लोकसंवाद संवाददाता | अन्तर्मन्थन | साउन ०१, २०७६
डा. प्रेमलकुमार जोशी
डा. प्रेमलकुमार जोशी, नाक, कान र घाँटी (इएनटी) रोगमा पिएचडी गर्ने नेपालकै पहिलो व्यक्ति हुनुहुन्छ । यस रोगका नेपालमा कस्ता बिरामी छन् ? मानिसको शरीरमा रोग प्रवेश गर्ने नाक, कान, घाँटी रोगको बारेमा सरकार वा नागरिकको कतिको प्राथमिकता पाएको छ ? हालसम्म नाक, कान, घाँटीको अलग्गै अस्पताल आवश्यक छ कि छैन ? छ भने किन अलग्गै अस्पताल खोल्न सकिएन भन्ने विषयमा केन्द्रित रहेर लोकसंवाद डट कमले इएनटी सर्जन डा. प्रेमलकुमर जोशीसँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंश:
अहिले नेपालमा इएनटीका बिरामीको अवस्था कस्तो छ ?
साधारण भाषामा भन्नुपर्दा इएनटी भनेको नाक, कान र घाँटी हो । पाँच इन्द्रीयमध्ये इएनटीमा चार इन्द्रिय पर्दछ । यो कुरा थाहा नभएसम्म अरु कुरा बुझ्न हामीलाई अप्ठेरो हुन्छ । आँखाबाहेक चार इन्द्रिय इएनटीअन्तर्गत धेरैजसो भाग ओगटेको हुन्छ । मानिसको शरीरमा जति पनि रोग लाग्ने गर्छ, यसको सुरुवात नै इएनटीबाट हुने हो । धेरैजसो रोग सर्ने अथवा शरीरभित्र प्रवेश गर्ने माध्यम नाक, कान र घाँटीबाट नै हो । धेरै प्रतिशतमा रोग यसैमार्फत् सर्ने हो । कसै–कसैको वशांणुगत रोग पनि हुन सक्छ । वा अन्य कुनै कारणले पनि रोग लागेको हुन सक्छ । तर, शरीरभित्र जाने जुन बाटो छ, त्यो पहिलो नम्बरमा आउने स्रोत नै नाक, कान र घाँटीबाट नै हो । त्यसैले हामीले नाक, कान र घाँटीको विषयमा अलिकति बढी नै जागरुक हुनु आवश्यक छ । सार्क राष्ट्रमध्ये नेपालमा सबैभन्दा बढी नाक, कान र घाँटीका बिरामी छन् ।
नेपालमा के कारणले नाक, कान र घाँटीका बिरामी बढी भएका हुन् ?
अरु हरेक कुरामा नेपाल पछाडि छ । तर, नाक, कान र घाँटीका बिरामीमा नेपाल अगाडि छ । यसको पहिलो कारण हो, हाइअल्टिच्युट (डाडाकाँडा) । दोस्रो, खोलानाला । र, तेस्रो, हाइजेनिक खानपिन ।
तपाईंले हेर्नुभयो भने नेपालमा आँखाको अस्पताल मात्रै २०–२५ पाउनु हुन्छ । तर, सबैभन्दा बढी बिरामी भएको नाक, कान र घाँटीको अस्पताल एउटा पनि छैन । तपाईं देखाउन सक्नु हुन्न । अस्पताल छ नभएको पनि होइन । तर, प्रत्येक अस्पतालमा विभाग मात्र पाउनुहुन्छ । तर, त्यसको छुट्टै अस्पताल भने पाउनुहुन्न ।
यसमा विज्ञ–विशेषज्ञको कमी भएर हो अथवा राज्यको प्राथमिकतामा नपरेर हो ?
