बाबुहरि ज्ञवाली | जीवनदर्शन | माघ १५, २०७५
(गीता सुगीता कर्तब्यः किमार्यैः शास्त्र विस्तारै... गीता सनातन
हिन्दु धर्म परम्पराको अद्धितीय ग्रन्थ हो । यस ग्रन्थ माथि सयौ विद्यवानजनले टिप्पणी गरेका छन् । तिलक देखि गान्धी सम्म, विवेकानन्द देखि ओशोसम्म । यस क्रममा विद्यावान ... ज्ञावलीले सम्पूर्ण गीतालाई साधना पद्धतिको स्वरुपमा बर्णित गरेका छन् ।उनको गीतामाथिको व्याख्या नितान्त नौलो एवं रोचक छ । उनको यो लेख श्रंखला हामी नियमित प्रकाशित गर्न गइरेहका छौ । अध्यत्ममा रुचि राख्ने तथा नयाँ पुस्ताको लागि यो श्रृखला रुचिवर्धक हुनेछ भन्नेमा हामी विश्वस्त छौ – सम्पादक)
धृतराष्ट्र उवाच –
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः ।
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय ।। १ ।।
धृतराष्ट्रले सोधे, हे सञ्जय १ युद्धको इच्छाले तीर्थस्थलरूपी कुरूक्षेत्रमा जम्मा भएका मेरा र पाण्डुका छोराहरूले के गरे ?
विशिष्टार्थ – धृतराष्ट्र, ‘धृत राष्टं« येन सः धृतराष्ट्र’ । जसले पहिला नै राज्यलाई धारण गरेको छ त्यो धृतराष्ट्र हो । राष्ट्रको अर्को अर्थ शरीर पनि हो । यस शरीररूपी राज्यमा सुख र दुःखलाई भोग गर्ने धृतराष्ट्र हो । यस शरीरको सुख दुःखको भोक्ता मन हो । मन स्वयंमा शव्दस्पर्शादि विषय लिने शक्ति होइन । उसले ज्ञानेन्द्रियको सहायताले जुन विषय समूहलाई शरीरभित्र ल्याउँछ त्यसलाई मात्र भोग गर्न सक्छ, त्यसैले मन अन्धो हुन्छ । अर्थात सबै धृतराष्ट्र अन्धा हुन्छन।
धर्मक्षेत्रे कुरुक्षेत्रे– सनातन परम्परामा शरीरलाई नै क्षेत्र भनिन्छ । सत्व, रज, तम यी तीन गुणहरूको क्रिया विभाग गरेर यस शरीरलाई तीन अंशमा विभक्त गरिएको छ । दश इन्द्रियहरू (कर्ण, त्वक, चक्षु, जिहृा, नासिका यी पांच ज्ञानेन्द्रियहरू; वाक्, पाणि, पाद, वायु, उपस्थ यी पांच कर्मेन्द्रियहरू) यसको प्रथम अंश हो । मेरूदण्डलाई आश्रय गरेर मूलाधारदेखि सहस्त्रारसम्म पैmलिएको जुन सुषुम्ना नाडी छ यससंग संलग्न षट्चक्र (मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध, आज्ञा) द्वितीय अंश हो र आज्ञाचक्र देखि माथि सहस्रार पर्यन्त दशाङ्गुल स्थान तृतीय अंश हो ।
प्रथम अंशमा बाह्य जगतका क्रियाहरू सम्पादित हुन्छन् । यो स्थान रज तथा तम प्रधान हुन्छ । यहां सत्त कर्म प्रवाह विद्यमान हुनाले यसको नाम कार्यक्षेत्र वा कुरुक्षेत्र भएको हो ।
