बम बानियाँ | दृष्टिकोण | भदौ ०१, २०७६
सन् २०१७ मा एक करोड ६७ लाख नेपाली इन्टरनेटसँग जोडिएका थिए । यो नेपालको जनसंख्याको ६३ प्रतिशत हो । त्यही वर्ष २२ लाख बढीले इन्टरनेट प्रयोग गरिरहेका थिए । यो संख्या सन् २०१६ मा ५४ प्रतिशत मात्रै थियो । अहिले प्रति घण्टा २५० जना उपभोक्ताहरू इन्टरनेटसँग जोडिइरहेको अवस्था छ ।
नेपालमा सञ्चारको विकास लामो भए पनि विक्रमको साठीको दशकदेखि भने निकै दु्रत गतिमा टेलिफोन, मोवाइल हँुदै इन्टरनेटको प्रयोग सत्तरीको दशकमा आइपुग्दा नपत्याउँदै गरी बढेको अवस्था छ । वि.सं २०६१ मा माओवादी ‘जनयुद्ध’ चरम उत्कर्षमा पुगेको थियो । राज्य पक्ष र विद्रोही पक्षको दोहोरो भिडन्तले थुप्रै धनजनको क्षति देशले व्यहोरिरहेको थियो । केही भएका टेलिफोन टावरहरू आक्रमणको निशानामा परेर ध्वस्त बनेका थिए ।
जिल्लाका मुख्यमुख्य बजारमा मात्रै ‘पीसीओ’ र ‘पीएसटीएन’ लेखेको बोर्डको खोजीमा सर्वसाधारणले भौँतारिनुपर्ने बाध्यता थियो । गाउँगाउँबाट देश विदेशमा रहेका आफन्तलाई फोन गर्न करिव तीनदेखि चार घण्टाको पैदल धाएर पहिला आफ्नो नम्बर टिपाएर पालो पर्खिएर फेरि एक दुई घण्टासम्म पालो कुर्नु सर्वसाधारणको नियति थियो ।
यहाँ पचासकै दशकमा विज्ञान शिक्षकले सलाईको खोलमा धागो बाँधेर सञ्चारको कक्षाका ‘प्रयोगात्मक अभ्यास’ गराएको स्मरण ताजै छ । क्या मज्जा हुन्थ्यो त्यो खेल खेल्न र प्रयोगात्मक अभ्यास गर्दा । त्योभन्दा अगाडिको त झन् कथा अर्कै छ । देश विदेशबाट दुई प्रकारका पत्रहरू आउँथे, साधारण र रजिष्ट्री । गाउँमा रजिष्ट्ररी चिठ्ठी भनेपछि कसैले खोल्दैनथे । अरू साधारण त कति हराउँथे, कति सम्बन्धितले पाउँथे, पत्तै नहुने । माया प्रेमका पत्रहरू झन् कति अरूले नै खोलिदिन्थे । कमसे कम दुई–तीन महिनामा पत्रहरूको आदानप्रदान हुनुलाई समान्य मानिन्थ्यो ।
एउटा अत्यन्तै खतरनाक चिठ्ठी पनि हुन्थ्यो । त्यो भनेको ‘सेतो धागोले बाँधेको’ चिठ्ठी । यो चिठ्ठी आयो भने गाउँभरि हल्ला हुन्थ्यो । त्यो चिठ्ठीको अर्थ हुन्थ्यो– कोही आफन्त मरेको जनाउ ।
शहरबाट गाउँ जाने र गाउँबाट शहर जाने कोही भयो भने खबर लिएर आउने, गाउँभरिको सञ्चो बिसञ्चो सोध्ने चलन थियो । कोसेली वा उपहार पठाएको पनि पायो कि पाएन, त्यही खबर दिने मान्छे सञ्चारको संवाहक हुने गथ्र्यो ।
नेपालमा ‘दश वर्षे जनयुद्ध’ र २०६२/०६३ को १९ दिने जनआन्दोलनपछिको समयमा सञ्चार जगतमा निकै ठूलो र द्रुत विकास भयो । एक दशकको यो अवधिमा टेलिफोन र इन्टरनेटको विकास सँगसँगै यसको प्रयोग पनि अधिक मात्रमा बढ्यो । सुरुसुरुमा मोवाइल बोक्ने मान्छे निकै गतिलो मानिन्थ्यो । व्यापारी र धनीको रूपमा बुझिन्थ्यो किनकि आगमन कलको पनि सुरुसुरुमा शुल्क लाग्ने गरेको थियो ।