विज्ञ वा विशेषज्ञ नभएर होइन । विज्ञको कुरा गर्नुहुन्छ भने अमेरिकाको न्युयोर्क सिटीमा जति इएनटीका डाक्टर छ नि त्यसको दोब्बर नेपालमा छ । भनेपछि हामी उनीहरूभन्दा विकसित भयौं त ? डाक्टरहरू मात्रै भएर पनि भएन नि ? डाक्टर र औषधी मात्रै भएर पनि रोग त बढिरहेको छ । रोग घटेर रोगै नभएको भए एउटा कुरा हुन्थ्यो यो कुरा हामीले बुझ्न जरुरी छ ।
के राज्यको प्राथमिकतामा परेन भन्यो भने सही हुन्छ कि गलत ?
राज्यले कतिको हेरिरहेको छ । त्यो त राज्यलाई नै थाहा हुने कुरा भयो ।
तर, कुन रोग र कसलाई प्राथमिकता दिने भन्ने कुरा राज्यले बुझ्ने कुरा हो भन्नु भयो जस्तैः आँखा अस्पतालको छुट्टै चाहिन्छ भनेर खासगरी चिकित्सककै अगुवाइमा अथवा निजी पहल गरेर खोलेको हो अनि तपाईंहरूले त्यो पहल गर्नुपर्छ भन्ने आवश्यकता किन ठान्नु भएन ?
हामीभन्दा सिनियर नाक, कान र घाँटीका डाक्टरले यसमा किन ध्यान नदिएको भन्ने पनि कुरा आउँछ । आउने जेनेरेसनले कसरी राम्रो गर्ने यी कुरा हामीले गर्नैपर्ने हुँदा यो कुरामा हामीले विचार गर्नुपर्ने हुन्छ । अर्को कुरा, मैले नाक, कान र घाँटीलाई प्राथमिकता दिन खोजेको होइन । तर, हामीले महत्व र आवश्यकता जुन कुरा छ, त्यसमा हाम्रो ध्यान जानुपर्यो । त्यो चिकित्सकदेखि राज्यको प्राथमिकतामा पर्नु पर्यो भन्ने हो ।
नाक, कान र घाँटी त रोगको मुहान हो भन्नुभयो । त्यसकारण यीसँग सम्बन्धित रोगको उपचार राज्यको प्राथमिकता बन्नु पथ्र्यो । तर, त्यो बन्न सकेन, किन ?
सास नफेरेर बस्ने मान्छे त कोही पनि छैन होला उसले बुझ्नै पर्ने कुरा हो । तपाईं आँखामा केही पर्नासाथ तुरुन्तै आँखा अस्पताल जानुहुन्छ । तर, कान नसुन्नेले तपाईं ६ महिना बसेपछि पनि डाक्टरकहाँ आउनुहुन्न । एउटा त पहिला राम्रोसँग डाक्टर सबै ठाउँमा पहुँच थियाे कि थिएन भनेर बुझ्नुपर्छ । किन डाक्टरकहाँ आएनन् भनेर यी सबै कुरा सामूहिक रूपमा सबैलाई समेट्ने गरी डाक्टरले पनि बुझाउन सक्नुपर्छ । एक–आपसमा डाक्टरले पनि रोगी किन रोग पालेर बसिरहेका छन् । उनीहरूलाई के–के भनेर डाक्टरकहाँ जानुपर्छ भनेर सम्झाउनुपर्छ । नीति निर्मातालाई बुझाउन पनि पर्ने हुनसक्छ । हिजोअस्ति मात्र मैले कता लेखेको पढेको थिएँ । अब बिरामी जाँच्न होइन, डाक्टरलाई जाँच्न बिरामीकहाँ जाने जस्तो छ हुन लाग्यो । त्यो पढेको कुरा पनि सही हो अबका दिनमा त्यस्तो दिन पनि आउन सक्छ । हामी बिरामीकहाँ आउने होइन कि बिरामीकहाँ हामी जानु पर्ने स्थिति आउन सक्छ ।
मैले अघि पनि भने, नाक, कान र घाँटीका बिरामी सार्क राष्ट्रमै सबैभन्दा बढी नेपालमा छन् । साँच्चै भन्ने हो भने जलवायु हिसावले काठमाडौं विश्वको सबैभन्दा राम्रो ठाउँ हो । तर, यही छ धुलो–धुवाँ, मुख्य स्रोत नै यही हो धुलो–धुवाँ अनि चिसो भनेपछि नाक, कान र घाँटीलाई सबैभन्दा असर गर्ने कुरा पनि यही नै हो ।
तपाईंहरूले खासगरी स्वास्थ्य मन्त्रालय अथवा मेडिकल काउन्सिल कहाँ–कहाँ हो, यो ढोका ढकढकाउने कुरामा तपाईंहरूको कमजोरी भएको छ जस्तो लाग्छ कि लाग्दैन ?
