असिम भूसाल | दृष्टिकोण | साउन २६, २०७६
चीन यात्राका लागि पहिलो पल्ट नेपाल छोड्दा मनमा उत्साह थियो, एक अनौठो खालको रोमाञ्च थियो । अध्ययनका लागि नजिक र सहज यात्रा अनि भाषा र संस्कृतिसमेत उस्तै भएको जवाहरलाल नेहरू विश्वविद्यालयको अवसर छाडेर म हुनान विश्वविद्यालयतिर हानिएको थिएँ । काठमाडौं विश्वविद्यालयको अर्थशास्त्र विषय स्नातक तहको पहिलो समूहका आधा दर्जनजति हामीमध्ये स्नातकोत्तरका लागि चीनतर्फ मोडिने म एक्लो थिएँ । घरमा अभिभावको इच्छा पनि दिल्ली गए हुन्थ्यो भन्ने थियो । आवागमन, भेटघाट, चाडपर्व आदिका लागि सहज थियो दिल्ली । यति हुँदाहुँदै पनि मैले चीन रोजेको थिएँ । किनकि भारत त म कुनै पनि बेला घुम्न सक्छु । फरक भाषा, संस्कृति, रहनसहन र जीवनशैलीको चुनौती स्वीकार गरेर मैले चीन रोजेको थिएँ । चुनौती त स्वीकार गरे । तर, हल्का डर पनि थियो, छिमेकी देश भए पनि भाषा, संस्कृति, खानपिन केही नमिल्ने, अनुभव र बसाइँ कस्तो हुने हो ?
यस्तै भय र त्रासका कारण चीन प्रस्थान गर्ने अघिल्लो रात अवेरसम्म निद्रा नलागेर आपत नै परेको थियो । मोबाइल फोनमा ४–५ वटा अर्लाम लगाएर आँखा बन्द गरेँ । तर, कति खेर निदाएछु थाहै भएन । बिहान अर्लाम बज्नुअगाडि नै आँखा खुल्यो । बिहान १० बजेको उडान थियो, ७ बजे विमानस्थलतर्फ लागियो । कठामाडौंमा बिमस्टेक सम्मेलन चलिरहेको थियो । गाडीको रूटहरू बुझ्दै विमानस्थल पुगियो । बोर्डिङ पास लिएर प्लेन कुर्दै बसे ९ बज्यो, १० बज्यो, ११ बज्यो, १२ बज्यो, १ बज्यो । तर, प्लेन आएन । अरु देशका राष्ट्रप्रमुखको जहाज विमानस्थलमा आउने भएकोले जहाज ल्याण्ड गर्ने ठाउँ नभएको कारण देखाउने फ्लाइट रद्द भएको र भोलिपल्ट उडान हुने जानकारी दिइयो ।
भोलिपल्ट पनि दिउँसो २ बजेमात्र उडान भयो । ट्रान्जिट थियो छेन्दुमा । प्लेनमा खाना खाएर निदाएछु । आकाश यात्राको भाडा तिरेर पनि मैले आकाशबाट धर्ती हेर्नुको आनन्द लिने अवसर गुमाएछुु । विमान अवतरण गर्ने बेलामा मात्र बिउँझिए । निकै ठूलो विमानस्थलमा पहिलो पटक अवतरण गरेको थिए मैले । अघिल्लो दिनको उडान रद्द भएका कारणले चीनमा पनि मेरो ट्रान्जिटको उडान गन्जागोल हुनु स्वभाविक थियो । प्लेनसँगै भएका चीनमा पढ्दै गरेका नेपालीसँग मद्दत मागेर मेरो अर्को उडानको बारेमा जानकारी लिए । रातको ११ः३० मा उडान सुरु हुने र मेरो गन्तव्य सहर, छाङ्षामा म रातीको ३ बजे पुगिने जानकारी प्राप्त भयो ।
सुरुका दिनमा बिस्कुट, कोक किन्न प्रायः एउटै पसल जान्थें । म जाँदा उनीहरू के–के सोध्थे, बोल्थे, म सधैं ‘थिंग बु दोंग’ भन्दै हासेर ठूलो नोट दिन्थे । बढी भए फर्काउला र कम भए माग्ला भनेर । भाषा नआएपछि के गर्नु । आजकल पनि म त्यही पसलमा जान्छु । उनीहरूले मेरो नाम नै सायद ‘थिंग बु दोंग’ राखेका होलान् । मलाई देखेर हास्छन् पसलको साहु र साहुनी । ‘थिंग बु दोंग’लाई ल (केहि नबुज्ने मान्छे आयो ) भनेर । तर, म आजकल हासेर भन्ने गर्छु– ‘निहाओ, स्यन्जाई वो दोंग’ (नमस्ते, म आजकल बुझ्छु ) । उनीहरू पनि हाँस्छन् । उनीहरूले मलाई कुन देशको भनेर सोध्थे । म ‘निबोअर’ भन्थे । उनीहरू बुद्ध धर्मावलम्बी हुन् । तर, शाक्यमुनीलाई मात्र चिन्ने । बुद्धलाई खासै नचिन्ने । किनकि यहाँ बुद्धलाई शाक्यमुनी भनेर मात्र जान्दा रहेछन् ।
