लोकबहादुर दुरा | पर्यटन | साउन ०१, २०७६
बहुसांस्कृतिक तथा बहुभाषिक नेपालमा प्रचलित चाडपर्वहरूको आ–आफ्नै महत्व छ । यस्तै, महत्व बोकेको चाडको सूचीमा पर्छ, साउने संक्रान्ति । यो पर्वलाई नेपालका सबै समुदायले कुनै न कुनै रूपमा मनाउँदै आएको पाइन्छ ।
यही पर्वलाई नेपालका अल्पसंख्यक दुरा समुदायले अलि महत्व र भिन्न प्रकारले मान्ने गरेका छन् । असार खेतीपातीको महिना, सबैजना काम दत्तचित्त होउन् भनेर यो महिनाभरि मादल बजाउन अघोषितरूपमा नै प्रतिबन्ध गरिएको हुन्छ ।
कृषिप्रधान समाजमा साउने संक्रान्तिले खुसीका थुप्रै क्षण लिएर आउने विश्वास गरिन्छ । पहिलो त साउने संक्रान्तिले हिउँद आगमनको संकेत गर्छ । यससँगै कामकाजमा पनि अलि हलुको हुँदै गएको रूपमा लिइन्छ । यही दिन अर्थात् साउन १ गतेदेखि मादल बजाउन फुकुवा गर्ने परम्परा छ दुरा समुदायमा ।
यो महिनामा बेलुका गाउँभरिका तरुना–तरुनी जम्मा हुन्छन् । रोदी आमालाई विशेष गरेर पुङ (काठबाट बनेको एकप्रकारको वर्तन) मा रक्सी र अन्य कोसेलीले चढाएर मादल फुकाउन अनुमति माग्ने चलन छ ।
असारभरि मादल बजाउन मात्र होइन, रोदी पनि बस्न समेत पाइँदैन । साउने संक्रान्तिमा यी दुवै प्रतिबन्ध फुकुवासमेत हुन्छ । रोदीघरमा जम्मा भएका तरुना–तरुनी फुरुंग भएर प्रस्तुत भएका हुन्छन् । असारभरिको बेफुर्सदीपनलाई पछि धकेलेर खुसी साटासाट गर्न पाउँदा फुरुंग नपर्ने कुरै भएन ।
तरुनाहरूले खिर पकाएर तरुनीहरूलाई खुवाउँछन् । तरुनीहरू मासुभात, रोटी आदि परिकार खुवाउने चलन छ । यही सिलसिलामा तरुनाले तरुनीलाई ‘मजेत्रोे’ (कर्मु) चढाएर सम्मान तथा माया प्रकट गर्ने पुरानो चलन अद्यापि दुरा समुदायमा कायमै छ । अनि तरुनीले पनि स्थानीय सीप र साधनको प्रयोग गरी तयार पारेको ‘खरको फूल’, काँक्रो बियाँबाट बनाइएको कलात्मक फूल उपहार दिएर मायाको प्रमाण प्रस्तुत गर्ने गर्दछन् ।
रोदीघरमा घन्केको मादलको घुन्तुङ–घुन्तुङ तालले एउटा बेग्लै खुसहालको माहोल तयार पारिदिन्छ । सबैजना स्वरमा स्वर मिलाएर गीत गाउन र नाच्न थाल्छन् । बर्खाको झरीले भिजेको र बेफुर्सदी गलेको शरीरमा स्वस्फुर्ति सञ्चार हुन थाल्छ ।
गीतमा संवाद सुरु हुन्छ । अर्को शब्दमा भन्नुपर्दा दोहोरीको खाल नै जम्छ । दोहोरीमा ग्रामीण साहित्य जुर्मुराउँछ । साहित्यिक पारामा सुन्दर अभिव्यक्तिको बौछार हुँदा गीत गाउनेहरूलाई भन्दा पनि सुन्नेलाई अझ रमाइला अनुभूत दिलाउँछ ।
मादलको घुन्तुङ घुन्तुङले गाउँभरि नै एक खालको खुसीयालीको छाउँछ । गाउँको बूढापाकाहरूसमेत रोदीघरमा पुगेर रामरमिताको हिस्सेदार बन्छन् । अनि दुःख–सुख तथा जवानीका अनुभूति सुनाउन व्यस्त हुन्छन्, जसले नजानिँदो किसिमले एकआपसमा आत्मीयताको सञ्चार गरिरहेको हुन्छ ।