अवश्य कमजोरी त हाम्रै हो । म अरुको कमजोरी देख्दिनँ । पहिला हामी आफै डाक्टरको नै कमजोरी छ । अरुलाई बुझाउन सकिएन । पहिला आफू कस्तो छ त्यो हेर्नुपर्यो हामीले । आफूचाहिँ सुधार नगर्ने अरुले सुधारको अपेक्षा गरेर मात्रै हुँदैन नि । हाम्रो पनि एउटा युनिटी हुनुपर्यो, हाम्रो पनि आफ्नो विचार हुनुपर्यो ।
तपाईंको विचारमा मान्छेलाई रोगमध्येमा नाक, कान र घाँटीको रोग प्रतिशतमा नाप्नुपर्यो भने कति प्रतिशतसम्म हुन्छ होला ?
भर्खरै प्रकाशित तथ्यांक अनुसार ६० प्रतिशतभन्दा बढी रोग नाक, कान र घाँटीबाट भएको देखाएको छ । धेरै रोग आफ्नो ठाउँमा छ । तर, आउने स्रोत त श्वासप्रश्वासको रोग सबै नाक, कान र घाँटीबाटै आउने हो । धेरैजसो प्रायः रोगको मूल स्रोत नाक, कान र घाँटीअन्र्तगत नै पर्ने हुनाले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने मेरो तर्क हो । यो कुरा हामीले तल्लो निकायमा गएर बुझाउन सक्नुपर्छ । रोग भनेको यो हो ? रोग किन लाग्छ ? कसरी लाग्छ ? के कारणले लाग्छ ? एउटा सानो मिस्टेकले भोलि कसरी अप्ठेरोमा पर्न सकिन्छ भन्ने बारेमा जानकारी दिनु आवश्यक छ ।
इएनटीको उपचार नागरिकको कतिको पहुँचमा छ ?
इएनटीको लागि सबैभन्दा सस्तो उपचार पनि छ । तर, पहिले त यहाँ खाली काठमाडौंको तथ्यांक हेरेर मात्रै भएन । तपाईं जानुस् त बाग्लुङमा अहिले भर्खरै १० वर्षपछि मात्रै त्यहाँ एक जना नाक, कान र घाँटीको विशेषज्ञ डाक्टर पुगेको अवस्था छ । यति मात्रै होइन, कतिपय ठाउँमा नाक, कान र घाँटीको डाक्टर पनि हुन्छ र भन्नेहरू पनि नेपाली छन् । हामीसँग भएको जनशक्तिको सही खालको वितरण भएको छैन । यो विषयमा राज्यले ध्यान दिएको छैन ।
त्यसका लागि यहाँहरूको सक्रियता कस्तो हुनुपथ्र्यो होला ?
अहिले त हाम्रो यो स्वास्थ्य पेशालाई राजनीतिककरण गरिएको छ । हाम्रो स्वच्छ पेशालाई को पार्टी, के पार्टीतिर लगिएको छ । चिकित्सकको पार्टी भनेको बिरामी हुनुपर्ने हो । बिरामीलाई राम्रो सेवा दिनु हाम्रो मूल धर्म हो । तर, हामी चिकित्सक पनि राजनीतिक पार्टीका पछि लाग्दा धेरै कुरा बिग्रिएको छ । बिरामी पनि यो पार्टीको त्यो पार्टीको भन्ने मनस्थिति चिकित्सकले पनि पहिला हटाउनु पर्यो ।
तपाईंको विचारमा राज्यले १, २ र ३ भनेर यो–यो काम अब प्राथमिकतामा राख्नुपर्छ भनेर पाँच बुँदा भन्नुपर्यो भने के भन्नुहुन्छ ?
