‘सेती खोला चाइनेजो फनक्कै घुमेको, माछा छैन नि चाइनेजो जाल केलाई बुनेको’

‘सेती खोला चाइनेजो फनक्कै घुमेको, माछा छैन नि चाइनेजो जाल केलाई बुनेको’

यमबहादुर दुरा  |  लोकरञ्जन  |  साउन १७, २०७६

‘आँधीखोला झरेसी भिरालो, सधैँ मलाई मायाको पिरलो’ । यो लोकगुञ्जनले  स्याङ्जाको आँधीखोला र त्यस वरपरको जनपरिवेशलाई चित्रण गर्छ । यसले स्थानीय जनजिन्दगानीको सुखदुःखमात्र समेटेको छैन, खोलासँग सम्बन्धित लोकभाकातर्फ पनि इङ्गित गरेको छ । 

यसै पनि, खोलानाला तथा नदी सधैँभरि सङ्गीतको हिस्सा बन्दै आएको छ । अझ विस्तारित रूपमा हेर्ने हो भने चराचुरुङ्गीको चिरबिर, झरनाको झङ्कार र हावाको सरसराहटपूर्ण परिवेशलाई पनि प्राकृतिक सङ्गीतको  रूपमा लिने गरिन्छ ।

फेरि, नदीनालातिरै फर्कौँ । मानिस र नदीनालाको अन्तरसम्बन्ध विराट छ । हरप्पा, मिश्र, सिन्धु, भारतीय, चिनियाँजस्ता विशाल सभ्यताहरू नदीछेउमै उदाएका हुन् । मानव जाति र नदीबीच विद्यमान यो अन्योन्याश्रित सम्बन्ध सङ्गीतमा प्रतिविम्बित नहुने कुरै भएन । 

नदीलाई विषयवस्तु बनाएर बेहिसाब गीत रचिएका–गुनगुनाइएका छन् । छिमेकी मुलुक भारतमा गंगा, यमुना, नर्मदा, काबेरी, ब्रह्मपुत्रलगायतका नदीबारे जनस्तरमा पर्याप्त गीत गाइएका छन् । कतिपय नदीले बलिउडमा पनि भाउ पाएका छन् । 

यस्ता सम्पदा नयाँ पुस्तालाई सकुशल हस्तान्तरण गर्न आवश्यक छ । स्थानीयपन र रैथानेपन मगमगाउने यस्ता गीतको अन्वेषण र अभिलेखीकरणलाई प्राथमिकतापूर्वक अघि बढाउनुपर्ने अवस्था छ । हाम्रा लागि यही नै चुनौती र अवसर हो । 

यस्ता गीतमा रोमान्टिक, भावुक, अध्यात्मिक, नोष्टाल्जिक सबै किसिमका भावनात्मक प्रतिविम्बहरू पाइन्छन् । भारतमा नदीनालासम्बन्धी लोकगीतबारे अध्ययन पनि भएका छन् । 
सात समुन्द्रपारि रहेको देश अमेरिकाको कुरा गर्ने हो भने त्यहाँ नदीनालाबारे असंख्य गीत रचिएका–गाइएका छन् । त्यहाँ ‘हड्सन रिभर’, ‘द रिभर इज फ्लोइङ’, ‘ह्वेर द रिभर प्लो’ जस्ता असंख्य गीत प्रेमपूर्वक गाइन्छन् ।

त्यहाँ नदीको नाममा अल्बम निकाल्ने चलन छ । अमेरिकी गायक ब्रुस स्प्रिङटिनले सन् १९८० मा ‘द रिभर’ नामक अल्बम निकाले । सँगसँगै क्रिस रिभर्स् अल्बम, साम रिभर्स् अल्बमजस्ता नदीसँग जोडिएका अरू अल्बम पनि निस्किए । अमेरकी ब्याण्ड ‘द ब्याडलिज’ ले सन् १९९५ मा ‘रिभर सङ्स’ शीर्षकमा अल्बम निकाल्यो । 

त्यहाँ कतिपय साङ्गीतिक ब्याण्डको नाम पनि नदीकै नामबाट राखिएका छन् । जस्तै: ट्रिनिटी रिभर ब्याण्ड । 

अमेरिकामा अर्को ट्रेन्ड पनि छ । नदी उत्पत्ति स्थलदेखि समुद्रमा पुग्नुअघिसम्म नदीले गर्ने तय गर्ने यात्रा र त्यसको भौगोलिकताको वर्णन गरेर गीत रचिन्छ । यस्तो गीतलाई उनीहरू ‘रिभर जर्नी सङ जियोग्राफी’ भन्छन् ।

हाम्रै देशको कुरा गर्ने हो नदीनाला र लोकगीतको नाता गहिरो छ । नदीनालाबारे असंख्य लोकगीत जनस्तरमा पुस्तौंदेखि रचिँदै–गाइँदै आइएको छ । नेपाली लोकगीतको परम्परा अन्त्यानुप्रासयुक्त भएकाले धेरैजसो खोलाको गीत अन्त्यानुप्रास मिलाउने अभिप्रायले गाइएको पाइन्छ ।

