'महोत्सवमा  कुनै विवाद भएको होइन,  कविता नबुझाउने राम्रा कवि हुँ  भन्नेहरुले  गराएका हुन्'

'महोत्सवमा  कुनै विवाद भएको होइन,  कविता नबुझाउने राम्रा कवि हुँ  भन्नेहरुले  गराएका हुन्'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  साउन १३, २०७६

 

प्रा‍.जगतप्रसाद उपाध्याय 

 प्रा‍.जगतप्रसाद उपाध्याय, नेपाल प्राज्ञ–प्रतिष्ठान सदस्य–सचिव र दर्शन विभागको प्रमुख हुनुहुन्छ । करिब दस महिनाअघि सदस्य–सचिवमा तथा नेपाल प्राज्ञ–प्रतिष्ठानको प्रशासकको जिम्मेवारी सम्हाल्नुभएका उपाध्यायको दस महिने कार्यकाल कस्तो रह्यो ? प्रतिष्ठानको परम्परा विपरीत एक पक्षीय प्रतिष्ठान गठन गरिएको भनेर आलोचना मात्र भयो कि प्रतिष्ठानमा काम कार्यवाहीमा कुनै बाधा–विरोध भएको छ/ छैन ? किन प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सव विवादमा पर्छ भन्ने लगायतका विषयमा केन्द्रित रहेर लोकसंवाद डट कमले  सदस्य–सचिव प्रा‍. जगतप्रसाद उपाध्यायसँग अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको मूलअंश:

 यहाँहरू प्रतिष्ठानमा आएको झन्डै एक वर्ष बित्नै लागेको छ, आर्थिक वर्षको काम हिसाबले एक वर्ष बितिसकेको छ, कस्तो रह्यो यो एक वर्षको अनुभव ?

प्रज्ञा परिषद्ले पूर्णता पाएको भनेको २०७५ साल पुस १ हो । परिषद् नभइकन निर्णय नहुने, निर्णय नभइकन कार्यक्रम नहुने हुनाले कतिपय काम कुलपति र सदस्य–सचिवको तहबाटै अनुमोदन हुने गरी हामीले काम गर्‍यौं । तर, विभागहरू गठन नहुँदासम्म र विभागहरूले वार्षिक योजना, नीति, कार्यक्रम नबनाइसकेको अवस्थामा पूर्णरूपमा कूलपति र सदस्य– सचिवले मात्रै काम गर्न सक्ने अवस्था थिएन । तैपनि हामीले केही महत्वपूर्ण कामहरू परिषद्ले पूर्णता नपाएको अवस्थामा पनि गर्‍याै‌, जस्तैः २०७५ असोजको १२, १३ र १४ गते नेपाल– चीन अनुवाद र प्रकाशनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्‍यौं । त्यो अत्यन्तै महत्वपूर्ण रह्यो । त्यसपछि २०७५ कात्तिकमै नेपाली भाषाको उद्गमस्थल दैलेखको दुल्लुमा हामीले बृहत् वाङ्मय संगोष्ठीको आयोजना गर्‍यौं । र, त्यो कार्यक्रम पनि एकदमै महत्वपूर्ण रह्यो । ती महत्वपूर्ण कार्यक्रमहरू पहिले पनि भइसकेका थिए । तर, परिषद्ले पूर्णता पाइसकेपछि २०७५ पुस १ गतेपछि २ गते नै हामीले प्राज्ञिक परिषद्को पहिलो बैठक बस्यो । त्यसले विभागहरू गठन गर्‍यो, विभागीय जिम्मेवारी तोक्यो । त्यसपछि विभागीय प्रमुखहरूको सिफारिसमा लगत्तै विभागमा बस्ने सदस्यहरूको तय पनि भयो, जुन हाम्रा अधुरा कामहरू थिए, ती पनि पूरा गर्‍याैं । आर्थिक वर्षको ६ महिनामा धेरै काम गरेका छौं । 

 तपाईंहरूले जे कार्ययोजना बनाउनुभएको थियो, त्यसको कार्यान्वयनमा सन्तुष्ट हुुनुहुन्छ ?

 हामीले केही अल्पकालीन र तत्कालीन महत्वका कामहरू पनि गरेका छौं । केही मध्यकालीन महत्वका कार्यक्रमहरू पनि गरेका थियौं भने केही दीर्घकालीन महत्वका निर्णयहरू गरेका छौं । नेपालमा २०१४ असार ९ गते ‘नेपाली साहित्य कला एकेडेमी’को नामबाट प्रज्ञा प्रतिष्ठानको स्थापना भएको हो । तर, २०१४ फागुनमा राजपत्रमा ऐन प्रकाशित हुँदाखेरि यसको नाम ‘नेपाल एकेडेमी’ भयो । त्यसपछि २०१९ सालमा यसको नाम फेरवदल गरी ‘रोयल नेपाल एकेडेमी’ राखियो । र, त्यसपछि ‘नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान’ हुँदै २०६४ मा ऐन संशोधन गरी ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ राखियो । यसबाट ललितकला र संगीत नाट्य विधा छुट्टिएर दुईवटा अलग एकेडेमी पनि बनिसकेको अवस्था छ । गणतन्त्रपछि र नेपाल संघीय संरचनामा गइसकेपछि हामीसँग हाम्रो संघीय संरचना अनुसारको लिखित इतिहास छैन । 

नेपालमा गणतन्त्र कसरी आयो र यहाँको संघीय संरचनाबारे हाम्रो पुस्तालाई त जानकारी छ । तर, हामीले नेपालबारे एकमुष्ट बुझाउने ग्रन्थ तपाईंले दिन सक्ने अवस्था छैन । त्यसैले हामीले नेपालका सातवटै प्रदेशको भूगोल, प्रकृति, समाज, जातीय संरचना, त्यहाँको शिक्षाको अवस्था तथा भाषा, संस्कृति, कला सबै समेटिने गरी सातैवटा प्रदेशको छुट्टाछुट्टै रूपमा इतिहास तथा प्रोफाइलको ग्रन्थ तयार गरिरहेका छौं । यस्तै, तिनको सार संक्षेपका रूपमा ‘नेपाल दर्पण’ नामक ग्रन्थ तयार गरिँदैछ । यसरी हामी नेपाललाई चिनाउने खालका आठ वटा ग्रन्थ गरिरहेका छौं । त्यो तयार पार्दाखेरि पनि स्थलगत अवलोकनमा जाने व्यक्तिहरू चयन गरेर, आधिकारिक सामग्रीहरू संकलन गर्ने, ती सामग्रीहरू तथ्य र सत्यमा आधारित छन् कि छैनन् भन्ने जाँच्नका निम्ति उक्त क्षेत्रमा प्रादेशिक तहका कार्यशाला गोष्ठीहरू गर्ने, सम्बद्ध क्षेत्रका विद्धान विदुषीहरूलाई त्यहाँ सहभागी गराउने, आफूले तयार पारेको सामग्री उहाँहरूलाई उपलब्ध गराउने, त्यसमा रहेका कमी–कमजोरीहरूलाई सच्याउनका लागि उहाँहरूलाई फिटब्याक प्राप्त गरेर अनि मात्रै राष्ट्रियस्तरको गोष्ठी गरेर त्यसलाई प्रकाशितयोग्य सामग्री मान्ने हो । यसलाई पहिले नेपालीमा प्रकाशन गर्ने अनिलगत्तै त्यसलाई अंग्रेजीमा अनुवाद गरेर बाहिर ल्याउने र नेपालबारे विश्वभर सूचना दिने उद्देश्यले यो सुरु गरेका हौं । यसलाई हामी राष्ट्रिय गौरवको परियोजनामा यो विषयलाई समावेश गरिदिन आग्रह गरेका छौं । प्रधानमन्त्री यो विषयमा सकारात्मक हुनुहुन्छ । दमकको कार्यक्रममा यो विषयमा बोल्नुभएको हो । 

तपाईँहरूको नियुक्ति...?

