लोकसंवाद संवाददाता | समाचार | साउन २४, २०७६
जाजरकोट । यहाँका पाँच सरकारी कार्यालयले सूचना अधिकारी नै नतोकेको फेला परेको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको नेतृत्वमा १३ सरकारी कार्यालयको अनुगमन गर्दा यस्तो फेला परेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला विभाग, कृषि ज्ञान केन्द्र, बृहत् जलाधार कार्यालय, डिभिजन वन कार्यालय र जाजरकोट अस्पताल तथा स्वास्थ्य कार्यालयमा सूचना अधिकारी नभएको पाइएको छ ।
संघीय सरकारको मातहतमा रहेका ५, प्रदेश मातहतका ६ र अन्य २ कार्यालयमा अनुगमन गरिएको थियो । ती कार्यालयमा २३ कर्मचारी उपस्थित नभएको पाइएको प्रजिअ बस्नेतले बताउनुभयो । तोकिएको पोशाक नलगाउने कर्मचारीको संख्या ३० रहेको छ । यस्तै, नागरिक वडापत्र नभएका ११, सूचना अधिकारी, नाम, पद र फोन नम्बर टाँस नगरिएका ९, धूम्रपान–मद्यपान निधेष भनी नलेखिएका १०, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ’ भन्ने भनाइ नलेखिएका ९ कार्यालय रहेको प्रजिअ बस्नेतले बताउनुभयो ।
कर्मचारीले पोशाक भत्ता बुझे पनि पोशाक नलगाउने, परिचयपत्र साथमा नराख्ने र तोकिएको समयमा कार्यालय नआउने गुनासो बढेपछि जिल्लाका सरकारी कार्यालय अनुगमन गरिएको प्रजिअको भनाइ रहेको खबर राससमा छ ।