सुरुसुरुमा मोवाइल फोन व्यापारीहरूले आफ्नो व्यापार विस्तार गर्न, राज्यका उच्चपदस्थ र धनीहरूले नै प्रयोग गर्ने साधनको रूपमा प्रवेश भएको थियो । यो सर्वसाधारणको पहुँचमा थिएन । २०६३ /०६४ सालदेखि बहुराष्ट्रिय कम्पनीले विभिन्न ब्राण्डका फोनहरू उत्पादन गरे । नेपाल टेलिकम, एनसेल (तत्कालीन मेरो मोवाइल) युटीएल आदिले सिम र रिम प्रतिष्पर्धात्मक ढंगबाट वितरण गरे ।
देशमा शैक्षिक बेरोजगार कति छन् ? कुनकुन तह, कुनकुन विषयमा उत्तीर्ण गरेका युवायुवतीहरू कति छन् र ती देश या विदेश कहाँ छन् ? के पेसा गर्दै छन् ? देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति कति हो र कसरी पूरा गर्न सकिन्छ ? जस्ता सबै समस्याको एउटै समाधान गर्ने सफ्टवेयर निर्माण गर्न सकिन्छ ।
हाम्रा नेपाली युवायुवतीहरू, विदेशीका श्रीमतीहरू, विद्यार्थीहरू सिम लिनका लागि घन्टौँ लाइन बस्थे । यो समयमा पहिलाको फोनको समस्याबाट पीडित नेपालीहरू आफ्नै हातमा मोवाइल फोन पर्दा जेजे गरेर भए पनि मोवाइल जोड्न लागे । कसैले कुखुरा बेचे, कसैले बाख्रा बेचे भने कसैले जे छ, त्यही बेचेर जोड्न थाले मोवाइल । बोल्न थाले देश विदेशका आफन्त र साथीभाइसँग । त्यो समयदेखि अहिलेसम्म आइपुग्दा हाम्रा कुखुरा, बाख्रा बेचेका पैसादेखि रेमिट्यान्सबाट गाउँ भित्रिएको करोडौँ रुपैयाँ बहुराष्ट्रिय कम्पनीहरूमार्फत् बाहिरियो ।
सामान्य फोन चलाउँदा चलाउँदै केही वर्षभित्रै नेपालमा फेरि स्मार्ट फोन र इन्टरनेट भित्रियो । सामजिक सञ्जालहरू प्रयोगमा आउन थाले । समाजिक सञ्चालमध्ये पनि फेसबुक सबैभन्दा बढी प्रयोगमा आयो । गाउँ शहर जताततै सबै फेसबुक आईडी खोल्न थाले । विस्तारै इन्टरनेटका अरू पनि एप्सहरू धमाधम प्रयोगमा आए । युट्युव, ट्विटर, इमो, भाइबर, इन्स्टाग्राम, टिकटक, वाट्सएप आदि । जेजे आए, हामी उपभोग गर्दै खोल्दै गयौँ । हाम्रो मोवाइलमै सबै सुविधा र इन्टरनेट डाटा प्याक, भ्वाइस प्याक, फ्रि कल, फ्रि एसएमएम, ग्रुप सिम जस्ता सुविधाहरू आए । हामी फोनभन्दा अब इन्टरनेटमा ‘क्रेजी’ भयौँ । अहिले एकै जनाले प्रायः सबैखाले एप्सहरू चलाउँछौँ ।
कुन उपयोगी, कुन अनुपयोगी मतलब खासै छैन । कुनै पार्टी वा भोजमा जाँदा हामी सबैखाले खानेकुरा मिसाएर खान्छौँ, खास त्यो पार्टीमा मान्छेले सबै परिकार खाने होइन, उसको इच्छाअनुसार छनोट गरेर खानुपर्ने हो । यस्तै, किनकि कतिपय खाना मिसाएर खायो भने मात्रै पनि ‘फुड पोइजन’ हुन्छ । यी जति पनि सामाजिक संजालका एप्सहरू आए, जसले निर्माण गरे उनीहरूले बहुत कमाए । फरक यति हो कि हामीले उपभोग मात्रै ग¥यौँ । हामीले आजको दिनसम्म आइपुग्दा पनि उपभोग नै गरिरहेका छौँ । अहिले हामीले गरेका प्रत्येक लाइक, कमेन्ट र एक भ्युले मात्रै पनि उनीहरूले लाखौँ, करोडौँ कमाइरहेका छन् तर हामी उपभोग र सबैभन्दा बढी त समयको बर्बादी गरिरहेका छौँ कि त्यो पनि ठीकै गरिरहेका छौँ, सोच्ने समय आएको छ ।
