शिवपुरी यात्रामा सृजनाको अखेटो

शिवपुरी यात्रामा सृजनाको अखेटो

गणेश राई  |  लोकरञ्जन  |  माघ १८, २०७५

“हैन हौ खेरेसजी, यो पालि साथीहरूसित भ्याल्लिभन्दा बाहिर कतै जानुपर्छ होला कति त्यो खाल्डोमा गुम्सिने ।” नोभेम्बरको एक साँझ राखेँ मैले फोनमा कवि देवेन्द्र खेरेसलाई प्रस्ताव जो नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका कोषाध्यक्ष पनि हुन् ।

“हुन्छ नि सर, मिलाउनु होस् न ।” खेरेसजीको समर्थनले म हौसिएँ । 

जाने त हो, तर कहाँ जाने ? भ्याल्लिको कोलाहल बाहिर । बिहान हाइकिङको लागि निस्केर बेलुका घर फिर्न मिल्ने नजिकको रमणीय त्यस्तो पायक ठाउँ कुन हुँदो हो । आआफ्ना सृजना पनि सुनाउन पर्‍यो । कवि तथा प्राज्ञ शशी लुुमुम्बु र गीतकार शुभ मुकारुङलाई पनि सम्झे ।

डिसेम्बरको पहिलो साता भ्याल्लीमा पाइला टेकेको तेस्रो दिन कमलादीको एउटा क्याफेमा धुलिखेल या शिवपुरी जाने सल्लाह गरियो, निश्चय गरियो । जाने दिन छानियो, क्रिसमसको दिन । कविहरू शुक्र राई र चन्द्र राँनाहछा अनि गीतकार टीका चाम्लिङ समेत ६ जनाले गरेको निर्णय पक्का भएपछि म तीन हप्तालाई गाउँ लागेँ ।

“शशीजी हाइकिङ गरिन्छ नि हैन क्रिसमसको दिन ?” क्रिसमस नजिकिँदै गर्दा फोनमा सोधेँ गाउँबाट चौतारा हुँदै धरान झरेपछि ।

“हैन सर क्रिसमसको दिन छुट्टी नमिल्ने भयो” शशीजीले फोनमा भने,“बरु त्यसको भोलिपल्ट  जाने सल्लाह भयो ।” यसो बिचारेँ, धरान घर पुगेपछि बिमारी परेका खेरेसजीलाई एक दिन भए पनि तङ्गरिन समय मिल्ने भो । 

बक्सिङ डे क्रिसमसको भोलिपल्ट अर्थात् डिसेक्बर २६ तारिख । बिहान सबेरै भेट्ने सल्लाह भयो । नारायणथानमा । यात्रा सुरु भैसकेको छ पदयात्रा टोलीको । शशीजी र खेरेसजी हिँडिसके दुवाकोट भक्तपुरबाट । शुभ र उनका सङ्गीतकार दाजु वसन्त मुकारङका साथ म पनि गुड्दै छु लगनखेलबाट साझा बसमा । पीक आवर अर्थात् अफिसको समय हुनै लागेको छ । सडक जति चौडा बनाए पनि के गर्नु ट्राफिक नियम पालन नगरेपछि ।

“हैन कहाँ आउनु हुँदैछ सर ?” खेरेसजीको सोधाईले ढिलो भएको सङ्केत गरिरहेका थियो । भेट्ने समयरेखालाई अघि नै पार गरिसको छ समयकाटाले । 

“आइपुग्नै लाग्यौँ जामले गर्दा अलिक ढिलो भयो ।” बहानाभन्दा वास्तविकता बोलेँ मैले । सम्झेँ साथीहरू दिक्क बने होलान् हामीलाई कुर्न पर्दा । 