 मेरो यसमा भन्ने कुरा बाँकी नै छ । यो कुरामा उहाँ सकारात्मक हुनुहुन्छ र यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गर्न तयार हुनुहुन्छ । अर्को कुरा सदस्य–सचिवले प्रशासन मात्र हेर्ने चलन रहेछ । विभाग हेर्ने चलन रहेनछ । नेपाल प्राज्ञ प्रतिष्ठानको ऐनले नै सदस्य–सचिवलाई यहाँको मुख्य प्रशासक र नियन्त्रक भनेको छ । त्यस हिसाबले मैले प्रशासन त हेर्छु । तर, प्रशासन मात्रै हेर्न म यहाँ आएको होइन । म त प्राज्ञिक मान्छे हुँ, प्राध्यापक पनि हुँ, मैले प्रशासन मात्रै हेर्दा यहाँ एकेडेमीमा आइरहनुपर्दैन थियो । त्यसैले मलाई प्राविधिक विभाग पनि चाहिन्छ भनेर कूलपतिसँग त्यो कुरा राखें । र, सबै प्राज्ञहरूको पनि त्यसमा सकारात्मक समर्थन रह्यो र एउटा विभाग मलाई प्राप्त भएको छ । त्यो हो– दर्शन विभाग । म दर्शनशास्त्रको प्राध्यापक पनि भएको हुनाले मैले दर्शन विभाग आफ्नो जिम्मेवारीमा लिएर प्रशासन हेर्नुका साथसाथै विभाग पनि हेर्ने शिलशिलामा मैले एउटा नयाँ अवधारणा अघि सारेको छु । संसारमा सबैभन्दा जेठो ग्रन्थ ऋग्वेद् मानिन्छ । त्यसपछि शुक्ल यजुर्वेद् लेखियो । शुक्ल यजुर्वेदका धेरै मन्त्रहरू यही भू–भागमा लेखिएका छन् । याज्ञवल्क्यले जनकपुरको कमला नदीको किनारमा बसेर उहाँले बृहत् अरण्यउपनिषद्को रचना गर्नुभयो । त्यो बृहत् अरण्यउपनिषद्का रचना गर्ने शिलशिलामा नै शुक्ल यजुर्वेदका थुप्रै मन्त्रको पनि उहाँले रचना गर्नुभयो । र, त्यहाँका ऋषि– ऋषिकाहरूले पनि रचना गर्नुभयो । 

त्यति मात्रै होइन, जनकपुरमा राजा जनकको दरवारमा शाष्टार्थ हुँदाखेरि अष्टाब्रक्र भन्ने एकजना विद्धान थिए । तिनले ब्रह्मवादी दर्शनको प्रवद्र्धन गरे । 

पौराश्य दर्शनअन्तर्गत न्याय दर्शनको मूल थलो भनेको हाम्रो मिथिला अर्थात् जनकपुरै हो । त्यस्तै कपिलले शांके दर्शनको प्रवद्र्धन गरे । अझ बुद्धको कुरा छ । बुद्ध केही युरोपियनले ‘एसियाका तारा’ भनेका छन्, वास्तवमा उहाँ एसियाका मात्रै होइन, ‘विश्वकै तारा’ हुनुहुन्छ । ‘एसियाको तारा’भन्दा बुद्धलाई खुम्च्याएकोजस्तो देखिन्छ । 

बुद्धले बौद्ध दर्शनको प्रवद्र्धक गर्नुभयो । अहिले संसारभर बौद्ध धर्म फैलिएको छ, त्यसको कुनै सीमा छैन । 

यसरी तमाम ऋषि र दार्शनिकहरू नेपालमै जन्मिए र उनीहरूले नयाँ–नयाँ दर्शन तथा चिन्तनहरू प्रवद्र्धन र विकास गरे । तर, हामीले पूर्खाहरूले प्रतिपादन गरेको दर्शन र चिन्तनलाई आफ्नो बनाउन सकेका छैनौं । 

