरा सतही बुझाइ मात्र हो।वास्तविकता त के हो भने हालसम्मका दर्शनहरुले मानिस, समाज, देश, विश्व र ब्रमाण्ड जगतको सम्पूर्ण प्रगति कुनै न कुनै रुपमा टेकेको काम गरेका छन्। राजनीति,अर्थनीति, कूटनीति र समाज सन्चालनका अनेक पक्षहरु दर्शनको जगमा टेकेर परिचालित भइरहेका हुन्छन्।तर ती कृयाकलापमा दर्शन हुन्छ भनेर धेरै कम मानिसले मात्र बुझिरहेका हुन्छन्। सत्त्य सतहमा देखिँदैन।सत्य सधैँ निकै भित्र गहिराइमा पुगेर भेटिन्छ।भनिन्छ, वास्तविक सत्य खुला देखिँदैन।जसरी कफी भन्नाले कफीको बोट हैन, त्यसको फूल कफी हैन, फलेको दाना कफी हैन, कफीको दानाभित्र पनि अनेक पत्रहरु हुन्छन्, ती पनि कफी हैनन्।दानाको पत्रपत्र छोडाएर निस्कने भित्रको मुख्य भागमात्रै कफी हो।त्यस्तै सत्य पनि 'कफीको वर्णन' गरे जस्तै हो।दर्शन र दर्शनशास्त्र पनि त्यस्तै अन्तिम सत्य हो जसलाई बुझ्न पत्रपत्र केलाउन आवश्यक हुन्छ नत्र हामी सतहमै अल्मलिन्छौ।

दर्शनको सूत्रबद्ध सुरुआत आजभन्दा करिव पाँच सात हजार वर्ष पहिले पूर्वीय जगतका वेदव्यस लगायत अनेक ऋषिमुनिहरुले र करिव छब्बीस सत्ताईस सय वर्ष पहिले (ईशा पूर्व ६२४) पश्चिमा जगतका ग्रीक दार्शनिक थेलिज, पाइथागोरस, सोलोमन, सोलेन, सोक्रेटस, प्लेटो, र एरिस्टोटलहरुले प्रतिपादन गरेको पाइन्छ।मानव जीवनको शुरुआतदेखि अहिलेसम्म सानातिना कुरालाई छाडेर हेर्ने हो भने विश्वमा खैलाबैला मच्चाउने र सधैंभरि प्रभावित पारिरहने अनेक दर्शनको प्रतिपादन भएको पाइन्छ।त्यस्ता विशिष्ट दार्शनिकहरुमा पूर्वीय जगतमा व्यास, कणाद्, बृहस्पति, गौतम, जैमिनी, कपिल, पतन्जली र गौतम बुद्ध प्रमुख मानिन्छन्। त्यसै गरी पश्चिमा जगतमा थेलिज र चीनका कन्फुसियस, सोक्रेटस, प्लेटो, एरिस्टोटल, जोन हब्स, डेकार्ट्स, जोन लाँक, इमान्युएल कान्ट, जर्ज हेगेल, आडम् स्मीथ, फायरवाख, कार्ल कार्क्स र एङ्गेल्सको नाम अउछ । यस क्रममा रुसका भ्लादिमिर लेनीन तथा माओ जेदुङ पनि ठूला दार्शनिक मानिन्छन्। संसार हल्लाउने सिमित दर्शनहरु छन् , जस्ले दुनियाँलाई सकारात्मक वा नकारात्मक ढङ्गले उथलपुथल पारिरहेका छन्।सोक्रेटसले आफ्नो दर्शनका लागि विष पिउनु पर्यो, गौतम बुद्धले दरबारको सुख सुविधा त्याग्दै शान्ति र अहिँसाको दर्शन दिएर कतिपय अवस्थामा अपमानित हुनु पर्यो।हेगेलको टाउकोले टेकेर उभिएको दर्शनलाई खुट्टाले टेक्ने बनाएर कार्ल मार्क्सले अहिले पनि संसार हल्लाइ रहेका छन्।पूर्वीय दार्शनिकहरुले प्रायस् अध्यात्मवाद, आडम स्मीथले पूँजीवाद, कार्ल मार्क्सले साम्यवाद, गौतम बुद्धले शान्ति र अहिँसावाद, ओशो रजनीसले यौन स्वच्छन्दतावाद जस्ता दर्शनहरु प्रतिपादन गरेर सन्सारको ध्यान जबरजस्त रुपमा आफूतिर ताने । दर्शन पनि विचाधाराको दृष्टिमा विभाजित छन्,अध्यात्मवादी र भौतिकवादी, पूँजीवादी र साम्यवादी, द्वैतवादी र अद्वैतवादी तथा हिँसावादी र अहिँसावादी जस्ता अनेक सम्प्रदायमा विस्तारित र संकुचित भएका छन्।

