लेखनाथ ढकाल | दृष्टिकोण | माघ २२, २०७५
सहकारी विशिष्ट चरित्र रहेको एउटा व्यवस्थापन पद्धति हो । यो समान स्वामित्व रहेका सदस्यहरूको व्यावसायिक सङ्गठन हो । यो स्वायत्त र स्वनियमनकारी व्यावसायिक सङ्गठन हो । नागरिकले आफ्ना आर्थिक–सामाजिक–सांस्कृतिक आवश्यकता पुरा गर्न सहकारी संस्थाको स्थापना गर्दछन् । सामाजिक न्यायका सिद्धान्तका आधारमा उत्पादन र वितरण हुने व्यावसायिक चरित्र सहकारीको आधारभूत पहिचान मान्न सकिन्छ । सदस्य र समुदायको वास्तविक समृद्धिका लागि समुदायकै मानिसको आफ्नै स्रोत–साधन र आफ्नै पहल र उनीहरूकै नेतृत्वमा व्यावसायिक गतिविधि हुने भएकाले सहकारी मोडेलका व्यवसायलाई विविध आयामबाट उत्कृष्ट मानिएको हो ।
उद्यमशीलताको विकास खुल्ला र स्वतन्त्र वातावरणमा हुन्छ । निर्देशन र अरूले निर्णय गरिदिने वातावरणमा उद्यमशीलताको विकास हुँदैन, यसका लागि शिक्षा, तालिम र पर्याप्त सूचना चाहिने कुरालाई नकार्न सकिंदैन् । अतः माथि भनिएको स्पिरिटमा सहकारीको अभ्यास गर्ने हो भने उद्यमशीलताको विकास हुने वातावरण बनाउन सहकारीको ठुलो योगदान हुनसक्छ ।
सहकारी गैर सरकारी क्षेत्र हो । तर सामान्य अर्थमा सहयोगी वा कल्याणकारी उद्देश्य भएका दातृ निकाय वा अन्य निकायबाट अनुदान दिने र उनीहरूले बनाएको कार्यक्रम अनुसार चलाउनु पर्ने गतिविधि गर्ने गैरसरकारी क्षेत्रसँग सहकारीको आधारभूत चरित्र नमिल्न सक्छ । अर्को कुरा सहकारी क्षेत्रलाई राज्यले निर्देशित र नियन्त्रणमा राखेर यसको आधारभूत पहिचान(चरित्र) नै कायम हुन नसक्ने अवस्था रहन सक्छ । राजनीतिक र धार्मिक तटस्थता यसको चरित्र हो ।
सहकारी सम्बन्धी आफ्नो मनमौजी व्याख्या गर्ने र नीति निर्माण गर्ने कारणबाट वास्तविक सहकारी क्षेत्रको विकास हुन कठिन भएको छ । अर्कोतिर सहकारी सङ्घ सङ्गठनमा सेयरको रूपमा पुँजी लगानी गर्नु र स्टक मार्केटमा सेयर किन बेच गर्न सकिने सङ्घ सङ्गठन(कम्पनी ऐन अनुसारका सङ्घ सङ्गठन)मा लगानी गर्नु उस्तै मानिने मानसिकताले पनि सहकारी क्षेत्रको आधारभूत चरित्र नै कायम हुन कठिनाइ रहेको देखिन्छ । सहकारी सङ्घ सङ्गठनमा लगानी गरिने पुँजीमा सीमित लाभांशको प्रावधान अनिवार्य रूपमा ऐनमा राखिएको छ तर व्यवहारमा त्यसलाई महत्त्व नदिने गरेको देखिन्छ । सहकारीमा लगानी गरिएको पुँजीमा सीमित लाभांश र कारोबारका आधारमा पनि लाभांशको प्रावधान गरिएको हुन्छ । सहकारीमा पुँजी लगानी गर्ने भनेको आपूmले पनि नाफा लिने र समुदायको विकासमा योगदान गर्ने भावनाले गर्ने हो । यो उच्च चेतना र सामाजिक सोच भएका मानिसको द्योतक हो, त्यसैले सहकारीका सदस्यहरूलाई समुदायमा कदर गर्ने प्रचलन विकास भएको हो । रुसमा सहकारी सदस्यहरूलाई सुपर सिटिजन मानिन्थ्यो । यो कुरा विश्वका विभिन्न देशको इतिहासमा पनि रहेको पाइन्छ ।
