वीरबहादुर राई | पर्यटन | साउन १५, २०७६
म विज्ञानको विद्यार्थी हुँ । म पूर्ण नास्तिक भने होइन । म प्रकृतिलाई नजिकबाट चुम्न र छुन चाहन्छु । त्यसैले ताप्लेजुङको पाथिभरा देवीको दर्शन गर्न र त्यहाँको प्राकृतिक सुन्दरतालाई महसुस गर्न गएको थिएँ । त्यस्तै उच्च भौगोलिक क्षेत्रमा अवस्थित संखुवासभाको प्रसिद्ध सभापोखरीको यात्रा पनि गरियो ।
त्यसैगरी अरूण र वरूण नदीको संगमस्थलमा सम्पन्न ‘वरूण महोत्सव’मा पनि सहभागी भएको थिए ।
‘वरूण महोत्सव’ एकदमै अविस्मरणीय रह्यो । महोत्सवमा आयोजित नाचगान, खेलकूद प्रतियोगिता, बुद्धिस्ट लामाहरूको चमत्कारिक मन्त्र शक्तिको प्रदर्शन, जस्तै ः रातो हुने गरी तताएको फलामलाई जिब्रोले चाट्ने जस्ता आश्चर्यजनक दृश्य अवलोकनमा सबै भक्तालुजन रमिरहेका थिए । मलाई भनेचाहिँ स्याक्सिला गाउँ छेउको डाँडामा गएर ठाडो हान्निएर आएको वरूण नदीको वेग अवलोकनतर्फ ध्यान गयो । मलाई उक्त डाँडाको टुप्पासम्म पुर्याउन मेरै पूर्व विद्यार्थीहरूले एक स्थानीय किशोरलाई साथी (पथप्रदर्शक)को रूपमा व्यवस्था मिलाइदिए । म उनै किशोरको साथमा उत्तल डाँडो चुम्मने गन्तव्य बनाए ।
स्याक्सिला गाउँ, एकदमै घुमाउरो बाटो छिटो डाँडामा पुगेर दृश्यावलोकन गर्ने चहानमा अवरोध बनिरहेको थियो । अत्यन्त झोसघारी पार गर्दै ढुंगाको उकालो, मार्गदर्शक किशोर सजिलै उक्लिन सके, म भने जब ढुंगामा टेकेर उक्लने कोशिश के मात्र गरेको थिएँ, ढुंगा नै घससस गर्दै चिप्लिएर तलतिर झर्न थाल्यो । म पछाडि सर्दासर्दै मेरो देब्रे खुट्टा ध्वान्द्रोमा छिरेर म घारीमा लडें । र, दाहिने खुट्टाले ढुंगालाई पएट मारेर ठेली पठाए । मेरो बलले हो वा संयोगले हो ढुंगा थामियो । पथप्रदर्शक भाइ पनि डराएको मुद्रामा ‘मर्लास् है मास्टर’ भनिरहेको थियो । उफ् ! त्यो ढुंगाले थिचेको भए... सोझै स्वर्गमा नभए पनि अहिले अपांगको परिचपत्र बनाएर बस्नु पर्ने थियो । त्यहाँबाट उठेर जसोतसो हामी डाँडामा पुग्यौ, आधा घण्टा जति म वरिपरिको वातावरण, वरूण नदीको प्रवाहलाई हेर्दै रमाएर बसें ।
‘वरूण महोत्सव’पछि संखुवासभाको चर्चित तथा विकट ‘शिवधारा’ तीर्थस्थल र मकालु हिमालको वेस क्याम्पसम्मको यात्रा गर्न मनमा सोचिरहेको थिएँ । एक्लै जान असम्भव र अव्यावहारिक भएकाले सहयात्रीको खोजीमा थुप्रै साथीभाइसँग ‘शिवधारा’ यात्रामा जानका लागि आग्रह पनि गरें । तर पनि त्यस्तो उचित समय र वातावरण मिलेको थिएन ।