माथि उल्लेखित सबै दर्शनहरुको एउटै लक्ष्य छ, संसारका सम्पूर्ण मानिसलाई सुख र खुशी दिलाउने।सबै दार्शनिकहरुले आफ्नो दर्शनले मात्र मानिसलाई अन्तिम सुख दिन सक्छ भनेर दाबी गर्दछन्।यसै दाबीका बीचमा मानिस जन्मेदेखि मरुन्जेलसम्म सुख, खुशी, शान्ति, सम्बृद्धि र आनन्द खोजी रहेका छन्।तर मानिस ती सबै कुरा खोज्दै, भौतारिदै, हन्डर खाँदै यो गोलो पृथ्बीमा गोलमटोल भइरहेका छन्।तर किन कुनै पनि दर्शनले यी भौतारिदै गरेका मानिसको समस्या समाधान गर्न सकिरहेको छैन।दर्शनहरुको प्रतिपादन त भयो तर कसरी मनिसको जीवनमा यसलाई लागू गरेर देखाउन सकिन्छ भन्ने कुरामा ठूलो सङ्घर्ष हिजो पनि भएको थियो र आज पनि भएरहेको छ।सायद यस्तो लगातार भइरहने छ।

समाज र जीवनमा के परिवर्तन ल्याउने आकाङ्क्षाले दशर्नको प्रतिपादन र पालनामा जोड दिइन्छ।सबै दर्शन, नीति, मान्यता, सिद्धान्त, धर्म र संस्कृतिले मानिसका इच्छा, चाहना, भावना र रहरहरु पूरा गर्न केही न केही मद्दत पुर्याइ रहेकै हुन्छ। हरेक दर्शनले मानिसको जीवनमा केही त दिइरहेकै छ।मानिस चाहेर वा नचाहेर, बुझेर वा नबुझेर, सोचेर वा नसोचिकन एउटा न एउटा दर्शनको हिमायती भएकै हुन्छ । मानिसहरु अध्यात्मवादी वा भौतिकवादी, पूंजीवादी वा साम्यवादी, द्वैतवादी वा अद्वैतवादी र हिँसावादी वा अहिँसावादी भएकै छन्।

मानिस जीवनको एउटै लक्ष्य र उद्देश्य हुन्छ सुख र आनन्द।पूर्वीय दर्शनले भनेकै छ जीवनका चारवटा लक्ष्य हुन्छन्; धर्म, अर्थ, काम र मोक्ष।पश्चिमा दर्शनले पनि यसलाई अनेक अर्थमा मानेकै छ।तर अहिलेका मानिसले केवल अर्थ र कामलाई मात्रै आफ्नो लक्ष्य बनाएका छन्।धर्म र मोक्षसँग अब कसैको सरोकार छैन। यहाँ धर्म र मोक्षलाई सनातन रुपको हिन्दू र बौद्ध पद्धतिसँग जोड्न खोजेको हैन।धर्म आफ्नो कर्तब्य र मोक्ष त्यसको परिणाम भनेर बुझनु पर्दछ।त्यस कारण धेरै मानिस पाएको सुखले नपुगेर थप सुख खोज्दा दुख पाइरहेका छन्।सानो दुख सहन नसकेर झन ठूलो दुख पाएका छन्।जीविका गर्न नसक्दा जीवन कठीन भएर, जीविका चलेपछि पनि झन् सजिलो खोजेर अनि सजिलोलाई पनि अझ परिष्कृत गर्न खोजेर मानिस दु:ख पाइरहेका छन्।

प्राचीन् र आधुनिक दर्शनको जगमा टेकेर आजको विश्वमा चकाचौँध विकास भएको छ।विज्ञान, प्रविधि, सन्चार, सूचना तथा अन्य आर्थिक र भौतिक विकास दर्शनको उपलब्धि हो।तर आम मानिस दर्शनको बारेमा अनभिज्ञ जस्तै देखिन्छन्।विश्वब्यापीकरण र विज्ञान प्रविधिको अन्तरराष्ट्रिय सञ्जालिकरणले गर्दा हामी ज्ञानलाई सामाजिक सञ्जालका भित्ताहरुमा खोज्दछौ।सही वा गलत, सत्य वा असत्य र ग्रहण योग्य वा ग्रहण गर्न नमिल्ने कस्तो ज्ञान हो हामी छुट्याउन तिर लाग्दैनौँ।जे भेट्छौँ, जे देख्छौँ, जे सुन्छौँ, जे पढ्छौँ र जे बुझ्दछौँ त्यो नै हाम्रो अन्तिम र अकाट्य सत्य हो भन्ने ठान्छौँ।यस्तो गर्नु र हुनु बिल्कुल गलत कुरा हो।

अन्त्यमा; हामीले भन्दै र बुझ्दै आएको अन्तरराष्ट्रिय सामाजिक सञ्जालिकरण कतै असामाजिक सञ्जालिकरण त भइ रहेको छैन।जसले विचार, चिन्तन र मनन् गर्ने मानिसको प्राकृतिक गुणलाई कुण्ठित त पारिरहेको छैन ? एक पटक हैन हजारौ पटक सोचौँ।समय बाँकी नै छ; यसको लागि तपाईलाई दर्शनशास्त्रले धेरै मद्दत गर्छ।

लेखक दर्शनशास्त्रका जानकार हुनुहुन्छ।
parbat.bhatta@gmail.com