विद्यमान सहकारीहरूमध्ये इच्छुक र सहकारीको पहिचानको व्यवस्थापन अपनाउन नसक्नेलाई छुट्टै वर्गका ‘फाइनान्सीयल इन्स्टिच्युसन’का रूपमा अगाडी बढ्ने कानुन बनाएर राष्ट्र बैकको छाताभित्र राख्नुपर्दछ । सहकारीको चरित्र कायम गरेर चल्ने सङ्घ संस्थालाई राज्यले सहुलियत दिएर समुदायका दर्विला व्यावसायिक सङ्गठन बन्न सहयोगी वातावरण बनाउनु जरुरी छ । सहकारीले आफ्नो सामाजिक दायित्वलाई पुरा गर्ने वातावरण नबने सम्म सहकारी माथि कुनै प्रकारको प्रत्यक्ष कर नलाग्ने बनाइनु पर्छ ।
सहकारी सम्बन्धमा केही महान् व्यक्तिका बिचारहरू :
“सहकारी एउटा विचार हो, यसको उपयोगका हजारौँ बाटो हुन सक्छन्”– रबीन्द्र नाथ टैगोर
“सहकारी आन्दोलनको विश्वव्यापी महत्त्व रहने छ, यसलाई अझ सक्रिय र उत्साही बनाउनु पर्छ । नेतृत्व वर्गले आम जनसमूहको सहकारी आन्दोलनमा कहिल्यै पछाडि पर्नु हुन्न, सहकारी जनसमुदायको आन्दोलन हो यो अगाडि बढिरहन्छ । यो आन्दोलनको गतिलाई नेतृत्वले भेट्टाउन सकेन भने राज्यको गति पछाडि पर्दछ ।” –माओ त्से तुङ
“सहकारीमा सबै बराबर हुन्छन् त्यहाँ एउटा बलियो र अर्को कमजोर हुँदैन, यो नै सहकारीको सुन्दरता हो ।”
–महात्मा गान्धी
यी महान् व्यक्तिहरूका सहकारी सम्बन्धी अभिव्यक्तिबाट सहकारीको बारेमा चिन्तन गर्न चाहनेहरूलाई यथार्थताको मार्ग निर्देश हुन सक्ने विश्वासले यहाँ उल्लेख गर्न सान्दर्भिक ठानिएको हो ।
आविष्कार र विकास : मालिक वर्गको चरम अत्याचार, श्रम शोषण, चर्को सामाजिक विभेदको अवस्थामा बिक्रीका माल झैँ मालिकको सेवामा जीवन बिताउन बाध्य हुन पर्ने अवस्थामा रहेका श्रमिकहरूले जीवनलाई सार्थक बनाएर स्वाभिमानपूर्वक बाँच्ने उपायको खोजी गर्ने क्रममा सहकारीको आविष्कार भएको हो । श्रम सुधारक, समाज सुधारक मानवतावादीहरूको सैद्धान्तिक आदर्श र श्रमजीवीहरूको अनुभवको आधारमा सहकारी पद्धतिको विकास भएको हो । विश्वका पहिलो समाजवादी विचारक(उनलाई समाजवादका पिता पनि भन्छि), रोबर्ट ओवेनको लामो अनुभव र लामो समयको सामूहिक छलफल चिन्तन मननपछि विश्वमा पहिलो सहकारीको स्थापना सन् १८४४ मा बेलायतका श्रमिकहरूले गरेका थिए । बेलायतमा प्रजातान्त्रिक आन्दोलन, समाज सुधारक, श्रम सुधारक र धेरै चिन्तकहरूको विचार सहकारीको आविष्कारका लागि पृष्ठभूमि बनेको थियो । विश्वका विभिन्न देशमा पनि सहकारी स्पिरिटको आधारमा विभिन्न प्रकारले गतिविधि हुने गरेको इतिहास पनि पाइन्छ । जर्मनीका सामाजिक अभियन्ताहरूले जनताको बैङ्कका रूपमा पनि सहकारीको विकासको अभ्यास गरे र यसले विकसित हुँदै विश्वव्यापी बन्ने क्रम चल्यो । सहकारी प्रणालीको आर्थिक गतिविधि विश्वव्यापी बन्दै आजका दिनमा आई पुग्दा मानवले चाहेको जस्तो विकासका लागि सबैभन्दा उत्कृष्ट व्यावसायिक मोडल रहेको संयुक्त राष्ट्र सङ्घले घोषणा गरेको छ । सहकारीको सिद्धान्तलाई समाज विकासको दर्शन भन्न थालिएको छ ।
पहिलो समाजवादी नेता र समाज सुधारक रोबर्ट ओवेनको “सामूहिक उत्पादन र आवश्यकताका आधारमा उपभोग” भन्ने आदर्श विचारको व्यवहारिक उपयोग नै सहकारीको आविष्कारको पृष्ठभूमि बनेको इतिहास रहेको छ । आफु पूर्णतः सफल हुन नसके पनि ओवेनले जीवन भर आप्mनो आदर्श अनुसारको समाज बनाउने प्रयत्न गरिरहे । असल समुदाय बनाउन कम्युनिस्ट प्रणालीको अभ्यास थालनी नै उनले गरे ।
उपयोग र उपादेयता : सहकारी पद्धतिको व्यावसायिक क्रियाकलापमा नागरिक आफै सक्रिय हुने, नागरिकले आफ्नै स्रोत साधन र पुँजी एकत्रित गरेर व्यवसाय गर्ने भएकाले देशको आर्थिक सामाजिक गतिविधिमा तीव्रता आउँछ । आर्थिक विकास र मानवीय विकासमा नागरिकको पहलबाट हुने उपलब्धिले राज्यले लिनु पर्ने ठुलो दायित्वमा सहयोग पुग्छ । समुदायमा आर्थिक गतिविधि तीव्र हुने कारणले राजश्व बढ्छ । यस कारणले सरकारले सहकारीलाई बढवा गर्न सुरक्षा, प्रोत्साहन र सहयोग गर्ने गर्दछ । राज्यको भूमिका असल अभिभावकको जस्तै हुनुपर्छ । कतिपय विषयमा सहकारीसँग राज्यले साझेदारीका रूपमा काम गर्न सक्दछ । सहकारी क्षेत्र राज्यका लागि भरपर्दो साझेदार हुने गर्दछ । सहकारीको विकास र सुदृढीकरणका लागि राज्यले छुट, सुविधा र सहुलियत दिने गर्दछ ।
सहकारीको उपयोग विकसित मानिएको अमेरिका, जापान, युरोपेली मुलुकदेखि एसिया–अफ्रिका–दक्षिण अमेरिकी मुलुकहरू सबैमा उत्तिकै महत्त्वका साथ गरिएको छ । अझ समाजवादी आर्थिक सामाजिक प्रणाली अपनाउने देश तथा पुँजीवादी आर्थिक सामाजिक प्रणाली अपनाउने देश एउटै सिद्धान्तमा चल्ने सहकारीको उपयोग उस्तै महत्त्वका साथ गर्छन् । यसबाट भन्न सकिन्छ विश्वमा सबैतिर उत्तिकै महत्त्वको रूपमा सबैले मान्ने सहकारी सिद्धान्त हो । हाम्रो देशको कुरा गर्ने हो भने पनि सबै खाले राजनीतिक पार्टीहरूले सहकारीलाई महत्त्वको विषयका रूपमा नै लिने गरेका छन् ।