नेपालमा प्रवद्र्धन भएका दर्शन अंग्रेजीमा अनुवाद गर्दा इन्डियन फिलोसोफी, थर्ट र इण्डोलोजी भनेर बढिरहेका छन् । अहिलेको इण्डिया भनेको त एउटा देश मात्रै जनाउँछ । नेपाल त त्यसमा समेटिएन । त्यसैले नेपालको वर्तमान भूगोलभित्र हाम्रा पूर्खाहरूले जुन तपस्या गरे, साधना गरेर हिमालयको देशमा जुन चिन्तनहरूको विकास र खोजी गरे । त्यो नेपाली दर्शन हो नि । नेपाली भू–भागबाट उद्भव भएको दर्शन हुनाले त्यसलाई नेपाली दर्शनमा खोजी गर्नुपर्छ भनेर मैले ५० जति शीर्षक बनाएको छु । यही वर्ष त्यसलाई हामी परियोजनाको रूपमा अगाडि बढाउनेछौं । यसको २०७५ माघमै निर्णय भइसकेको छ । यो वर्ष त्यसलाई नेपाली दर्शनका रूपमा प्रकाशन गर्ने र प्रकाशन गरिसकेपछि लगत्तै त्यसलाई अंग्रेजीमा अनुवाद गरेर नेप्लिज फिलोसोफी भनेर त्यसलाई ल्याउने हाम्रो उद्देश्य छ । हामीले ६०/६२ वर्षको इतिहासमा नेपाल प्रज्ञा–प्रतिष्ठानले जुन महत्वपूर्ण प्रकाशन गरेको छ । ती प्रकाशन भएका र अहिले दुर्लभ भएका बजारमा माग भएका सामग्री पनि खोजी गरी छाप्ने प्रयत्नमा छौं । करिब २१ पुस्तक छाप्ने निर्णय गरिसकेका छौं । अब त्यति मात्रै होइन, हामीले विगतमा अनुसन्धान भएका तर, छाप्न बाँकी रहेका त्यस्ता सामग्री पनि खोज्दैछौं, जुन नेपालको वाङ्मयका विकासका दृष्टिले महत्वपूर्ण छन् । नेपाली समाजलाई लाभ दिने खालका सामग्री पनि खोजेर प्रकाशन गर्ने तयारीमा लागिरहेका छौं ।

यहाँहरूको नियुक्ति हुँदाखेरि एउटा कुरा आएको थियो । एउटा दलका मात्रै नियुक्ति गरियो अथवा प्रतिपक्ष दलहरूलाई समावेश गरिएन भन्ने विवाद थियो । ६ महिनाको अनुभवले केही फरक हुँदो रहेछ कि रहेनछ ?

 मलाई लाग्छ– यो मान्छेहरूले नबुझेर अथवा नबुझेर लगाएको अरोप हो भन्ने लाग्छ । अहिलेको प्रज्ञा प्रतिष्ठानमा विभिन्न क्षेत्रका प्राज्ञिक तथा कुनै पार्टी नरहेका मानिसहरू हुनुहुन्छ । यहाँ त एउटै पार्टीको भन्नै कुरा नै गलत छ । विभिन्न पार्टीलाई भोट हाले पनि प्राज्ञिक क्षेत्रमा एउटै पार्टी हो भन्ने कुरा बुझ्न जरुरी छ । सत्तारुढ पार्टीसँग कुनै सम्बन्ध नभएका अत्यन्तै विद्धवान र विदुशी मानिस यहाँ हुनुहुन्छ । यहाँ एउटै पार्टी भन्ने नै छैन । विभिन्न पार्टीलाई मात हाले पनि आ–आफ्नो क्षेत्रबाट विज्ञता प्राप्त गरेको मानिसहरू यहाँ समावेश गरिएको छ ।  

 तपाईंहरूलाई काम गर्दाखेरी कुनै खालको चुनौतीको सामना गर्नु पर्‍यो कि परेन ?