केही समयअघि मेरा शिक्षक–साथी गणेश निरौलाले ‘शिवधारा’ दर्शन गर्न र दूधपोखरीसम्मको यात्रा गर्ने भनी कुरा निकाल्नुभयो । त्यसको दुई–चार दिनपछि अर्का शिक्षक–साथी केदार ढकालले त्यही प्रसंग कोट्याउनुभयो । उहाँले गणेशजीसँगको कुरो सुन्नुभएको रहेछ । एकपछि अर्को यात्री साथी भेट्दै जान थालेपछि विद्यालय छुट्टीको अवसर पारेर साउन खाँदवारीबाट प्रस्थान गर्ने सामान्य समझदारी गरियो । त्यसपछि केदारजी निजी कामले विराटनगर जानुभयो, जसले गर्दा हाम्रो थप कुराकानी हुन सकेन । ‘शिवधारा’को दर्शन गर्न जाने वा नजाने कुरा थाती नै रह्यो ।
त्यसैताका मेरा साढुभाइ मकालु सेदुवा लुङ्लुवा गाउँको शिक्षक ज्ञानविक्रम राई मेरो घरमा टुप्लुक्क आइपुग्नुभयो । मैले मौका र सल्लाह मिलेमा ‘शिवधारा’ दर्शन र मकालु बेस क्याम्पसम्म जाने रहर रहेको बताएँ । उहाँले ‘दाजु जाने हो भने म पनि जान्छु’ भन्नुभयो । दाजुभाइ नै जाने हो भने म पनि जान्छु भन्दै मेरी श्रीमती मनकुमारी राई पनि कस्सिन थालिन् । सबै परिपञ्चपछि हामी आवश्यक खाद्य सामग्री, लुगाफाटोको कुम्लो कुटुरो बोकेर संखुवासभाको सदरमुकाम खाँदवारीबाट उत्तरतिर ‘शिवधारा’ जान प्रस्थान गर्यौं ।
पहिलो दिन, खाँदवारीबाट हिँडेको दिन सेदुवा लुङ्लुवास्थित साढुभाइको घरमा वास बस्यौंँ । भोलिपल्ट यात्राको दोस्रो दिन, बिहान सखारै बाटो लाग्यौं । च्याक्से डाँडा (सुवेदी गाउँ) पुगेपछि नजिकैको प्राथमिक विद्यालय छेउको घरमा साह्रै मिठो बिहानको खाना खाइयो । बाटोमा भेट्टाइएको च्याउको तरकारी जो थियो । त्यसपछिको हाम्रो यात्रा टासी गाउँतिरको थियो ।
वर्षात्को समय लेकको बाटो पानीको झमझम परिरहेको थियो । च्याक्से डाँडा र टासीगाउँ बीचमा अचाक्ली जुका लाग्यो । टासी गाउँमा दोस्रो दिनको १ बजे पुगिएको थियो । टासी गाउँमा सम्पूर्ण शेर्पा जातिको बसोवास छ । टासी गाउँपछि बाटोमा एकाध पसलबाहेक मानव बस्ती पाइँदैन । पातालको जंगल, उकालो बाटो केही माथि पुगेपछि निगाले घारी त्यसपछि चिमल घारी हुँदै हाम्रो दोस्रो दिनको बास खोङ्वा भन्ने ठाउँमा पर्यो । खोङ्वामा बास बस्ने एक–दुई वटा साधारण होटल रहेछन् ।
वास्तवमा शिवधारा मैले गरेको कल्पनाभन्दा आकाश पातलको फरक रहेछ । साँच्चैको आध्यात्मिक व्यक्ति त्यहाँ पुग्ने हो भने तुरुन्तै जय भोले बाबा भन्दै पलेटी कसेर ॐ...उच्चारण गर्दै तपस्या गर्न बस्ने रहेछन् । कवि पुग्ने हो भने कविता लेख्न सुरु गर्ने रहेछन् । विज्ञान र भूगोलका विद्यार्थी पुग्ने हो भने त्यसको बनोट र उत्पतिको बारेमा सोच्न थाल्ने रहेछन् भन्ने मैले अनुभव गरेँ ।
