लोकसंवाद संवाददाता | समाचार | भदौ ०५, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी हुुनुहुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी उहाँ साउन २७ गते स्वदेश फर्किनुभएको थियो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. शाहले आज जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, 'मिर्गाैलासम्बन्धी एण्टिवडीको मात्रा बढी देखिन पुगेको थियो । एण्टिवडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।'
सिङ्गापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उहाँको मिर्गाैलाको थप परीक्षण र क्षमताको अभिवृद्धिका लागि आवश्यक उपचार हुनेछ ।
प्रधानमन्त्रीको कार्यभार पोखरेललाई
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोक्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।