आजभोलि घरघरमा वाइफाई, चोकचोकमा वाइफाई, होटल, क्याफे, रेष्टुराँ, कार्यालयमा वाइफाई । पहिला टिभी हुन्थ्यो, कमसेकम पारिवारिक कुराकानी हुन्थ्यो । अहिले वाइफाई छ । एउटै घरमा सबै आआफ्नै धुनमा हुन्छन् । छोराछोरी पब्जीलगायत गेममा, पाहुना फेसबुकमा, श्रीमान् ग्रुप च्याटमा, श्रीमती युट्युवमा ...। यो तरिकाको प्रयोगले हामीलाई कता लगिरहेको छ ? सोच्ने समय आएको छ ।
युवाहरू अहिले टिकटक बनाउन भनेपछि हुरुक्क । युवा र विद्यार्थीहरूको अध्ययनमा निकै गिरावट आएको छ । अधिकतम समय इन्टरनेटमा बित्न थालेको छ उनीहरूको ।
सञ्चार र संजालले नेपालमा थुप्रै फाइदाहरू पनि गरेका छन् । यदि यसको सदुपयोग मात्रै गर्ने हो भने नसोचेका कार्यहरू हुनसक्छन् । संसारले विकासमा छलाङ मारिसकेको छ, हामीले पनि गर्न सकिन्छ । सामाजिक संजालको ग्रुप मात्रै बनाएर काम गर्ने हो भने देश विदेश जो जहाँ बसेर पनि बैठक र काम गर्न सकिन्छ । स्काइप कन्फरेन्सहरू त संसारमा भई पनि रहेका छन् । सञ्जालमा पोष्ट गरेको एउटै स्टाटसले संसार बदल्ने विचार दिनसक्छ । मानिसले सोच्नै नसकेको समस्याको समाधान गुगल र युट्युवले गर्नसक्छन् र गरिरहेका पनि छन् ।
पछिल्लो समय ‘भाइरल’ संस्कृति संजालमा निकै मौलाएको छ । लुकेका प्रतिभाहरू दिनानुदिन बाहिर आइरहेका छन् । नेपालमा मानिसहरू राम्रो या नराम्रो, विवाद या समस्या निकालेर भाइरल हुन थालेका छन् । संसारलाई बदल्ने खुराकहरू भाइरल हुनु निकै राम्रो हो तर नेपालमा खास समाजलाई राम्रो सन्देश दिने चिजहरूभन्दा समाजमा नकारात्मक प्रभाव पार्ने सन्देशहरू भाइरल हुन्छन् ।
पछिल्लो समय ‘गलबन्दी च्यातियो’ बोलको गीतको लय चोरीको विषय भाइरल भयो । दुनियाँ अल्मलिए, कमेन्ट गरे, तर्क गरे । आखिर त्यो समान्य ‘केस’ थियो । मिल्यो । तर हामीले कति समय यो विषयमा संजालमा खर्च गरियो होला, सोचौँ त ? त्यस्तै, ‘लुट्न सके लुट कान्छा’को त्यस्तै भयो । अहिले चलिरेको पत्रकार शालिकराम पुडासैनीको आत्महत्या, भिडियो सार्वजनिक र आरोपी मानिएका रवि लामिछानेको विषय सम्झौँ त । हाम्रो समाजमा के फाइदा दिए त आखिर यी विषयले ? हामीले समय बर्बाद ग¥यौँ, सामाजिक संजाल तथा युट्युवले व्यापार गरे, त्यति त हो, होइन र ?
हामी दिनमा घण्टौँसम्म सामाजिक संजालको प्रयोग गरेर समय बिताउँछौँ । हामीले हेर्ने भनेको भाइरल भिडियोहरू, फेसबुक, ट्विटर स्टाटसहरू, प्र्याङ्क भिडियोहरू, टिकटक भिडियोहरू । हामीले समय बिताउने भनेको लाइक, कमेन्ट र इनबक्स च्याटमा सबैभन्दा बढी हो । एक दिन तपाईं आफैँ मूल्याङ्कन गर्नुहोस्, कतिवटा लाइक, कमेन्ट र च्याट गर्नुभयो र त्यसबाट तपाईंलाई कति उपलब्धि भयो ? हाम्रो समय बर्बाद हुँदै गर्दा कोको कहाँकहाँ पुगिसके ? अब हामीले के गर्न सकिन्छ ? कहिल्यै सोच्नुभएको छ ?
