'गद्दार' पुष्पलाललाई श्रद्धाञ्जली !

'गद्दार' पुष्पलाललाई श्रद्धाञ्जली !

काेमल भट्टराई  |  समाचार  |  साउन ०७, २०७६

आज श्रावण ७  गते नेपाल कम्यिनष्ट पार्टीका संस्थापक महासिचव पुष्पलालको स्मृति दिवश धुमधाम मनाइयो । पत्रपत्रिकाहरुले विभिन्न नेताहरुका उनीबारेको संस्मरणहरु पनि बजारभर पस्के । तर उनको जीवनकालमा आज गुणगान गाउनेहरुले के गरे सम्झँदा उदेक लाग्छ । आखिर  हर आदमी कलाकारहरु त  हुन् नि ! 

पुष्पलाल नेपाली काँग्रेसका सचिव थिए तर उनले नै नेपालमा कम्युनिष्ट पार्टी खोले । उनलाई भारतका कम्युनिष्टहरुले नेपालमा कम्युनिष्ट पार्टी नखोल्न निकै जोड गरेका थिए । उनले काठमाडौंका केही साथिहरुसँग मिलेर कम्युनिष्ट पार्टी खोलिकन छाडे । तर पहिलो महाअधिवेशन नहुँदै उनलाई भारतीय नागरिक र केही बाहुनहरुले भारतको कम्युनिष्ट पार्टीको निर्देशनमा महासचिवबाट बर्खास्त गरे । त्यो पनि अवैधानिक रुपमा । 

पुष्पलाल भारतको जमीनमा पेटभरी खान नपाएर आन्द्राको क्यान्सरबाट सिकिस्त हुँदा उनका अनुयायीहरु उनलाई छाडेर क्रान्तिकारी भइरहेका थिए । उनलाई महासचिवबाट गलहत्याउनेहरु मध्येका शैलेन्द्र कुमार उपाध्याय, डिपि अधिकारी, केशरजंग रायामाझीहरु राजाका हण्डी पचाइरहेका थिए । मनमोहन अधिकारी 'पञ्चायती व्यवस्था आजको यथार्थ हो’ भन्दै थिए । यसैबखत स्थापनाकालका महासचिव पुष्पलालको निधन भयो । 

आज उनका बारेमा प्रशंशा गरिँदा म कुनैबेलामा गाइएको गीत सम्झन्छु । ‘भन्छ पुष्पलाल, नेपाली काँग्रसको नम्वरी दलाल’ । यो त गीत त थियो, यसका शब्दहरु विलाए । तर केही वैचारिक मुखपत्रमा लेखिएका मेटिएका छैनन्— म यहाँ पुनः नयाँ पुस्ताका लागि लेखिदिन्छु पढ्नुहोस् र कतै आज तपाईंहरुले गाली गर्नुभएका सहयोद्धाहरु तथा नेताहरुलाई भोलि महान भन्नु नपरोस् । 

पुष्पलाल बाचुञ्ज्याल सबै कम्युनिष्ट गुटउपगुटका दृष्टिमा ‘गद्दार’, 'निच’  र ‘पदलोलुप’ भइरहे । उनीहरुका नजरमा पुष्पलाल कस्ता थिए भने  ‘चेहरा बदल्दै क्रान्तिकारी ... हरुलाई भ्रम र धोका दिने क्रान्तिको .... सबभन्दा ठूलो संसोधनवादी दुश्मन र जघन्य अपराधी’ 'नेतृत्वको लोभी, पदलोलुप, पतित चरित्र भएको काँग्रेसी दलाल’  ‘सार्है नै अवसरवादी र षडयन्त्रकारी अधम योजना लिएर अघि बढेको’ ब्यक्ति थिए ।

'उनको नेतृत्वलाई समर्थन गर्ने एकजना पनि सक्रिय, पेशेवर र इमान्दार कार्यकर्ता बाँकी’ नरहेको ' र आज ऊ दुधबाट माखो जस्तै क्रान्तिकारी कम्युनिष्ट र जनताको तीव्र घृणाको पात्र’ हो ।

वि. सं. ३० को दशकमा उनी कुख्यात गद्दार भइसकेका थिए सबै राजावादी तथा भारतपरस्त कम्युनिष्ट नेताहरुका आँखामा । यिनका विरुद्ध मोहनविक्रमसिंहले त  'गद्दार पुष्पलाल’ नामक पुस्तक नै लेखे । जसरी कार्ल काउत्स्कीलाई 'गद्दार काउत्स्की’ लेखेका थिए । धेरैपछि मोहनविक्रम सिंहले पुस्तकको नाम फेरे तर समयमा गर्नुपर्ने काम सम्मन्न भइसकेको छ तर हालपनि गद्दार नै भनिरहेका छन् ।

त्यस दशकमा पुष्पलाल सेना विनाका सेनापति भइसकेका थिए, उनको अस्तु ल्याउनेमा केही व्यक्तिहरुमात्र बाँकी थिए ।

अहिले उनका शालिक र तस्वीरमा माला अर्पणेहरु लाखौं छन् । यस पक्तिमा म पनि सामेल हुँदै उहाँमा हार्दिक श्रद्धाञ्जली गर्दछु ।

 

पुष्पलाललाई गरिएका गालीका पंक्तिहरु मदन भण्डरीको मुक्ति मोर्चा समूहको मुखपत्रअंक ६, २०३४ असोज पृष्ठ ४–१६ बाट लिइएका हाे । सम्पादक