हिन्दु र बौद्ध धर्मको फ्युजनजस्तो लाग्ने पवित्र स्थल पुग्दा भिक्षु भेटिए । टोड्के बाबा यहाँ पनि भेटिएनन् । उनी आलाप भएको एक महिनाजति भयो भनी बताए भिक्षुले । इन्डिया गएका छन् रे । यहाँ पनि सुनाउन पाइएन मनभित्र गुम्सेको सृजनाको खात । अलिक तल ओर्लेपछि भेटिंदोरहेछ बागद्वार अर्थात् बागमती नदीको उदगमस्थल, जहाँ भेटियो चिसो पानीको धारा । पेय पदार्थ धाराको वरिपरि लाइन लगाई अर्पण गरिने प्रचलन रहेछ यो ठाउँमा । तिर्खा मेटाउनभन्दा ज्यादा बागमतीको शीरको पानी चाख्न हामी सबैले गोगुनपाते पानी नभएपनि अँजुलीभरि पानी पियौँ । छेवैमा रहेछ सम्भवतः आपतविपत पर्दा यात्रुको लागि बनाइएको सानो आकारको घर । त्यसै घरको आडमा थापियो सृजनाको डबली


सबै भेला भइसकेछन् साथीहरू ‘एसेम्बली पोइन्ट’मा । आधि घण्टा ढिला पुगेपनि जामलाई दोष दिई उम्कनु कति सजिलो । थोरै समय किनमेलमा खर्चेपछि यात्रा आरम्भ भयो । अव्यवस्थित बनिरहेका सडक र घरहरू छिचोलेर पानी मुहान पुग्न अगाडि नेपाली सेनाको ब्यारेक पुगिँदो रहेछ । प्रवेशद्वारमा नेपाली सेना खटिएका थिए् । प्रति व्यक्ति एक सय पच्चिस रुपियाँ टिकट सेनालाई देखाउने र नाम लेखाउने प्रक्रिया पछि बल्ल यात्रा शुभारम्भ भयो । त्यसपछि बल्ल उकालोतिर टेकिने रहेछन् पाइलाहरू, मनभरि लेखिने रहेछन् यादगार क्षणहरू । 

“कुन बाटो जाँदा ठिक होला डाक्टर साहेब ?” सबैको सामूहिक सोधाइको सामना गर्न परेको छ यलिबेला प्रत्येक महिना गरिने पदयात्रा र सृजनाका अभियन्ता डाक्टर भक्त राईलाई । पदयात्राप्रतिको उनको रुचि र अनुभूतिकै कारण उनन्तीसौं स्रष्टा सम्मिलित पदयात्रा सम्पन्न गरेको अनुभव रहेछ डाक्टर सावासँग । 

“लु भन्नुस् लामो कि छोटो बाटो जाने ?” लोकतन्त्रमा आफू लादिन हुँदैन भनी सचेत रहेछन् यी डाक्टर साहेब भन्ने लाग्यो म आफूलाई ।

“ठिक्कको जाउँ न ।” लामो हिँड्न डराएजस्तो जवाफ मिलेको छ डाक्टर साहेबलाई । भरदिन लाग्ने बाटो हिँड्न मन भए पनि त्यसो भन्न म सकिरहेको छैन । कारण सहयात्रीहरूले म बुढो के हिँड्न सक्ला भनी आशंका पो गर्ने पो हुन कि ।

“हिँडेर मात्रै भएन सृजना पनि सुन्नुपर्‍यो, त्यसैले यताबाट जाऊँ तीन चार घण्टा हिँड्ने अनि कविता गीत सुनौँ हैन त ?” देब्रेतिरको बाटो देखाउँदै डाक्टर साहेब बोले । कहिले नहिँडेको बाटोमा डाक्टर साहेबलाई नपछ्याई सुखै छैन भनेजस्तो हालतमा छौँ वाकी हामी । नौ जोर पाइलाहरू देब्रे मोडिए । पाइला पहिला देब्रे मोडियो या मन । सायद दुवै सँगै मोडिए हुन् ।