 होइन, हामीलाई त्यस्तो कुनै पनि चुनौतीको सामना गर्नु परेन । पहिलो कुरा त प्रतिष्ठान आफैमा समावेशी छ । उपकूलपति डा. जगमान गुरुङ, प्राध्यापक दिनेशराज पन्त, प्राध्यापक डा.उषा ठाकुर, माया ठकुरी जस्ता विद्धान–विदुषी परिषद्मा प्राज्ञका रूपमा हुनुहुन्छ । उहाँको अहिलेको सत्तारुढ पार्टीको कसैले पनि साइनो जोड्न सक्ने अवस्था छैन । अनि अहिलेको सत्तारुढ पार्टीसँग जोडेर उहाँहरूलाई पनि पार्टीको सदस्यको रूपमा जोड्न त पाइएन नि । कुनै पार्टीसँग आवद्धता हुनु गलत कुरा हो र ? कुरा के हो भने पार्टीसँग आवद्धता रहनु कुनै अनौठो भएन, आस्था राख्नु पनि अनौठो कुरा भएन । तर, सार्वजनिक जिम्मेवारीमा आइसकेपछि कुनै पनि व्यक्तिले गर्ने कामलाई हेर्नुपर्छ । ऊसँग दृष्टिकोण छ कि छैन ? ऊसँग दीर्घकालीन योजना छ कि छैन ? ऊसँग सबैलाई समेटेर लैजान सक्ने व्यवस्थापकीय क्षमता छ कि छैन ? त्यो सबैलाई हेरेर मूल्यांकन गर्नुपर्ने हो । तर, हाम्रो देशमा के छ भने कुनै समयमा कुनै मान्छे, पार्टीसँग आवद्ध भएका आधारमा उसलाई लेबल लगाइदिन्छौं र उसको क्वालिटीलाई समेत नजरअन्दाज गरी दिन्छौं । त्यसबाट मुक्त हुनुपर्छ भन्ने मलाई लाग्छ । अहिलेको नेपाल प्राज्ञिक प्रतिष्ठानको जुन संरचना छ, त्यो हरेक दृष्टिले अब्बल छ भन्ने मेरो ठहर छ । जहाँसम्म अप्ठेरोको कुरा छ, त्यसमा हामीलाई अहिलेसम्म कुनै पनि अप्ठेरो परेको छैन । सबैबाट सहयोग प्राप्त छ । हामीले वार्षिक तीन प्रकारका गोष्ठी गर्छौं । एउटा, हामीले अनुसन्धानका कार्यक्रम गर्छौं, अर्काे गोष्ठीहरू गर्छौं, प्रवचनहरू गर्छौं, अन्तक्रियाहरू गर्छौं, कार्यशालाहरू गर्छौं, ती राष्ट्रियस्तरका पनि छन्, अन्तर्राष्ट्रियस्तरका पनि छन् । केन्द्रीय तहबाट पनि गर्छौं, विभागीय तहबाट पनि गर्छौं । क्षेत्रीयतामा विभिन्न प्रदेशमा पनि गरेका छाै‌ं, विभिन्न जिल्ला तहमा पनि गरिराखेका छौं । ती सबै खालका गोष्ठीहरूमा जुन सहभागिताको कुरा छ, त्यहाँ केही पनि हामीलाई असहयोग भएको छैन । पूर्व पदाधिकारीहरू आइराख्नुभएको छ । सहभागिता जनाइरहनुभएको छ, त्यसैले पनि हामीलाई कहीँबाट व्यवधान र असहयोग छैन, सबैबाट सहयोग पाएका छौं । र, हामी निरन्तर अगाडि बढिरहेका छौं ।

 प्रतिष्ठानले जुन स्तरको काम गर्नुपर्ने हो त्योभन्दा पनि एकदमै सेमिनार, गोष्ठीमै बढी ध्यान केन्द्रित गरिरहेको छ भनेर पनि तपाईंहरूको आलोचना भइरहेको छ नि ?

