बाबुहरि ज्ञवाली | जीवनदर्शन | साउन ०४, २०७६
नैव तस्य कृते नार्थो नाकृतेनेह कश्चन ।
न चास्य सर्वभूतेषु कश्चिदर्थ व्यपाश्रयः ।। १८
भावार्थ – यस लोकमा कर्मयोगद्वारा सिद्ध महापुरुषका लागि कर्म गर्नु या कर्म नगर्नुमा कुनै प्रयोजन छैन । शब्दस्पर्शादि पार्थिव विषयहरूमा विचरण गरेर पनि उसले कुनै प्रकारको पाप पुण्यको फल भोग्नु पर्दैन् ।
विशिष्टार्थ – जुन व्यक्तिहरू आत्माराम छन् यस लोकमा तिनीहरूका लागि कर्मको तथा अकर्मको कुनै प्रयोजन छैन । साधकले नैष्कम्र्य अवस्था प्राप्तिका लागि कर्म गर्छन्, फेरि आत्म गति पाउनका लागि नैष्कम्र्य अवस्थाको प्रयोजन पनि छ, परन्तु आत्माराम पुरुषका लागि यो जगत् नै आत्ममय छ, अतएव उसका कर्म अकर्म दुबै हुँदैनन्, सबै एक छ । परिपूर्णत्व हेतु उनीहरूमा अभाव नरहनाले प्रयोजन पनि छैन, पाँचै भूतमा विचरण गर्दा पनि असल–खराब फलमा उनीहरूलाई लिप्त रहनु पर्दैन किनकि आत्मज्योतिद्वारा उनीहरूको चित्त विशुद्ध भएर आत्ममय बनेको हुनाले महीमाथिको नौनी जस्तै विषय भित्र रहेर पनि कुनै विषयका साथ मेल हुँदैन, विशुद्ध नै रहन्छ ।
तस्मादसक्तः सततं कार्यं कर्म समाचर ।
असक्तोह्याचरन् कर्म परमाप्नोति पूरुषः ।। १९ ।।
भावार्थ – त्यसकारण आत्मारामत्व लाभका लागि बारंबार अनासक्त भएर कार्य तथा कर्मको आचरण गर । किनकि अनासक्त भएर कर्म गर्नाले पुरुष परमपदमा प्राप्त हुन्छ ।
विशिष्टार्थ – आत्माराम हुनु नै परमपुरुषार्थ हो । आत्माराम हुनाका लागि साधकले कार्य तथा कर्म अनासक्त भएर गर्नु पर्दछ, किन कि निष्कृति (परंपद) पाउनका लागि अनासक्ति नै एक मात्र उपाय हो । अनासक्त कर्मबाट नै मुक्ति लाभ हुन्छ । १७ औं श्लोकमा कार्य भनिएको छ भने यहां कार्य एवं कर्म भनिएको छ । कार्य बाहिरको हो भने कर्म भित्रको; कार्य स्थूल, कर्म सूक्ष्म, कार्यको लक्ष्य विषय, कर्मको लक्ष्य आत्मा, यही पृथकता छ । कार्यद्वारा साधकको शरीर संस्कार हुन्छ, जस्तो सात्विकी आहार, व्यवहार, शौचाचारादि, कर्मद्वारा चित्तको संस्कार हुन्छ, जस्तै – विषयमा वैराग्य, आत्मामा प्रीति इत्यादि ।
आत्माराम हुनाका लागि साधकले कार्य तथा कर्म अनासक्त भएर गर्नु पर्दछ, किन कि निष्कृति(परंपद) पाउनका लागि अनासक्ति नै एक मात्र उपाय हो ।