ओहो कति सङलो पानी । अँजुलीभरि उघाएर पिई हालौँ लाग्ने । खोल्साखाल्सीबाट बटुलिई कलकल बग्दै झरेको पानीले सबैलाई आ–आफ्नो गाउँ पु¥यायो । ढुङगा छापेर बनाएको बाटो उक्लिन थाल्यौ । राजा र राजपरिवार हिँड्नको लागि उहिले यो बाटो बनाइएको रे भनेर डाक्टर साहेबले बताइरहँदा असङ्ख्य ढुङ्गे सिँढीहरू उक्लेर हामी निकै माथि उक्लिसकेका थियौँ । उक्लाईसँगसँगै फोक्सो खलातिमा रूपान्तरण हुने गतिमा थियो । पुसे ठन्डाको मौसममा बेमौसमी घाम लागेर पनि जङ्गलको छहारी छिचोल्न सकेको छैन घामले । जङ्गल सुनसान छ । बाटो निर्जन छ । उकालिदै बढेको बाटो जङ्गली धुले मोटरबाटको ‘चौरास्ता’मा पुगेपछि बिसायो । बाटो बिसाएपछि बटुवा नबिसाउने किन हुन्थ्यो र । हामी सबै बाटामै बिसायौँ, सुस्तायौँ । 

“लु मेरो गाउँ हाँडिखोलाको सुन्तला खाऊ ।” मेरो गाउँ र गाउँको उत्पादन मानौँ मैले चिनाउन छ । हिँड्ने बेला गोडा पाँचेक दाना झोलामा हालेको सुन्तला एक एक फ्याक बाँडेर खाँदा मेरो हाँडिखोला बाँडियो । म बाँडिएँ । आमित्यता बाँडियो । झोलाको तौल पनि कम भयो ।  उकालो उक्लिन अरू सजिलो हुने भयो । 

बाटो पछ्याउँदै पाइलाहरू उक्लिन थाले । सर्जक र सृजनाबारे गफ चल्यो । गीतसङ गीतका कुरो गरिए । दरिएका गीतकार टीका चाम्लिङ गायकीमा पनि दरिन लायक रहेछन् । उकालो यात्रामा गीत गाउँन हम्मे पर्ने कुरो हो । उनले दम राखेर गीत गाए । हामीले उनको स्वरको तारिफ गर्‍यौँ । रमाइलो प्रवृत्तिका चन्द्र राँनाहछाले उकालो उक्लिदै गाउँको सम्झनामा एक चरण गीत गाए—“मसला मेथी, पचहत्तर सालको सम्झना यति ।”

अरूलाई झैँ यो गीतले मलाई पनि गाउँ पुर्‍यायो । गोठालो गर्दा, मेलापात भर्दा, टहटह मङसिरे जुनेली रातमा बेसीदेखि धान परालको भारी बोक्दा गाएको सुदूर सम्झना बल्झायो । ज्यान शिवपुरी उकालो उक्लिरहे पनि मन ध्यान खोटाङ र भोजपुरको गाउँ हुँदो घुमिरहेछ । मैले पनि स्वरमा स्वर खपेँ र गाएँ—“पानी रूपान्तरे, भेट हुँदो रैछ जीवन नमरे ।” 

‘टिनेज’कालीन सम्झनाको रन्कोले अगाडि हिँडेका हामीलाई निकै माथि चढाएछ । पच्छयाउने साथीहरू छाडिएजस्ता छन्, हिँड्ने बानी छुटेर हो कि गफमा भुलेर ती पछि परेका हुन् ।  दश बजे पाइला बढाएका हामीलाई समयले पर्खिरहने छैन । मध्यान्ह एक बजिसकेकोछ । पछि रहेका साथीहरूको आगमनपछि सेलरोटि, बिस्कुट लगायतका खाजासित जुस, पानी र नर्सिङ ट्वाकले जीउ बलियो बनायौंँ र पुनःउकालिएको बाटो पच्छयायौँ । बाटो वरिपरि पोथ्रा, झाडी र रुख छन् । जङ्गलमा जनावर देखिँदैन । घाँसे, दाउरे छैनन् । मात्र जङ्गल छ र शान्त छ जङ्गल ।

निकै उचाइमा पुगिसकेर पनि बाटोले चुचुुरो भेटेको छैन । बाटो वरिपरि निगालाका झाडी बाक्लिंदो छ । ठन्डाको मात्रा बढेको महसुस भयो । वातावरण हदै शान्त छ, ध्यानमा बसेजस्तो सन्नाटा छाएको छ कतै बुद्धत्व प्राप्त होला कि । नाकमुख छोप्न लगाइने मास्क पानीमुहानमै उतारी सकिएको छ । कुनै आवश्यक्ता छैन नाकमुख टाल्न । त्यही तल खाल्डो प्रदूषणग्रस्त छ । त्यसको चुचुरो चाहिँ यति सफा र स्वच्छ । धन्य ! फोक्सोले जुनी फेर्न पायो आज । उक्लिदाउक्लिदा ज्यान थाके पनि शिवपुरीको थाप्लो पुग्न हतारिएको मन अथकित छ । 