तपाईंको बच्चा स्कुलबाट घर आइपुगेपछि कति पटक तपाईंको मोवाइल या ल्यापटपमा व्यस्त हुन्छ ? उसलाई मोवाइल वा ल्यापटप दिएर हेर्नुहोस्, ऊ कति समयपछि थाक्छ ? केके हेर्छ ? हाम्रो पाँच मिनेट मात्रै खर्च भयो भने पनि दिनमा कति घाटा हुन्छ ? तपाईं बच्चालाई खेल्न दिनुहुन्न भने उनीहरूकै छेउमा तपाईंचाहिँ कति चलाउनुहुन्छ ? तपाईंको घरमा अरू कति जना कति समय चलाउँछन् ? इन्टरनेटको प्रयोगले कति फाइदा र कति घाटा गरिरहेको छ ? कोर्सका विषयहरू कति उपयोगी छन् ? यिनै प्रश्नहरूमाथि अहिलेका अभिभावक र शिक्षकले सोच्न जरुरी छ ।
यी विषय र प्रयोगले अहिलेको पुस्तालाई नै निकै ठूलो प्रभाव पार्नेछ । सञ्चारको उपयोग या दुरूपयोग यहाँ आएर मूल्याङ्कन गर्नु र यसले पार्ने प्रभावको बारेमा सोच्न जरुरी छ ।
अर्को विषय फेसबुक, इमो र भाइबर प्रेमले युवा जगतमा निकै ठूलो सामाजिक प्रभाव पारेको छ । सामाजिक संजालको प्रयोगबाट भेट हुने र छिनमै प्रेमको आवेगमा फस्ने, विभिन्न गतिविधिहरूमा संलग्न हुने स्वाभाविक प्रक्रिया बनेका छन् । लभ स्टिकरहरू पठाउने र भेट्ने समय मिलाउने, कति सजिलो माध्यम बनेको छ सामाजिक संजाल ! उमेर नै नपुगी आवेगको प्रेमले सुन्दर भविष्यको कुनै कल्पना पनि गर्न सकिँदैन । आजको समयको बिषादीयुक्त ब्रोइलर खानपान,र एसएमएस प्रेमले युवा मात्रै होइन, सयौँका घरबारसमेत बर्बाद भएका छन् । सुन्दर सपना देखेर पैसा कमाउन विदेश गएको श्रीमान् घर आइपुग्दा घरबारविहीन भएका अनगिन्ती घटनाहरू हामी सामु छन् ।
यौवन र प्रेमको तालमेल नहुँदा काम वासनाका लागि गरिएका प्रेमहरू छिनमा संयोग, अर्को दिनमै वियोग भएका घटना पनि कम छैनन् । समाजिक संजालमा प्रेमको खुलासा भएर सोलुका एक प्रेम जोडीले सँगै आत्महत्या गरेको खबर पनि हामीले भर्खरै सुनेका छौँ । माया प्रेमको अर्थ र सम्बन्धमै आजको सामाजिक संजालको प्रयोगले निकै गम्भीर प्रश्न उब्जाएको छ । कतिपय एकदमै मिल्ने श्रीमान् र श्रीमतीबीचको सम्बन्धको तगारो या वियोगसम्मको कारण बनेको छ सञ्जाल । कतिपयले एउटै आईडी दुई जनाले चलाउने गरेका छन् । जतिसुकै मिल्ने श्रीमान् र श्रीमती भए पनि एउटै आईडी र पासवर्ड चलाउनु निकै जटिल कुरा हो । यसले भयंकर शंका पैदा गर्छ । हाम्रो नेपाल जस्तो पुरुषप्रधान समाजमा सामाजिक संजालले कहिले श्रीमान् पीडित र कहिले श्रीमती पीडित बनाउँदै गएको छ । यो हाम्रो संजाल प्रयोग गर्न नजान्नुको पीडा हो । हामीले यो बुझ्नु जरुरी छ कि हामीले यसको दुरूपयोग गरिरहेका छौँ ।
अन्त्यमा, सबैभन्दा जटिल विषय त के छ भने हामी फेसबुकलगायतका संजालहरूमा सबैथोक गर्ने भयौँ । फिल्डमा गर्ने फुर्सदै नपाउने भयौँ । जस्तै ः कृषि, शिक्षा, स्वास्थ्यका काम समृद्धि, राजनीति, भाषण आदि । यसको मुख्य फाइदा भनेको हिजो सामन्ती राज्य सत्ताले आफ्नो पहुँचमा मात्रै राखेका संचारका माध्यमहरू सबैका हातहातमा पुगेका छन् । कुनै सामग्री प्रकाशन र प्रचार गर्नलाई कुनै ‘ठूला’ भनिने मिडिया खोजिरहनुपर्दैन । एक जनाको पाँच हजार जनासँग सोझै मित्रता त फेसबुकमा मात्रै हुन्छ । हरेकका हातमा युट्युव च्यानल र टिभीहरू छन् । यो निकै उपलब्धिमूलक पक्ष हो ।