त्यसपछि तेस्रो दिनको हिँडाइ बिहानदेखि नै पानी परेकाले हामीले वरिपरिको प्राकृतिक वातावरणलाई राम्रोसँग हेर्ने मौका पाएनौं । बिहानको रिमझिमे झरिमा सानो पोखरीमा पुग्यौं । त्यसपछि निकै उकालो हिँडेर अग्लो डाँडामा पुग्यौं । यो ठाउँबाट जोर खम्बे हिमाल, सुदूर पूर्वको सभापोखरी देखिने रहेछ । उकालो जाँदा पानी परेकोले त्यस्तो कुनै दृश्य देख्ने मौका परेन । तर, फिर्दा खुलेकाले जोरखम्बे हिमाल, सभापोखरी अन्य थुप्रै वरिपरिको वातावरणको अवलोकन मात्र होइन, फोटोसमेत खिँच्न पाइयो ।
ठूलो डाँडा काटेर केही ओरालो झरेपछि ठूलो पोखरीमा पुगिँदो रहेछ । यहाँ देखिएका पोखरीमध्ये सानो पोखरी राईहरूले पत्ता लगाएको र ठूलो पोखरी शेर्पाहरूले पत्ता लगाएको भन्ने भनाइ रहेछ । सानो पोखरी रूमालजस्तो देखिन्छ । ठूलो पोखरी हेर्दा हात्तीको आकारजस्तो देखिन्छ । ठूलो पोखरीसँग जोडिएको किवंदन्ती के रहेछ भने भगवान शिवजी इन्द्रको रूप धारण गरी हात्तीमा चढेर पार्वतीलाई भेट्न जाँदा शिवजी चढेको हात्ती ठूलो पोखरीमा आहाल खेलेको भन्ने रहेछ । हात्तीको बच्चा पनि साथै भएकाले सो बच्चा ठूलो हात्तीको खुट्टातिरको सानो पोखरीमा खेलेको भन्ने कथा यो क्षेत्रमा प्रचलित रहेको पाइन्छ ।
तेस्रो दिन, बिहानको १० बजेको समयमा जेनतेन ठूलो पोखरीमा पुगियो । ठूलो पोखरीको छेउमा स–साना दुई–तीन वटा होटल रहेछन् । सहयात्री भाइ ज्ञान विक्रमको आफन्त प्रकाश राई होटल गरी बस्नु हुँदो रहेछ । उहाँले खानाको बन्दोवस्त मिलाउनु भयो ।
प्रकाश बडो रमाइलो, जोशिलो र साहसी मान्छे हुनुहुँदो रहेछ । सन् २००५ मा सम्पन्न सार्क राष्ट्रस्तरीय कराँते खेलको ५५–६० केजी तौल समूहको प्रतिस्पर्धामा कास्य पदक जित्नुभएको रहेछ । मकालु र धौलागिरी हिमाल पनि आरोहण गर्नुभएको रहेछ । खानाको पर्खाइमा गफ चलिरहँदा टासी गाउँको दावा शेर्पा आई पुग्नुभयो । दावाजी सगरमाथा र मकालु हिमालको सफल आरोही हुनुहुँदो रहेछ । कुरैकुरामा प्रकाश दाईले शिवधारा जाने मेरो पनि भाकल छ भन्नुभयो । अनुभवी साथी नभएको र बाटो पनि कठिन भएकाले हामीले प्रकाश दाइलाई सँगै जान थप कर गर्यौं । दिउँसो साढे १ बजेको समयमा दावा शेर्पा दाइसहित हामी पाँच जनाको समूह ठूलो पोखरीबाट अगाडि बढ्यौं ।