“यस्तोमा बस्नु पाइयो भने त दश वर्ष बढी बाँचिन्छ होला ।” शुभको मतसित विमति राख्ने किन्चित तर्क छैन कसैसित । अवसरको निम्ति सहर पसेका हामी रोग खरिदन पो पस्दैछौँ कि सहर भनी सोच्न पर्ने भएको छ आज । अब भने ‘समिट’ पुगिएछ भनी भ्रम दिलाउने विशाल चट्टानको समिटमा उभिँदा उत्तरतिरको सेता हिमालसित आफू दाँजिएछु भन्ने दिग्भ्रम जाग्दो रहेछ आफ्नै मनभित्र ।

आधिउधि साथीहरूको मासिमा नर्सिङ ट्वाक मिसिएजस्तो छ । आउलान् भनी पर्खेको आउने छाँट देखिँदैन । बाटो खालि छ रित्तो । चालचुल सुनिँदैन । गाईबस्तु खेद्नु पछिबाट, मान्छे खेद्नु अघिबाट भन्ने बूढापाकाको भनाइले पनि काम नगर्लाजस्तो भो ।

“बस्तुभाउलाई पछिबाट खेद्नुभन्दा अघिबाट डाले घाँस देखाउनु पर्छ, घाँस खान पाइने लोभमा पच्छाएको पच्छाएको गर्छ ।” बसन्तले यसो भनिरहँदा शुक्र र टीकाले— “साथीहरूलाई के को धाँस देखाउने त अगाडिबाट ।” भनी ठट्ँटा गरे ।

“आराखा (नर्सिङ ट्वाक) देखाउँ भने झन् मासी गल्दो हो ।” शुभले भनेजस्तो आराखाले हिँडाउनको साटो बाटैमा लम्पसार सुताउँदो हो ।

स्रष्टाहरू न पर सबै, सत्ताइस सौं बत्तिस मिटर उचाइको शिवपुरी थाप्लोमा सृजनाको मोहले तानेर ल्याउने छ । रचनाशक्तिको भरमा पाइलाहरू अगाडी बढेका हुन् । तीनलाई भोक छ रचना सुनाउने । हुटहुटि छ सृजना सुन्ने । तब सृजनाको विराट मोहले तिनलाई हिँडाई रहेछ उकालै उकालोको यो शिवपुरी उचाइ ।

“हैन हौँ डाक्टर साहेब गल्ती बाटो पर्‍यो कि क्या हो, आज त यतै बास होला जस्तो छ त ।” छाडिएकासित आउदैगरेका चुचुरोमा टेकाउन नपाउँदै प्रश्नको तीर तेर्सियो उनितिर । 

“धेरै पहिले हिँडेको बिर्सिसकेछु मैले पनि यो बाटो ।” आउँदाआउँदै उनले मानौै आफ्नो बचाउ गरे । लाग्न पनि चार घण्टा बढी नै लाग्यो उकालो उक्लिन । ओरालो ओर्लिन वाकी नै छ ।

चालिस वर्षभन्दा पहिले साथी तीर्थ राईको मुखारविन्दबाट दिक्तेलमा वाचित मुक्तक सम्झनाको खातबाट उधिनेर ओर्लन अगाडि सुनाएँ—म मरेँ पनि मेरा यादहरू 
                                   ट्याम्केको चुचुरोझैँ चलिरहोस्
                                   जीवन बुकी फुल बन्न पुगेता पनि 
                                   स्मृति लाली गुँरासझैं फुलिरहोस् । 

उकालो यात्रामा बचेका सबै खाजा रित्तियो चुचुरोमा मानौँ सबैको पेट रित्तो पेरुङगो भएको छ । सृजना वाचन गर्न टोड्के बाबाकोमा जस्तो मजा अन्त कहीँ नहुने सुझाए डाक्टर साहेबले । पुग्न पर्ने भो बाबाको प्राङगण, जहाँ बाबाले पिलाउनेछन् दाउरामा उर्लेको चिया । सृजना, बाबा र चियाको लालचमा हतारियो मन ओरालो ओर्लन । 