उदाहरणका लागि ‘बढेर आयो त्यो काली गंगा बगायो बारी छेउ, बिरानो देशमा दियौ नि बाबा पाइनँ मैले भेउ’ गीतलाई लिने हो भने यहाँ काली गंगाको प्रसंग अन्त्यानुप्रास मिलाउनका लागि मात्र आएको देखिन्छ । यसमा  गीतको मूल सन्देश पछिल्लो हरफमा रहेको छ । 
‘आँधी खोला फनक्कै घुमेको, एउटै रूमाल दुइटीले बुनेको’, ‘राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यत्तिकै’, ‘सेती दोभान, न तिम्लाई न मलाई गयो जोवन’, ‘तिनाउ खोलाको, के भर छ र नि मर्ने चोलाको’ जस्ता गीतहरूमा खोलाको प्रसंग अत्यानुप्रास मिलाउनकै लागि मात्र आएको देखिन्छ ।

तर, सबै गीतमा यस्तो हुँदैन । कतिपय गीतमा पहिलो हरफ र दोस्रो हरफबीच भाव पक्ष र अन्त्यानुप्रास टमक्क मिलेको पाइन्छ । जस्तैः ‘खोलापारि म माया लाउँदिनँ, बर्खा लाग्यो आइरहन पाउँदिन’ ‘तिमी काँ’को म काँ’को काँ’कोे, दुई खोलीको पानीझै‌ भेट भाको’ ।

कतिपय गीतमा अन्त्यानुप्रास र भावगत पक्ष केही हदसम्म एकाकार हुन खोजेको देखिन्छ । यस्ता गीतमा पहिलो हरफ र दोस्रो हरफबीच अन्त्यानुप्रास पूरापुर मिले पनि भाव पक्ष कता कता मिलेको र कतकता नमिलेको अनुभूति मिल्छ । 

उदाहरणका लागिः ‘सेती खोला चाइनेजो फनक्कै घुमेको, माछा छैन नि चाइनेजो जाल केलाई बुनेको’, ‘गयो माया मस्र्याङ्दी तिरैतिर, सञ्चो कि बिसञ्चो लाग्छ पीर’ । यहाँनेर, पहिलो हरफ र दोस्रो हरफबीचको सम्बन्ध मूल रूपमा अन्त्यानुप्रास मिलाउनुमै केन्द्रित रहेको देखिन्छ । 

नदीनाला र नेपाली लोकगीतबीचको अन्तरसम्बन्ध स्वाभाविक रूपमा गहिरो छ । नदीनाला जीवनदायिनी जीवनधारा हो । जुनसुकै समाजमा नदीनाला र जनजीवनबीच घनिष्ट सम्बन्ध रहन्छ । नेपाली समाज त्यसको अपवाद बन्ने कुरै आउँदैन ।

यदि हुँदाहुँदै पनि खोलानालाबारे जनस्तरमा रचिएका–गाइएका लोकगीतबारे अनुसन्धान भएका छैनन् । यसबारे पर्याप्त त के अलिकति पनि अध्ययन भएका छैनन् । यो हाम्रो नितान्त दुर्बल पक्ष हो ।

यही प्रसंगमा सुप्रसिद्ध अमेरिकी वातावरणवादी डेभिड ब्राउवर (सन् १९१२–२०००) लाई सम्झनुपर्ने हुन्छ । उनले एक प्रसंगमा भनेका छन्, ‘सुन्दरता र जीवनको विरासत नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भन्नेबारे नदीजस्तै भएर सोच्नुपर्छ ।’ 

उनको भनाइको तत्पर्य हो, भोलिको पुस्ताबारे सोच्दा हामीले अल्पकालीन होइन, दीर्घकालीन सोचाइ राख्नुपर्छ । 

उनको भनाइ नदीनालासम्बन्धी लोकगीतको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक हुन आउँछ । अमूर्त सांस्कृतिक सम्पदाको रूपमा रहेको नदीनालासम्बन्धी नेपाली लोकगीत अन्वेषण, संरक्षण र श्रीवृद्धिका सम्बन्धमा दीर्घकालीन सोचाइ राख्नैपर्छ । 

तथ्याङ्क भन्छ–नेपालमा सानाठूला गरी छ हजार नदीनाला छन् । ती नदीनालासँग सम्बन्धित बेहिसाब गीत जनस्तरमा रचिएका–गाइएका छन् । तर, ती विस्मृत हुँदैछन् । ती गीतका भण्डार दिन प्रतिदिन रित्तँदैछन् ।

यस्ता सम्पदा नयाँ पुस्तालाई सकुशल हस्तान्तरण गर्न आवश्यक छ । स्थानीयपन र रैथानेपन मगमगाउने यस्ता गीतको अन्वेषण र अभिलेखीकरणलाई प्राथमिकतापूर्वक अघि बढाउनुपर्ने अवस्था छ । हाम्रा लागि यही नै चुनौती र अवसर हो ।