 एउटा कुरा प्रष्ट छ । नकारात्मक सोचमा नेपाल साच्चिकै अलि अगाडि आएको छ । नकारात्मकताले मात्रै मान्छेलाई हेर्न प्रवृत्तिले बढ्दो क्रममा छ हामीमा । 

कुरा के हो भने सेमिनार गर्ने, गोष्ठीहरू गर्ने त विदुषी–विद्धानहरूसमक्ष अन्तत्र्रिmया गर्न जाने हो नि त । एकजना व्यक्तिले आफूलाई लागेका भरमा आफ्नो धारणा बनाउँछ र त्यो धारणालाई सार्वजनिक गर्छ, अनुसन्धानमा त्यसको प्रतिविम्बन गर्छ र त्यसैलाई प्रकाशन गर्छ, त्योभन्दा त आम विद्धान विदुषीका बीचमा लगेर तिनीहरूका बीचमा अन्तर्मन्थन गराएर, तिनका समेत विचारहरूलाई पृष्ठपोषकका रूपमा प्राप्त गरेर गरिएको अनुसन्धान महत्वपूर्ण हुन्छ होला नि होइन र ? हामीले त्यो गरेका छौं । हामीले गर्ने अनुसन्धान, प्रकाशनलाई मद्दत पुग्ने गरेर हामीले गोष्ठी गरिरहेको हुनाले त्योचाहिँ चर्चाका लागि मात्रै वा प्रचारका लागि मात्रै गरिएको होइन भन्ने बुझ्न जरुरी छ । हाम्रो अनुसन्धानसँग सम्बन्धित छ त्यो । व्यापक सहभागिता र व्यापक अन्तक्रियाका माध्यमबाट फिटब्याकसमेत प्राप्त गरेर अनुसन्धान, प्रकाशनलाई अझ प्रभावकारी, आधिकारिक, र प्रमाणिक बनाउने उद्देश्यले गरिने गोष्ठी निअर्थक हुनै सक्दैन ।

 प्रतिष्ठानको आयोजनामा गरिने कविता तथा नाटक महोत्सवहरू किन सधैंभरि विवादमा आउने गर्छन् ? 

मलाई के लाग्छ भने नाटक महोत्सव अहिले संगीत नाट्य प्रतिष्ठान बनेपछि उतैबाट हुन्छ । जहाँसम्म कविता महोत्सवको कुरा छ, कविता महोत्सव २०२२ सालदेखि सुरु भएको हो । अहिले पनि हामी गरिरहेका छौं । आन्दोलनका कारण २०४७ सालमा त्यो हुन सकेन ।  त्यसपछि लगातार भइरहेको छ । कविता महोत्सवको जुन उद्देश्य हो, जुन उद्देश्यले यसको प्रारम्भ भएको छ । नेपालमा नयाँ पुस्तामा कविताप्रति रुचि जागृत होस्, साहित्यप्रति उनीहरूमा जागरण आओस् र उनीहरूले कविता लेखनमा आफूलाई प्रवृत्त बनाउन भन्ने उद्देश्यले यसको आयोजना गरिएको हो । २०४६ सालअगाडि राजाले नै समस्यामा आधारित शीर्षत्व गरेर दिने चलन थियो । त्यसमा विभिन्न कविहरूले कविता लेख्थे । २०४८ पछि शीर्ष कविहरूले आफैले शीर्षत्व दिने परम्पराको थालनी भयो र अहिले पनि हामी त्यसैबाट केन्द्रित छौं । पहिले शब्द संख्या १ सय २५ थियो । बीचमा शब्दसंख्या सीमित गरिएन । अहिले हामीले १ सय ५० शब्दको रचना माग्यौं । अर्को कुरा निश्चित रूपमा पनि यसमा विवाद हुने गरेको सत्य हो । जसले आफूलाई अब्बल दर्जाको कवि ठान्छ, उसले कविता प्रतियोगितामा भागै नलिने अनि जसले भाग लिन्छ हामीले छान्ने त भाग लिएका कविता मध्यबाट छान्ने न हो । भाग लिएका कविता, बुझाइएका कविता अथवा वचन गर्न सहभागी भएका कविका रचनाहरूलाई बरिष्ठ कवि र समालोचकहरूलाई राखेर मूल्यांकन समिति बन्ने गरेको छ । त्यही मूल्यांकन समितिले कवितालाई आधार मानेर मूल्यांकन गर्छ । गत वर्षसम्म वाचन कलाको नम्बर दिने गरिएको थिएन । यस वर्षदेखि हामीले वाचन कलालाई पनि नम्बर राख्नुपर्छ भनेर वाचन कलाका लागि १० अंक छुट्टयाइदिएका थियौं । गत वर्ष पहिल्यै मूल्यांकनमा जान्थ्यो वाचन मात्रै हुन्थ्यो । कविता वाचनलाई कसैले राम्रो कविता लेखेको छ भने वाचन गर्न जानेन भने स्रोता अनि दर्शकलाई कमजोर कविता लाग्थ्यो । यस्तो कविता पुरस्कृत भयो भनेर विवाद हुन्थ्यो । अहिले हामीले त्यसलाई वाचन कलाका निम्ति पनि नम्बर राख्यौं र लगभग वाचन कलाको समेत नम्बर जोडेर पहिलो, दोस्रो र तेस्रो घोषणा गरियो । अहिले विवाद नहोला भन्ने हाम्रो अपेक्षा थियो । तर, मान्छेले अहिले पनि  विवाद गरे ।