ठूलो पोखरीबाट केही उकालो चढेपछि दोबाटे, मोम्बुक र जाँते ओडार हुँदै वरूण नदीको किनारमा रहेको ठूलो पैरो भन्ने ठाउँ कटेर जानुथियो । पानी निकै परिरहेकाले ठूलो पैरो काटेर जाँदा बाढी र पहिरोको डर हुन्छ भन्ने कुराले त्यस दिनअगाडि जाउँ वा त्यही बसौं के गर्ने भन्ने दोधारमा परियो । जे त पर्ला बस्नुभन्दा गन्तव्यमा जानु जाति भनेर अगाडि बढ्यौं । केही समय उकालो हिडेर डाँडा पार गरी वरूण नदीको पाटोको ओरालो झर्यौं । अविरल वर्षा, दोबाटे र मोम्बुकको ओरालोमा भेटिएका छाँगा–छहरा छिचोल्दै निकै ओरालो काट्यौं । वरूण नदीको किनारको छेउमा जाँतो जस्तो देखिने विशाल ढुंगाको ओडार रहेछ, जसलाई जाँते ओडार भनिँदो रहेछ । त्यसपछिको यात्रा केही डरमर्दो ठूलो पहिरोको यात्रा थियो ।
यात्रा सुरक्षित र सुखद् होस् भनेर धूपबत्ती गरेर बल माग्यौं । यात्रा अगाडि बढ्यो । त्यसबेला ४ बजेको थियो । तर, हामीले कल्पना गरेजस्तो ठूलो र कठिन पहिरो रहेनछ । पहिरोमा खोला बगरमा पाइनेजस्ता सानातिना ढुंगा हेर्दै पानी–झरीले बढाएका खहरे खोला तर्दै हामी छिटोछिटो अगाडि बढ्यौं । त्यस दिन ठूलो पोखरीबाट ढिलै हिँडेकाले बेलुकाको ७ बजे मात्र याङ्ले खर्कमा बनाइएका गोठमा वास बस्यौं । बेलुकाको खाना सम्मर (मोही तताएर छोक्रा र पानी बनाई पानी फालेर राखेको छोक्रामात्र फ्राइ गरी झोल लगाई बनाएको एक प्रकारको तिहुन) र चौंरीको दहीसँग मिठो गरी खाइयो । त्यो रात जसोतसो गोठमा काटियो ।
चौथो दिन, हामी चाँडै उठ्यौं । किनभने त्यस दिन हाम्रो शिवधारामा नुहाउने दिन थियो । त्यसैले बिहानको साढे ५ बजेतिरै झोला कसकास भयो । वरिपरिको दृश्य क्यामेरामा कैद गर्दै शिवधारा नेहा खर्कतिर अगाडि बढ्यौं । याङ्लेको पश्चिम दिशामा भीरमाथि विशाल चट्टान रहेको छ । जसलाई शिवलिंग भनिँदो रहेछ । केही समयको हिँडाइपछि शिवधारा र पार्वती गुफालाई निकै टाढाबाट वरूण नदीको किनारबाटै देख्न सकिँदो रहेछ । आकाश खुलेको बेलामा शिवधाराबाट पानीको धारा खसेको देखिँदो रहेछ । बिहान ७ बजे नै हामी शिवधारामुनिको फाँट नेहा खर्क पुग्यौं । त्यहाँ भक्तालुजनका लागि भनेर एउटा पाटी निर्माण गरिएको रहेछ । त्यही ठाउँमा झोलिझ्याम्टा बिसायौं र लगभग दुई घण्टाको उकालो चढेर शिवधारा पुग्यौं । उकालो चढ्दा बाटोमा शिवजीको साहनवाहनले डर देखाउँछ भनी तलै नेहा खर्कमा बल माग्ने ठाउँ रहेछ । बल माग्ने ठाउँमा धूपबत्ती गरेर मात्र दर्शनको लागि उकालो चढ्यौं ।
बिहान ८ बजेको समयमा शिवधारा चढ्दाको अफ्ठ्यारो ठाउँ जसलाई धर्मढोका पनि भनिँदो रहेछ, त्यहाँ पुगियो । त्यस ठाउँमा दुईवटा बाटा रहेछन् । माथिल्लो ओडारको रुटलाई अघि–अघि देवताका पालामा देवताहरूले नै बनाएको बाटो भन्दा रहेछन् सो बाटो भएर पनि जान सकिँदो रहेछ । निकै तलबाट हेर्दा पनि सो बाटो कसैले बनाएको जस्तै देखिन्छ । तल्लो ओडार भएर गएमा मकालु वरूण