मेरा लागि नयाँ ठाउँ, म कसैलाई चिन्दिनँ, भाषा पनि बोल्न आउदैन, राति कसरी जाने होला मेरो कलेजसम्म । यही चुनौतीका कारण मैले मिल्छ भने बिहानको उडान मिलाई दिन अनुरोध गरे । मेरो अनुरोधपश्चात बिहान ६ः३० को उडान मिलाइदिने देखि बस्नको लागि होटेलको व्यवस्था समेत जहाज कम्पनीले नै मिलाइदिएको थियो । भोलिपल्ट उडान हुने दिन बिहान ४ बजे होटलले फोन गर्नासाथ विमानस्थल जाने बेला भयो भन्ने सहज अनुमान लगाए । हतार–हतार विमानस्थल पुगे र बोर्डिङ पास लिएर जहाजको प्रतीक्षामा बसे । आफूसँग केही खानेकुरा थिएन । तर, एकदमै भोक लागिरहेको थियो । केही खाने कुरा पाइन्छ कि ? भनेर यताउता आँखा डुलाउन थाले । अलि पर धेरै फ्रिज जस्तो दराजहरू (ख्भलमष्लन ःबअजष्लभ) देखें । मान्छेहरूले कोकाकोला, पेप्सीहरू निकालेको देखें । अलि ध्यान दिएर हेरेको पैसा त कतै हाल्दैनन्, मोबाइलबाट फोटो खिँचेकोजस्तो मात्र देख्छु ।
मरो मनमा त्यसबेला मात्र याद भयो, चीनमा प्रायः मोबाइलबाट तिर्छन्, अर्थात् अनलाइन पेमेन्ट । अब पर्यो आपत, आफूसँग नोट मात्र छ । काठमाडौंबाट नै केही चिनिया मुद्रा सटही गरेर लगेको थिए । मोबाइलबाट पैसा तिर्ने ज्ञानको कमी थियो मसँग । त्यहाँ वरिपरि पसल थिएन । प्रविधिमात्र थियो । मसँग प्रविधि थिएन ।
एउटा मेरो उमेरको, हेर्दा अंग्रेजी हल्का बोल्न सक्नेजस्तो चिनिया केटाले पनि भर्खरै एउटा कोक झिक्यो । ह्या बुझे बुझ्ला नबुझे नबुझ्ला भनेर एउटा १० को नोट देखाउँदै मलाई अंग्रेजीमा भने, ‘एउटा कोक झिकिदेउ, म पैसा तिर्छु ।’ थोरै–थोरै अंग्रेजी बोल्दा र बुझ्दो रहेछ, ढिलो कुरा बुझ्यो । मेरो आग्रहलाई स्वीकार गर्दै कोक झिकिदियो, पैसा लिन मानेको थिएन ।
चीनको १० को नोट हातमा थमाउँदै ‘सेसे’ भने । निहाओ (नमस्ते) र सेसे (धन्यवाद) भन्न मात्र आउने मलाई । सेसे भने त्यसबेला काम लाग्यो । केही नभए पनि कोकको गुलियो झोलले अलिकति त तागत दिन्छ भन्ने भयो अनि प्लेनमा अवश्य केही खान पाइन्छ भन्ने आस त छँदै थियो ।
प्लेन चढे, झ्यालको सिट पारिदिन भनेको थिए, झ्यालतिर हेर्दै बसे । ठूलो सहर, अग्ला–अग्ला भवन, फराकिला सडकहरू र उस्तै हरियाली देख्दा रमाइलो र अचम्म मान्दै यात्रा गरे । अनि मनमा कुरा आउन थाल्यो– सन् १९७५ को हाराहारीमा त नेपाल र चीनको आर्थिक अवस्था र विकास उस्तै–उस्तै थियो । राजनेताहरूको असल विचार र इमान्दार प्रयत्न हुँदा देशले छिटै विकास गर्ने रहेछ । यस्तै कल्पना गर्दागर्दै २ः३० घण्टापछि जहाज छाङ्सा विमानस्थलमा अवतरण गर्यो । यो विमानस्थल ठूलो थियो । तर, छेन्दुको भन्दा अलि सानो हो कि जस्तो लाग्यो । विमानस्थल बाहिर निस्किदा चिनिया समय अनुसार बिहानको ९ः३० भएकोे थियो । म आएको कलेजमा पढ्ने नेपाली दाइहरूसँग ‘विच्याट’ (चिनिया सामाजिक सञ्जाल)मा सम्पर्क गरेँ । म छाङ्सा विमानस्थल आइपुगेको जानकारी दिएँ । दाइहरूले ट्याक्सी चढेर कलेजको ठेगानामा आउ, हामी कुर्छौं भन्नुभयो । अनि बाहिर येसो नियाल्दै थिए, एउटा चिनियाँ आएर, ‘आई ट्याक्सी, लेट्स गो’ भनेर भन्यो । अलि अलि अंग्रेजी त बुझ्दो रहेछ भन्ने भयो, उसैको पछि लागेँ ।
ऊ त विमानस्थलको डिलक्स ट्याक्सीवाला रहेछ । सुरुमा ख्याल भएन, ट्याक्सीमा बसेर भित्र हेर्दाखेरि ट्याक्सी त धेरै राम्रो छ । कलेजको ठेगाना देखाए, गाडी चलाउन थाल्यो । अनि के–के बोल्न थाल्यो के–के ? आफूलाई केही नआउने ! मोबाइलमा अंग्रेजी चिनियाँ शब्दकोश हालेको थिएँ । उसले बोलेको बोल्यै गरेपछि मलाई चिनियाँ बोल्न आउँदैन भनेर लेखेर देखाए । त्यसपछि उसले पनि मोबाइलमा केही बोल्यो ।
अनि अंग्रेजीमा रूपान्तरण गरी मलाई सोध्न थाल्यो– कुन देशको हो ?
उसले नेपाल भनेको भुटान हो भनी सोध्यो । नेपाल पनि सुनेको रहेनछ उसले भन्ने लाग्यो । त्यही पनि मोबाइलमा नेपालको रूपान्तरण गरेर देखाए । नेपाललाइ चिनिया भाषामा ‘निबोअर’ भन्दो रहेछ । अनि नेपाल चीन साथी हुन् भनेर ड्राइभरले लेख्यो । मैले हो भनेर टाउको हल्लाएँ । विमानस्थलमा त इन्टरनेट थियो, यताको दाइहरूसँग कुरा गरेको थिएँ । कारमा त इन्टरनेट हुने कुरो भएन । आफूसँग सिमकार्ड पनि थिएन । अनि फेरि मोबाइलमा कृपया तिम्रो फोन देउ, एउटा फोन गर्नुछ भनेर लेखे । फोन दियो । दाइहरूको नम्बर थियो, फोन लगाए ।
अनि दाइलाई भने– यसले बोलेको मैले केही बुझेको छैन, यसलाई ठिक ठाउमा लैजान र गाडी रोक्न भन्दिन अनुरोध गरेँ । दाइले ड्राइभरलाई फोन दिन भन्नुभयो र मैले फोन दिएँ । ट्याक्सी चढेको १ः३० घण्टापछि कलेजको चोकमा गाडी रोक्यो । पैसा कति भो भनेर हातको इसाराले सोधे त ! २८० भन्छ– जबकी दाइहरूले धेरै लिए १३० भन्नुभएको थियो । अनि मोबाइलमा लेखे महँगो भयो, १३० मात्र हो भने । त्यसपछि फेरि उसले मोबाइलमा भनेर देखायो कि यो डिलक्स ट्याक्सी हो, महँगो हुन्छ भन्यो । अब के भन्नु ? खुरुक्क युयान २५० दिए । हुन्छ भन्ने इशारा गरेँ । के–के भन्यो, हुन्छ जस्तो गरेर टाउको हल्लायो । झरेर यसो गाडी राम्रोसँग हेरेको त विमानस्थलबाट मर्सिडिजमा पो आएछु । एकछिन आफ्नै बुद्धि देखेर हासो लाग्यो । कमसेकम आउन त आए भन्ने भयो । अज्ञानतावस सुविधासम्पन्न तर महँगो ट्याक्सी चढ्न पुगेछु ।
ट्याक्सीलाई बिदा गरेर यसो हेरेको बाटोको अर्कोपट्टि २ जना नेपाली अनुहार देखेँ । मलाइ दाइहरूले पर्खेको नै हुनुहुँदो रहेछ । आफ्नो भाषा बोल्ने मान्छे भेट्दा खुसी लाग्यो । उहाँहरूको कोठामा गएर खाना खायौं । मेरो भर्ना र छात्रावासको लागि कार्यालयमा गयौं । मैले पढ्नै अंग्रेजी भाषाको अर्थशास्त्रको कलेज र छात्रावास त त्यहाँभन्दा करिब ७ किलोमिटर पर पो रहेछ । म त्यता एक्लो नेपाली भएँ । मेरो कोठामा पुगेर सामान राख्दा साझको ६ः३० भएको थियो । दाइहरूले बाहिर खान जाम भन्नुभयो । एउटा होटलमा पसेर खाना खायौं । अनि मैले जानी हाल्नु पर्ने कुरा केही छन् कि भनेर दाइहरूलाई सोधे ।
