यमबहादुर दुरा | लोकरञ्जन | साउन ३१, २०७६
बृहत्तर हिसाबले हेर्दा विश्वमा मुख्य चार नश्लका मानिस छन् — द्रबिडियन, ककेसियन, मङ्लोइड र नेग्रो । शारीरिक बनोटको दृष्टिले हेर्दा दुरा जाति मङ्गोल नश्लअन्तर्गत पर्दछ । नेपाल सरकारले दुरा जातिलाई अल्पसंख्यक जनजातिमध्ये एक मानेको छ । ‘नेपाली बृहत् शब्दकोश’ ले दुरा जातिको परिचय यसरी दिएको छ: ‘नेपाल अधिराज्यभित्रको लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै बसोबास गर्दै आएको, आफ्नै भाषा र संस्कृति भएको र त्यसलाई बिस्तारै भुल्दै गएको एक जाति, नेपालको एक अल्पसंख्यक जाति’ (पृ.६१८) ।
दुरा जातिको मुख्य बसोबास लमजुङको दुराडाँडा क्षेत्र नै हो । इतिहासकार बाबुराम आचार्य (वि.सं. १९४४—२०२९) ले दुराडाँडामा बसोबास गरेका दुरा जातिबारे घतलाग्दो परिचय दिएका छन्ः ‘कास्कीदेखि पूर्वपट्टि मस्याङ्गदी नदीका सिरानपट्टिका भागमा दुरा नामक एउटा सानो समुदायको आबादी छ यो बस्ती दुराडाँडा कहिन्छ । यसै दुराडाँडाका दुराहरूले ठकुरी राजा भएका ठाउँमा सुख–समृद्धि देखेर राजा थाप्नाका निमित्त कस्केली विचित्र खानका यशोव्रह्म नामक एक छोरा मागी ल्याएर लमजुङ्ग नामक नयाँ ठकुराइको जग बसाले’ (पृ.६) ।
जनसंख्या र थातथलो
दुरा समुदायको छाता सङ्गठन ‘दुरा सेवा समाज’ ले २०५४ सालमा गरेको जनगणनाअनुसार लमजुङमा दुरा समुदायको कुल जनसंख्याको ७२ प्रतिशत बसोबास गर्छन् । १६ प्रतिशत दुराहरू तनहूँमा बस्छन् भने बाँकी १२ प्रतिशत जनसंख्या अन्य देशका भागमा बसोबास गर्छन् । अवसर र रोजगारीको खोजीमा आफ्नो मौलिक थालथलो छाड्ने प्रवृत्ति छाड्ने प्रवृत्तिको दुरा समुदाय पनि अपवाद भएको छैन । आजभन्दा २० वर्ष अघि गरिएको जनगणना औंल्याएका जनसांख्यिक अवस्थामा अहिले निश्चय नै परिवर्तन आएको छ ।
दुरा समुदायमा देशभित्र मात्र होइन, देशबाहिरको बसाइ सराइँ पनि बढेको देखिन्छ । बेलायत सरकारले गोर्खा सैनिकका परिवारलाई बेलायतमा बस्न पाउने सुविधा दिएपछि दुरा समुदायका कतिपय परिवार बेलायत पुगेर उतै बस्न थालेका छन् । सन् २००६ देखि हालसम्म ६० परिवारका २४० दुराहरू बेलायतमा बसोबास गरिरहेका छन् । यसैगरी हङकङ र अमेरिकामा सीमित मात्रामा दुराहरू बसोबास गरिरहेका छन् । दुरा समुदायमा देखापरेको जनसांख्यिक परिवर्तनबारे फेरि पनि अध्ययन गर्नुपर्ने अवस्था आइसकेको छ ।
२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार दुरा जातिको जनसंख्या ५३९४ देखिएको छ । सोही जनगणनालाई आधारमा मन्ने हो भने लमजुङमा ३४८९ दुराहरू बस्छन्, जुन लमजुङको कुल जनसंख्याको २.९७ प्रतिशत हिस्सा हुन आउँछ (पृ.१४६) ।
