एकता प्रक्रिया साउनसम्म सकिन्छ : प्रचण्ड

एकता प्रक्रिया साउनसम्म सकिन्छ : प्रचण्ड
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन ०७, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रक्रिया अब करिब–करिब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘४१ औं पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनसम्म सकिने जिकिर गर्नुभयो । ‘एक–दुई औपचारिकता दिन मात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी एकता टुङ्ग्याउँछौं,’ उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य यही साउनभित्र पार्टी एकताका बाँकी रहेका काम पनि टुंग्याउनेछौं, स्थायी कमिटी तथा केन्द्रीय कमिटीको बैठक पनि बस्नेछौं ।’ उहाँले केन्द्रीय कमिटी बैठकबाट देशव्यापीरूपमा कार्यक्रम बनाएर जनतासमक्ष समेत जाने बताउनुभयो । 

उहाँले अध्यक्ष दाहालले पुष्पलालले देखेको सपना आफूहरुले पार्टी एकता गर्दै जनवादी क्रान्ति मौलिक ढंगले पूरा गरेको धारणा राख्नुभयो । उहाँले पुष्पलाल नै विभाजित पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेर विसं २०२५ मा गोरखपुर सम्मेलनमार्फत् एउटा झण्डा उठाएको समेत बताउनुभयो । नेता दाहालले पुष्पलालको मानसिक सन्तति आफूहरू भएको उल्लेख गर्दै समाजवादको यात्रा पनि उहाँकै सपनानुसार पूरा गरिने  दृढता व्यक्त गर्नुभयो । 

‘विभाजन भएको पार्टीलाई फेरि एकताबद्ध र आन्दोलित गर्ने,  दीर्घकालीन सशस्त्र संघर्षमार्फत् जनवादी क्रान्ति रणनीति अगाडि बढाउने अनि पञ्चायतका शक्तिसँग मिलेर जाने पहलको नेतृत्व पनि पुष्पलालले नै गर्नुभएको हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले हामी सबै पुष्पलालकै सन्तति र उत्तराधिकारी हौं ।’ 

उहाँले  पुष्पलालले देखेको समाजवाद तथा समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्नका लागि पार्टीलाई विचार र राजनीति, सांगठनिक मूल्य–मान्यता, विधि र प्रक्रियाका आधारमा जनतासँगको सम्बन्धको आधारमा सुदृढ गर्दै जानुपर्ने धारणा राख्नुभयो । 

‘हामी पहिलो पार्टी भएपछि सबै चिज ठीकठाक हुन्छ भन्ने जे विश्वास थियो त्यसमा उठेका यदाकदाका प्रश्नको जवाफ हामीले एकता प्रक्रिया टुंग्याएर, पार्टीलाई सक्रिय बनाएर, जनतालाई परिचालन गरेर गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले आफूभित्र देखापरेका कमजोरीलाई सच्चाएर संकल्प गर्नु नै पुष्पलाललाई सम्झनुको अर्को बाटो रहेको बताउँदै भन्नुभयो, ‘अबको बाटो हामीभित्र देखिएको कमी–कमजोरी सच्याउने पनि हो । आफैलाई धोइपखाली सफा गर्ने कुरा पनि हो । त्यस अर्थमा यो दिवसको औचित्य हुन्छ,’ उहाँले भन्नुभयो । 

कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेकपालाई लोकप्रिय बनाएर स्थापित गर्न सकेमात्र पुष्पलालको सपना साकार हुने बताउनुभयो । उहाँले छिट्टै पोलिटब्यूरो गठन तथा विभागीय र जनवर्गाीय सङ्गठनको जिम्मेवारी बाँडफाँट गरिने  बताउनुभयो । भँगेरीमा संग्रहालय र उद्यान वरिष्ठ नेता नेपालले अहिले मुलुकमा झण्डै दुई तिहाइको कम्युनिस्टको सरकार भएकाले यस अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो । ‘अहिले सरकार सञ्चालनको अभूतपूर्व अवसर छ । यो अवसरलाई खेर जान दिनुहुँदैन,’  उहाँले भन्नुभयो, ‘खेर जान दियो भने फेरि अवसर जनताले दिन्छ कि दिँदैनन् ।’ उहाँले पुष्पलाल जन्मेको ठाउँ रामेछापको भँगेरीमा पुष्पलाल संग्रहालय र उद्यान स्थापना गरिनेसमेत जानकारी दिनुभयो । 

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालले देखाएको बाटामा हिँडेमात्र मुलुक समृद्धि हुने बताउँदै समाजवादको मार्गरेखा कोरिएकाले अबको कम्युनिष्ट सरकारले मुलुकमा समाजवाद ल्याउनुपर्ने बताउनुभयो । 

सो अवसरमा कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यान चम्पादेवीमा रहेको पुष्पलालको शालिकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल र खनाल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेललगायत नेताले फूलगुच्छासहित माल्यार्पण गर्नुभएको थियो । 

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको निधन २०३५ साउन ७ गते आजैका दिन भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत् जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ उहाँले साथीहरूको सहयोगमा  विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो । उहाँले कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएको खबर राससमा छ ।