पहिलो कुरा त हामी चिकित्सकले गाउँगाउँमा जान तयार हुनुपर्यो । हामीले काठमाडौंको होटेलमा बसेर सेमिनार गरेर हुँदैन । सेमिनारले मात्र तपाईंकहाँ बिरामी आउँदैनन् । कुन ठाउँमा कस्तो किसिमको सेवा आवश्यक छ, कुन ठाउँमा कस्तो किसिमको वातावरण छ, त्यो जनचेतनाको लागि हामीले गाउँगाउँमै पुग्नुपर्ने हुन्छ । सरकारको तर्फबाट गर्नुपर्ने काम भनेको सबै ठाउँमा सुविधा पुर्याउनु हो । नाक, कान र घाँटीको डाक्टर हरेक ठाउँमा पुग्न सक्नुपर्यो । त्यो नपुगे पनि नाक, कान र घाँटीलाई हेर्न सक्ने अथवा त्यसलाई जाँच्न सक्ने उपकरण र साधन पुर्याउनु पर्यो । कतिपय ठाउँमा नाक, कान र घाँटी हेर्ने साधन नै हुँदैनन् । यस्ता सामान्य पूर्वाधार चाहियो । काठमाडौंमा मात्रै होइन, अन्त पनि सेवा सुविधा दिन सक्नु पर्यो । अर्को सबैभन्दा मुख्य कुरा जुन रोग लागेको छ, त्यो रोगको सही पहिचान हुनुपर्यो र रेफर सिस्टम हुनुपर्यो डाक्टरमा पनि । नाक, कान र घाँटीका बिरामी अर्को डाक्टरले हेरिरहेको हुन्छ, अर्कोको डाक्टरले आफ्नो काम गर्नुपर्यो । कुनै कुरामा केही समस्या छ, उसलाई सम्बन्धित डाक्टरसम्म रेफर गरिदिने सिस्टम छैन । यो हामी डाक्टर आफैले बनाउनु पर्यो । यस्ता कमी कमजोरी हामी चिकित्सकमा पनि छन् । डाक्टरले पनि पहिला आफ्नो काम र कर्तव्य के हो, त्यो बुझ्नुपर्यो । बिरामीले कस्तो अपेक्षा लिएर आएको हुन्छ हामीकहाँ त्यो पनि डाक्टरले बुझ्नु पर्यो । मैले देखे अनुुसार अन्डस्ट्याण्डिङ र काउन्सिलिङको पार्ट चिकित्सकको कमजोर छ । यो सरकार या अरुले गरेर हुँदैन, डाक्टरले नै गर्नु पर्यो । सरकारले नीति बनाउने हो । त्यही डाक्टरलाई कतिले माया गर्ने हुन्छ र त्यही डाक्टरलाई कतिले कुट्ने पनि हुन्छ । यो त डाक्टरमा भर पर्ने कुरा हो । उसको बानी व्यवहारको कुरा, उसको स्वभावको कुरा आफैले पनि विचार गर्नु पर्ने हुन्छ । धेरै कुरा अरुलाई दोष नदिऊँ पहिला आफूबाट सुरु गरौँ ।
आफूलाई आफैले परिवर्तन गरौँ । मैले गर्दा कसैलाई कति फाइदा हुन्छ । आफूचाहिँ केही नगर्ने, सरकारले गरिदियोस्, उसले गरिदियोस् भनेर बसेर मात्रै हुँदैन । सुरुवात आफैबाट गर्नुपर्यो ।