यसको अर्को पाटो समाजमा पच्नै नसक्ने सामग्रीहरू हालेर भाइरल बनाई भ्यूअर्स बढाउनु, नक्कली आईडीको प्रयोग गरेर सामाजिक अपराध गर्नु, साइबर क्राइम हुने कार्य गर्नु ठूलो दुरूपयोग हो । समग्रमा हामीले इन्टरनेट र पछिल्लो प्रविधिको उपयोगभन्दा बढी दुरूपयोग गरिरहेका छौँ ।
दक्षिण एसियाकै सबैभन्दा बढी फोन र इन्टरनेटमा उत्पादनभन्दा खर्च बढी गर्ने मुलुकमा नेपाल पर्छ । अब उपयोग बढाउनेतर्फ लाग्नुको कुनै विकल्प छैन, सोचौँ । केही एप्सहरू, जस्तैः टुटल र पठाओ जस्ता एप्पसहरूले निकै राम्रो व्यवसाय गरेका छन् भने सहकारी, वित्तीय संस्थाका एकाउन्टिङ सफ्टवेयर तथा विद्यालयहरूमा प्रयोग हुने सफ्टवेयरहरूले राम्रो फाइदा गरेका छन् ।
यहाँ एउटा मात्रै उदाहरण हामी पनि गर्न सक्छौँ । दुनियाँले जस्तै हामी एप्स र सफ्टवेयर बेचेर पैसा कमाउन सक्छौँ । नयाँनयाँ आविष्कारहरू गर्न सक्छौँ । नेपालमा अहिले देशकै पाश्र्वचित्र जरुरी छ । हरेक प्रदेश र स्थानीय तहमा विस्तृत परियोजना प्रस्तावहरू बनिरहेका छन् तर अहिलेसम्म अधिकांश पालिकाहरूमा पालिका प्रोफाइल (पाश्र्वचित्र) बनेको अवस्था छैन । कतै केही तथ्याङ्क संकलनका एप्सहरू बनेका छन् तर प्रयोगमा खासै आइसकेका छैनन् । हामीलाई अब देशको जनसंख्याको विवरण एप्समार्फत् दैनिक अपडेट हुने प्रकारको बनाउन सक्छौँ । यसका लागि पहिला स्थानीयस्तरको पालिकामा तथ्याङ्क संकलन गर्ने र अनलाइन अपडेट गर्ने, प्रदेशस्तरको निर्माण गर्ने र सोही डाटालाई संघमा लिङ्क गर्ने हो भने एउटै एप्सले नेपालको पूरै प्रोफाइल निर्माण गर्न सकिन्छ । यसले देशको जनसंख्या, महिला, पुरुष, सामाजिक–आर्थिक अवस्था, शैक्षिक योग्यतादेखि घर परिवारको सबै विवरण समावेश गरेर दैनिक रूपमा जो जहाँ बसेर पनि हेर्न मिल्ने बनाउन सकिन्छ ।
यो देशमा शैक्षिक बेरोजगार कति छन् ? कुनकुन तह, कुनकुन विषयमा उत्तीर्ण गरेका युवायुवतीहरू कति छन् र ती देश या विदेश कहाँ छन् ? के पेसा गर्दै छन् ? देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति कति हो र कसरी पूरा गर्न सकिन्छ ? जस्ता सबै समस्याको एउटै समाधान गर्ने सफ्टवेयर निर्माण गर्न सकिन्छ । यो प्रविधि मात्रै प्रयोग गर्ने हो भने नेपालको दैनिक अवस्था हामी जो जहाँ बसेर इन्टरनेटबाट हेर्न सक्छौँ । १० वर्ष अगाडिको जनसंख्याको विवरण खोज्न तथ्याङ्क विभाग धाइरहनुपर्दैन । हामी प्रविधि र आविष्कारमा जानै पर्छ । महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर निकै ठूलो योगदान गर्दै छन् । यो त्रिवि कीर्तिपुरको कम्पाउण्डमा छ । हाम्रा विदेशिएका बौद्धिक युवाहरूलाई सञ्चार र प्रविधिमा छिराउने हो भने देशले चाँडै कायपलट गर्छ ।