लोकसंवाद संवाददाता | समाचार | साउन ०९, २०७६
माेरङ । विराटनगर महानगरपालिकाले २०७६ साउन ८ गते बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालनमा ल्याएकाे छ ।
वल्र्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालनमा लुयाइएकाे हो ।
पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल (कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण (भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर(मेनरोड) र ट्राफिक चोकमा याे सेवा शुरु हुने बताइएकाे छ ।
जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि एक सय मिटर क्षेत्रमा एकसाथ २५० देखि ३५० जनाले तीन एमबिपिएस सेवा उपभोग गर्न पाउने जनाइएकाे छ । सो सेवा पाँच वर्षका लागि लिङ्कले निःशुल्क रुपमा उपलव्ध गराउने छ ।
नगरप्रमुख भीम पराजुलीले कञ्चनबारीबाट सेवा सञ्चालन शुभारम्भ गर्दै निःशुल्क वाइफाईले युवालाई महानगरपालिकासँग जोड्न खोजेको बताउनुभयो । पराजुलीले नगर क्षेत्रमा निःशुल्क वाइफाईसेवा उपलव्ध गराउने नीति र कार्यक्रमअनुसार साउन महीनाभित्रमा ३२ स्थानमा सेवा सञ्चालन गर्ने योजनाअनुरुप आजदेखि कार्यशुरु गरेको जानकारी दिनुभयो ।
प्रमुख पराजुलीले यसपछि आगामी कात्तिक महीनाभित्रमा नगरका प्रमुख चोकमा थप ५० स्थानमा वाइफाई जडान गर्ने योजना रहेको बताउनुभयो । सहयोगी संस्था वल्र्डलिङ्कका विराटनगर सहायक प्रबन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको धारणा राख्नुभयो ।