राष्ट्रिय निकुञ्जले जिआइपाइप राखेर बनाई दिएको बाटो रहेछ । यो बाटो हिमपहिरोले भत्काएर अलि कठिन गरेर मात्र हिँड्न सकिने रहेछ । दावा दाइ याङ्लेमा नै रहनु भएकाले बाँकी हामी चार दर्शनार्थी यो बाटोका लागि नयाँ भएकाले निकुञ्जले बनाएको बाटो मात्रै पहिल्याउन सक्यौं । बाटो हिमपहिरोले बिगारेकाले सामान्य मान्छेलाई हिँड्न सहयोगीको साथ चाहिने रहेछ ।
यतिको कहिले कठिन र कहिले सहज यात्रा गर्दै अन्ततः हामी शिवधारा पुग्यौं । वास्तवमा शिवधारा मैले गरेको कल्पनाभन्दा आकाश पातलको फरक रहेछ । साँच्चैको आध्यात्मिक व्यक्ति त्यहाँ पुग्ने हो भने तुरुन्तै जय भोले बाबा भन्दै पलेटी कसेर ॐ...उच्चारण गर्दै तपस्या गर्न बस्ने रहेछन् । कवि पुग्ने हो भने कविता लेख्न सुरु गर्ने रहेछन् । विज्ञान र भूगोलका विद्यार्थी पुग्ने हो भने त्यसको बनोट र उत्पतिको बारेमा सोच्न थाल्ने रहेछन् भन्ने मैले अनुभव गरेँ ।
वास्तवमा शिवधारा दर्शन गर्न जाँदा सुरुमा पश्चिम तर्फबाट प्रवेश गरी पूजा गर्ने ठाउँमा पुगेर पूजा सकेपछि जय भोले बाबा भन्दै शिवजीका अन्य के–के नाम हो, पुकार्दै पहराबाट घुम्दै झरेको पानीको धारा छेउमा पुगेर उभिँदा धारा आफै घुमेर आई नुहाई दिन्छन् रे ।
थुप्रै तीर्थालुको मुखबाट मैले सुनेको थिएँ, धारा वरिपरि घुमिरहन्छ भनेर । तर, हामी त्यहाँ रहुञ्जेल धारा घुमेको देख्न भने पाइएन । धारा घुमेर जमिन पखालिएको ठूलो एरियाचाहिँ देखियो । धारामा थापिन खोज्यो भने धारा सरिरहन्छ रे, आफूमाथि परोस् भनेर जबरजस्ती धाराको पछि–पछि कुद्नु हुँदैन भन्ने मान्यता रहेछ । धारा परेन भनी जबरजस्ती गरेमा धारा पूरै डोलिएर आई मान्छेलाई आत्तिने गरी नै पिट्छ रे, नेहा खर्कको गोठमा बस्नु हुने शेर्पेनी दिदीले यस्तो घटना आफूले प्रत्यक्ष देखेको भनी सुनाउनु भएको थियो । कुरा जे भए पनि वास्तवमा शिवधारा जीवनमा कम्तिमा एक पटक भौतिकवादी दृष्टिकोणबाट वा अध्यात्मिक दृष्टिकोणबाट सक्दा नपुगी नहुने ठाउँ हो भन्ने मैले अनुभव मैले बटुले ।
शिवधाराबाट ३० मिनेटको अन्तरमा पार्वती गुफा रहेछ । बीचमा गणेशस्थान रहेछ । गणेशस्थानमा गणेशको कानमा हात पसाएर भित्र दुई हात जोड्नुपर्ने किवंदन्ती रहेछ । पार्वती गुफाअघि सत्ययुगमा विष्णु भगवान हिमालय पर्वतसँग पार्वती माग्न जाँदा शिवजीसँग मात्रै विवाह गर्ने पार्वतीको प्रतिज्ञा भएकाले पार्वतीका साथीसंगीहरूले भगवान विष्णुबाट पार्वतीलाई लुकाएको गुफा छ । गुफा विशाल ओडारमा छ । गुफाभित्र चार– पाँच जना अट्न सक्ने ठाउँ छ । भक्तालु