सुशोभित सिंह सक्ताक्त | खेलकुद | साउन १३, २०७६
भारतीय क्रिकेट टोलीको विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी आफ्नो क्रिकेट जीवनको उत्तरार्धमा छन् । उनी केही समयभित्रै एकदिवसीय क्रिकेटबाट सन्यास लिने मुडमा छन् । यद्यपि, विश्व क्रिकेट मञ्चमा उनको लोकप्रियता भने शिखरमा छ ।
जो कोही पनि खेलप्रेमीको मष्तिस्कमा एउटा प्रश्न जन्मिन्छ- भारतीय क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीको अपार लोकप्रियताको रहस्य के होला ?
के यो एउटा मिथक हो ? तर, धोनीको लोकप्रियतालाई मिथकका रूपमा बुझ्न त्यति सहज छैन । यद्यपि, भारतीय आम जनमानसमा नायकीको जुन एउटा गहिरो छाप छ, त्यसलाई धोनी सहजै स्पर्श गर्छन् । हर कोही आमभारतीयको अन्तःस्करण छुन सक्ने व्यक्ति अर्थात् धोनी उनीहरूको सामूहिक अवचेतनमा बसेका छन् । उनलाई तिनै आममान्छेहरूको अपार आशीष र स्नेह प्राप्त छ ।
महेन्द्रसिंह धोनीले जीवनभर पछिल्लो क्रममा रहेर ब्याटिङ गरे । यो आफैंमा कठिन एवम् धैर्यपूर्ण दायित्व हो । सुरुवाती क्रममा ब्याटिङ गर्नेहरू अक्सर खर्चालु हुन्छन् भने पछिल्लो क्रमका किफायती । हो, उनको यही किफायतीपनमा भारतीय समाजको अभाव, संघर्ष र आत्मत्यागको झलक देखिन्छ । र, यही झलक धोनीको नियतिको रूपमा भेटिन्छ । एउटा परिवारको अग्रजझैं जो सबै दुःख-कष्ट सहेर सबैको सुखका लागि समर्पित हुन्छ, जसरी एउटी असल आमा सबै सन्तानलाई खुवाई पियाई आफू अन्तमा जे बचेको छ, त्यही खाएर सन्तोष गर्छिन् । सुरुवाती क्रममा ब्याट्सम्यानहरू अक्सर ठूलो पारी खेल्छन्, शतक लगाउँछन् र कीर्तिमानी नायकत्वको श्रेय लिन्छन् । छैठौं क्रममा जो खेल्छ, यदि सुरुवाती ब्याट्सम्यानहरूले राम्रो खेले भने उसका लागि गर्नुपर्ने खासै केही रहँदैन । तर, सुरुवाती क्रमको खेल बिग्रियो वा कमजोर भयो भने छैठौं अर्थात् पछिल्लो क्रममा रहेर खेल्नेका लागि हिमालय पर्वतझैं जिम्मेवारीको बोझ बोक्नु पर्छ । क्रिकेटरमा अक्सर यस्ता दुर्भाग्यपूर्ण क्षणहरूलाई परास्त गर्न भारतीय क्रिकेटमा महेन्द्रसिंह धोनी प्रभावशाली रहेका छन् । धोनी यदि चौथो क्रममा रहेर खेल्थे भने उनका लागि जीवन अत्यन्त सहज हुन्थ्यो, ३० शतक लगाउँथे अनि १५ हजार रनका साथ रिटायर्ड हुन्थे । तर, उनले त्यो चाहेनन्, आफूभन्दा पछिका युवा र तुलनात्मक अनुभवहीन खेलाडीभन्दा पछि रहेरै भिड्न स्वीकार गरे । उनी एक स्वाभाविक स्ट्राइककर्ता त होइनन् । तर, खेलको लगभग अन्तसम्म उनलाई आउट गर्न पनि कहिल्यै सहज भएन । धोनीले जीवनमा निकै लामो संघर्ष र बेचैनीपछि भारतीय क्रिकेटमा आफ्ना लागि ठाउँ बनाउन सकेका हुन् । उनको जीवनको त्यही संघर्ष र बेचैनीलाई आजका लाखौं युवा आप्mनो नियतिसँग जोडेर हेर्छन् । धोनीको क्रिकेटमा भारतीय मध्यमवर्गको मानसिकता पाइन्छ, भलै करिअरका सुरुवाती दिनको केटौले जोशलाई छोड्ने हो भने उनी लामो कपाल पाल्थे र लामा-लामा छक्का प्रहार गर्थे । तर, त्यो बेला उनी टिममा नयाँ थिए र उनको जिम्मेवारी फरक थियो । समयक्रम र आवश्यकताले धोनीलाई भारतीय क्रिकेट टिमको कप्तान बनायो । त्यो भूमिका स्वयं उनको पनि चाहना थियो । कप्तान हुँदा पनि उनको सोच एउटा मध्यमवर्गीय परिवारको मुखियाझैं थियो । त्यसैले उनले यसरी क्रिकेट खेले जसरी मध्यमवर्गको परिवारको मुखियाले घर चलाउँछ, आफ्नो आम्दानी र खर्चको अनुपातलाई महिनाको अन्तिम तारिखसम्म मिलाएर । धोनीले पनि त्यसरी नै क्रिकेट खेले- आखिरी ओभरसम्म तन्काएर ।
