लोकसंवाद संवाददाता | विदेश | भदौ ०५, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक पुनः काश्मिर प्रकरणमा मध्यस्थको भूमिका निर्वाह गर्ने आसय व्यक्त गरेका छन् । केही समय पहिला उनले भारत र पाकिस्तानका प्रधानमन्त्रीद्वयसँग वार्ता गरेर दुवै देशका बीच व्याप्त तनाव र तिक्ततालाई कम गर्ने सुझाव दिएका थिए ।
केही दिन पहिलाको कुरा हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरे । दुवै राष्ट्र प्रमुखका बीच झण्डै ३० मिनेट लामो कुराकानी भयो ।
भारतीय प्रधानमन्त्रीसँग भएको टेलिफोन वार्तालगत्तै ट्रम्प महोदयले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पनि घन्टी बजाए ।
दुवै एसियाली प्रधानमन्त्रीसँगको टेलिफोन वार्तापछि ट्रम्प महोदयले वार्ताबारे ट्विट गर्दै लेखे– ‘मैले आफ्ना दुई जना मित्रसँग टेलिफोन वार्ता गरँे– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग । हाम्रो वार्ता व्यापार एवम् अहं रणनीतिक विषयमाथि केन्द्रित थियो । खासगरी भारत र पाकिस्तानका बीच तनाव कम गर्ने विषयमा चर्चा भयो । परिस्थिति जटिल छ तर हामीबीच राम्रो संवाद भयो ।’
गएको महीना इमरान खान अमेरिका भ्रमणमा रहँदा डोनाल्ड ट्रम्पले काश्मिर प्रकरणमा दुवै देशबीच (भारत–पाकिस्तान) मध्यस्थता गर्न आफू तयार रहेको अभिव्यक्ति दिएका थिए ।
यसै क्रममा उनले यो दाबी पनि गरे कि भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले उनीसँग काश्मिर प्रकरणमा मध्यस्थता गरिदिन आग्रह गरेका छन् ।
ट्रम्पले काश्मिर प्रकरणमा बारम्बार जे अभिव्यक्ति दिइरहेका छन्, के यो उनको साँच्चै नै काश्मिर प्रकरणमा मध्यस्थताको भूमिका निर्वाह गर्ने प्रयास हो ?
यस विषयमा विभिन्न कूटनीतिज्ञ (राजन्यिक)हरूको छुट्टाछुट्टै मत रहेको छ । कसैको भनाइ छ– अमेरिकी राष्ट्रपति बेलामौकामा यस्ता भाषा बोल्दै आएका छन्, चाहे बाराक ओबामा हुन् वा उनीभन्दा पहिलाका राष्ट्रपति हुन् अथवा ट्रम्प नै हुन् । पाकिस्तानमा भारतका राजदूत रहिसकेका जी. पार्थसारथी पनि यस्तै सोच राख्छन् ।
पार्थसारथी भन्छन्– ‘ट्रम्पले कुनै नयाँ अभिव्यक्ति दिएका होइनन्, कुनै नयाँ काम गरेका होइनन् । त्यही गरेका हुन्, जुन उनी भन्दा पहिलाका अमेरिकी राष्ट्रपति भन्दै आएका छन् । ‘आतंकवाद बन्द हुनुपर्छ, दुवै
देशबीचको तनाव कम हुनुपर्छ’, यो भन्नु जसको पनि अधिकार हो । अमेरिकालाई पनि यो अधिकार छ, अमेरिकाले त झन् संयुक्त राष्ट्र सुरक्षा परिषद्मा भारतलाई सहयोग पुग्ने काम गरेको छ ।
पार्थसारथीका अनुसार ‘यो समयमा अमेरिकी राष्ट्रपतिले यस विषयमा विशेष चासो राख्नुको अर्को पनि कूटनीतिक बाध्यता हुनसक्छ किनकि अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलाउनु छ ।’
बीबीसीसँगको कुराकानीमा पार्थसारथीले भने– ‘अमेरिका अफगानिस्तानबाट फर्किन चाहन्छ । यस काममा कुनै बाधा आओस् भन्ने ऊ चाहँदैन ।’
विगतदेखि नै अमेरिका काश्मिर प्रकरणमा रुचि राख्दै आएको छ तर यसलाई मध्यस्थता भन्न मिल्दैन । मध्यस्थता त्यसबेला भन्न मिल्छ, जब अमेरिका भारत र पाकिस्ताका बीच हुने वार्तामा आएर संलग्न होस् ।
पार्थसारथी भन्छन्– ‘अमेरिकालाई पाकिस्तानसँग कुनै विशेष लगाव छैन । अमेरिकाले पाकिस्तानलाई कुनै विशेष आर्थिक सहायता दिँदैन, न व्यापार नै गर्छ, पुँजी लगानीको त कुरा पनि छैन । अमेरिकाको चासो यति मात्र हो, अफगानिस्तानबाट उसको सेना फर्किने काममा कुनै बाधा अड्चन नआओस् ।’
उता, सीमापारि अर्थात् पाकिस्तानमा रहेका कूटनीतिक विशेषज्ञहरूका अनुसार ‘ट्रम्पले इमरानलाई फोन गर्ने परिस्थिति भारतीय रक्षामन्त्री राजनाथ सिंहको बयानले गर्दा उत्पन्न भएको हो ।’
केही दिन पहिला भारतीय रक्षामन्त्रीले भारतको आणविक नीति परिवर्तन हुनसक्ने आशयको वक्तव्य दिनुका साथै अतिकडा शब्द र शैलीमा पाकिस्तानसँगको वार्ताबारे यसो भनेका थिए– ‘अब पाकिस्तानसँग हाम्रो वार्ता हुन्छ भने एउटै विषयमा हुन्छ र त्यो विषय हो– ‘पाक अधिकृत काश्मिर ।’
इस्लामावादका कूटनीतिक विश्लेषक मरियाना बाबर भन्छिन्– सारा दुनियाँलाई थाहा छ यी दुवै छिमेकी देश आणविक क्षमता सम्पन्न राष्ट्र हुन् । दुवैका बीच भयानक चर्काचर्की चलिरहेको छ । यस्तो अवस्थामा भारतीय रक्षामन्त्रीको अभिव्यक्तिमाथि समस्त विश्वको ध्यान केन्द्रित भएको छ ।
मरियाना भन्छिन्– ‘अमेरिकालाई न त भारतसँग लगाव छ, न पाकिस्तानसँगै । उसको चासो अफगानिस्तान मात्रै हो, उसलाई आफ्नो राष्ट्रिय हितको मात्रै मतलब छ । र, अहिले उसको सबैभन्दा ठूलो स्वार्थ
अफगानिस्तानबाट आफ्नो सेना शान्तिपूर्वक फिर्ता लैजानु नै रहेको छ । यसै स्वार्थ खातिर ट्रम्पले भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग कुरा गरेका हुन् ।’
पाकिस्तानले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्मा काश्मिरबारे कुरा उठाउँदा अमेरिकाले भारतको पक्ष लियो । फलस्वरुप पाकिस्तानी पक्ष कमजोर बन्यो । यो भारतको ठूलो कूटनीतिक विजय थियो ।
यस विषयलाई गम्भीरतापूर्वक हेरिरहेका विशेषज्ञहरूको भनाइ छ– ‘अफगानिस्ताबाट अमेरिकी सेना फर्किने बेला जतिजति नजिक आउँदै जान्छ, अमेरिकाले यस क्षेत्रमा आफ्नो प्रभाव र हस्तक्षेप बढाउँदै लैजाने सम्भावना झनै बढ्नसक्छ ।’