पूजाआजा
दुरा समुदायमा पूजाआजामा हिन्दू, बौद्ध तथा बोन धर्म गरी तीन किसिमका धर्मको प्रभाव परेको देखिन्छ । यद्यपि दुरा समुदायमा चलिआएको पूजा–अर्चना पद्धतिबारे पूर्वोल्लिखित ती धर्मसम्बन्धी सिद्धान्त र मान्यताहरूको कसीमा राखेर बहुआयमिक खोज–अनुसन्धान हुन बाँकी नै छ । त्यसैले अहिले सतहमा देखिएका अभ्यासहरूलाई मात्र हेरेर दुरा समुदायको पूजाआजाको ऐतिहासिक तथा सांस्कृतिक नाताबारे धेरै विश्लेषणात्मक धारणा राख्न सकिने अवस्था छैन । यसबारे समाजशस्त्रीय तथा मानवशास्त्रीय दृष्टिले अध्ययन हुन पनि बाँकी नै छ ।
१.प्रकृति पूजा
व्यक्ति तथा समाजको सुुख, शान्ति र समृद्धिमा प्राकृतिक तत्वले प्रभाव पार्दछन् भन्ने घोषित वा अघोषित विश्वास दुरा समुदायमा रहेको पाइन्छ । असिना पर्दा असिना गाउँ बार्ने चलन छ । गाउँ बार्दा ढिकी–जाँतो गरिँदैन, खेतबारीमा खनजोत गरिँदैन र मेलापात पनि गरिँदैन । यतिमात्र होइन, दाउरा वा काठ काट्ने काम पनि गरिँदैन । यस किसिमको चलनलाई ‘गाउँ बार्ने’ भनिन्छ । गाउँ बार्दा घाँसपास गर्न मिल्छ । घर–गोठमा चट््याङ पर्दा लामा वा बाहुन पुरेत बोलाएर ग्रह–शान्ति गर्ने चलन छ । कसैको घरमा आगलागी भएमा सोही प्रक्रियाअनुसार अग्निको आराधना गर्ने परम्परा छ । नयाँ बाली भित्र््याउनुभन्दा अघि देवीदेउताको नाम पारेर अन्नबाली चढाउने चलन छ । भात खाने बेलामा पनि सबैभन्दा पहिले भन्छेली आमाले देउतालाई सानो चैली भात अर्पण गरेपछिमात्र घरका सदस्यहरूलाई भात पस्कने चलन पनि छ ।
घर बनाउने वा कुनै प्रयोजनका लागि रुख काट्नुपर्दा रुखको पूजा गर्ने चलन पनि दुरा समुदाय छ ।
२. भाकल पूजा
कोही सिकिस्त बिरामी हुँद धामीझाँकी, लामा तथा पुरेतकहाँ पुगी उसको लेखान्त र भाग्यबारे हेरखोर गर्ने गरिन्छ । मानुचामल हेराउँदा लामा वा पुरेतले दिएको सल्लाहअनुसार बिरामी छिटो निको होस् भन्दै देवीदेवतालाई भाकल गरी पूजा–अर्चना गर्ने चलन पनि छ ।
कसैको घरमै रहेका वा घरभन्दा टाढा रहेका परिवारजनको सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र दीर्घायुको कामना गरी स्थानीय र गाउँभन्दा परका देवीदेवताको पूजा–अर्चना गर्ने चलन पनि छ । यसैगरी, कसैको लालाबालाको बाक्य नफुटेमा तथा अन्य मानसिक र शारीरिक समस्या देखिएमा सम्बन्धित देवीदेवतालाई भाकल गरी पूजापाठ गर्ने गरेको पनि पाइन्छ ।
३. पितृ पूजा
