लोकसंवाद संवाददाता | समाचार | साउन २४, २०७६
काठमाडौं । केही छापा तथा अनलाईनमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसलाई पुष्टि गर्न उनले चुनौती दिएका छन् । पुष्टि गर्न नसक्ने भए माफी माग्न पनि उनले चेतावनी दिएका छन्।
उपप्रधानमन्त्री पोखरेलले निर्मल निवासमा गएर पूर्वराजा शाहसँग भेट गरेको भन्ने विषयका समाचार बाहिर आएको थियो । सामाजिक सञ्जालमा ट्विट गर्दै उपप्रधानमन्त्री पोखरेलले उक्त समाचार गलत रहेको पनि दाबी गरेका छन् ।
‘निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीख़ेज़ र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरू , अनलाइनहरू तथा त्यसैमा केन्द्रीत रही विश्लेषण गर्ने विश्लेषकहरू प्रति खेद व्यक्त गर्दछु । पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर’, मन्त्री पोखरेलले बिहीबार राति ट्विटरमा लेखेका छन् ।