साधकको मनमा प्रश्न उठ्छ – आसक्ति त्यागको नै यो उपदेश हो भने आत्माराम हुनका लागि इच्छा किन गर्ने ? त्यो पनि त आसक्ति हो । यसको उत्तरमा गुरुदेवले अष्टावक्रको उक्तिलाई उद्धृत गर्दै भन्नुहुन्छ – प्रवृत्तिको आसक्ति त्याग गरेर निवृत्तिमा आसक्त रहनाले अन्तमा समस्त आसक्ति मेटिएर मुक्ति लाभहुन्छ, किन्तु प्रवृत्तिमा आसक्ति रहेमा आसक्ति क्षय हुँदैन,अरु बढ्दै जान्छ । साधना पनि ”कण्टकेनैव कण्टकम्” यस नीति अन्तर्गत पर्छ, कर्मद्वारा त्यसलाई क्षय गर्नू ।
कर्मणैव हि संसिद्धिमास्थिता जनकादयः ।
लोकसंग्रहमेवापि संपश्यन् कर्तुमर्हसि ।। २० ।।
भावार्थ – जनकादि महापुरुषहरूले कर्मद्वारा नै परमसिद्धि प्राप्त गरेका थिए, त्यसकारण एकमात्र लोक संग्रह तिर दृष्टि दिएर नै तिमी कर्म गर्न योग्य छौ ।
विशिष्टार्थ – जसले जन्म दिन्छ त्यो जनक हो । जसले प्राणायाम रूप हलो चलाएर शरीररूप क्षेत्रलाई कर्षण गरेर सीता रूप शुद्धमतिलाई लाभ गर्छन तिनै जनक अर्थात् योगी हुन् । ”जनकादय” भन्नुको तात्पर्य पहिले पहिलेका साधकहरू जसले शुद्धमति प्राप्त गरेका थिए ती सबैले कर्मद्वारा नै ब्राम्हीस्थिति प्राप्त गरका थिए । त्यो कर्म कसरी गर्नु पर्छ यही कुरा यहाँ वताइएको छ – लोक अर्थात् भूलोकदेखि सत्यलोकसम्म सप्तलोक जसमा संग्रहित छन् अर्थात् जसमा मूलाधारस्थ भूलोक लय भएर समेटिएर स्वाधिष्ठान – भुवर्लोकमा मिलेर पछि भुवःसमेटिएर मणिपुर – स्वर्लोकमा, स्वः अनाहत महर्लोक, महः विशुद्ध – जनलोकमा, जन आज्ञा– तपोलोकमा तथा तपः सहस्रार सत्यलोकमा यसरी लय योग गरेर मिल्दै मिल्दै एक मात्र सत्य ब्रम्हमा शेष हुन्छ । त्यतैतिर दृष्टि दिएर अति सावधानीपूर्वक कर्म गर्नु पर्छ । (प्रणायामद्वारा लोक समूह संग्रह गर्न लायक दृष्टि स्थिर हुन्छ (२५ औं श्लोक हेर्नुहोस्) । (कुन प्रकारको दृष्टि राखेर क्रिया गर्नु पर्छ भन्ने कुरा पहिले श्री गुरुदेवबाट सिक्नु पर्छ, पछि क्रिया योगमा निजबोधद्वारा क्रमशः सबै थाहा हुन्छ ।)
यद् यदाचरति श्रेष्ठ स्तत्तदेवेतरो जनः ।
स यत् प्रमाणं कुरुते लोक स्तदनुवर्तते ।। २१ ।।
भावार्थ – श्रेष्ठ पुरुषहरू जस्तो जस्तो आचरण गर्दछन् अरू मानिसहरू पनि त्यसैको अनुसरण गर्दछन् । ती श्रेष्ठ पुरुषहरू जुन जुन कुरा प्रमाणित गर्दछन् अन्य मानिसहरू त्यसैलाई आदर्शको रूपमा लिन्छन् ।
विशिष्टार्थ – (इच्छाको लेशमात्र पनि मनमा रहनु हुँदैन, पूर्णरूपले अनासक्त हुनु पर्छ । यदि यस्तो हो भने लक्ष्य स्थिर गरेर कर्म गर्नाले इच्छाको प्रयोग विना कसरी लोक संग्रह होला ? यस्तो अनुमान गरिएको प्रश्नको उत्तर स्वरूप यो श्लोक भनिएको छ ।)