दुरा समुदायले विभिन्न समयमा विधि र प्रक्रिया अपनाएर पितृ पूजा गरेको पाइन्छ । प्रत्येक वर्षको ठूलो दशैंको अष्टमीको दिन राति पितृलाई विशेष रूपमा सम्झने गरिन्छ । यस क्रममा घरमुली (महिला वा पुरुष) दिनभरि उपवास बस्छन् । नुहाइ–धुवाइगरी चित्तशुद्ध र मनशुद्ध गर्छन् । घरमुली पुरुष भए कपालसमेत कटाउँछन् । बेलुका माता–पिता तथा अन्य पूर्खालाई सम्झेर भात, तरकारी, मासु, माछा, रक्सी, जाँड, फलपूmल आदि घरको मुख्य ठाउँ (पैंmसा) मा सजाएर राखिन्छ । यस्ता चीजबीज राख्ने कार्यलाई ‘ख्यामा राख्ने’ भनिन्छ ।
यस अवसरमा कसै कसैले कुखुराको भालेको बलि दिएको पनि पाइन्छ । ‘ख्यामा’ राखिएको चीजबीज घरको मानिसले खान हुँदैन भन्ने मान्यता पनि छ । भोलिपल्ट बिहान विवाहित छोरीबेटी आएरती चीजबीज उठाउने गरिन्छ । त्यसलाई ‘ख्यामा उठाउने’ भनिन्छ । छोरीबेटीले ती चीजबीज आफ्ना घर लान्छन् । उँखुको लाँक्रो, अदुवाको बोट, पूmल आदि सामग्री पँधेरा वा कुनै पवित्र ठाउँमा सेलाउने गरिन्छ ।
४. वायु पूजा
परिवारमा कुनै परिवारजनको निधन भएमा उसको नाउँमा वायु स्थान निर्माण गरी हरेक वर्ष वैशाख पूर्णिमाको दिनमा ‘वायु पूजा’ गरिन्छ । मृत व्यक्ति कहाँ कस्तो अवस्थामा बसेका छन् थाहा पाउन भाइखलकको जेठोबाठो व्यक्ति झाँकीका रूपमा देउता बस्ने (शरीर कमाएर बोल्ने) गर्छन् । त्यस्तो व्यक्तिलाई ‘डाङ्ग्रे’ भन्ने गरिन्छ । ‘डाङ्ग्रे’ को शरीरमा दिवंगत सदस्यको आत्मा चढ्छ भन्ने विश्वास गरिन्छ । दिवंगत व्यक्तिले ‘डाङ्ग्रे’ मार्पmत व्यक्त भावनालाई यथासम्भव करद गरिन्छ । तर ‘डाङ्ग्रे’ बस्ने प्रचलन लगभग हराइसकेको छ ।
लामा पुरेतलाई बोलाएर दिवंगत व्यक्तिको बौद्ध परम्पराअनुसार अर्घौं गरिन्छ । अर्घौं सम्पन्न भएपछि उसलाई पूजा गर्नुनपर्ने चलन छ । अर्घौं दुई किसिमको हुन्छ – आलोअर्घौं र पुरानो अर्घौं । मृत व्यक्तिको सदगत गर्नेबित्तिकै गरिएको अर्घौंलाई ‘आलो अर्घौं’ भनिन्छ भने भाइसल्लाह गरेर फुर्सदमा गरिने अर्घौंलाई ‘पुरानो अघौं’ भनिन्छ ।
अर्कोतिर, देश–परदेशमा रहेका कुनै परिवार सदस्यको परस्त्रीसँग संसर्ग भई गर्भ तुहिएमा वा बच्चा जन्मिएर गुपचुप अवस्थामा मरेमा घर–परिवारमा कसैलाई दुःख–बिमार हुने गर्छ भन्ने विश्वास छ । त्यस्तो घटना झाँक्रीले थाहा पाउँछन् र उनले भाइखलकलाई खबर गर्छन् । त्यसरी मरेको भ्रूण वा बच्चालाई ‘काँचो वायु’ भन्ने गरिन्छ । त्यसरी गुपचुप जीवन गुमाएका मानव भू्रण वा बच्चालाई परिवारको सदस्य मानी ‘वायु पूजा’ गरिन्छ र अन्त्यमा अर्घौं गरेर स्वर्गलोकमा पुर्याइन्छ ।
दुरा सुमदायमा जल चढाउने चलन पनि छ । साँझको खानपिन सकिएपछि घरकी छोरी वा बुहारीद्वारा चूल्हो लिपपोत गरिन्छ । त्यसपछि एक अंखोरा पानी पितृको नाममा राखिन्छ । परिवारको दिवंगत सदस्यलाई सपनामा देखेमा बिहान उठेर कसैसँग नबोली तीन अञ्जुली जल चढाउने चलन पनि छ । जल चढाउँदा ‘तिमी हामीबाट टाढा भयौ, अब तिमी आफ्नै बाटो लाग’ भनेर मनमनै भन्ने चलन मानिन्छ ।