 त्यो सत्तारुढ दल निकटका मान्छेहरूलाई वा प्रतिष्ठानका पदाधिकारीलाई मात्र दिइन्छ भनेर आरोप लाग्ने गरेकोे छ नि ? 

त्यो सरासर झुटो आरोप हो । त्यसमा कुनै सत्यता छैन । अहिले कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका कविहरूको पृष्ठभूमि हेर्नुस्, उहाँहरूको अभिलेख हेर्नुस्, त्यो हेर्नुभयो भने को–कता छ भन्ने स्वतः थाहा हुन्छ ।

तपाईंको विचारमा अहिले किन विवाद भयो भन्ने लाग्छ ?

अहिले विवाद भएको होइन, गराइएको हो । यसमा मैले अघि भनेझैं राम्रा कविहरू जसले आफूलाई अब्बल दर्जाको कवि ठान्नुहुन्छ, उहाँहरूले कविता नदिने अनि आएका कविताबाट छान्ने हो मूल्यांकन समितिले । आएका कविताहरूलाई तुलनात्मक रूपमा हेर्दाखेरि उहाँहरूको दृष्टिमा जुन कविता राम्रो लाग्यो, उत्कृष्ट ठहरिएका कविता छान्नुभयो । आफ्ना कविता पनि नदिने अनि छानिएका कविताहरूलाई बाहिर बसेर यस्ता कविता, यी कविता नै होइनन् भनेर कुनै अर्थ नै छैन । भाग लिनुपर्‍यो । भाग लिएपछि मात्रै उहाँहरूले भन्न पाउनुहुन्छ । भाग लिएमध्येका कविता पढिदिनु पर्‍यो उहाँहरूले । त्यसैले जसले आरोप लगाउनुहुन्छ त्यो भावुकतावश लगाइएको आरोप मात्रै हो, त्यसको कुनै सत्यता छैन ।

हिजो पनि एकेडेमी एउटै थियो, अहिले तीनवटा बनिसक्यो । प्रतिष्ठानमा बसेका मानिसलाई पदको आवश्यकता महसुस भयो भने यस्ता संस्थामा विभाजन गरेर राजनीतिक नियुक्ति खाने प्रचलन छ भन्ने छ । फेरि यो एकेडेमीमा अर्को कुनै भंगालो फुट्नेवाला छ कि छैन ?