दाइहरूले ‘निउरो’ भनेको गाईको मासु हो, केही खानुअगाडि ‘निउरो’ हो÷होइन भनेर सोध्नु भनेर भन्नुभयो । अनि यसमा ‘निउरो’ छ कि छैन भनेर चिनिया भाषामा भन्न लगाएर नेपालीमा टिपे । खाना खाइयो । अनि दाइहरूले अझै एउटा शब्द सिकाउनुभयो, ‘थिंग बु दोंग’ । त्यो भनेको म केही बुझ्दिनँ भन्ने रहेछ, त्यो भनेपछि मान्छेहरूले यसलाई बोल्न आउँदैन भन्ने बुझ्छन् ।
अनि संकेतको हिसाबले पसलमा सामान किन्न सजिलो हुन्छ । कलेज क्षेत्रफल नि ठूलो रहेछ । कलेज बाहिर निस्किए । जताततै खानेकुरा पाकिरहेको होटल थिए । हेर्दै गए, एक ठाउँमा चाउमिन भुटिरहेको थियो । १ प्लेट प्याक गर्न येसो हातले इशारा भने तर मरिगए बुझेन । होटेलवालाले के–के भन्दै थियो के–के ? हिजोको टिपेको ‘थिंग बु दोंग’ सम्झिए अनि त्यहीँ भने । त्यही पनि केही दिएन । अनि पर्यो समस्या– माग्ने कसरी, मोबाइलमा रूपान्तरण गरेर देखाए तर पनि बुझेन । अनि हिजो को दाइलाई फोन गरेर म भोकै परे, यो साहुलाई चिकेन चाउमिन प्याक गरिदिन भन्न पर्यो भने ।
अनि फोन होटलवालालाई दिए र दाइले भनिदिनु भयो । अनि होटेलवालाले प्याक गरेर दियो । अब पैसालाई हातले संकेत गरेर कति भयो भने । उसले जवाफ त दियो । तर, मैले केही बुझिनँ । ५० को नोट दिएर कुरे । फिर्ता त देला भनेर । ९ युयान काटेर बाँकी पैसा फिर्ता गर्यो । कोठामा लगेर चपस्टिकले खान खोजेको कति गारो हुने सुरुमा त । १ महिना जता गए पनि खाना आफ्नै कोठामा ल्याएर खाए । चपस्टिकले खान सिक्नु त पर्यो ।
सुरुका दिनमा बिस्कुट, कोक किन्न प्रायः एउटै पसल जान्थें । म जाँदा उनीहरू के–के सोध्थे, बोल्थे, म सधैं ‘थिंग बु दोंग’ भन्दै हासेर ठूलो नोट दिन्थे । बढी भए फर्काउला र कम भए माग्ला भनेर । भाषा नआएपछि के गर्नु । आजकल पनि म त्यही पसलमा जान्छु । उनीहरूले मेरो नाम नै सायद ‘थिंग बु दोंग’ राखेका होलान् । मलाई देखेर हास्छन् पसलको साहु र साहुनी । ‘थिंग बु दोंग’लाई ल (केहि नबुज्ने मान्छे आयो ) भनेर । तर, म आजकल हासेर भन्ने गर्छु– ‘निहाओ, स्यन्जाई वो दोंग’ (नमस्ते, म आजकल बुझ्छु ) । उनीहरू पनि हाँस्छन् । उनीहरूले मलाई कुन देशको भनेर सोध्थे । म ‘निबोअर’ भन्थे । उनीहरू बुद्ध धर्मावलम्बी हुन् । तर, शाक्यमुनीलाई मात्र चिन्ने । बुद्धलाई खासै नचिन्ने । किनकि यहाँ बुद्धलाई शाक्यमुनी भनेर मात्र जान्दा रहेछन् ।
क्रमशः म पनि चिनिया शैलीमा अभ्यस्त हुँदै गएँ । मोबाइलबाटै पैसा तिर्न र खरिद गर्न सक्ने भएको छु । पसलमा ‘तो साओ छ्यान’ (कति पैसा भयो) भन्न र केही कुरा गर्न सिकें । अहिले त म यता आएको एक वर्ष हुन थाल्यो । चिनिया भाषा अलि–अलि बुझ्न थालेको छु । त्यसैले भन्न थालेको छु– ‘स्यन्जाई वो दोंग’ ।