ढुङ्गाको गतिमा ओरालो ओर्लनु छ । शिवपुरीको पूर्वी पाटो अझ ओसिलो रहेछ । मालिङगोको झ्याङ जहिँतहिँ बाक्लो छ । कर्द बोकिएको हुन्थ्यो भने कति खिपिन्थ्यो होला बिनायो बाजा । र बजाइन्थ्यो होला—“रिटिङरिटिङ नबजाउन बिनायो, बिनायोले मन मेरो छिनायो ।” धुन । पानीको कुलकुल बगाई कानमा थुरिन आइरहेको सङ्गीत सुन्दै टोड्को बाबा बस्ने टोड्कोमा आइसकेछौँ । अरे ! टोड्का रित्तो छ त । मानौँ हामी सबै झस्क्यौँ टोड्केबाबा नभेटिँदा । मानिस या जीवजन्तु बसेको कुनै गुुन्जायस छैन रुखको धोद्रामा । उकालोमा झैँ मोबाइल क्यामेरा यहाँ पनि निस्फिक्रि    चलिरह्यो । रिल सकिएला भन्ने कुनै चिन्ता छैन । फोटो धुलाई गर्दा पैसा जाला भन्ने सुर्ता पनि भएन । थुप्रोस् न मोबाइलको फोटो बैङ्कमा नाथे फोटाहरू भन्ने शैलीमा फोटो खिचिए ।

हिन्दु र बौद्ध धर्मको फ्युजनजस्तो लाग्ने पवित्र स्थल पुग्दा भिक्षु भेटिए । टोड्के बाबा यहाँ पनि भेटिएनन् । उनी आलाप भएको एक महिनाजति भयो भनी बताए भिक्षुले । इन्डिया गएका छन् रे । यहाँ पनि सुनाउन पाइएन मनभित्र गुम्सेको सृजनाको खात । अलिक तल ओर्लेपछि भेटिंदोरहेछ बागद्वार अर्थात् बागमती नदीको उदगमस्थल, जहाँ भेटियो चिसो पानीको धारा । पेय पदार्थ धाराको वरिपरि लाइन लगाई अर्पण गरिने प्रचलन रहेछ यो ठाउँमा । तिर्खा मेटाउनभन्दा ज्यादा बागमतीको शिरको पानी चाख्न हामी सबैले गोगुनपाते पानी नभएपनि अँजुलीभरि पानी पियौँ । छेवैमा रहेछ सम्भवतः आपतविपत पर्दा यात्रुको लागि बनाइएको सानो आकारको घर । त्यसै घरको आडमा थापियो सृजनाको डबली । आलोपालो सबैले आफ्ना बिचार र सृजना सुुन्यौं/ सुनायौँ । 

जिन्दगी कोलम्बस यात्रा रहेछ, यसका सर्जक कवि देवेन्द्र खेरेसले ‘मलाई परदेशी नभन’ शिर्षकको कविता वाचन गरिरहदा यस्तो लाग्यो मानौँ उनले परदेशिएर घर फर्केका समस्त नेपालीको भावना ओकलिरहेछन् । कवि चन्द्र राँनाहछाको कविता उस्तै शक्तिशालि । अन्य स्रस्टाका गीत र मुक्तक पनि उस्तै चोटिलो । चार घन्टे उकालो यात्रामा सृजनाको विम्वमा उनिदै, सृजनाकै अखेटो टेक्दै मानौँ यी स्रष्टाहरू उक्लेका हुन् सृजना सुन्ने र सुनाउने लोभमा । शिवपुरी उकालिदा जीवनले भोग्नुपरेको कठिनाई, सकस या अप्ठ्यारा सायद सृजनाको सुसेलीमा चटक्क भुलियो । यौटा स्रस्टालाई आफ्नो सृजना सुनाउँदाको आनन्द तेञ्जिङ आनन्दजस्तै हुदो हो अवश्य । 