जनले पूजा गर्ने ठाउँ पनि छ । बाहिरपट्टि नजिकै पार्वतीले शिवजी पति पाउँ भनी स्वस्थानीको व्रत बस्दाको अवस्थामा दिनदिनै नुहाउने धारा पनि रहेछ । धारा नजिक पुगेपछि धारा आफै सरी आई पानीले भेटाउँछ । धारा झर्ने ठाउँमा रेखा छ सो रेखा काट्नु हँुदैन भन्ने मान्यता अहिले पनि छ । सो रेखा काटी गएमा विशाल भीर भएकाले लडिन्छ भन्ने मान्यता छ ।
तीर्थालुले पूजा गरिसकेपछि पार्वतीको ओडारमुनि बसी आफूले लगेको आफू साथमा रहेको खानेकुरा खाएर मात्र फर्किनुपर्छ भन्ने मान्यता छ । त्यसो नभएमा पार्वती माता रिसाई फर्किदा असिना पानीले पिट्छ भन्ने भनाइ रहेछ । हामीले पनि साथमा लगेका भटमास, मकै, सातु, चिउरा, बिस्कुट, चक्लेट प्रसादको रूपमा लिएर त्यहाँबाट प्रस्थान गर्यौं ।
शिवधारा र पार्वती गुफाको दर्शन गरीसकेपछि हिमालबाट झरेका विशाल छहराहरू, नजिकै रहेको हिमाललाई हेर्दै र नजिकैबाट बगेको वरूण नदीलाई अवलोकन गर्दै नेहा खर्क झरियो । तल आइपुग्दा गोठमा रहनुभएको शेर्पेनी दिदीले खाना बनाउनुभएको रहेछ ।
पानी परिरहेको र भोक लागेकाले गर्दा चौरीको दूधसँग खाना खाइयो आगो ताप्दै दिन बिताइयो ।
शिवधारा, पार्वती गुफाकै वरपर नेहा खर्कबाट झण्डै एक घण्टा परी दुईवटा हिमाल ‘आमा भुजुङ’ छन् । शेर्पा भाषामा ‘आमा भुजुङ’ भनेको गर्भवती भन्ने रहेछ । ‘आमा भुजुङ’लाई नेपालीे भाषामा हिमाल राजा हिमाल रानी भन्दा रहेछन् । स्वस्थानीको कथामा हिमालय पर्वत भन्ने ठाउँ रहेछ । आमाभुजुङ भनेको हिमालय पर्वतराजकी पत्नी मेनुकाले पार्वतीलाई पेटमा बोकेको भन्ने रहेछ । छोराछोरी नहुनेले शिवधारा, पार्वती गुफाको दर्शन गरेर ‘आमा भुजुङ’मा गएर आफूले चाहेको मागेमा पूरा हुन्छ रे । सो ठाउँमा ढक्की पैसा फालेर अड्याउने र पूजा गर्ने ठाउँ छ रे, जहाँ हामी जान सकेनौं ।
पाँचौ दिन, पहिलो र दोस्रो दिनको यात्रा निकै बढी र कठिन पनि भएकाले श्रीमती मनकुमारी राईकोे खुट्टा दुखेकाले नेहा खर्कको गोठमा थकाई मार्नेे सल्लाह भयो ।
यो क्षेत्रको यात्रामा वरूण नदीको दायाँबाँया नजिकबाट नै देखिने नेपो हिमाल, छ्याङ्लिङ हिमाल, कान्छी हिमाल, खाङ्डोमा हिमाल र मकालु हिमाललाई नजिकबाट क्यामेरामा कैद गर्न सकिन्छ । कोही विज्ञान र भूगोलका विद्यार्थी भए हिमालको उत्पति कसरी भयो भन्ने अनुसन्धान गर्न सकिन्छ । विशाल हिमताल फुटेर बनेका भूभागहरू, पानीले काटेका गल्छेडाहरू र नजिकबाट सुन्न सकिने हिमपहिरोका आवाजहरू, त्यहाँ चरिरहेका भेडाबाख्रा, चौरी, याकले दाँयाबाँयाबाट आफ्नै भाषा र इशारामा सोधिरहेको