जे जति उत्पन्न हुन्छन ‘जन’ शब्दको अर्थमा ती सबै पर्छन्, अतएव इन्द्रिय तथा इन्द्रियवृत्ति समूहलाई पनि त्यसै अन्तर्गत जान्नुपर्छ । जन समूह भित्र श्रेष्ठ मन हो । मनले जे जस्तो निर्णय गर्दछ अथवा जुन दिशातिर जान्छ इन्द्रिय वृत्ति समूह त्यही गर्छ तथा त्यही दिशातिर जान्छ । मन जुन विषयतिर जान्छ त्यस विषयको भोग गर्ने इन्द्रियहरू तत्कालै उत्तेजित हुन्छन् । मनमा यदि भय, दुःख आदिको प्रकाश पर्छ भने अरू इन्द्रियहरू निस्तेज हुन्छन् । मन यदि सत् चिन्तामा निमग्न रहन्छ भने इन्द्रियहरू पनि निर्विकार अवस्थामा रहन्छन् । मनको अवस्था सदैव एक रसको रहदैन । आज जसलाई अत्यन्त प्रीतिकर अतितृप्तिकर अनुभवका साथ भोग गर्ने इन्द्रियहरूद्वारा भोग गर्दछ भोलि त्यही चीज मन परिवर्तनका कारण ती इन्द्रियहरूका लागि रुचिकर बन्दैन । यसबाट संझनु पर्दछ – सबैले इन्द्रियवृत्तिहरू मनका अनुगामी हुन्छन् । अतएव यदि त्यस मनलाई क्रमानुसार मूलाधारबाट सहस्रारमा उठाएर आत्मामा मिलाई दिने हो भने तलतिरका वृत्ति समूह पनि तत्वका साथ समेटिएर आत्ममिलनका साथै आत्म सत्वामा परेर सबै आत्ममय वा ब्रम्ह नै हुन्छ । यो स्वाभाविक नियम हो, यो आपैm हुन्छ, यसकोलागि कुनै चेष्टा गर्नु पर्दैन । चेष्टाभित्र केवल आसक्ति विहीन भएर प्राणक्रिया गर्नु पर्दछ, यत्ति मात्र हो ।
न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किंचन ।
नानावाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।। २२ ।।
जसले प्राणायाम रूप हलो चलाएर शरीररूप क्षेत्रलाई कर्षण गरेर सीता रूप शुद्धमतिलाई लाभ गर्छन तिनै जनक अर्थात् योगी हुन् ।
भावार्थ – हे पार्थ ! तीनै लोकमा मेरो केही पनि नियत कर्म छैन, अप्राप्त तथा प्राप्तव्य पनि केही छैन, मात्र कर्ममा वर्तमान छु ।
विशिष्टार्थ – भूः, भुवः, स्वः यी तीन शब्दहरूमा नै सम्पूर्ण विश्व समाहित छ । यो प्राकृतिक जगत् एक आत्माबाट नै उद्भूत भएको छ, अतएव यो समस्त जगत् नै आत्ममय एक छ । त्यसकारण यहाँ आत्माका लागि कर्तव्य, प्राप्तव्य तथा अप्राप्त केही पनि छैन । जुन कर्म नगर्नाले आप्mनो अनिष्ट हुन्छ त्यसैलाई कर्तव्य भनेर जान्नु पर्छ । जस्तो वैश्वानर (पेटभित्रको अग्नि) मा प्रतिदिन आहुति नदिने हो भने जीवन रहदैन । त्यसैले त्यो काम मनुष्यको कर्तव्य हो । यसरी नै मानवका लागि प्राकृतिक तथा आध्यात्मिक धेरै कर्तव्यहरू छन् जुन नगर्दा रहन नै सकिदैन । परन्तु परमात्माका सम्बन्धमा यस प्रकारको कर्तव्य केही पनि छैन र रहन पनि सकदैन, किन कि जुन ”आत्मविनिर्गतं” आत्माको अस्तित्वमा