नेपाली प्रतिभा प्रतिष्ठान बेलायत शिवपुरी जङ्गल पुग्यो । उसितै त्यहाँ पुग्यो बाङमय परिषद्, रावासावा प्राज्ञिक समाज, नेपाल गीतकार संघ, नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र । रचनापछि बचेको समय फुर्सदिलो भए पनि हतारो छ ओरालो ओर्लन । जङ्गलको शिविरभित्रबाट घाम देखिने कुरो भएन यद्यपि अन्दाज गर्दा एक कुरेत ‘स्पेस’ बाँकि होला घाम पश्चिमी क्षितिजमा बिलाउन । ओरालोले लगभग तीन घण्टा समय लिनेछ । सृजनाको ताप र रापले हृदयको थर्मामिटर आकाशिय पनि ज्यान झार्नु छ तल निकै तल जहाँ छन् आफ्ना प्रियजन ।

नडुबोस् भन्दाभन्दै डुबी हाल्यो घाम अनि बाँधियो आँखामा पट्टी । छाडिनेहरु विन्दास छाडिए । नपछ्याउने पो हुन् कि ! आ अब यतै पोथ्रातिर घुस्र्यौं र रात काटौं भन्ने निष्कर्षमा पो पुगे कि ! त्यसो गर्न पनि के बेर, कसैलाई सुनाउनु छैन कविता, गीत या गजलका शेर । यौटा लोभ, लालच अथवा कुनै आशक्ति जसले हिडाउँदो रहेछ मान्छेलाई, चलायमान गराउँदो रहेछ उसका इन्द्रीय । अँह साथीहरू आउने छाँट देखिँदैन ।

“दाजु, हामी शिवपुरी ओरलोमा छौँ,” मान्छे नचिनिए पनि स्वरले चिनियो शुक्र हो भनी—“निक्खर लोकल भालेको सुप बनाइदिनोस् है हामीलाई गाउँले पाराको । अँ.. अदुवा लाउनु होला, जिरा पड्काउने, मिट मसला चाहिँ पटक्कै नलाउने है दाजु ।” जनवादी गायन क्षेत्रमा उल्लेख्य योगदान गरेका राजन राईको ग्रीन ल्यान्ड रेष्टुरेन्ट एन्ड होटल महाराजगञ्जमा फोन सम्वाद गरेका रहेछन् शुक्रले ।

लोकल भालेको सुप भनेको सुनेपछि सबै हौसियौं । छाडिएकाले सुने भने त झन् अगाडिअगाडि हाम फाल्ने होलान् अध्यारोमा पनि । तर उनीहरुसम्म यो म्यासेज पुर्‍याउने कसरि पो ?  बल्लतल्ल साथीहरू आइपुगे । सुप खाने खबरले पाइलाको गति गतिशिल भयो । जुनकीरीजस्तो मोबाइल बालिएकाछन् आँखा र खुट्टालाई भरोसाको टेको दिन । शान्त वातावरण अन्त्यको अर्थ कोलाहलभित्र छिर्नु हो । फोक्सोलाई बढी प्रेसर दिनु पनि । शहरे जीवन रोजेपछि विकार पनि रोज्नै पर्‍यो, सहनै पर्‍यो । 

माइक्रोमा कोचिएर नारायण गोपाल चोकमा उत्रिंदा लाग्यो सुप बनेको कुखुरा पाहुना सत्कारमा बाटैमा निस्केको छ । नत्र पिल्सिएका बाउँडिएका खुट्टाहरु खोच्याउँदै खोच्याउँदै आफ्नो सुन्दर आकृति बिगारेर रेष्टुरेन्टसम्म हिँड्ने झन्झट गर्ने थिएन । 

भोलिपल्ट, फेसबुक भाइरल बनाएछन् डाक्टर साहेबले शिवपुरी फेसबुके ग्रुप सिर्जेर । पुछारे, मध्यम र ज्याद्रो भनी वर्गिकरण गरिएको तीन समुहमा तपाई कहाँ पर्नुु भो ? किन यहाँ खुलासा गरौं त्यो गोप्यता । कुनैकुनै विषय गुपचुप राखेकै राम्रो कि कसो कविज्यूहरु ?

लन्डन 
जनवरि २०१९