प्रतीत हुन्छ, यी मान्छेहरू को होलान् ? कहाँबाट आएका होलान् ? अनि कहाँसम्म पुग्ने होलान् ? मेरो धनी नुन लिएर आएको हो कि भन्दै भेडा कराउँदै नजिक आउन खोज्छ । बाख्रा र चौरीगाईले नियालेर हेरिरहन्छन् । सायद, चिमालको घारीबाट भालु र ब्वाँसोले च्याउनेछ, हिमशिखरबाट कस्तुरी, घोरल र हिमचितुवाले मान्छेलाई देखेर विचार गर्नेछन्, यी मान्छेको यात्रा कहाँ होला भनेर ।
हिमालको चुचुराबाट खसेको छहराको कुरा गरौं वा महागुरुले तिब्वतबाट निकालेको पानीको छाँगाको बयान गरेर र तिनका कथा लेखेर सकिँदैन । वरूणको शिर दूधपोखरीको कुरा लेख्दा रंगीचंगी पाँचपोखरीबाट एउटै बनेको विशाल पोखरीलाई कहाँ अटाएर बयान गर्ने ! सेतो हिउँ देखेर कविता लेख्ने कविले तुरुन्तै नीलो हिउँ देखेर अर्को शीर्षकमा कविता लेख्नुपर्ने हुन्छ । सप्तरंगी तालहरू देख्न सकिनेछ । तर, कुरा जसो जे रहे पनि म विज्ञानको विद्यार्थी हिमताल फुट्छ भन्दा वा तिलिचो ताल फुट्दैछ भन्दा अचम्म मानेर समाचार सुन्ने र पत्रिका पढ्ने गर्थे । अब म अचम्म मान्ने छैन र भन्न सक्छु कि हिमताल कसरी फुट्छ र टेथिस सागरको ठाउँमा हिमालय पर्वत र पहाडी भू–भाग कसरी निर्माण भएको थियो भन्ने कुराहरू सजिलो ढंगबाट बताउन ।
वैदिक तथा पौराणिक शास्त्रको आधारमा शिवधाराको उत्पतिको कथा तथा विविध मान्यताहरू छन्, जसमध्ये ऋषि श्रापमा परेका साठी हजार पितृहरूलाई पार गराउन भगीरथको तपस्याको फलस्वरूप गंगा आकाशबाट पृथ्वीमा आउन राजी भइन् । तर, माथिबाट तल झर्दा गंगाको जोडबलले पृथ्वी समेत छेडिएर पातललोकमा पुग्न सक्ने भएकाले गंगाको सो शक्तिलाई शिवजीले मात्र थेग्न सक्ने भएकाले भगीरथले शिवजीलाई तपस्याबाट खुसी पारी गंगाको शक्तिलाई पृथ्वीमा नै रोक्न शिवजीलाई राजी पारे । तर, गंगाले आफ्नो घमण्डले शिवलाई नै पाताल पुर्याउँछु भनी झर्दा सो कुरा शिवजीले थाहा पाई आफ्नो केशमा गंगालाई हजार वर्ष अलमल्याएछन् । त्यसरी अल्मल्याउने क्रममा शिवजीको जटाबाट चार धारा चुहुन गए छन्, जसलाई शिवधारा, आकाशगंगा, गोमुखगंगा र र भगीरथगंगा भनिएको रहेछ ।
त्यस्तै अर्को कथन स्वस्थानी व्रतकथा अनुसार जब पार्वतीको परीक्षणका लागि शिवजी इन्द्रको रूप धारण गरी ठूलो पोखरी हुँदै जाँदा ठूलो पोखरीमा हात्ती आहाल खेलेको र शिवजी हाल रहेको ‘शिवधारा’को ओडारमा बास बस्दा पानीको आवश्यकता परेकाले त्रिशुलले हानेर आफू बसेको पहरामा पानीको धारा निकाले भन्ने भनाइ छ ।
