लोकसंवाद संवाददाता | समाचार | असार ३१, २०७६
पर्वत । यहाँ परम्परागतरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका ‘घुमाउने घर’ लोप हुँदै गएका छन् ।
ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका ‘घुमाउने घर’ विस्तारै लोप हुँदै गएका हुन् । गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना घरमा बसोबास गर्न छाडेका हुन् । घुमाउने घरभित्र अँध्यारो, धेरै कोठा नहुने र छानो छाउनका लागि वर्षैपिच्छे झन्झट हुनाले पनि स्थानीय बासिन्दाले घुमाउने घर छाड्दै गएका हुन् ।
केही वर्षअघिसम्म पर्वतका विभिन्न गाउँमा बाक्लै देखिने ‘घुमाउने घर’ अहिले एक÷दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा सहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् । ‘घुमाउने घर’ छाउने खरसमेत प्रशस्त पाइन छाडेकाले तथा सबै ठाउँमा जस्तापाताको पहुँच राम्रो भएकाले पनि यी घर अब इतिहासमा मात्र सीमित हुने भएका छन् ।
केही वर्षअघिसम्म गाउँमा अधिकांशका ‘घुमाउने घर’ थिए । तर, अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । ‘घुमाउने घर’ बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भए पनि पछिल्लो समय धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीका बासिन्दा हेमराज सापकोटाले बताउनुभयो । ‘एक सय वर्षभन्दा पहिले बनेका घर अहिले लोप भइसकेका छन्,’ सापकोटाले भन्नुभयो, ‘भएका केही घर पनि उपयोगमा छैनन्, जीर्ण भइसकेका छन् ।’ तर, यस्ता घर जुनसुकै मौसम र जुनसुकै स्थानमा पनि बस्नका लागि भने उपयुक्त हुने उहाँको बुझाइ छ ।
खर उत्पादन हुने खरबारीमा अहिले रुखबिरुवा भरिएकाले खरको अभाव हुँदा मानिस उज्याला, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेपछि घुमाउने घर लोप हुँदै गएको स्थानीयवासी रामकृष्ण सापकोटाले बताउनुभयो । जस्तापाताको व्यापक प्रयोग, सुलभरूपमा पाइने र एकपटक छाएपछि बीसौँ वर्षका लागि काम गर्ने हुनाले घुमाउने घर निर्माण गर्न तथा निर्माण गरिएका समेत उपयोगविहीन हुन थालेको उहाँले बताउनुभयो ।
‘डेढ दशक अघिसम्म पर्वतका विभिन्न ठाउँमा सयौं ‘घुमाउने घर’ थिए, अहिले औँलामा गन्न सकिने छन्,’ स्थानीयवासी वृद्ध चिन्तामणि सुवेदीले भन्नुभयो । अहिले खरले छाएका भन्दा ढ्ुंगा र जस्ताले छाएका घर गाउँभरि बनेको उहाँले बताउनुभयो । पछिल्लो समयमा भने गाउँगाउँमा पक्की घर निर्माण हुन थालेका छन् । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि र सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँलेहरुमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको राससमा उल्लेख छ ।