लोकसंवाद संवाददाता | समाचार | साउन २७, २०७६
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको ठूलो चाड बकर इदमा नेपालगञ्जको वीपीचोकस्थित मस्जिदमा सामूहिक नमाज पढिएको छ । सामूहिक नमाज पढ्नका लागि नगरका विभिन्न ठाउँबाट मानिसहरु आएका थिए ।
इदका अवसरमा नमाज पढ्न आएका मुस्लिम धर्मावलम्बीहरुको संख्या अत्यधिक भएका कारण वीपीचोकस्थित मस्जिद नअटेपछि सडकमै बसेर नमाज पढिएको थियो । घरबाट ल्याइएका तन्ना तथा विच्छ्यौना ओच्छ्याएर ठूलो संख्यामा मानिसहरु बाटैमा बसेका थिए । शहरी विकास मन्त्री मो. इस्तियाक राईले पनि वीपीचोकमै आएर नमाज पढेका थिए । उनी नेपालगञ्ज निवासी हुन् ।
सबै धार्मिक समुदायका मानिसहरु एक आपसमा मिलेर बसेकाले नेपालगञ्जको विशेष महत्व रहेको मन्त्री राईले बताए । ‘हामी नेपालगञ्जवासी एक अर्काको पर्वमा रमाउँछौं, यही नै यहाँको विशेषता हो,’ मन्त्री राईले भने । ‘बकर इदमा आपसी भाइचारा, शान्ति, सद्भाव कायम रहोस्,’ उनले भने ।
सामूहिक नमाज सकिएपछि आपसमा शुभकामना साटासाट गर्न हिन्दु समुदायका व्यक्तित्वहरु वीपीचोकमा पुगेका थिए । नेपालगञ्जका मेयर डा। धवलशमशेर राणा, राप्रपाका युवा नेता ऋषिराज देवकोटा, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठलगायतले वीपीचोकमा पुगेर एक अर्कामा शुभकामना साटासाट गरेका थिए ।
बदर इदमा कुर्बानी दिने गरिन्छ । त्यस्तो कुर्बानी दिएको मासुलाई तीन भाग लगाउने गरिन्छ । पहिलो भाग आफूले खाने, दोस्रो भाग आफन्तीलाई र तेस्रो भाग गरीवलाई दिने गरिन्छ । त्यही भएर बकर इदलाई त्याग अर्थात कुर्बानी गर्ने दिनको रुपमा मनाउने गरिन्छ ।