शिव र पार्वतीको विवाह हुँदा देवताहरू, शिवका गणहरू नन्दीभृंगी प्रमथ गण भूत, प्रेत र पिशाच साथमा जन्ती भएर गएका थिए । ‘आमा भुजुङ’को नजिक भूतदहमा भूत, प्रेत र पिशाच बसेको तथा पौडी खेलेको भनाइ छ । अहिले त्यस दहको छेउछाउ नजानु, मरिन्छ, भनिन्छ । त्यस दहको छेउछाउ भेडाबाख्रा, चौरी गाईहरू पनि जाँदैनन् ।
‘आमा भुजुङ’को पारीपट्टि तिबुक झरना छ । जुन झरना पहाडको ठूलो प्वालबाट निस्किएको छ, जसको उत्पतिका बारेमा दुईवटा भनाई रहँदै आएका छन् । शिवजीको विवाहमा गएका देवताहरूका वाहन तिर्खाएर पानी खान खोज्दा शिवजीले शंखले हानी निकालेको पानीको झरना भन्ने भनाइ छ भने त्यस्तै सो झरनाको ठीक पल्लोपट्टि तिब्बत क्षेत्रमा अघि काली नाग भएको ताल थियो रे । नागले धेरै मानिस खाएकाले गर्दा त्यस ठाउँका मानिसले शिवजीको आराधना गरी खुसी पारी शिवले त्रिशूलले हानेर पार हुन नसकेको र फेरी शंख प्रहार गरेर कालीनाग मारेकाले नागको रगत सो प्वालबाट निस्किएको भन्ने भनाइ छ । तिबुक झरना साँच्चै हेर्न लायकको छ ।
यात्राको क्रममा अर्को पनि रमाइलो कथा सुनियो । वरूण नदीका सात बहिनी छोरीहरू मात्र भएछन् । वरूणले श्रीमतीसँग सल्लाह गरेर हिमालय पर्वतसँग छोराको वर माग्न गएछन् । वरूणले छोरा वरमपुत्र (ब्रह्मपुत्र) पाएछन् । छोरा पाएर पनि वरूण फर्किएनछन्, माथितिरकै रमाइलो वातावरणमा रमाउन थालेछन् । धेरै वर्षसम्म वरूण नफर्केपछि आमाले बाबुलाई फर्काउन आफ्ना सात बहिनी छोरीलाई पठाइछन् । वरूणका सात बहिनी छोरीहरू पनि हिमालय पर्वतको आसपासको वातावरणले रमाएर बसेछन् । छोरीहरूसमेत धेरै वर्षसम्म नफर्किदा आमाले लाउरे सिकारीहरूलाई लिन पठाइछन् । लाउरेहरू गएर वरूणका सात बहिनी छोरीलाई लुगा, गरगहना दिउँला भनी फकाएछन् । सात दिदी–बहिनीमध्ये ६ फर्किन मानेछन् । तर कसै गर्दा पनि कान्छी बहिनी ‘संसारी माई’ फर्किन मानिनछन् । अन्तिममा लाहुरेहरूले तिमीलाई कान्छी पैसा (रूपैयाँ) दिउँला भनी फकाएछन् । तब मात्र कान्छी बहिनी ‘संसारी माई’ आउन मानिछन् । त्यसैले यहाँ पूजा गर्दा अन्य माईहरूलाई ध्वजापात चढाउँछन् । तर ‘संसारी माई’लाई एक पैसा र अहिले एक रूपैया चढाउने गरेका छन् ।
अन्तमा कठिन भूगोल, बासको अव्यवस्था, भवितव्य केही भए तत्काल उद्धारको सम्भावना, कष्टपूर्ण यात्रा भए पनि यात्राको गन्तव्य शिवधारा क्षेत्रमा पुगेको यात्री मनोरम प्रकृति देखेर मोहित नहुने कुरै हुँदैन । प्रकृतिको अलौकिक बनोटले मानव मष्तिष्कलाई नै उथलपुथल पारी दिन्छ । शिवधारा आसपास, सेरसुंग खर्क र मकालु बेसक्याम्प आसपासको क्षेत्र साँच्चै रमणीय छ, अलौकिक र स्वर्गीय छ ।