द्वितीय अंश– जुन मन, बुद्धिको लीला भूमि हो, जहांबाट सूक्ष्मभूत समूह बहिर्मुख भएर इन्द्रियहरूलाई क्रियाशील वनाउंछन् फेरि अन्तर्मुख भएर आत्मज्योतिलाई प्रकाशित गर्दछन्, सुषुम्ना संलग्न यी षट्चक्रहरू रज तथा सत्व प्रधान हुन्छन् । यो द्धितीय अंश धर्म र कर्म दुवैको आश्रय भूमि हो । अतः यसको अंश रज र सत्व प्रधान हुनाले पनि विशेष विशेष स्थानमा ती दुवै गुणहरूको क्रिया अल्पाधिक परिमाणमा हुन्छ । जुन स्थान मूलाधारको समीप एवं कुरुक्षेत्रको निकट छ त्यहां रजोगुणको परिमाण अधिक र सत्वगुणको पमिाण कम हुन्छ । त्यस्तै जुन स्थान आज्ञाचक्रसंग जोडिएको र धर्मक्षेत्रसंग निकट छ त्यहां सत्व गुणको परिमाण अधिक र रजोगुणको परिमाण कम हुन्छ । मूलाधारदेखि आज्ञाचक्रसम्म पैmलिएको यस अंशको वीचमा अर्थात् मणिपुर चक्रमा ती दुवै रज र सत्व गुणहरूको परिमाण बरावर हुन्छ, अतः यहां समानवायुको अवस्थिति छ यो जुन धर्म क्षेत्र कुरूक्षेत्रको कुरा यस श्लोकमा गरिएको छ, यही नै योगमार्ग हो । क्रियाविशेषद्वारा यस योगमार्गको भित्रबाट त्यस आज्ञाचक्रलाई भेदन गरी परम शिवमा कुल कुण्डलिनी शक्तिसंग गएर मिल्नुको नाम नै योग हो ।
मन विकारग्रस्त हुनाले नै विषयमा आशक्त हुन्छ र विचारमुक्त हुनाले सद्वस्तु ग्रहण गर्न समर्थ हुन्छ । अतएव पहिलो मानसिक विकारको फल हो, त्यसकारण मामकाः र दोस्रो मानसिक विचार अर्थात् ज्ञानको फल हो त्यसकारण पाण्डवाः ।
मामकाः पाण्डवाः – मामकाः मनोवृत्तिहरू र पाण्डवाः बुद्धिवृत्तिहरू हुन् । विपरीत ज्ञानलाई प्रकाश पार्ने वृत्ति मनोवृत्ति हो भने स्वरूप ज्ञानलाई प्रकाश पार्ने वृत्ति बुद्धिवृत्ति हो । विपरीत भन्नाले ऐनामा देखिने छाँयामूर्ति जस्तो हो, मनले त्यसलाई छाँयाको विकास मान्दछ, परन्तु बुद्धिद्वारा निश्चय गरी हेर्दा त्यो कायाको स्वरूप विकास नभएर विपरीत विकास हो अर्थात् शरीरको दाहिने अंश छाँयामा वांया अंश रूपले देखिन्छ । हाम्रा प्राचीन महर्षिहरूले भनेका छन्– विश्वं दर्पण दृश्यमाननगरी तुल्यम् । तद्रूप आत्मज्ञान र जगद्भ्र काया छाया सम्बन्ध जस्तै हो । मनले प्रत्यक्ष देखेको कुरालाई सत्य मान्दछ र त्यसैमा आकृष्ट भएर संकल्प विकल्परूपी क्रिया गर्दछ । मन इन्द्रियहरूमा प्रधान हुनाले र इन्द्रियग्राह्य विषयहरूद्वारा परिवेष्ठित रहनाले सर्वदा विषयमा आसक्त रहन्छ, किन कि संगद्वारा नै आसक्तिको उत्पत्ति हुन्छ– संगात् संजायले कामः । अतः भगवान् श्रीकृष्ण भन्नुहुन्छ –‘अन्तःकरणको जुन प्रवाह केवल विषयतिर हुन्छ त्यसैलाई मनोवृत्ति भनेर जान्नू’ । यो प्रवाह स्थान विशेषमा दिक्भेद गरेर भिन्न भिन्न भावद्वारा तरंगायित हुन्छ । त्यो एक एक तरंगलाई एक एक वृत्ति भन्दछन् । त्यो जुन विषयाभिमुखी स्रोतका विभिन्न भंगिमा हुन् यिनै मामका अर्थात् कामनाहरू हुन् । यी सबै धृतराष्ट्र (मन) का शतपुत्र वा दुर्योधनादि सय भाइ हुन् । यी सबै प्रवृत्तिलाई (संसारमुखीवृत्ति अथवा अकर्तव्यनिचय) भन्दछन् । जस्तो –काम,क्रोध, लोभ, मोह, मद, मात्सर्य, निद्रा,आलस्य,राग, द्वेष, स्नेह, ममता इत्यादि । बुद्धिले सामुन्नेमा जसलाई देख्छ उसैलाई निश्चय गर्छ । अर्थात् नाप्दछ । आत्मा नै यसको नाप्ने मानदण्ड हो र मापनबाट वस्तु दुई अंशमा विभक्त हुन्छ । प्रथम सत् (तदर्थीय कर्म परिणामी भए ता पनि सत्मा पुर्याउने सबै यसै अन्तर्गत पर्छन्) जुन नित्य र अपरिणामी हो । द्वितीय –असत्, जुन अनित्य र परिणामी छ । आत्माको तुलनामा सत् र असत् रूपद्वारा वस्तु विभाग गर्नुलाई वस्तुविचार भनिन्छ । यस वस्तु विचारमा आत्मा मानदण्ड हुनाले बुद्धिवृत्ति अतीव सूक्ष्म भावले तथा निरवच्छिन्नरूपले आत्मा तिर प्रवाहित हुन्छ, यही अन्तः करणको दोस्रो प्रवाह हो । यो पनि भूत समूहको संयोगले भिन्न भिन्न भावहरूमा तरंगायित हुन्छ । आत्माभिमुखी प्रवाहको विभिन्न भंगिमा नै पाण्डवाः अर्थात् कर्तव्यनिचय हो । यी सबैलाई निवृत्ति (असंसारमुखीवृत्ति) भन्दछन् । जस्तो– विवेक, विचार, वैराग्य, शम, दम, तितिक्षा, उपरति, श्रद्धा, समाधान, मुमुक्षुता इत्यादि ।
मनुष्यमा सदैव यी दुई प्रवाह क्रियाशील रहन्छन्, त्यसको फल स्वरूप विभिन्न विषय संसर्गद्वारा चाहे त्यो प्रथम होस् वा द्वितीय या दुवै नै मिश्ररूपले अदलावदली गरेर केही समयका लागि प्रबलतर भएर उठ्छन्, परन्तु कुनै पनि स्थायी हुंदैनन । परन्तु बैज्ञानिक विद्युत कोषमा विद्युत प्रवाहका दुवै मुख जोडिदिंदा जसै दुवै प्रवाहको भित्र एक अभिभूत दोस्रो प्रवलतर भएर वृत्ताकाररूपमा अखण्ड स्रोतमा बगिरहन्छ, त्यस्तै यदि अन्तःकरणका यी दुवै वृत्तिहरूलाई कुनै प्रकारले क्रिया विशेषद्वारा युक्त गरिदिने हो भने पहिलो वृत्ति (विषयाभिमुखी) अभिभूत हुन्छ र दोस्रो वृत्ति (आत्माभिमुखी) प्रवलतर भएर निरन्तर आत्मातिर प्रवाहित भै नै रहन्छ, यही युक्तावस्था वा योगस्थ भएको कर्मावस्था हो । यस अवस्थाले ऊध्र्वगतिमा ल्याएर भूत र भविष्यत् नामक काल विभागलाई हटाएर केवल वर्तमानलाई मात्र विद्यमान राख्दछ र यसरी त्रिकालज्ञ वनाइ दिन्छ । यही चरम निवृत्तिको पहिलो सोपान हो ।