५ कुलपूजा
दुरा समुदायमा अन्य समुदायले जस्तै भाइखलक मिलेर सामूहिक रूपमा कुल देवताको पूजा गर्ने चलन छ । यो पूजा सम्भव भए हरेक वर्ष नभए तीन वा सात वा बाह्र वर्षमा गर्ने चलन छ । कुलपूजाको अवसरमासमय र परिस्थितिअनुसार भेडा, कुखुरा, बोका र कुखुराको बलि दिइन्छ । दुरा समुदायको भाषा र संस्कृतिका अध्येता केशबहादुर दुरा (जन्मः वि.सं. २०००) का अनुसार कुलपूजा गर्दा बलि दिइने पञ्छी वा जनवार सकेसम्म सेतो रङ्गको भए राम्रो मानिन्छ । कुल पूजा गर्दा छोरी–ज्वाइँ तथा नाता–कुटुम्बलाई बोलाई भोज खुवाउने चलन पनि छ । साथै कुलको ढुङ्रग्रो बाँध्ने चलन पनि छ ।
६. मूर्तिपूजा
दुरा समुदायले विशेष रूपमा मूर्तिकै मात्र पूजा नगरे पनि ढुङ्गालाई ईश्वरको प्रतीक मानेर पूजा गर्ने चलन छ । यसलाई मूर्ति पूजा भन्ने वा नभन्ने विषयमा एकमत पाइँदैन । मूर्ति स्थापना गरिएका देवीदेउताको पनि पूजा–अर्चना गर्ने भएकोले दुरा समुदायले मूर्तिपूजालाई एकप्रकारले आत्मसात गरेको पाइन्छ ।
७. भूमिपूजा
बसन्तऋतु लागेपछि खेतीबाली लगाउनुभन्दा अगाडि भूमिपूजा गरिन्छ । मंगलबार पारेर यो पूजा गरिन्छ । भूमि पूजा गर्नाले जमिनको उब्जाउ शक्ति बढने तथा सहकाल आउने विश्वास गरिन्छ । साथै, भूमिपूजागर्दा असिना, कीरा, मुसा आदिले बालीनाली नोक्सान गर्दैनन् भन्ने विश्वास गरिन्छ । भूमि पूजा गर्दा गाउँको नजिक कुनै पवित्र स्थानमा ढुङ्गालाई देवता बनाई बोका र भालेकोे भोग पारिन्छ । पूजा गर्ने दिनको अघिल्लो दिन भोलि पूजा गर्ने भनी कटवाल कराउन लगाई सबैलाई जानकारी दिइन्छ ।
पूजा हुने दिनको बिहानसम्म बलिका लागि आवश्यक पर्ने बोका र कुखुरा खरिद गरिसकिएको हुन्छ । पूजा गरेपछि बोका तथा कुखुराको मासु एकै ठाउमा पकाई बेलुका हरेक घरबाट एक एकजना प्रतिनिधिजम्मा एकै ठाउँमा बसेर खाने गरिन्छ ।
भूमि पूजा गरेको दिनमा पनि गाउँ बारिन्छ । गाउँ बार्दा व्यस्त कार्यतालिकाबाट गाउँलेलाई फुर्सद निस्कने भएकोले कतिपय गाउँलेहरू यस मौकामा हाटबजार गर्न जान्छन् ।
८. उभौली–उधौली पूजा
यो पूजा स्थानीय भगवती मन्दिरमा गरिन्छ । स्थानीय भगवतीको मन्दिरमा बोका र कुखुराको भाले बलि दिइन्छ । चैत र कात्तिक महिनामा गरिने पूजालाई क्रमशः उभौली र उधौली भनिन्छ । यो पूजा पनि मंगलबार नै गरिन्छ । उभौली खेतीबाली लगाएपछि असिना, अतिवृष्टि, खरेडी, कीरा–फट््याङ्ग्रा अनि पा्रकृतिक प्रकोपबाट खेतीबाली नोक्सान नहोस् भनी गरिन्छ भने उधौली अनिष्टकारी प्राकृतिक घटनाबाट बाली थन्क््याउने काममा बाधा नहोस् भनी गरिन्छ । उभौली–उधौली पूजा सञ्चालन र प्रसाद खाने पद्धति भूमिपूजा सरह नै हुन्छ । उभौली–उधौली पूजामा पनि गाउँ बार्ने पनि चलन छ ।