जसको अस्तित्व, जसको अस्तित्वमा आत्माको अस्तित्व छैन, यस प्रकार विश्वमा आत्माको कर्तव्य कसरी रहला ? अन्न नै जीवको आश्रय हो, जीव अन्नको आश्रय हैन । आश्रय–आश्रित भाव विचार गर्नाले देखिन्छ शरीरको आश्रय प्राण, प्राणको आश्रय मन, मनको आश्रय जीवात्मा, जीवात्माको आश्रय परमात्मा, उहाँलाई नै उत्तम पुरुष ब्रम्ह चैतन्य अन्न भनेर जान । यही परमात्मा रूप जुन ”म” हो त्यो सबैको आश्रय छ, उसको आश्रय केही पनि छैन – सोही ”म” को कर्तव्य छैन । पदार्थको पृथक सत्वा नरहनाले, अप्राप्त तथा प्राप्तव्य विषयरूप भूत, भविष्यतकालको विभाग रहदैन, कर्म रूपले नै त्यो सर्वथा वर्तमान हो । कर्म प्रवाहमा जीवहरूका लागि भूत, भविष्यत् काल विभाग हुन्छ, परमात्मामा हुँदैन, किन कि जीव स्वल्पज्ञ हुनाले एक कालदर्शी छ, आत्मा सर्वत्र तथा सर्वव्यापी हुनाले सर्वत्र वर्तमान छ ।
उदाहरणका लागि – जस्तै–माटो, पानी, वायु, मेघ यी सबैको भित्र बाहिर सर्वत्र आकाश विद्यमान छ । यस आकाशमा विभिन्न रूप लिएर पानी (जल) चक्राकार प्रवाहमा सर्वदा वर्तमान छ; समुद्र, नदी, खोलानाला आदिको जल वाष्प बनेर वायुमण्डलको आश्रय लिएर माथि मेघाकारमा परिणत हुन्छ र वृष्टिरूपमा पृथ्वी, नदी, सागर आदिमा फेरि जान्छ । यसरी अनन्त प्रवाह चलिरहन्छ, विराम हुँदैन । एउटा जलकणको अनुसरण गरेर हेर्दा त्यो जलकण स्थिर नभएर चंचल छ । जलकण जब नदीबाट गएर सागरमा वर्तमान हुन्छ, तब नदीमा त्यो अतीत हुन्छ, जब सागरबाट वाष्परूप लिएर वायुमा वर्तमान हुन्छ, तब सागरमा उसको अस्तित्व रहदैन –अतीत हुन्छ; अन्तमा जब वृष्टिधारा रूपले पर्दछ, तब पृथ्वीमा वर्तमान हुन्छ र वायुमण्डलमा त्यो अतीत हुन्छ । उसको त्यो अनन्त तथा अवश्यम्भावी उत्थान–पतनरूप प्रवाहको सम्मुखमा–भविष्यत्, पश्चात् दिशामा–अतीत वा भूत, त्यो जलकण सागरमा वर्तमान हुनाले पृथ्वी, नदी पर्वत आदिमा अतीत, वायुमार्गमा भविष्यत्ः, किन्तु आकाशमा यो नित्य वर्तमान छ । अनन्त आकाशसंग जलकणको अस्तित्व सम्बन्धमा जस्तै काल विभाग छैन, त्यसको अप्राप्ति तथा प्राप्तव्य भाव छैन, परमात्मामा त्यस्तै कर्तव्य र काल विभाग छैन ।
यदि ह्यहं न वर्तेयं जातु कर्मण्य तन्त्रितः ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।। २३
क्रमशः
याे पनि
योगको मूल पनि सांख्य, फल पनि सांख्य
जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो
इन्द्रियद्वारा ग्रहण विषयको नाम नै ‘आहार’ हो
भोगको नाम काम हो र आकांक्षा पनि काम हो