समवेता युयुत्सवः – धर्मक्षेत्र कुरुक्षेत्र नै योगमार्ग हो । युद्ध गर्ने इच्छा भएर नै यस स्थानमा समवेत (सम्मिलित) हुनु पर्दछ, अर्थात् साधकको संसार भ्रमलाई आत्मज्ञानमा लय गर्नु छ भने यस स्थानमा आउनु पर्दछ, यहां आउनाले साधकलाई दर्शन हुनेछ – धेरै पुञ्जीकृत संस्कार क्रमानुसार आएर उसमाथि आक्रमण गर्दछन् र लक्ष्य भ्रष्ट गरेर धेरै टाढा हुत्याइदिन्छ, फेरि त्यस्तै एकत्रित अर्को संस्कार मनमा आएर धृति, उत्साह आदि शक्ति उत्पन्न गरेर उनीहरूलाई पुनः लक्ष्यतिर पठाउंछ । प्रथम संस्कार समूह विषय संसर्गजन्य र दोस्रो सत्संसर्गजन्य हो । मन विकारग्रस्त हुनाले नै विषयमा आशक्त हुन्छ र विचारमुक्त हुनाले सद्वस्तु ग्रहण गर्न समर्थ हुन्छ । अतएव पहिलो मानसिक विकारको फल हो, त्यसकारण मामकाः र दोस्रो मानसिक विचार अर्थात्् ज्ञानको फल हो त्यसकारण पाण्डवाः । मनको संकल्प विकल्प परित्याग गरेर जुन अवस्था अथवा वुद्धिको क्रिया संक्रम हुन्छ, फेरि मेटिन्छ पनि, परन्तु सिद्धान्त स्थिर हुंदैन, यस प्रकारको अवस्था नै मानसिक विचारको अवस्था हो ।
गुरूपदिष्ट क्रियाकालमा मन सूक्ष्मावलम्बी हुनाले त्यसको विस्तार हुन्छ अनि त्यसको संकीर्णता नष्ट हुन्छ, अतः यस जन्मका र पूर्वजन्मका अर्जित सुकर्म संस्कार समूह प्रत्यक्ष भइरहन्छन् । आजन्म विषय वासनाद्वारा जडित रहनाले साधकको विषय संस्कार सत्संस्कार भन्दा अधिक शक्ति सम्पन्न भएर उसलाई लक्ष्य भ्रष्ट तथा वशीभूत गर्दछ, परन्तु कुटस्थ चैतन्य श्रीकृष्ण सतत जागरूक रहनाले उहांको आलोकले सत्संस्कार समूह पुनरु्दभासित भएर उसलाई पुनः लक्ष्याभिमुखी वनाउंदछ । यो विषय संस्कार नै प्रवृति र सत्संस्कार नै निवृत्ति हो । समुद्रमा उठेको उत्ताल तरंग जति माथि उठेतापनि पानीको पुनराकर्षण शक्तिले त्यसलाई विशाल सागरमा पुनः मिलाइदिन्छ अर्थात् विकर्षण र आकर्षणद्वारा उत्पन्न तरंगहरू समुद्रमा नै मिल्दछन्, त्यस्तै धैर्य धारण गरेर गुरूपदेश अनुसार क्रिया गर्दै रहंदा प्रवृत्ति समूह जति प्रबल भए तापनि अन्तमा साधक विशाल शान्ति सागर (ब्रम्हपद) सम्म पुगेरै छाड्छ । सत् चेष्टाशील साधकलाई मात्र यो आक्षेपण र विक्षेपणको ज्ञान हुन्छ । क्रियाको प्रारम्भ देखि नै यो आक्षेपण र विक्षेपण भइरहन्छ, अतः युयुत्सु हुनाले नै समवेत हुनु पर्दछ भनिएको हो ।
