असली तथा नक्कली व्हिस्कीकाे स्वाद पत्तालगाउने नक्कली जिब्राे

असली तथा नक्कली व्हिस्कीकाे स्वाद पत्तालगाउने नक्कली जिब्राे

लोकसंवाद संवाददाता  |  समाचार  |  साउन २४, २०७६

काठमाडौं, एजेन्सी । स्कटल्याण्डका वैज्ञानिकले एक यस्तो कृत्रिम जिब्रो बनाएका छन् जसको प्रयोग अल्कोहलमा रहेको मिलावट पत्ता लागाउन प्रयोग गरिने भएको छ । यसले मानव जिब्रोले झैं काम गर्छ । यसमा कैयौं प्रकारका टेस्ट बड्स रहेका छन् जसले भिन्न भिन्न स्वाद थाहा पाउँछन् । यसलाई ग्लास्गो विश्वविद्यालयका शोधकर्ताले तयार गरेका हुन् । कालो कफिमा के छ भन्ने मानव जिब्रोले बताउन सक्दैन तर यो कृत्रिम जिब्रोले भने त्यो पनि बताउन सक्ने शोधकर्ताको दावी छ । 

असली र नक्कली व्हिस्कीको फरक थाहा पाउने 

शोधकर्ताका अनुसार उसलाई नक्कली यसकारण भनिएको हो कि यो पुरै मानव जिब्रो जस्तै छ तर यसलाई प्रयोगशालामा तयार गरिएको हो । यसले स्वादका बारेमा धेरै सटीक जानकारी दिन्छ । यसले असली र नक्कली व्हिस्कीमा फरक बताउन सक्छ । रोयल सोसाइटि अफ केमेस्ट्री जर्नलमा प्रकाशित शोधका अनुसार कृत्रिम जिब्रोको प्रयोग स्कच व्हिस्की जाँच गर्ने यन्त्रको रुपमा भएको थियो । 

शोधकर्ताका अनुसार जब कृत्रिम जिब्रोमा प्रकाश पारिन्छ तब यसमा रहेको न्यानोस्केल मेटलले यसलाई अवशोषित गर्छ र अलग अलग व्हिस्कीको बारेमा ९९ प्रतिशत सटीक जानकारी दिन्छ । यो १२, १५ तथा १८ वर्ष पुरानो व्हिस्कीको बीचको अन्तर बताउन पनि समर्थ छ । 

शोधकर्ता एल्सडेयर क्लार्कका अनुसार यो कृत्रिम जिब्रोमा दुई प्रकारको न्यानोस्केल मेटल लगाइएको हुन्छ जसले टेस्टबड्सले जस्तै काम गर्छ । यो सुन तथा आल्मुनियमबाट तयार गरिएको हो । न्यानोस्केल मेटल मानव टेस्टबड्स भन्दा ५०० गुना सानो हुन्छ जसले स्वादका बारेमा छिटो र सटीक जानकारी दिन्छ । 

क्लार्कका  अनुसार हामीले यो कृत्रिम जिब्रोको जाँच गर्नका लागि व्हिस्कीको उपयोग गरेका थियौं ताकि भविष्यमा यसको प्रयोग खाने पिउने वस्तुको जाँच तथा गुणस्तरको नियन्त्रणका लागि गर्न सकियोस ।