तपाईँले तीनवटा एकेडेमी गठन भएको कुरा जोड्न खोज्नुभएको जस्तो लाग्यो मलाई । पदीय भागबण्डाका लागि मात्रै यिनको गठन भएको होइन, राष्ट्रको आवश्यकता अनुरूप गठन भएका हुन् । त्यो आवश्यकता अनुरूपका कामहरू भए/भएनन् भन्ने कुरा मूल्यांकन गर्नुपर्छ । जहाँसम्म नेपाल प्रज्ञिक प्रतिष्ठानको फेरि विघटन हुन्छ कि, फेरि विवाद हुन्छ कि भन्ने प्रश्न गर्नुभयो यहाँ विवाद हुने कुनै आधार छैन । यसलाई बँुदागत रूपमा भन्ने हो भने हामीसँग पाँचवटा विषय वा क्षेत्र छन् । भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शनशास्त्र र संस्कृति छ । यहि पाँचवटा विषय क्षेत्रलाई हेरिरहेको छ । कतिपय मानिसले यसलाई भाषाको एकेडेमी भन्ने गरेका छन् । भाषाको मात्र एकेडेमी होइन नि त । भाषा, साहित्य, सामाजिक शास्त्र, दर्शन शास्त्र र संस्कृति यो पाँचवटा विषय क्षेत्रको प्रज्ञा प्रतिष्ठान हो । हाम्रो माग के छ भने नेपाल सरकारले नेपालको इतिहासदेखि नेपालको राजनीतिक शासनदेखि नेपालको कूटनीतिक, परराष्ट्रदेखि लिएर जम्मै कुरामा यो एकेडेमीलाई जिम्मेवार बनाएर बजेट यही छुट्टयाइदिएर साँच्चिकै यहीबाट नीति निर्माणको जिम्मा पनि यसलाई दिएर सबैभन्दा महत्वपूर्ण काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

 विद्धानहरू नै यस्ता संस्था विभाजन गरेर आफूलाई ‘सुरक्षित गर्न’ हिँड्छन् भन्दा नेपालका    एकेडेमीहरूलाई त आरोप नै लाग्छ नि ?

एउटा कुरा के भने विद्धानले चाहेर कुनै पनि संस्था फुट्न सक्दैन । उसका हातमा के हुन्छ र ? बढीमा राज्यले पत्याएको स्थितिमा उसले नियुक्तिसम्म पाउने न हो । जो मान्छे यही क्षेत्रमा लागिरहेको छ, उसले अपेक्षा राख्नु त स्वभाविक कुरा हो नि ! त्यसलाई अनौठो मान्नै हुँदैन । अनि आफू नपरेको झोकमा अरुलाई आरोप लगाउनु पनि स्वभाविक नै हो । कहीँ न कहीँ अलिकति हिनताबोध, कुण्ठा, रिस, राग त हुन्छ । बुद्ध नै बुद्ध भएको भए लडाइँ नै हुँदैन थियो । कुरा के हो भने, नियुक्ति भइसकेको मान्छेले राम्रोसँग काम गरेको छ कि छैन ? त्यसले बौद्धिक ढंगले संस्थालाई हाकेको छ कि छैन ? त्यसको आधारमा उसको मूल्यांकन गर्नुपर्छ, राजनीतिक आधारमा मात्रै मूल्यांकन गरेर हुँदैन । बाहिर बसेर जो प्रतिशोधमा लाग्नुभयो, नियुक्तिको बेलामा जो नियुक्तिको होल्डमा जानुभयो उहाँहरूले आफूले नपाएर चित्त दुखाएर बसेकोमा यहाँ आएकाले उहाँहरूलाई समेत समेटेर काम लाउनुभएको छ कि छैन ? जसले व्यवस्थापकीय नेतृत्वको मौका पाउनुभएको छ, उहाँहरूले बाहिर रहेकालाई पनि समेटेर अगाडि बढ्नुपर्छ । जिम्मेवारी पाएका मान्छेले पनि कुशलतापूर्वक व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुपर्छ, त्यसपछि बाहिर रहनेलाई पनि बाहिर रहनुको पीडा हुँदैन । यहाँ आएकाहरू पनि काम गर्नै आएका हुन् नि, उहाँहरूले काम गरेर सबैको चित्त बुझाएपछि उसलाई पनि आत्मसन्तुष्टि हुन्छ र दायित्व पूरा गरेको पनि ठहर छ । भोलि राज्यले मूल्यांकन गर्छ, जनताले मूल्यांकन गर्छ, समाजले मूल्यांकन गर्छ । त्यसरी जानुपर्छ भन्ने मलाई लाग्छ ।