अपर्याप्तता र विरोधाभास : हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने सामाजिक आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएको सहकारी क्षेत्रलाई औपचारिक शिक्षामा समावेश गरिएको छैन । प्राज्ञिक स्तरमा यसको अध्ययन अनुसन्धान हुने गरेको ज्यादै न्यून होला । सहकारीको बारेमा सबैले आफ्नो विचार दिने गरेका छन् तर यसको यथार्थ र मूल मर्म को विषयमा चिन्तन मनन गर्ने र सामान्य अध्ययन गर्ने मानिस कमै छन् । सहकारीको अभ्यास पनि यसको आधारभूत चरित्रभन्दा बाहिर नै हुने गरेको अवस्था पनि देखिन्छ ।
सहकारीलाई कुनै राजनीतिक प्रणालीको निकट वा विकट भन्ने अभिव्यक्ति जिम्मेवार व्यक्तिहरूबाट सुनिन्छ, यो यथार्थ होइन । राज्य र राजनीतिक पार्टीहरूले सहकारीलाई नेतृत्व गर्नु पर्ने मानसिकतामा नेपालको सहकारी क्षेत्रलाई जकड्याइएको छ, यसलाई विल्कुल गलत र विकासमा अवरोधक मान्नु पर्ने हुन्छ ।
विकास क्रम र चेतनाको विकासका हिसाबले राज्यभन्दा नागरिकहरू माथि रहन्छन् । त्यसैले सहकारीको गतिविधि चेतनशील र सभ्य नागरिकहरूको अभियानका रूपमा विकास हुने मानिन्छ तर हाम्रो देशमा राज्यले सहकारी क्षेत्रलाई नियन्त्रणमा राख्ने प्रयत्न हुने गरेको देखिन्छ । अर्कोतिर सहकारी भन्दैमा र राज्यको स्रेस्तामा दर्ता हुँदैमा सहकारी मान्ने गरिएको छ तर सहकारी भनेको यसको व्यावसायिक चरित्रले निर्धारण गर्ने कुरा हो ।
यदि विद्यमान अवस्थामा रहेका सहकारीहरूलाई नै वास्तविक सहकारी मान्ने हो भने नेपालमा सहकारीको वास्तविक अनुभूति नै नगरी अझै लामो समय बित्ने छ भन्नुमा अत्युक्ति नहोला ।
परिमार्जनको आवश्यकता : वर्तमान अवस्थाको सहकारी क्षेत्रलाई धरोहरका रूपमा हेर्न मिल्दैन, यसमा व्यापक सुधार र परिमार्जनको आवश्यकता छ । यसमा भएका र यसले गरेको कयौँ सकारात्मक कुराहरूलाई अवमूल्यन गर्ने मनसाय होइन तर असल सहकारी अभ्यासको लागि केही न केही प्रभाकारी परिमार्जन आवश्यक छ भन्न खोजिएको हो ।
विद्यमान सहकारीहरूमध्ये इच्छुक र सहकारीको पहिचानको व्यवस्थापन अपनाउन नसक्नेलाई छुट्टै वर्गका ‘फाइनान्सीयल इन्स्टिच्युसन’का रूपमा अगाडी बढ्ने कानुन बनाएर राष्ट्र बैकको छाताभित्र राख्नुपर्दछ । सहकारीको चरित्र कायम गरेर चल्ने सङ्घ संस्थालाई राज्यले सहुलियत दिएर समुदायका दर्विला व्यावसायिक सङ्गठन बन्न सहयोगी वातावरण बनाउनु जरुरी छ । सहकारीले आफ्नो सामाजिक दायित्वलाई पुरा गर्ने वातावरण नबने सम्म सहकारी माथि कुनै प्रकारको प्रत्यक्ष कर नलाग्ने बनाइनु पर्छ ।
औपचारिक शिक्षामा तत्कालदेखि नै सहकारी व्यवस्थापनको पढाई जरुरी छ । सहकारी क्षेत्रलाई अनुदानमुखी गैरसरकारी क्षेत्र, निजी स्वार्थ र निजी सम्पत्तिका लागि जे पनि गर्ने प्रवृत्ति, राज्य र राजनीतिक क्षेत्रले निर्देशित गर्ने सोच आदि बाट माथि उठेर सहकारी क्षेत्रको नयाँ चरणको विकास हुनु पर्ने आवश्यकता देखिन्छ ।