किमकुर्वत संजय – दशौं दिनको युद्धमा भीष्म पितामह रथबाट ढलेपछि रणक्षेत्रबाट हस्तिनापुर (कर्मक्षेत्र, जहाँ धृतराष्ट्र वा मन रहन्छ) मा संजय आएर भीष्मको पतनको कुरा सुनाउनका लागि उपस्थित हुँदा धृतराष्ट्रले संजयसंग युद्धको हालखवर सोध्छन् । संजयले युद्धको विवरण क्रमानुसार श्रीकृष्णार्जुन संवाद (गीता) रूपमा वर्णन गर्दछन् । यसको अर्थ हो– मणिपुरस्थ दशदल अत्तिक्रमण गरेर चित्राको भित्र प्राणवायु प्रवेश गराउनाले नै कुलकुण्डलिनी चैतन्ययुक्त हुन्छे, अनि साधकको ब्रम्हज्ञान अभिभूत भएर वैषयिक अहंत्व–अर्थात् चिदाभास वा अस्मिता जुन दशै दिशामा व्याप्त भएर जीवहरूको जीवत्व प्रतिपादन गरिरहेको छ) निस्तेज हुन्छ । यसैलाई भीष्मको पतन भनेर निर्देश गरिएको छ । कुलकुण्डलिनीलाई जाग्रत गर्नाले स्थिर आत्मज्योति प्रकाश गर्ने मानसचक्षुको उदय हुन्छ, त्यस चक्षुद्वारा तीनै काल (भूत, भविष्यत्, वर्तमान) का घटनाहरू प्रत्यक्ष हुन्छन् । तत्पश्चात् विकर्मको ताडनले जव साधक फेरि कर्मक्षेत्रमा अवतीर्ण हुन्छ, तव विषयहरूद्वारा वेष्टित भएपछि आत्मज्योति परोक्ष हुँदा पनि उसको स्मृति जागरूक रहन्छ । त्यस स्मृतिले धर्मक्षेत्र कुरूक्षेत्रमा शुरूदेखि अन्त्यसम्म संघटित व्यापार समूहको छाँयामात्र मनमा उदय भइरहन्छ, अनि साधक ती व्यापारहरूलाई लिएर मनमनै प्रश्न गरिरहन्छ र ती प्रश्नहरू दिव्यदृष्टि (गुरूपदिष्टक्रिया लव्ध) शक्तिद्वारा (प्रत्यक्षीभूत) भइरहन्छन् । यसैलाई गीतामा धृतराष्ट्र सञ्जय सम्वादरूप कथन भनिएको छ । साधकको जाग्रत अवस्थाको नाम धृतराष्ट्र र उसको क्रियालव्ध मानसद्दृष्टि, अन्तर्दृष्टि वा दिव्यदृष्टिको नाम संजय हो ।
क्रियाको प्रारम्भ देखि चिदाभास नष्ट हुँदासम्म प्रवृत्तिको ताडना र निवृत्तिको प्रेरणा आदि जुन जुन घटनाहरू उपस्थित भए तिनीहरूको आनुपूर्विक स्मरण गर्नु नै साधकको उद्देश्य हो । यसपछि के गरें, त्यसपछि के गरे यसरी स्वकृत अतीत घटना समूह चिन्तन गरेर स्मरण गर्दै जाँदा मनमा जुन प्रकारका प्रश्नहरू उव्जन्छन् यो पनि त्यस्तै प्रकारको सरल प्रश्न हो । अतएव धृतराष्ट्रले संजयसंग यस्तो प्रश्न किन गरे यस प्रकारको सन्देह हुनुको कुनै कारण छैन ।
सञ्जय उवाच –
दृष्व्टा तु पाण्डवानीकं व्यूढं दुर्योधन स्तदा ।
आचार्यमुपसंगम्य राजा वचनमब्रवीत् ।।२।।