९. भयँर पूजा
चैत महिनाको कुनै मंगलबार भयँर पूजा गरिन्छ । गाउँ नजिकको निश्चित ठाउँमा बाख्राको पाठी बलि दिएर यो पूजा गरिन्छ । पूजाको प्रसाद घरमा लगिँदैन । पूजा गर्नुभन्दा अघि उपयुक्त समयदूरी कायम गरी भातको जाँड राखिन्छ । यसका लागि हरेक घरधुरीबाट एक–एक माना चामल उठाइन्छ । पूजाको दिनमा हरेक घरका एक एक जना प्रतिनिधिले एक एक माना चामल ल्याई सामूहिक रूपमा भात पकाइन्छ ।
यसपछि जाँड, मासु र भात खाइन्छ । भयँर पूजाको दिनमा गाउँका बाउहरूले खाइपिई गरेर निकै रमाइलो गर्छन् । खानपिन सकिएपछि टिमुर चपाएर भुइँमा बनाइएको खोपिल्टामा थुक्ने चलन छ । यसपछि गाउँको जेठोबाठो व्यक्तिले उसको ढाडमा तीनपटकसम्म काँढाले पुछ्ने चलन पनि छ ।
भयँरीमा सहभागी हुने पुरुष (बाउ) हरूले त्यस दिन बढी अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्छन् । भयँरीका बाउ र रत्यौलीका आमाहरूको चर्तिकला देखेर एउटा उखानै बनेको छ, ‘भयँरीका बाउ, रत्यौलीका आमा’ । भयँर पूजा गर्दा गाउँमा बाघको भय हुँदैन भन्ने जनविश्वास छ । पूजा सम्पन्न भएपछि तीन दिनसम्म गाउँ बार्ने चलन छ । भयँर पूजा सम्पन्न भएको सात दिनमा धूप हालिन्छ । त्यस दिन पनि गाउँ बार्ने चलन छ ।
१०. बाटो छेक्ने
चैत महिनाको कुनै शनिबारका दिन बाटो छेक्ने पूजा गरिन्छ । कुनै कुनै दुरा गाउँमा वैशाखमा पनि यो पूजा गर्छन् । दुराडाँडास्थित भाँगु गाउँका स्थानीय वासिन्दा भेजमान दुरा (जन्मः वि.सं. २०१२) सँग आफ्नो गाउँमा वैशाख महिनामाबाटो छेक्ने पूजा हुने गरेको अनुभव छ । गाउँको चार किल्लामा भक्यौंलाको काठ काठी प्रवेशद्वार बनाइन्छ । सोही प्रवेशद्वारमा काठबाट निर्मित पुरुष र स्त्री जनेन्द्रीय झुण्ड््याइन्छ । गाउँमा कुनै पनि प्रकारको देशान (रोग–व्याध), छेद, भेद आदि अहितकारी तत्व नभित्रियोस् भन्ने अभिप्रायले यो पूजा गरिन्छ ।
यो पूजामा हरेक घरधुरीबाट एक–एक माना कोठोको पिठो उठाइन्छ । त्यसमा बलि दिइएको खुकुराको मासु मिसाई प्रसादको रूपमा ग्रहण गरिन्छ (दुरा, २०५६ः १३) । शनिबारको दिन गरिने पूजा भएकोले कसै कसैले ‘शनिसरे पूजा’ पनि भन्ने गरेको पाइन्छ ।
११. शिकारी पूजा