साउन कोदो रोप्ने पनि समय भएको साउने संक्रान्तिको जमघटमा तरुना–तरुनी पर्म लाउने सरसल्लाह गर्ने थलोका रूपमा रोदीघरलाई उपयोग पनि गर्छन् । गाउँघरमा लगाउने पर्ममा भर्खरका भाइबहिनी पनि सामेल हुन्छन् । पर्म लगाउँदा सानो ठूलोको कुनै भेद हुँदैन । सबैलाई समान ठानिन्छ । परापूर्वकालदेखिको एउटा भनाइ नै छ, ‘सानो कुनै दिन ठूलो हुन्छ ।’ त्यसैले सानो ठूलोभन्दा पनि सबैले श्रमलाई सम्मान गर्ने प्रचलन रहिआएको छ दुरा समुदायमा ।
यसरी सबै मिलेर काम गर्ने हुनाले उनीहरूलाई थकाइको कुनै अनुभव नै हुँदैन । सधैँ खुसी र रमाइलो हुने गर्छ । तरुना–तरुनी बीचको आपसी सद्भाव र सम्मानले उच्च स्थान प्राप्त गरिरहेको भान हुन्छ ।
यसले मायामाथि माया थप्ने काम नै हुने गर्छ । तरुनाहरूले खिर पकाएर तरुनीहरूलाई खुवाउँछन् । तरुनीहरू मासुभात, रोटी आदि परिकार खुवाउने चलन छ । यही सिलसिलामा तरुनाले तरुनीलाई ‘मजेत्रोे’ (कर्मु) चढाएर सम्मान तथा माया प्रकट गर्ने पुरानो चलन अद्यापि दुरा समुदायमा कायमै छ । अनि तरुनीले पनि स्थानीय सीप र साधनको प्रयोग गरी तयार पारेको ‘खरको फूल’, काँक्रो बियाँबाट बनाइएको कलात्मक फूल उपहार दिएर मायाको प्रमाण प्रस्तुत गर्ने गर्दछन् ।
सद्भाव र ममताको सिलसिला यत्तिकैमा रोकिँदैन । तरुना–तरुनीहरूले व्यक्तिको स्वभाव, चालचालन, वर्ण, उचाइ आदिको आधारमा उपनाम (सियो) राखिदिने दिने अनौठो चलन छ । उदाहरणको लागि अति गमिलो स्वभावको तन्नेरीलाई तरुनीहरूले गमसाही, राम्रो रूपरंग भएकी तरुनीलार्ई तरुनाले राउरानी भनेर सियो (उपनाम) राख्ने चलन छ । जुन उपनामले सम्बन्धित व्यक्ति वृद्ध अवस्थासम्म पनि परिचित हुने गर्छन् । ऊ आफ्नो खास नामले भन्दा पनि उपनामले आफ्नो समुदायमा प्रख्यात हुने गर्छ ।
मायाममता र सद्भावको सिलसिला जारी रहँदा कूलकुटुम्ब मिल्ने दौँतरीले एक–अर्कालाई जीवनसाथीको रूपमा चुन्ने थलो पनि हो, रोदीघर । धेरैले रोदीघरमा नै जीवनसाथी चुनेका धेरै उदाहरण दुरा समुदायमा पाइन्छ ।
साउने संक्रान्ति र मादलको कुरा गर्दागर्दै रोदीघर समाजको केमेस्ट्रीको कुरा खोतल्न पुगेछु । यहाँ व्यक्त सन्दर्भ आफैले जीवनमा भोगेका अनुभूति पनि हुन् । अग्रजको अनुभव पछिल्लो पुस्ताका लागि राम्रो पाठ हुन् भन्ने मेरो बुझाइ छ । अघिल्लो पुस्ताको अनुभवले सांस्कृतिक अनुभव विस्तारमा पनि सहयोग गर्छ । अघिल्लो पुस्ताको अनुभवले नै हाम्रो परम्परा र संस्कृतिका विविध आयाम जिउँदोजाग्दो बनाउँदै आउने हो ।
समय सन्दर्भसँगै समयले काँचुली फेरिसक्यो । हाम्रो गाउँघरमा पनि आधुनिकतासँगै परम्पराहरू विस्तारै लोप हुँदैछन् । यस्ता कुुरा विस्तारै सम्झनामा मात्र सीमित हुन थालेका छन् । यस्तो देख्दा कता–कता दुःख लाग्नु पनि स्वभाविक हो । तर पनि समयले ल्याएको परिवर्तनका साथसाथै पुस्तौदेखि चलिआएको कुरालाई नयाँपुस्तालाई जानकारी दिँदै नयाँ कुरा स्वीकार्न करै लाग्छ । समाजको उत्तरोत्तर प्रगति भइरहोस् ।