धोनी ४९ औं ओभरमा छक्का मार्छन्, ५० औं ओभरमा लामो हिट मार्न सक्छन् । तर, यसको अर्थ उनी अरु नवशिकारु खेलाडीझैं ३९ औं वा ४२ औं ओभरमा त्यस्तो प्रहार गर्न सक्दैनन् भन्ने होइन । उनीमा सधैं एक मध्यमवर्गीय परिवारले महिनाको बीचमा गर्ने बेपर्वाह भोज–भतेरजस्ता गैरजिम्मेवार व्यवहारसँग सचेत रहने सोच देखिन्छ ।
विज्ञानको नियम कसैको वशमा हुँदैन, क्रिकेट खेल्दा बल हावामा बहकिन सक्छ, खेलाडी आउट हुन पनि सक्छ । लगातार छक्काले मैदानमा जति उत्साह र जयजयकार ल्याउँछ, तत्कालै आउट हुँदाको हताशाको सामुन्ने त्यो केही होइन । त्यसैले ‘बी वान्ट सिक्सर’ (हामी छक्का चाहन्छौं) जस्ता दर्शकदीर्घाबाट आउने आह्वानहरूलाई नसुनेझैं गर्न सक्ने विशेषता धोनीमा विकास भयो । फलतः कति पटक धोनीले प्रशंशकहरूबाटै गाली खाए । तर, त्यसको पर्वाह गरेनन् । उनको मनमा सधैं एउटै कुरा हुन्छ, ‘यदि म आखिरसम्म खेल्न सकें भने टिमलाई जिताउन सक्छु । आखिरीसम्म खेल्न नसके जस्तै नायकत्वको पनि के अर्थ ।’
यो छैठौं क्रममा खेल्ने एउटा ब्याट्सम्यान र लामो समयसम्मको टिम कप्तानको सोच हो न कि लापरवाहीपूर्ण ढंगले बल हावामा उडाउने प्रारम्भिक ब्याट्सम्यानको बेढंगे शैली । धोनीले यही खेल–शैली लगभग सम्पूर्णतासम्म लगे । त्यो सफलता लामो समयसम्म रहे पनि उनको करियरको अन्तिम चरणमा भने थोरै डगमगायो । जुन शैली उनको जीवनको यश बन्यो । तर, उमेरले नेटो काट्न थालेपछिको लगभग अन्तिम दौरमा व्यापक रोष र आलोचनाको कारण पनि बन्यो । सन्दर्भ भर्खरै सम्पन्न विश्वकपको सेमीफाइनलमा जुन बल ४० औं ओभरमा सजिलै प्रहार गर्न सकिन्थ्यो, उनी रक्षात्मक बने । तर, जुन बल कठिन भए पनि हान्नै पर्ने ४९ औं ओभरको बाध्यतामा थिए, त्यो प्रहार गरे । फलतः उनी आउट भए । धोनीको आखिरीसम्मको प्रयासको वाबजुद पनि नाकाम रहनु विडम्वना नै थियो ।
खेल आखिर नियम र कौशलबाट सञ्चालन हुने उद्यम नै हो । खेलाडीहरू आउँछन्, जान्छन् । हारजीत भैरहन्छ । तर, जो खेलाडी मैदानमै छ, उसको व्यक्तित्वको गुण खेल जीवनको समाप्तिपछि पनि उत्तिकै प्रासंगिक रहन्छ । भारतीय क्रिकेटको गौरवशाली वृत्तान्तमा मौजुद बीसौं चम्किला नक्षत्रबीच महेन्द्रसिंह धोनीको ब्याटिङ कौशलले भलै धेरै महत्व नराख्ला । तर, यो सत्य हो कि शतकको वर्षा गराउनेहरूका बावजूद आमजनताको स्नेह ती सिताराहरूले पाएनन्, जति धोनीले पाएका छन् । कुरा केवल खेलको वा जितको मात्र होइन, उनले कसरी खेले, के सोचे, उनको व्यक्तित्वको आयाम कति गहन र गम्भीर छ– भारतीय जनमानसले यी सच्चाइ तल्कालै पहिचान गर्न सक्छ र ती पात्र र घटनाक्रमलाई आफ्नो जीवनको अनुक्रमसँग जोडेर हेर्न थाल्छ । जुन मुलुक राजाभन्दा बढी सन्यासीलाई र धनीभन्दा बढी ज्ञानीलाई आदर गर्छ, त्यसका लागि महेन्द्रसिंह धोनी जस्ता खेलाडीलाई मन-मष्तिस्कबाटै नायक ठान्नु अस्वाभाविक होइन ।