शिकार खेल्न जाँदा रित्तो हात फर्कन नपरोस् भनेर शिकारी पूजा गरिन्छ भन्ने मान्यता छ । २० वटा शिकार गरेपछि शिकार नलाग्ने विश्वास छ । अतः यसपछि शिकारी पनि पूजा गरिन्छ । यसलाई ‘दर्जन पूजा’ पनि भनिन्छ । बन्दुक, भाला, बाँसको धनुषकाँड राखी कुखुराको भालेपोथी भोग दिई ‘दर्जन पूजा’ गरेको पाइन्छ । यो पूजा अहिले लगभग हराइसकेको छ ।
१२. जनवार पूजा
दुरा समुदायले कुनै विशेष रूपमा जनवार पूजा गरेको पाइँदैन । तर पनि तिहारको समयमा काग, कुकुर र गाईको पूजा गर्ने नेपाली आमप्रचलन दुरा समुदायमा पनि विद्यमान छ ।
१३. चियाँ हेर्ने
चिया हेर्ने कार्य आफैंमा कुनै पूजा नभए पनि यो पूजाआजासँग सम्बन्धित छ । विभिन्न देवीदेवतालाई बोका, कुखुरा आदिको बलि दिंँदा तिनीहरूको कलजो हेरी भोलि हुनसक्ने शुभ–अशुभ पक्षको विश्लेषण तथा भविष्यवाणी गरिन्छ । यस्तो कार्यलाई ‘चियाँ हेर्ने’ भनिन्छ । कलेजोको अवस्थाले शुभ–अशुभ घटना, आँटेको कामको सफलता–विफलता, छोराछोरीको विवाहवारी हुने–नहुने अदि पक्षबारे पूर्वसंकेत दिन्छ भन्ने मान्यता छ ।
कलेजो लुलो भएमा धन प्राप्त गर्न नसकिने; कलेजो छियाछिया परेको भए परिवारमा कुनै अशुभ घटना हुने, कलेजोको शीर लत्रेको छ भने मान–सम्मानमा क्षय हुने; पित्त ठूलो भएमा असिना आउने, अतिवृष्टि हुने, पहिरो जानेजस्ता प्राकृतिक विपत्ति आउने विश्वास गरिन्छ । पित्त सानो भएमा खरेडी पर्ने विश्वास गरिन्छ । यस्ता संकेतहरू व्यवहारमा मिल्न गएकोे बूढापाकाहरूको भनाइ छ ।
कलेजो हेरेर थाहा पाइने पूर्वसूचना अरू थुप्रै छन् तर यसलाई विश्लेषण गरेर भविष्यवाणी गर्नसक्ने व्यक्तिहरू निरन्तर कम हुँदै गएका छन् ।
१४. थासो (ग्रह) फाल्ने
दुरा समुदायमा वर्षमा दुई पटकर कत्तिक र चैतमहिनामा मूलतः लामा पुरोहित बोलाएर ग्रहदशा हेर्ने, रख्खे–डोरो गर्ने र ग्रह फाल्ने चलन छ । ग्रह फाल्ने कार्यलाई‘थासो फाल्ने’ भनिन्छ । घर परिवारको नौंथरि अन्न, नांैथरि फूल, पानी, नौथरि कपडा पुछेर लामाले आफ्नो ग्रन्थ पढी कोदोको ढिडोबाट बनेको कैदु बनाएर दोबाटोमा लगेर बिसर्जन गरिन्छ । ग्रह बिसर्जन गर्ने काम ज्वाइँ र लामाले गर्छन् ।
१५. अन्य पूजा
माथि उल्लिखित गरिएका पूजा बाहेक दुरा समुदायले सामूहिक र व्यक्तिगत रूपमा अन्य विभिन्न पूजाहरूगर्छन् । दुरा समुदाय सेतो भैरव (गाँडावाज), आधाराते बूढाको पूजा, आइतबारे पूजा, परिभित्ता पूजा, नाग पूजा, खहरे खोला पूजा, गौडी पूजा, भीमसेनलगायत विभिन्न पूजाआजामा सरिक भएको पाइन्छ । साउने संक्रान्ति र माघे संक्रान्तिलाई पनि पूजा–अर्चनाको विधि अपनाएर मनाएको पाइन्छ । दुरा सेवा समाजका पूर्वअध्यक्ष लोकबहादुर दुरा (जन्मः वि.सं. २००५) का अनुसार पूजाको विधि र प्रकृतिमा ठाउँअनुसार स्थानीयपन र विविध संस्करणहरू पनि भेटिन्छन् ।